18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्बन्धः एक कृति–रत्न

कृति/समीक्षा प्रा.कपिल अज्ञात December 27, 2024, 3:22 pm
प्रा.कपिल अज्ञात
प्रा.कपिल अज्ञात

हालै प्रकाशित जानुकादेवी (रिमाल) पौडेलको सम्बन्ध (२०८१) २६ वटा प्रबन्धात्मक आलेखहरू संग्रहित कृति हो । यसलाई निबन्ध नै भन्न नसकिने होइन किनभने यसमा वस्तुपरक चिन्तनका स्वरूप समाविष्ट छन् । तर पनि बौद्धिक आयोजन भएकाले प्रबन्ध भनिएको छ । यसमा भावनात्मक प्रस्तुति भन्दा पनि व्यावहारिक ज्ञानपरक मार्गदर्शनका प्रयोजनले विचार वा चिन्तनहरू विविध नियोजित विषय सूत्रमा उनेर प्रस्तुत गरिएका छन् ।

भनिन्छ कृतिको रचना तीन उद्देश्यले गरिनुपर्छ १. उत्सुकता, २. उपयोगिता र ३. उत्कृष्टता । उत्सुकता आनन्द दिने प्रकृतिका हुन्छन् । उत्कृष्टता ज्ञान दिने व्याख्या विश्लेषणमय प्रकृतिका हुन्छन्, त्यस्तै उपयोगिता पनि व्याख्या–विश्लेषण नहुने होइन तर यी सरल र सहज सम्प्रेष्य प्रकृतिका हुन्छन् । यस कृति रचनामा यही दोस्रो उपयोगिताको हेतु राखिएको छ ।

रचना क्रममा प्रवेश गर्दा सर्वप्रथम दृष्टिकोणको व्याख्या छ । यसमा अस्वस्थप्रतिस्पर्धालाई खतराजनक मानसखेलको रूपमा लिइएको छ । समाजका आडम्बरी वा ढोँगीलाई घोँगी किरासँग तुलना गरिएको छ । त्यस्तै व्यवहारमा व्यवहार कस्तो हुनपर्छ भन्ने दर्शाइएको छ । व्यवहारको मूल क्षेत्र मानिसको सोच हो । राम्रो सोचले राम्रो विचार जन्माउँछ र राम्रो विचारले राम्रो व्यवहार गर्न लगाउँछ । सकारात्मक सोच राखेर व्यवहार गरेमा त्यो सबैका निम्ति फलदायी रहने बताइएको छ ।

प्रफुल्ल– मानसिक प्रसन्नताबाट मुहारमा समेत देखिने परिणाम हो प्रफुल्लता । यो मानिसको महत्वपूर्ण गुण हो । यसले मानिसका तनावहरूलाई पनि निर्मूल पार्दछ भन्दै यस्तो प्रवृत्ति अपनाउनमा जोड दिइएको छ ।

प्रसन्न–प्रसन्न हुनु भनेको खुशी हुनु हो । जो भित्री रूपमा आनन्दित छ, उही खुसी हुन्छ । खुसी वा प्रसन्न हुनुलाई अर्को अर्थमा आनन्दको अनुभूति पनि भनिन्छ । यस्तो अनुभूति अरुलाई पनि बाँड्न सकिन्छ । जीवनमा कर्म–धर्म दुवै पक्षलाई लिएर अगि बढ्नुपर्छ भन्ने सन्देश यसमा निहित छ । यस्तै समानुभूति र सहानुभूति दुवै अर्थका दृष्टिले फरक शब्द हुन् । यसमा दुवैको सूक्ष्म ढ·ले विश्लेषण गरिएको छ । समानुभूति भन्दा सहानुभूति व्यवहारमा अधिक प्रचलित शब्द हो । सहानुभूति भनेको एकले अर्काप्रति करुणाभाव दर्शाउनु हो । निष्पक्षको शाब्दिक अर्थ कुनै पनि पक्ष नलिने वा पक्षपात नगर्ने भन्ने हो । यसका निम्ति भावना शुद्ध पारेर व्यवहार गर्ने कुरा दर्शाइएको छ । लेखिकाको शब्दमा भावना शुद्ध हुँदैन भने विचार सोचहरू व्यवहारमा उभिँदा नकारात्मक भएर उभिन्छन् ।

कृतज्ञता– कृतज्ञको अर्थ आफूलाई उपकार गर्नेप्रति आभारी हुने वा गुन नबिर्सने भाव दर्शाउनु हो । सही आफू कृतज्ञ भएको भाव जनाउने शब्द कृतज्ञता हो । म कृतज्ञता ज्ञापन गर्दछु भनेको म आभार जनाउने काम गर्दछु भनेको हो । यो व्यवहारमा चरितार्थ गर्नुपर्ने अत्यन्त उपयोगी शब्द हो । जो अरुले गरेको उपकार बिर्सिन्छन्, ती बैगुनी हुन् । बैगुनी हुनु अव्यावहारिकता हो । कृतज्ञता जनाउनु खुशी दान गर्नु हो । सम्बन्धमा सौहार्दता ल्याउनका निम्ति कृतज्ञता जनाउन कन्जुस्याइँ गर्न हुन्न भन्ने लेखिकाको धारणा रहेको पाइन्छ ।
समानुपातिक– समानुपातिकको अर्थ समान अनुपातको आधारमा गरिने भन्ने हो, यो सम्बन्ध र व्यवहारमा प्रयोग हुने शब्द हो । यो राजनीतिमा पनि प्रयोग हुन्छ । तर व्यावहारिक रूपमा चरितार्थ भएको पाइन्न । लेखिकाका दृष्टिमा यो सद्भाव तथा मेलमिलापको जीवन सूत्र हो, सद्भावले अनेकतामा एकता ल्याउँछ र समानुपातिकले विविधतामा सद्भाव सृजना गर्दछ ।

प्रेरणा– कसैलाई कुनै काममा प्रवृत्त गराउने अर्थको शब्द हो प्रेरणा । प्रेरणा नै सफलताको कारक हो । प्रेरणा शब्द जति सरल छ त्यति यसको महत्व गहन छ । मानिसलाई क्रियाशील र ऊर्जाशील बनाउन यही प्रेरणाले भूमिका खेलेको हुन्छ । साहित्यिक लेखनमा पनि तपाईको प्रेरणा स्रोत के भनेर सोधिन्छ । प्रेरणामा स्वच्छता, पवित्रता र निस्वार्थताको भाव निहित हुन्छ । लेखिकाले यसको सुन्दर र सटीक विश्लेषण गरेकी छन् ।

निर्णयात्मक– निर्णयात्मकलाई अर्को शब्दमा न्यायिक भनिन्छ । जब न्यायको कुरा आउँछ, त्यहाँ पक्ष–विपक्ष बनाएर बहस गराइन्छ र जता प्रमाणको पल्ला भारी पर्छ, उसैलाई न्याय दिइन्छ । त्यो न्यायसंगत छ कि छैन भन्ने विचार गरिन्छ । लेखिकाको विचारमा न्यायोचित निर्णयात्मक भूमिकाले नै सबै निष्पक्ष र सबल रहन्छन् । आफ्नो बानी वा व्यवहारलाई पनि न्यायोचित रूपमा परिचालन गर्नुपर्छ भन्ने लेखिकाको धारणा रहेको छ ।

गतिशील ऊर्जा– यो भौतिक शास्त्रबाट लिइएको शब्द हो । ऊर्जा भनेको शक्ति हो । शारीरिक र मानसिक तहमा पनि ऊर्जा गतिशील हुन्छन् । स्वास्थ्यका निम्ति दुवै आवश्यक छन् । गतिशील ऊर्जालाई सही दिशामा उपयोग गर्नुपर्छ । हाम्रो शारीरिक र मानसिक चालबाट ऊर्जा उत्पन्न हुन्छ । नकारात्मक ऊर्जालाई परित्याग गरी सकारात्मक ऊर्जालाई मलजल गर्दै जानु पर्छ भन्ने लेखिकाको धारणा रहेको छ । यस्तै प्रेमी प्रकृतिलाई मायालु स्वभाव मान्न सकिन्छ । यो शरीर र मनसँग जोडिएर उत्पन्न हुने सत्य र शुद्ध भावना हो ।

प्रेमिल प्रकृतिः प्रेमिल प्रकृतिले व्यक्तित्व विकासमा महŒवपूर्ण भूमिका खेल्दछ । जो प्रेमिल प्रकृतिका हुन्छन्, ती असल प्रेमी हुन्छन् । आजका मानिसमा प्रेमिल भावना आवश्यक छ भन्ने लेखिकाको धारणा छ । यसरी प्रेमिल प्रकृतिको सुन्दर विश्लेषण गरिएको छ ।

ध्यान/सजगता– कुनै विषयमा मन तल्लीन गराउने कामलाई ध्यान भनिन्छ । ध्यान चित्तको एकाग्रता हो । हाम्रो मन चञ्चल हुन्छ, त्यसलाई ध्यानले नै नियन्त्रित गर्दछ । ध्यान एकाग्रताको साँचो र ऊर्जाशील शक्तिको साँचो मानिन्छ । अहिले ध्यान सम्बन्धी कयौं संस्था खुलेका छन् । ध्यानसम्बन्धी योजना र कार्यक्रम पनि आउन थालेका छन् । ध्यानले चेतनाको विकास गर्दछ । तनावग्रस्त जीवनलाई शान्त पार्दछ भन्दै लेखिकाले ध्यानको छोटोमिठो तरिकाले सटीक विश्लेषण गरेकी छन् ।

नयाँ वर्ष संकल्प– नयाँ वर्ष संकल्पमा नयाँ वर्षलाई संकल्पको रूपमा लिएकी छन् । मनको अठोट वा निधो गर्नुलाई संकल्प भनिन्छ । संकल्प नगरिकन गरिएको पाठपूजा फलदायी हुँदैन भन्ने शास्त्रीय मान्यता छ । विवाह, व्रतबन्ध आदिमा पनि संकल्प गरिन्छ । यसमा हरेक नयाँ वर्षमा सकारात्मक सोच राखेर नयाँ कामको संकल्प ग¥यौँ र पूजा गर्दै गयौँ भने जीवनको सुन्दर विकास हुने धारणा प्रस्तुत गरिएको छ ।

आजीवन– आजीवनलाई असामान्य रूपमा लिइएको छ । यसलाई अङ्ग्रेजी शब्द क्रेजी शब्दको अर्थमा विश्लेषण गरिएको छ । सामान्य रूपले देखाउनु पर्ने व्यवहार अलि बढ्ता देखाउन थाल्यो भने त्यसलाई क्रेजी शब्दको प्रयोग गरिएको छ । यसमा अजीव र क्रेजी शब्दको अर्थबीच तालमेल नभएको वा केही नमिले जस्तो लाग्छ । आफ्नो मन र शरीरमा भएका क्रेजीनेस छन् भने तिनलाई हटाएर आफ्नो निखार ल्याउनु पर्ने लेखिकाको धारणा रहेको छ ।

मनोविश्लेषण÷मनो संश्लेषण– विश्लेषण भन्नाले चिरफार गर्नु वा छुट्याउनु हो, त्यस्तै संश्लेषण भन्नाले जोड्नु हो । दुवै मनोविज्ञानसँग सम्बन्धित शब्द हुन् । मनोविश्लेषणका पिता फ्रायड मानिन्छन् । उनले मनलाई तीन तहमा विभाजित गरेका छन् इद, इगो र सुपर इगो । लेखिकाले यहाँ तिनैको राम्रो विश्लेषण गरेकी छन् । उनका विचारमा यी दैनिक व्यवहारमा लागू हुने विषय हुन् । यिनलाई राम्ररी बुझेर जीवनमा अवलम्बन गर्नुपर्ने उनको विचार छ ।

प्रश्न– प्रश्न भनेको सोधाइ वा सवाल हो । प्रश्नको सम्बन्ध जेमा वा जोसँग छ, उसैसँग प्रश्न गरेर सही उत्तर पाउन सकिन्छ । लेखिकाले जीवनमा पारस्परिकताको ठूलो महत्व देखेकी छन् । त्यसैमा आत्मीय र असामान्य मनोभाव लहराएको हुन्छ । स्वच्छता र पवित्रता मौलाएको हुन्छ भन्दै प्रश्न कहाँ कसरी राख्ने भन्ने जान्नु आवश्यक भएको बताएकी छन् ।

चिकित्सा– सामान्यतया चिकित्सा भनेको औषधी उपचार गर्ने वा ओखतीमुलोको प्रयोग गरी निको पार्ने काम हो तर यहाँ थेरापी भनेर एक प्रकारको चिकित्सा पद्धतिलाई लिइएको छ । यो विभिन्न समाजमा समान्य भइसकेको छ । थेरापी पनि विभिन्न प्रकारका हुन्छन्, यसमा तिनको परिचय र विधि बताउँदै थेरापीबाट जीवनको अर्थ बुझौं र सुधार गरौं भन्ने बताइएको छ ।
छाता– विशेष गरी घामभन्दा पानीबाट जोगाउने महत्वपूर्ण भन्दा पनि आवश्यक वस्तु हो छाता । वर्षा समयमा यात्रा गर्नु प¥यो भने साथमा छाता हुनु आवश्यक छ । छाताले घामपानीबाट शरीरलाई रुझ्न–भिज्नबाट जोगाउँछ । शहर–बजारमा विशेष रूपमा प्रयोग हुने वस्तु हो छाता । गाउँघरतिर स्याखु, घुम आदि यसका विकल्प पनि हुन्छन् । मानिसहरू कुन चाहिँ अङ्ग पानीबाट जोगाउन खोज्छन् भन्दा उत्तर टाउको आउँछ । कहिलेकाहीँ एउटै छातामा धेरै टाउका ओत लागेका हुन्छन्, किनभने सब अङ्गहरूमा टाउकाकै अधिक महत्व हुन्छ । यहाँ घर, समाज र संघसंस्थालाई पनि छातासँग तुलना गर्दै यसबाट उपयोगमा आउने वस्तुलाई इज्जतपूर्वक त्यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिइएको छ ।

मूल्य – त्यस्तै मूल्यबारे पनि चर्चा गरिएको छ । व्यवहारमा शुभकामना, बधाई, आशीर्वाद जस्ता भावनात्मक शब्द प्रदान गरिन्छ । ती सुन्दर तथा मूल्यवान् शब्द हुन् । ती स्वच्छ प्रकृतिले मूल्यका रूपमा प्रयोग गरिनु पर्छ भन्ने लेखिकाको दृष्टिकोण छ ।

साक्षी– कानूनी व्यवहारमा प्रयोग हुने शब्द हो साक्षी । लेनदेन वा कारोबारमा प्रमाण पुर्याउन साक्षीको प्रयोग गरिन्छ । किनारामा साक्षी राखिएको कागजमात्रै वैध मानिन्छ । साक्षी भनेको जे देखिए वा लेखिएको छ, त्यो सही हो भनी प्रमाणित गर्ने व्यक्ति–विशेष हो । कुनै घटनामा साक्षी पनि बक्नुपर्ने हुन्छ, त्यस्तोमा देखेको सत्य जे हो, त्यही भन्नु वा लेख्नु पर्छ होला जस्तो लाग्यो भनेर कल्पनाको प्रयोग गरिनु हुँदैन । त्यस्तो प्रयोग गर्ने सही साक्षी हुन सक्दैन । व्यवहार प्रमाणमा साक्षीको महत्व छ । साक्षी सच्चा हुनुपर्छ झुट्टा साक्षीले अरुको जीवन नै तहसनहस पार्न सक्दछ, तसर्थ आफ्नो साक्षी आफै बनौं अरुका निम्ति सच्चा साक्षी बनौं भन्ने सन्देश दिइएको छ ।

जाइलम र फ्लोम – जाइलम र फ्लोम वनस्पति जगत्का महŒवपूर्ण फाइबर हुन्, यिनले बिरुवालाई बचाउने काम गर्दछन् । लेखिकाले यिनै फाइवरलाई मानिसको श्वासप्रश्वाससँग जोडेर हेरेकी छन् । श्वासप्रश्वास जीवनका अपरिहार्य प्रक्रिया हुन् । सदा स्वस्थकर जीवन जिउन सास फेर्नु पनि जान्नु पर्छ भन्ने लेखिकाको विचार रहेको छ ।

उपज – उपज मा स्व–संवादको कला सिक्नु पर्ने धारणा राखिएको छ । स्वसंवाद भनेको आफैसँग कुरा गर्नु हो । विगतका मीठा अनुभव स्मरण गरेर र भविष्यका सुन्दर योजनाको कल्पना गरेर आफैसँग संवाद गर्नाले मूल्यवान् तŒवको उत्पादन भई जीवनमा सुख–शान्तिको वर्षा हुन सक्छ भन्ने धारणा राखिएको छ ।

क्षितिज– क्षितिज भनेको आकाशमा देखिने चरम चीज हो, त्यसलाई भेटन सकिँदैन । क्षितिज भेट्टाउन भनी जति पर गयो, उति नै त्यो पर हुँदै जान्छ । अनुमानले त्यसको सत्यता सिद्ध हुँदैन । त्यसैले आफ्नो क्षमताभन्दा बाहिरको कुरामा पुग्ने चेष्टा गर्नु हुँदैन । जतासुकै दौड्ने र देख्ने भनेको हाम्रै चञ्चल मन हो । यसलाई नियन्त्रणमा राख्नु पर्छ, तबमात्र जीवन शान्त र सुखी रहन सक्छ भन्ने सन्देश निहित छ ।

सम्बन्ध –सम्बन्धको शाब्दिक अर्थ सम्यक् प्रकारले जोडिनु वा बाँधिनु हो । यसको व्यावहारिक अर्थ नाता जोड्ने हो । यो व्यावहारिक रूपमा निकै प्रचलित शब्द हो । सम्बन्धबाट गतिशील ऊर्जा प्राप्त हुन्छन् राम्रो सम्बन्धले राम्रो काम गर्छ, नराम्रो सम्बन्धले नराम्रो काम गर्छ । सम्बन्ध भन्ने कुरा नै चलायमान छ । सम्बन्धको महŒव बुझेर तदनुरूप व्यवहार गर्नुपर्छ । सम्बन्धको दोहोरो भूमिका हुन्छ । सोची विचारी व्यवहार सुधार्दै लगी सम्बन्ध सुमधुर बनाउँदै लगेमा राम्रो हुने हुन्छ । यसै शीर्षकमा कृतिको नामकरण गरिएकाले यो उत्कृष्ट स्तरको प्रबन्धात्मक आलेख रहेको र सबै विषयलाई समेट्ने किसिमका शीर्षक रहेकाले शीर्षक पनि सार्थक रहेको पाइन्छ ।

आध्यात्मिकता– आत्म ज्ञानसम्बन्धी विषयलाई अध्यात्म भनिन्छ । यही अध्यात्मबाट बनेको शब्द हो आध्यात्मिकता, जसले आत्मा–परमात्मा सम्बन्धी विषयलाई बुझाउँछ । यस ज्ञानको कुनै सीमा छैन । जसले आत्मा चिन्न सक्दछ, उसले परमात्मालाई पनि बुझ्न सक्दछ । आत्मा अदृश्य वस्तु हो । जो आत्मा चिन्नका निम्ति अनवरत साधना गर्छ, ऊ आध्यात्मिक हो । जो आफ्नो र अर्काको आत्मालाई निस्वार्थ रूपले चिनेर विश्लेषण गर्न सक्छ, ऊ ज्ञानी हो भन्ने लेखिकाको विचार रहेको छ । ज्ञानीहरू महान आत्मा हुन् । जीवनमा आध्यात्मिकताको अभ्यास गर्नु महŒवपूर्ण हुने बताइएको छ ।

यस प्रकार यस कृतिमा लेखिकाले आफ्नौ सोध–खोज, अनुभव, भावना, विचारको अध्ययन चिन्तन र मननबाट अन्योन्याश्रित विषयको सूक्ष्म विश्लेषण गरेकी छन् । उनकै शब्दमा मानव–मानव बीचमा उत्पन्न हुने दुवै सकारात्मक तथ्य नकारात्मक तत्वहरू र तिनका प्रभावका बारेमा उल्लेख गरी सकारात्मक सोचतर्फ लाग्न प्रेरित गरेकी छन् । कोभिड–१९ को समयमा उनले गरेको यो जमर्को फलदायी र प्रेरणादायी रहेको देखिन्छ । अंग्रेजीका २६ वर्णहरूको वर्णानुक्रमअनुसार उनले गरेको यो जमर्कोको प्रबन्धन–आलेखनले आफैमा ठूलो मिहिनेत, सीप र कौशलता प्रदर्शन गर्दछन् । आफनो आत्मकथनमा संक्षिप्त रूपमा आफ्नो लेखनको स्पष्टीकरण पनि दिएकी छन् । व्यावहारिक जीवनमा बेहोर्नु पर्ने अति महत्वपूर्ण र उपयोगी विषयलाई लिएर उनले गरेको यो प्रबन्धन प्राप्तिको प्रयास नवीन र उपादेययुक्त छ । यी सबै मौलिक मन्थनकै उपज हुन् भने यिनको महत्व निकै उच्च छ । शास्त्रीय शोध–खोज र विश्लेषणको परिणाम हो भने पनि कम महत्वका देखिन्नन् । आत्मकथ्यमा स्रोतका विषयमा विश्लेषण भेटिन्न, यदि त्यो सबै खुलाउन सकेको भए विषयको महत्व र गरिमा अझै बढ्थ्यो भन्ने लाग्छ । जे होस शैलीशिल्पको एकरूपता, कार्यगत अनुभव एवम् अध्ययनको पृष्ठभूमिले बौद्धिक व्यक्तित्वको रूपमा परिचित र प्रतिष्ठित गराउँछन् ।

यो कृति मात्र नभएर कृतिरत्न बनेको छ । सिकारुदेखि उदीयमान र स्थापितसम्मका निम्ति यो उपयोगी बनेको छ । कुनै लेखकले डायरीमा नोट गरेर राख्नुपर्ने विषयवस्तु पुस्तकमा पाउँदा जस्तो अनुभव गर्दछ, त्यस्तै खुसी र सन्तोष अनुभव भएको छ । एकप्रकारले यी पारिभाषिक शब्द र विषयका सुन्दर विश्लेषण हुन् । यी सर्वप्रयोजनीय र सर्वग्राह्य छन् । व्याख्या–प्रवचनका निम्ति पनि सहयोगी प्रेरक सामग्री हुन् । एक प्रकारले यी जीवन सूत्र वा मन्त्र पनि हुन्, जसको सटीक प्रयोगले जीवन सार्थक सुन्दर र सफल बन्छ । तुलनात्मक रूपबाट हेर्दा कोरोना कहर–२०१९ जस्ता कविता अरुले पनि लेख्न सक्छन् तर सम्बन्धः Relationship जस्ता उपयोगी रचना केहीले मात्र दिन सक्छन् । यसमा लेखिकाको ज्ञान र स्वभावको साथै व्यवहार पनि उत्रिएको छ । यसबाट उनी सकारात्मक सोच र व्यवहारकी धनी देखिन्छिन् । ‘राम्रो सोच राखौं, सन्तोष राखौं प्रसन्न बनौं, प्रफुल्ल रहौं, दयाको भाव राखौं, सहयोगी हात बढाऔं, सहानुभूति दर्शाऔं’ यस्तै सुन्दर, शिष्ट र भ्रद्र व्यवहारले मानिसको चरित्र निर्माण हुन्छ । ऊ सभ्य र सुसंसकृत बन्दछ । लेखिकाले जे विषय अध्ययन गरिन्, त्यही ज्ञान व्यावहारिक जीवनका निम्ति उपयोगी ठानेर मानवीय सम्बन्ध र चरित्र निर्माणका आवश्यक तत्वहरू सरल र सम्प्रेष्य ढङ्गले विश्लेषण गरेर राखिन् । यसबाट उनी स्वनामधन्य हुन पुगेकी छन् । यस महत्वपूर्ण कार्यको म हृदयदेखि नै सराहना गर्दछु । अझ मानवीय सम्बन्धका गहन तत्वहरूप्रति अनवरत अध्ययन, चिन्तन र मननशील बनी महत्वपूर्ण रचनाको सम्पादन गर्ने क्षमता विकसित होस् भन्ने सद्भाव र शुभेच्छा व्यक्त गर्दै यो समीक्षात्मक प्रतिक्रियालाई यहीँ विराम गर्दछु ।

मैत्रीनगर–कीर्तिपुर–२, कलंकी, काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।