उमेरले आधा शताब्दीको यात्रा पार गरेपछि अचानक एउटा प्रश्न उब्जियो । जिन्दगी के हो ? त्यसो त जिन्दगीको यो उमेरसम्म आइपुग्दा जिन्दगीको बारेमा धेरै कुरा सुनियो, धेरै पढियो, तर पनि जिन्दगी के हो ? बुझ्न सकिएन, चिन्न सकिएन, भन्न सकिएन ।
आफैँले आफैँलाई प्रश्न गरेँ– जिन्दगीका बारेमा आजसम्म जेजति भनिएका छन्, लेखिएका छन्, पढिएका छन्, ती सबै अर्थहीन हुन कि क्या हो ? अर्थहीन हो भने जिन्दगी के हो भनेर घोत्लिन मन लाग्ने फेरि किन ? किन जति चिन्तन गरे पनि जिन्दगीलाई चिन्न सकिँदैन ?
जिन्दगीको शाब्दिक अर्थ । शब्दकोशमा जिन्दगी र जीवनलाई पर्यायवाची रुपमा प्रयोग गरिएको छ । बृहत नेपाली शब्दकोश जीवन बारे भन्छ– प्राणीको जन्मदेखि मृत्युसम्मको समय नै जीवन अर्थात जिन्दगी । शरीरमा प्राण रहेसम्मको अवस्था, प्राणीको जीवित अवस्था, प्राणवान अवस्था, जिँउँदोपन भनेर जीवनलाई प्रष्ट्याइएको छ ।
यसैगरी जिन्दगीलाई जन्मदेखि मृत्युसम्मको समय, बाँचुञ्जलेको समय, जीवनकाल, जीवन, जिन्दगानी, जन्म र नमरुन्जेलको बाँच्ने पद्धति वा प्रणाली, बचाइ, प्राणयापन, प्राणीको प्राण रहेसम्मको शरीर, चोला भनेर अर्थ्याइएको छ । शब्दकोशले भेटेसम्मका र मिलेसम्मका शब्द सबै शब्द जीवन-जिन्दगीसँग जोडेको छ । तर शब्दकोशले जिन्दगीलाई चिनाउन सक्तैन । शब्दकोश त जीवन-जिन्दगी शब्दको अर्थ मात्र कहन्छ ।
जीवन चिन्तनको दायरा फराकिलो पार्न मन लाग्यो । जीवन चिन्तनहरु सम्झेँ । कसैले भनेको झट्ट याद आयो– जीवन बाँच्ने कला हो । त्यही बाँच्ने कला नजानेर जीवनलाई चिन्न नसकिएको त होइन ? जिन्दगीलाई बाँच्ने कला ठान्नेहरुले भनेको सम्झेँ– जिन्दगी बाँच्नेहरुका लागि अनुपम उपहार हो, सुन्दर संसार हो, तर बाँच्न नजान्नेहरुका लागि अभिसाप हो, समस्याको खात हो । जीवन जाने अनमोल, नजाने व्यर्थ ।
कलाको आँखाले भन्छ– जिन्दगीलाई जसरी बुझिन्छ, त्यसरी नै गुज्रिन्छ । दिनपछि रात र रातपछि दिन भए जस्तै सुखदुख, आँसुहाँसो, जितहार सबै जिन्दगीका पाटाहरु हुन् । मैले त झट्ट हरिभक्त कट्वालको कविता पो सम्झेँ– यो जिन्दगी खै के जिन्दगी ? सायद हरिभक्त कट्वालहरुले पनि जिन्दगीको कला जानेनन् कि ? त्यसैले बाँच्न जाने जिन्दगी नजाने छैन जिन्दगी । कति ठीक कति वेठिक ? म आफैँ रणभूल्लमा छु ।
कर्मयोगी हुन जन्मेकाहरु जिन्दगी संघर्ष ठान्छन् । संघर्ष नै जीवन हो अरे । अल्छीहरु जिन्दगीलाई समस्याको खात देख्छन् । तर जीवन संघर्ष हो कि, जीवनका लागि संघर्ष हो ? चाल्स डार्बिनले त भनेथे– बाँच्नका लागि संघर्ष । डार्बिनको भनाइमा भौतिकवादको ठूलो पहाड भेटेँ । कार्ल माक्सले वर्ग संघर्षका कुरा गरेथे । यहाँ अर्को भौतिकवाद फेला पर्यो ।
म भौतिकवाद छोडेर आध्यात्मवादतिर पुगेँ । गीताको कर्मयोग सम्झन पुगेँ– कर्मण्येवाधिकारस्ते मा फलेषुः कदाचन । गीतामा पुगेपछि कृष्ण स्वतः स्मरणमा आउने नै भए । कृष्णले के गरे ? के दिए संसारलाई युद्ध शिवाय । संहार गर्न उक्साए कृष्णले । संहार नै कर्म हो र कर्म नै जीवन हो भने त्यसलाई के जीवन ठान्नु ?
कर्मवादमा भाग्यवाद चाहिँ जोड्नु कि नजोड्नु ? नजोडौँ भने हाडछाला घोटेर दुःख गर्दा पनि एक छाक खान नपाउने दीनहीनहरुको भाग्यलाई के भन्नु ? कि यसलाई पनि वर्गसंघर्षतिरै लगेर जोड्नु ? जीवन भनेको भाग्यको पुञ्ज मान्नेहरुलाई कसरी इन्कार गर्नु ? जिन्दगी कर्म गर्ने सुअवसर हो भन्नेलाई के भन्नु ? असल कर्मले नै जिन्दगीलाई जिवन्त बनाउँछ भन्नेहरु प्रसस्तै छन् । जो असल कर्म गर्दैन ऊ जिन्दगीको परिभाषाभित्र अटाउँदैन भन्ने आध्यात्मिक चिन्तकहरु देखिन्छन् । उनीहरु जीवन्तता नै जीवन हो भन्छन् । असहमति कसरी जनाउनु ? सहमतिको मत कसरी दिनु ?
जीवन जन्म र मृत्यु बीचको समय हो भन्ने एकाथरि छन् । कसैले त्यसमा कर्म जोडेर जन्म, कर्म र मृत्युको एकमुष्ठ स्वरुपलाई जीवन भन्ने गर्दछन् । तर कर्म नगर्नेको जीवन चाहिँ जीवन हो कि होइन ? शब्दकोशले त बाँचेपछि जीवन मान्छ । शरीरलाई जीवन मान्ने कि नमान्ने ? जीवनको अर्थ आत्मासहितको शरीर हो । आत्मा विनाको शरीर मृत हुन्छ, त्यहाँ जीवन समाप्त हुन्छ । सत्व, रज, तमको समन र दमन नै जीवन हो । यसमा आंशिक वा पूर्ण कति सत्यता छ ? कि सत्यताको अंश नै छैन ?
जिन्दगीको मृत्युसँग कति सम्बन्ध छ ? जीवनको भौतिक पक्ष र आध्यात्मिक पक्षको कसरी तादाम्य हुन्छ ? भनिन्छ– जन्म र मृत्यु जिन्दगीसँग अभिन्न हुन् । धेरैले जिन्दगीलाई जन्म र मृत्यु बीचको पुल ठान्छन् । जीन्दगीलाई संभावनाहरुको भण्डार देख्नेले जन्म र मृत्यु बीचको मैदान पनि भन्छन् । हो त्यही मैदानको गतिविधि नै जीवन हो त ?
जिवनलाई धेरैले एउटा यात्रा भनेका छन् । जिन्दगी यात्रा हो । संसार एक प्रतिक्षालय । एक आध्यात्मिक यात्रा । अर्को भौतिक यात्रा । यात्रुहरु यात्रा गरिरहन्छन् । तर सबैको जीवनयात्राको बुझाइ भने एउटै छैन । केही भन्छन्– जीवन संघर्षको यात्रा । कोही भन्छन्– जीवन निराशाको यात्रा, कोही भन्छन्– जीवन आसाको यात्रा । कोही अविरल यात्रा भन्छन् जीवनलाई, कोही दुई दिनको यात्रा देख्छन् ।
हो, जिन्दगी एउटा यात्रा हो । सुखदुख दुवै जिन्दगीका उर्जा हुन्, जसले जीवनलाई उर्जाशील बनाउँछ । जिन्दगी रंगीन यात्रा देख्छन् केहीले । कुनै बेला रेडियोमा पुरानो गीत सुनेथेँ– …. जिन्दगीको रंगीन दिन आजै आए जस्तो । तर सबैको जीवनयात्रामा कति रंग हुन्छ ? कति अन्धकारमा यात्रा गर्छन् ? यसको बहिखाता भने कसैसँग छैन ।
जीन्दगी अनिश्चित गन्तव्य हो । यो कहाँ गएर टुगिन्छ, गन्तव्य तय गर्नेलाई नै थाहा हुँदैन । जिन्दगीको यात्रा अन्धकारको यात्रा हो । जुन कहिल्यै जानेर जानिँदैन, सिकेर सिकिँदैन, बुझेर बुझिँदैन । जिन्दगी दुई दिनको रंगमञ्चको नाटक अर्थात् भ्रम हो, जुन तेरो, मेरो, माया, मोहको भ्रममै सकिन्छ ।
जिन्दगी एक भोगाई हो, जन्मदेखि मृत्युसम्म भोगिरहनुपर्छ । जिन्दगी एक यात्राको निष्कर्ष हो, अनुभवै अनुभवको यात्राको निष्कर्ष । अनुभववादीहरुको तर्क छ– जिन्दगी अनुभवहरुको सँगालो हो । जिन्दगीको यात्रामा जसले जति अनुभव जम्मा गर्छ, उसको जिन्दगी त्यसैमा निर्भर हुन्छ । जीवनयात्राको भोगाइ अनुसारको परिभाषा हुन्छ । जिन्दगीलाई विश्लेषण गर्ने तरिका भोगाइमा निर्भर हुन्छ ।
जीवन कसका लागि ? अरुका लागि कि आफ्ना लागि ? कि कसैका लागि होइन । मात्र सृष्टिको निरन्तरताका लागि । वास्तवमा जीवनभन्दा पनि जीवनको सार्थकता महत्वपूर्ण हो । जीवन आफ्नो लागि होइन, अरुको लागि बाँच्नु नै जीवन हो– सेवा हि परमो धर्मोः । त्यही नै जीवनको सार्थकता हो भन्नेहरुका अगाडि जीवन भनेको दुई दिनको हो, हाँसो, खुशी र आनन्दमा बाँचौँ भन्नेहरुको तर्कलाई चाहिँ कसरी कुतर्क भन्ने ? सानोमा …. ए ! कर्कलाको पानी, यो जिन्दगानी…. भन्दै देउसी भट्ट्याएको सम्झेँ । के हो यो जिन्दगी भनेको ?
निराशावादीहरु भन्छन्– जीन्दगी भगवानले गरेका भूल हो । जीवनको सबैभन्दा ठूलो निराशा भनेको एक्लै जन्मनु र मर्नुको नमिठो सत्य हो । तर मिठो भ्रमले गर्दा मानिसले कहिल्यै एक्लो महसुस गर्दैन । जीवन जसरी पनि चलिरहन्छ, तर राम्ररी कहिल्यै चल्दैन । धौधौ जिन्दगीहरु छन् जो सधैँ अभावमा बाँच्छन् । आलिशान जिन्दगीहरु आलिशान महलमा बाँच्छन्, तर भौतिक आलिशानमा हुनेहरु पनि जिन्दगीका तीता भोग्छन् ।
नित्से सम्झेँ– ए नित्से ! के साँच्चै हो जिन्दगी निस्सार ? निस्सारताको कुरा गर्दागर्दै आत्महत्या गरेका तिमीले जति जीन्दगीलाई अरु कसले बुझेको होला र ? तिमीपछि तिम्रो पदचाप पछ्याउँदै आत्महत्या गर्नेहरुको जीवनप्रतिको दृष्टिकोण र तिम्रो जीवनप्रतिको दृष्टिकोण फरक–फरक होला कि एउटै होला ?
जीवन एक दर्शन पनि हो भन्छन् दर्शनवादीहरु । त्यसो भए दर्शन के हो ? दार्शनिकले नै नबुझेको दर्शनसँग जोडेर जीवनलाई कसरी बुझिएला ? एक जनाले भनेको सम्झेँ– दर्शन भनेको एउटा गफ गर्ने मेसो हो । आजकलको जनजिब्रोको भाषामा टाइमपास । दर्शनको एउटा पाटोले भन्छ– जीवनको दर्शन समाजिक हुनुपर्छ । जीवनको आध्यात्मिक पक्ष, भौतिक पक्ष, सामाजिक पक्ष, मनोवैज्ञानिक धेरै पक्ष हुन सक्तछन् ।
जीन्दगीको सामाजिक र भौतिक पक्ष जति जटिल छ, आध्यात्मिक पक्ष अझ बढी जटिल छ । त्योभन्दा पनि जटिल छ मनोवैज्ञानिक पक्ष । त्यसो भए जिन्दगी जटिल नै जटिलताको पुन्तुरो पो हो कि ? के यो पुन्तुरो खोले जीवन चिनिएला ?
जीवनलाई भूत भविष्य र वर्तमानको सापेक्षतामा हेर्नेहरु भन्छन्– जीवन वर्तमानबाहेक केही होइन । …. हाँसौँ खेलौँ जिन्दगी दुई दिन बाँचुञ्जेल… भनेको सम्झन पुग्छु । मान्छे जहाँ जुन अवस्थामा छ त्यो नै त्यसको जीवन हो अरे । त्यसो भए विगतमा बाँचेको जीवन र भविष्यमा बाँच्नुपर्ने जीवनको पाटो के हो त ?
जिन्दगी दुई दिनको रामछायाँ हो । जिन्दगी सत्य र भ्रमको संगम पनि हो । यो जन्म र मृत्युको दोसाँधमा छ । दोसाँधमा पनि समय अनुसार कहिले भ्रम भैदिन्छ त कहिले सत्य बन्छ । तर सत्य चाहिँ यो हो रे कि भ्रममा पो जीवन, भ्रममुक्त भएपछि केको जीवन । जीवन भ्रममा रमाइलो हुन्छ भ्रममुक्त भएपछि निराशा शिवाय केही छैन ।
भनिन्छ– मानिस भ्रममा बाँचेको छ, त्यही भ्रममा बाँचेकै कारण संसार यति सुन्दर छ । संसारको सुन्दरताबाट भ्रममुक्त भै कुरुप यथार्थ जीन्दगी अगाडि आयो भने जिन्दगी कति भयावह छ । ओशो भन्छन्– मान्छे विहोशी वा भ्रममा हुन्छ, होसमा बाँच । होसमा बाँच्नु नै जिन्दगी हो । त्यसो भए जिन्दगीलाई चिन्नु नै जिन्दगी हो कि ? होइन भने भ्रममा बाँचेको जिन्दगी के जिन्दगी ? कि भ्रम नै हो साँचो जिन्दगी ?
भ्रममै सही जिन्दगी सुन्दर छ भनौँ । तर सुन्दरताभित्र खुसी मात्र छैन, दुख पनि छ । हाँसो मात्र छैन, आँसु पनि छ । भोगाइ हो जिन्दगी । जिन्दगीलाई भोगाइसँग तादाम्यता गराउने हो भने हाँसो खुसीको मिश्रण नै हो जिन्दगी । अनुभव र अनुभूति बीच निरन्तर जारी यात्राको विशाल श्रृंखला हो जिन्दगी । अर्थात् भोगाइ नै भोगाइको पिण्ड रहेछ कि जिन्दगी ?
जिन्दगी एक खुला किताब हो । अझ यो खुला विश्वविद्यालय नै हो । यहाँ अथाह ज्ञानको भण्डार छ । जहाँ हरेक दिन केही सिकिन्छ, तर त्यो ज्ञानरुपी महासागरको बारेमा मान्छे सधैँ भ्रममा छ । जिन्दगीको किताब धेरैले पढ्दैनन् । जतिले पढ्छन्, ती सबैले बुझ्दैनन् । जतिले बुझ्छन्, तिनले आफ्नो जिन्दगी नै चिन्दैनन् । तर जतिले पढ्छन्, बुझ्छन् र आफूलाई चिन्छन् तिनीहरु नै जिन्दगीको परीक्षामा उत्तीर्ण हुन्छन् भनेर भनौँ भने जीवनमा सफलताको शिखर चुमेकाहरु को को हुन् ? राजनीतिज्ञ, व्यापारी, प्राध्यापक, साहित्यकार, पत्रकार, दार्शनिक को सफल ? प्रश्न अर्को पनि छ, के जिन्दगीको खुला किताब पढेर संभव होला ? पुस्तकालयको किताब त सबैले पढ्न सक्तैनन् भने जिन्दगीको किताब कसरी पढेर सक्नु ? अनि जिन्दगीको किताब नपढी कसरि बुझ्नु जिन्दगी ?
कलावादीको दृष्टिमा जिन्दगी सृष्टिको सुन्दर फुल हो, कर्मयोगीको दृष्टिमा संघर्ष, क्रान्तिकारीहरुको दृष्टिमा बलिदान हो जिन्दगी, रसिकहरुको लागि मधुशाला हो जिन्दगी, प्रकृतिप्रेमीको दृष्टिमा प्रकृतिको अनुपम उपहार हो जिन्दगी । जिन्दगी गीत हो, संगीत हो, धुन हो । जीउन चाहनेहरुको लागि असीम संभावनाको भण्डार हो, जिउन नचाहनको लागि अभाव हो जिन्दगी । बहादुरका लागि बलिदान हो जिन्दगी, कायरहरुका लागि आत्मसमर्पण हो जिन्दगी । त्यसो भा जिन्दगी के त, जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड हो ?
कालो बादलमा चाँदिको घेरा पनि हुन्छ । जिन्दगी बिहानपख उदाउँदो सूर्यको प्रकाशमय उज्यालेको किरण हो, जुन दिनभर बादल वर्षा र आँधि हुरीसँग लुकामारी गर्दै आफ्नो कर्ममा रमाउँछ र अनि साँझ पर्दा आफ्नो नियतिको भोगाइ पार गर्दै क्षितिजमा हराएर जान्छ । भनाइ कति कलात्मक छ । तर भने जसरी चल्छ कि चल्दैन जीवन ?
जिन्दगी चलचित्रको पर्दा हो या रंगमञ्च ? जिन्दगी चलचित्र, हामी कलाकार । जिन्दगी रंगमञ्च, हामी पात्र । रंगमञ्चमा हामीले अनेक पात्रको भूमिका निर्वाह गर्नुपर्छ । जिन्दगीको रंगमञ्चमा पात्रको भूमिका अदलबदल भैरहन्छ । त्यही रीतले चल्छ जिन्दगी । रंगमञ्चमा पात्रको भूमिका निर्वाह गर्दागर्दै मैनबत्ती झैँ अन्त्यमा बलेर सकिन्छ जीवन । आखिर जिन्दगीको अन्त्य नै अन्तिम सत्य हो कि ? मैनवत्ती बलेर अरुलाई उज्यालो दिँदै आफैँ सकिए झैँ ?
जिन्दगी खेलमैदान पनि हो । जिन्दगीको खेलमैदानमा धेरै खेल खेलिन्छन् । रोमाञ्चक खेलहरु आयोजना गरिन्छन्, जितिन्छन् र हारिन्छन् । जिन्दगीको रंगमञ्चमा जिन्दगीका खेलहरु कति सुन्दर छन् कति । जुन खेलमा जस्तो भूमिका निभाइन्छ त्यही नै जीवन हो भन्ने पनि छन् । तर जिन्दगीको मैदानमा खेल जति भए पनि जीन्दगी त सधैँ हार्छ । हरेक खेलमा आयु छोटिन्छ । शक्ति सकिन्छ । समय पर्खँदैन जिन्दगीलाई, आफ्नो गतिमा कुदिरहन्छ ।
जिन्दगी संघर्ष, सफलता र अनुभवको त्रिवेणी हो भन्नेहरु पनि छन् । तर संघर्षमा सफलता प्राप्त नगर्नेहरुका लागि त जिन्दगी संघर्ष, असफलता र अनुभवको त्रिवेणी बन्न पुग्छ । सफलता सबैको लागि संभव छैन, तर अनुभव संभव छ । जिन्दगीमा सफलता मृगतृष्णा बन्यो भने उसले जिन्दगीलाई बुझ्ने दृष्टिकोण फरक हुन्छ ? कर्म एउटै भए पनि परिणाम फरक भए जिन्दगीप्रतिको दृष्टिकोण फरक हुन्छ । साश्वत बुझाइ खै ?
जिन्दगी खोलाको किनार जस्तै हो, जो अर्को किनार भेट्टाउन कुद्दा कुद्दै मेटिन्छ, तर भेटिँदैन । कति विडम्बना छ जिन्दगीको, नजिकै भएको किनारासम्म नभेट्ने । लक्ष्य नजिकै भएर पनि कहिल्यै चुम्न नसक्ने । नदि किनाराको नियतिमै जिन्दगी सकिन्छ । जिन्दगी खोला पनि त हो जसको कहिल्यै अन्त्य हुँदैन । तर भौतिकवादले मान्दैन अन्त्य नहुने कुरा । आध्यात्मिक संसारले मात्र मान्छ ।
जिन्दगी आगो हो, पानी हो, हुरी हो, बतास हो, आँधीबेहरी हो जिन्दगी । जिन्दगी आक्रोश र पीडा हो । जिन्दगी आक्रोश नै आक्रोशको लप्का हो लप्का । सारांशमा मृत्युको प्रतिक्षा हो जिन्दगी । यस्तो हो भने कति अर्थहीन छ जिन्दगी ?
के सुख र दुख, आँसु र हाँसो तथा आसा र विश्वासको मझेरि एवम् अवसरको फूलबारी अनि चुनौतीको पहाड पो रहेछ त जिन्दगी ? समग्रमा त जीवन भनेको मृत्युसम्मको अनुभवको प्रक्रिया हो । मृत्यु जीवनको अन्तिम अनुभव हो । जीवन प्राकृतिक चक्रभित्रको कृत्रिम भोगाइमा समय बित्ने र बिताउने माध्यम हो, तर यति अर्थहीन भैदिन्छ कि खरानीको डोरी जस्तो । कुनै उर्जा विनाको काल्पनिक डोरी । जीवन सम्झौतामा गएर टुंगिन्छ ।
जीवन कुमालेको एउटा चक्र हो । चक्र भए पनि कार्य र कारण बीच हुने अन्तरक्रियाको परिणाम हो । कुमालेको चक्र जति घुमाए पनि घुमिरहन्छ । तर गन्तव्यहीन । त्यसो भए जीवन कहिले नटुंगिने प्रश्न र उत्तर हो । योभन्दा निरर्थक केही होला र ? तर पनि आसाको त्यान्द्रो बाँकी छ ।
प्रेम भए जिन्दगी खुसी हो, प्रेम छैन भने जिन्दगी अभिसाप हो । प्रेमको महासागरमा नै जिन्दगीको सार्थकता हुन्छ । तर प्रेमका भोकाहरु वा प्रेमबाट ठगिएकाहरुका जिन्दगीहरु यो परिभाषाभित्र नपरे ती आत्माहरु माथि दोहोरो अन्याय हुन जान्छ । भो परिभाषाले जीवनमाथि अन्याय नगरोस् । जीवन जस्तो छ त्यस्तै ठीक छ ।
जिन्दगीको दृष्टिमा चाहिँ जिन्दगी के होला ? जिन्दगी के हो ? यो चिन्तनको आवश्यकता छ कि छैन ? यो शून्यवादी दर्शन निराशावादी वा कस्तो दर्शन हो ? जीवनवादी दर्शनले जीवनलाई हेर्दा जीवन के हो ? कहाँ छ जीवनको वास्तविक अर्थ ? केही भन्छन् जिन्दगीको काम भोग्ने हो । यसलाई परिभाषाको सीमाभित्र बाँध्न सकिन्न । कोही भन्छन् परिभाषा नै परिभाषाको महासागर हो जिन्दगी । कति विरोधाभास छ जिन्दगी । त्यसो भए के हो जीवनको दर्शन ?
वास्तावमा जिन्दगी के हो ? प्रश्न सहज छ । तर उत्तर सहज छैन । जिन्दगी अमूर्त कुरा हो । अमूर्त कुराको मूर्त उत्तर पाउन गाह्रो छ । वास्तवमा जीन्दगी बुझाइ हो । हरेक व्यक्तिका आफ्ना आफ्ना बुझाइ हुन्छन्, त्यही बुझाइ नै जिन्दगी हो । जिन्दगीलाई जस्तो हेरियो त्यस्तै देखिन्छ । जस्तो बुझ्यो, त्यस्तै बुझिन्छ । हो जीवन चिन्तन जसरी गरे पनि हुन्छ, जीवनदर्शन जसरी बुझे पनि हुन्छ । तर जीवनको चिन्तन शून्य दर्शन हो ।