18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वदेशमै रोजगार

कथा सदानन्द अभागी December 30, 2024, 11:43 am
सदानन्द अभागी
सदानन्द अभागी

अरे यार ! के छ हाल खवर ?

के हुनु यार ! बसीबसाउ त होनी

कहिले जाने हो त ? यमलालले सोधनी गर्दै थियो ।

श्रीमतीको गुनासो छ यार रामलाल घोरिँदै भन्छ ।

यमलाल– राम्रै त हो नि यार परिवारको गुनासो सुन्ने पर्छ यार ।

रामलाल– यस्तै त होनी , ठूलो परिवार छ कमाउने म मात्रै हो । घर चल्दैन ।जेठो छोरा हुँ । सबैलाई पाल्नु पर्ने, पढाउनु पर्ने ,नानाचाचा जोड्नु पर्ने विवाहदान गरिदिनु पर्ने, बाबाआमाले कान्छो समात्ने , आखिरमा आपूm भने अनौ फुक्लेको हलो हुनु पर्ने त रहेछ । समाजमा यस्तै देखिन्छ यार ।

यमलाल–पहिला जन्मिस्, सबैको माया पाइस्, हातहातै हुर्किस् , मीठो मीठो खाइस्, राम्रो राम्रो लाइस् , त्यसको व्याज पनि त तिर्न पर्यो यार ।

रामलाल–तैले पनि मजाक गर्छस् यार । मैले मात्र हो र सबैले जेनतेन खाएलाए कै छन् नि यार ।

यालाल –भो छाड्दे सबैकुरा, म त तँ कहिले दुबै जाने हो भनेर सोध्न आएको पो हो यार । दुई /चार दिन छुट्टी बढाएर भए पनि सँगसँगै जाम भनेर आएको पो हो यार ।

रामलाल– बाबा आमाको भनाइ छ कान्छाको विवाह गर्नु प¥यो । श्रीमतीको आग्रह छ दुई /चार महिना बस्नु पर्यो । कम्पनीले काम मात्रै खोज्छ, पैसा बढाउने काम गर्दैन ,बढ्ता काम गर्नु परे पनि पैसा थप्दैन । अँ ह मत चाँडै जानेवाला छैन । तेरा कम्पनीमा काम मिलाएर बोलाई अनि म आउँला हुन्न र यार ?

त्यसो नभन यार । अहिलेको जागिर छाडेर फेरी जानपर्दा म्यानपावरलाई बुझाउन पर्ने २ लाख पैसा घरमा छाडिदियो भने घरको सबै काम भै हाल्छ यार । तँ जस्तो मिल्ने साथी मैले को पाउँछु यार ? रामलाल र यमलाल बातचित गर्दै थिए । रजनी टुप्लुक्क आइपुगिन् ।

यमलालले, नमस्कार भाउजू भनेर अभिवादन गर्छ ।रजनीले अभिवादन फर्काउँछिन् र घरपरिवारको कुशलता सोधनी हुन्छ । हाम्राले त खुबै मिल्ने साथी भन्नु हुन्थ्यो, उहाँ २÷३ पटक हजुरकोमा जानु भयो तर हजुरको त नाक मुख देखिएन । आज कसरी बाटो बिराउनु भयो त ?घरको कामले उछार दिएन । आज रामलाललाई सँगै जाम भन्न आएको । ए ! त्यसो पो हो ? किन जान ¥यो विदेश ? हाम्रा त जाँदैनन् । यतै हलो जोतेर, आफ्नै बारी खोस्रेर, गुन्द्रुकको तिहुनमा पलो हालेर ढिँडो खाए भै गयो नी । यमलालले, कहाँ हुनु भाउजू ? उताका पैसो भनेको गह्रुङ्गो हुन्छ । एकमुष्ठ आउँछ । केही काम गर्न सकिन्छ ।यहाँ कमएको हातहातै ल्यायो हातहातै सिध्यायो । रित्ताको रित्तै बुङ्गोको बुङ्गै ।हेर्नुहोस् भाउजू दाइलाई पठाउनु होस् यमलाल भन्छ । हेर्नुहोस् देवर बाबु , हाम्रा त अब विदेश जाँदैनन् । गर्न सके यही देशमा सबै चीज छ । अल्छी गरे कतै पनि छैन । घरका समस्या धेरै छन् । मैले उहाँलाई भनेकी छैन । बिदेशबाट आएका श्रीमानलाई घरका व्यवहारिक समस्या भन्दा मन खिन्न हुन्छ । घर विग्रन्छ । हामी दुबैले सकेसम्म घरलाई सपार्नी हो, घरलाई मन्दिर बनाउने हो, घर बिगार्ने हैन । घरमा बसेपछि बिस्तारै सबै कुरा बुझ्दै जानु हुन्छ । अब हामी यहीं बस्ने हो । यही घरलाई सिङ्गारने, यही देशलाई हराभरा बनाउने हो । मेरो हजुरलाई पनि विन्ति छ । विदेशको मोह त्यागौ र स्वदेशमा जे गर्न सकिन्छ त्यही गरौं । हो भाउजू हजुरले पोखेका भावना सबै राम्रा छन् । मलाई पनि सोच्न बाध्य बनाउनु भयो, हेर्छू , केही गर्न सके गर्छु र हजुरलाई भेट्छु ।
पुसको जाडो शीतलहर चलेको छ । रामलालका बाबाआमाले दिन दिनै भाइको विवाहका कुरा निकाली रहेका छन् । नातापातामा पनि कुराहरू चलेका छन् ।लमी लगाइएको छ । केटी पाउन कहाँ सजिलो छ र केटीहरूले अमेरिका, युके, अष्ट्रलिया, जापानमा काम गर्ने केटा खोज्दछन् । रामलालको भाइ अहिले १२ कक्षमा पढ्दै छ ।जागिर व्यवसाय केही छैन । दिन दिनै बाबु आमाको स्तोत्र कान्छाको विवाह बाहेक केही छैन । बल्लतल्ल लमीले एउटी केटी निकाल्यो । दाइजो दिन सक्ने अवस्था थिएन । फेरी बुढाबुढीले कच कच गर्न थाले । ‘एक दिनको इज्जत नराख्नेकोमा पनि कसरी विवाह गर्न जाने ?’ ‘‘हजुरलाई राम्री बुहारी चाहिएकी हो कि दाइजो” रामलालले प्रश्न तेस्र्यायो ।‘‘आजका केटीहरुको चाहना र हाम्रा घरको अवस्थालाई पनि त हेर्न प¥यो ।” लमीले र रामलालले बुढा बुढीलाई सम्झाए । अब केटा र केटीको साक्षात्कार र दुवै बीचको भावनाको आदान प्रदान बाँकी रह्यो । यो काम पनि सफल भयो । माघको सात गतेलाइ दुबै तर्फकाले जनै सुपारी र टीका लगाउने काम भयो ।गच्छे अनुसारको खर्चमा विवाह गरियो । माघ महिना विवाहको रमझममा वित्यो ।

एक दिन रजनीले रामलाललाई भनिन् । ‘‘आजकाल घरको चाल चलन पत्ता पाउनु भएको छ ?”

‘‘अ हँ थाहा छैन”

‘‘हेर्दै जानु होस् । आमाका व्यवहार तपाइँप्रति, मप्रति र हाम्रा छोरीप्रति” ।

साँचिकै रजनीले भनेको कुरा त ठिकै रहेछ । आमाको बोली आजकाल पहिला भन्दा निकै परिवर्तन भएको रामलालले पायो । बाबु पनि किन हो किन ? बोल्दा पनि झर्केर बोल्ने, केही भन्न नचाहने । रामलालले रजनीसँग सोधो–‘के भएको यस्तो ?’ रजनीले पनि अझै हेर्दै जानुहोस् । म केही भन्दिन, तपाइँले आफै बुझ्नु हुनेछ । बुझे पनि कसैलाई केही नभन्नु होला ? किन कि हाम्रो काम हो निर्माण गर्नु , बिभाजन होईन । हामीले धेरै पसिना बगायौं । यी पसिना केवल हाम्रो लागि मात्र नभएर सबैको लागि हो तर पसिनाको कदर भएन । हामी अर्घेलो भयौं । ”

फागुनको महिनाको आधा आधिमा रामलालका बाबुले असजिलो मान्दै मान्दै मुखफोरे । ‘रामु परिवार ठूलो भयो ।आमा बुढी भै । खाना पकाएर दिन नसक्ने भै । आफ्नू आफ्नू गनर््ु प¥यो । रामलाला केही बोलेनन् । रजनीले हामीले सेवा गरेकै त थियौंं बुबा, किन हामी अट्न सकिनौ ? रामलालको बाबु केही बोलेनन् । मानिस जोडिए । कसैले किन छुट्टिनु प¥यो । छुट्टिनु भनेको त खोट्टिनु हो भने । कसैले केरा र छोरा जति फो¥यो त्यति सप्लाउँछन् भने । कसै कसैले छुट्टिनुको कारण खोजे ।कसैले विदेशमा कमाएको पैसा पुरै दिएन अरे, कसैले यसका छोरीलाई कसले हेरिदिने, एउटा भैसीको पुरै दूध यिनैलाई चाहिन्छ भन्छिन् अरे घरबुढीले । एक दुई गरेर महिलाहरू पनि जोडिन थाले । यस्ता सज्जन छोरा बुहारी त भाग्यमानिले मात्र पाउँछ । अभाग हो अभाग यिनलाई अलग गर्नु त, एउटी बुढीले भन्दै थिइन् ।

बुढाबुढीले आधा राख्ने र बाँकी सबैलाई बाँडिदिने रामलालको बाबाको धरणा समाजमा राखियो । समाजले यो मिल्दैन कि भन्ने आवाज निकाले ।ं अश त जिउ जिउकै लाग्छ । अहिलेको उब्जाऊ पेट बाँडोमा जान्छ । बुढाबुढीले सुन्ने वाला थिएनन् । बुढा बुढीले आधा उनीहरूलाई चाहिने भन्ने रट्न थियो । कोही भन्दै थिए अंशबण्डा भनेको तिलको गेडा घोटेर मासको गेडा फोरेर हुनुपर्छ । समाजले किन अन्याय गर्ने ?एक युवाले रामलालले त्यस घरमा कमाएर दिएको एक एक पैसाको हिसाब जान्दथ्यो । उसले उठेर भन्यो– यदी नियमसम्मत अंश लगाइन्न भने उसले कमाएको पैसा एक एक गरेर फिर्ता दिनुहोस् । उसले तपाइँसँग अंश माग्दैन । बसेको समाजमा यो कुराले छोयो । कसैले भने ठिक कुरा हो । कसैले कहाँ हुन्छ भन्न थाले । त्यो युवकले के हुन्छ त ? सही कुरा भन्न किन डराउने ? प्रश्न माथि प्रश्न ग¥यो । समाजलाई अवत सही कुरा भन्न करै लाग्यो ।जिउजिउकै अंशबण्डा लगाइयो । घर बुढाबुढीलाई दिने भन्दा सबै सहमत ए । रामलाल र रजनी भने यो छलफलमा एक कुनामा मौन बसे । घरका अरू परिवारहरू आफ्नो पक्षमा पार्नलाई पछि परेनन् । अन्त्यमा समाजले तिम्रो विचार के छ भनेर रामलाललाई सोध्यो । रामलालले बाबाले लगाएको सिक्री औंठी र आमाका नाक कानका गहना उहाँहरूबाट नझिक्ने अर्थात उहाँमै छाडी दिने । अरू जग्गा जमिनको हकमा समाजले बाँडे बमोजिम सबैले छाडेको अंश लिन म तयार छु, राम लालले भन्यो । रजनीले पनि रामलालको निर्णयलाई स्वीकारी ।अंशबण्डा सकियो । रामलालको खुला आकाशको छाना मुनीको बास भयो । न घर, न गोठ ।

बाँसका खामा गाडेर पाल टाँगेर, त्यही पाल मुनि बसेर रजनी र रामलालले भावी जीवनको कल्पना गर्न थाले । विहानसम्म एकै ठाउँको बास र एकै भान्साको गास थियो । साँझ पर्दा नपर्दा सबै टाढा टाढा भए । रामलालका छोरीहरूलाई यो के भएको थाहै छैन । उनिहरू प्रश्न गर्दछन्, त्यो घर के भयो र यहाँ यस्तो ठाउँमा बस्नु पर्ने ? काका पनि बोलाए बोल्नु हुन्न किन ? हजुर आमाले यता नआयो जाओ भन्नु हुन्छ । भैंसी दुहे सबैले दूध खाँदै छन्, हामीलाई दिंदैनन् किन ? रामलाल बोल्न सक्दैन तर रजनीले हामीले राम्रो घर बनाउने भनेर यहाँ बसेको हो । भोलीबाट घर बनाउँछौं, भैंसी किन्छौ अनि दूधभात खाने है ? हुन्छ ? भनेर छोरीलाई सम्झाउँछिन् । केटाकेटीको मन मानीरहेको थिएन । रजनीको मिठो र मायालु बोलीले सकरात्मक धारणा सहित छोरीहरूलाई खाना खुवाएर सुताइन् ।

आकाशमा ताराहरू आफ्नै रफ्तारमा चम्किरहेका छन् । रजनी एक कुनामा ट्वालट्वाल्ती हेरी रहेकी छिन् । रामलाल पनि सुत्न सकिरहेको छैन । रातभरी आँखा जोरिएनन् । विहान भयो छोरी उठेर भोक लाग्यो भन्न थाले । रजनीले रातो चिया र विष्कुट छोरीलाई खुवाइन् । रामलाल घर कसरी बनाउने सोच्दै कर्मी खोज्न गयो । नपुग भाँडा किन्न र खाना पकाउने सामान किन्न दोकानतिर गइन् । रामलाल र रजनीको पकेटमा न पैसा छ । न आम्दानीको स्रोत छ तर उनीहरू दुबैमा बलियो धैर्यता भने छ। बिहानको १० बज्यो रामलालले मिस्त्री लिएर आयो । सबैले खाना खाए । करिब एघार बज्दा नबज्दा गाउँले युवा युवतीहरू जमघट भए । कसैले दार काट्न गए । कोही ओसार्न थाले । साथीभाइ इष्टमित्रको सहयोग र ऋणधन गरेर घर र गोठ तयार ग¥यो । आम्दानीको स्रोतको जोहो गर्न उसको मनमा कुरा खेल्न थाले । रामलाल घोरिएको देखेर रजनी आएर सोधनी गर्न थाली र ‘ के भयो र हँ ? यसरी झोक्राएको ?’ रजनीको प्रश्न थियो । ‘यत्रो ऋण लाग्यो । आम्दानीको स्रोत केही छैन । ऋण कसरी तिर्ने ? भैंसी कसरी किन्ने ? खानेखर्च कसरी जोडजाम गर्ने ? यिनै कुराले मनमा घर जमायो, चिन्ता उब्जायो र घोरिन बाध्य बनायो ।’रामलालले आफ्नो मनको बह पोख्यो । रजनी झटपट उठी भित्र पसी एक हातमा तातो पानी र एक हातमा चिया लिएर आई र भन्न थाली ल पानी पिउँ र चिया पिउँ । श्रीमतीको मिठो र मायालु बोलीको साथमा चिया र पानीले गर्दा रामलालको चिन्ता केही क्षणलाई हरायो । रजनी छेउमै बसेर रामलाललाई भनि –‘ केही चिन्ता लिन पर्दैन । नाक कानका गहना बैंकमा धितो राख्ने, भैंसी किन्ने, दूध बेच्ने, बाख्रा पालन सुरु गर्ने, बोका, खसी र पाठापाठी बेच्ने, तरकारी लगाउने, के को चिन्ता लिनु प¥यो र एक÷दुई वर्र्षमा ऋण तिरिन्छ । ’ रामलाललाई रजनीको कुरा ठिकै लाग्यो । खाना खाएर ऊ बैंक तिर लाग्यो । बैंकले पनि एक लाख ऋण दियो । उसले दूधालु भैंसी किन्यो । रामलालको कारोवार सुरु भयो । ऋण भए पनि आम्दानीको बाटो खुल्यो । रजनीले घरको काम गर्न थाली । वेमौसमी तरकारी खेती लगाउन थाली । रामलालले जमुनापारी जातको बाख्री किन्न जाँदा एउटा बोका पनि ल्यायो । बोका बेच्यो ३०० रु नाफा कमायो । भैंसीको दूधको कारोवारको साथै पाठा पाठी किन्दै जे जति नाफा पायो बेच्यो । यसरी रामलालको आर्र्थिक अवस्था भैंसी पालन, बाख्रा पालन र वेमोसमी तरकारी खेतीबाट मनङ्गे पैसा कमायो । उसले भैंसी पालन र बाख्रा पालनका दुई ठूला फर्महरू सञ्चालन ग¥यो । ५ जना बाख््राा फार्म र १० जनालाई भैंसी फर्ममा रोजगार दिएको छ । ‘बजार व्यवस्थापन सरकारले गरी दिएको खण्डमा १०० जनालाई त रोजगार सहजै दिन सक्ने थिएँ ।’ रजनीले धेरै ठूलो तरकारी फर्म नखोले पनि स्थानीय बजारलाई तरकारी पु¥याएकै छ र २/४ जनालाई रोजगार दिएकै छ ।

आज यमलाल र रामलाल विदा भएको तीन वर्ष बित्यो । यमलालले रामलालको प्रगतिको प्रशंसा चारैतिर सुन्यो । यमलालको श्रीमतीले यमलाललाई स्वदेशमा कामै छैन भन्ने, विदेश नगई पविार पालिदैनन् भन्ने, यो देशमा भविष्य छैन भन्नेको त रजनीले मेखै मारिदिई । गर्न सके त यही देशमै केही हुँदो रहेछ त ? रजनीले के गरिन सामाजिक मर्यादाको पालन गरिन कि, श्रीमान, सासू, ससुरा, देवर र देउरानीमा आदरभाव देखाइन कि ? सबै कर्ममा ऊ सफल छे । यमलालले श्रमितीलाई भन्यो म पनि सोचुला । एउटा साथीले समाजमा देखाएको प्रगति त राम्रो उदाहरण हो । अब म रामलाललाई भेट्न जान्छु । उसको सल्लाह लिएर म पनि स्वदेशमै केही गरुला। अनि तिमीले पनि सोच र रजनी जस्तो खटेर काम गर्न सक्ने नसक्ने विचार गर है त ?ऊ पनि आइमाई हो । हात्ती गैडा त होइन । उसले सकेको काम म किन न सक्नु ? ठिकै छ ।

यमलाल रामलालको घरमा पुग्यो । रामलालले यमलाललाई स्वागत यार स्वागत भन्दै पटाहामा बस्ने आग्रह गर्यो । यामलालले –‘तिमीले त कमाल ग¥यौ यार, तीन वर्षमा यत्रो प्रगति यार, यो त अति भयो यार । कस्तो जादुको छडी चलायौं यार । रजनी आइपुगिन् । यमलाललाई नमस्कार गर्दै पानी र चिया लिन घरभित्र छिरिन् । पानी र चिया ल्याएर घरतिरको हाल खवर सोधिन् । तीन जना बसेर चिया खाँदै बातचित गर्न थाले । भाउजू तपाइँ त लक्ष्मी हो लक्ष्मी । रामलाल र म त सँगै बस्थ्यौं । रामलालले कमाएको पैसा सबै बाबुको नाममा पठाउँथ्यो । ऊ सँग एक पैसा साथमा हुँदैनथ्यो । तपाइँलाई छुट्टै पठाएको पनि मलाई थाहा छैन । तर कसरी यो आर्जन अगाडी लानु भयो ? देवर बाबु पैसा हातको मैला हो । आउँछ जान्छ । यसलाई मौकामा छोप्न सक्नु पर्छ । संघर्सको उत्पादन भनेको पैसा हो । पैसाको सदुपयोग नै प्रगति हो । हाम्रो यो आर्जन मेरो नाक कानका सुन र दाजुको हातको औठीलाई वैंकमा राखेर एक लाख पैसा निकाले र व्यवसाय सञ्चालन गर्न थालेका हाँै । त्यसैलाई राम्रो सदुपयोग गर्नुको नतिजा यही हो । हाम्रो इमानदारिता, लगनशीलता, नैतिकतामा यो गाउँले विश्वास ग¥यो । यो घर सबै अर्मपर्म र गाउँले दाजु भाइको सहयोग र पसिना हो । एउटा भैंसी र एउटा बाख्राका माऊ पाठाबाट थालनी गरेको हो । समयले साथ दियो । सुरुमा त निकै दुःख पाइयो । अहिले काम गर्ने मानिस छन् तर पनि व्यवस्थापन गर्न होशियार रहनु पर्छ ।

‘भाउजू म पनि अब विदेश जान्न । मलाई पनि बाटो देखाइ दिनुप¥यो । ’ रजनीले भन्छिन् –‘हाम्रो र हजुरको अवस्था फरक छ । हामी संयुक्त परिवारबाट अलग हुन प¥यो । बारीमा पाल टाँगेर बास बनाएर बस्नु परेको थियो । गाउँले इष्टमित्रको सहयोग नभएको भए उठ्न सक्ने अवस्था थिएन तर तपाइँको त बाबा र आमाको आशीर्वाद छ । जेकामको थालनी गरे पनि ऋणमा डुब्नु पर्दैन । सर्बप्रथम मनैबाट मन पर्ने, बजार पाइने, हावा पानी सुहाउँदो, सरकारले स्वदेशमा काम गर्दा दिने अनुदानलाई ध्यान दिएर सोच्नु होस् । घर सल्लाह गरेर मैले भनेका कुरामा ध्यान दिएर कामको थालनी गरे सफल भइन्छ ।’ भाउजू माछा पाल्दा कस्तो होला ? ‘तपाइँको घर जग्गालाई हेर्दा, बजारको अवस्थालाई केलाउँदा, पानीको स्रोत र माटो हेर्दा निकै सुहाउँदो छ । चाम्रो माटो छ । यस्तो माटोबाट पोखरीको पानी कम चुहिन्छ । पानीको स्रोत पनि निकै सहज छ । अझै घरका सबै जना सहमत हुन्छन् भने पोखरीको डिलमा बंगुरका खोर बनाएर बंगुर पनि पाल्न सक्नु भयो भने र बंगुरको दिशा माछाको खाना साथै पोखरी मलिलो हुने फाइदै फाइदा हुन्छ ।’ यति कुरा गर्दागर्दै खाना खाने समय हुन्छ । सबै जना खाना खान थाल्छन् । खानापछि यमलालले स्वदेशमै बसेर एकीकृत माछापालन गर्ने प्रतिबद्धता जनाउँदै विदा हुन्छ ।

कावासोती

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।