18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘समयको सुगन्ध’: एक दृष्टि

कृति/समीक्षा चिरञ्जीवी दाहाल December 28, 2024, 2:10 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

प्रसिद्ध समालोचक प्रा.कपिल अज्ञात मूलतः समालोचनामा रमाउने लेखक हुन् । उनले हालसम्म अनगिन्ती कृतिका समालोचना गरिसकेका छन् । “समालोचना अथवा समीक्षा गर्ने समयमा समीक्षकले कृतिको सारतत्वमा ध्यान केन्द्रित गर्नुपर्छ, कृतिकारको मोहडा र ओहदामा होइन ।” समीक्षाका क्रममा यो भनाइलाई उनले हुबहु आत्मसात् गर्ने गरेका छन् ।

रचना सृजना गर्ने व्यक्तिको जाति, धर्म, वर्ण, शैक्षिक योग्यता, पदीय हैसियत अथवा आर्थिक स्थितिलाई लिएर होइन अपितु उसको लेखकीय कर्मलाई लिएर समीक्षा गरिनुपर्छ भन्ने यिनको मान्यता रहेको देखिन्छ । अज्ञातले गर्ने गरेका समीक्षामा यिनले पुस्तक र लेखकलाई सूक्ष्मदर्शक यन्त्रमा राखेर हेरे जस्तै विस्तृत रूपले जाँचगर्ने र केलाउने गर्छन् । यसरी जाँच गर्ने क्रममा पुस्तक जतिसुकै धमिलो किन नहोस्, अज्ञात उत्कृष्ट सीपका माध्यमबाट धमिलोपन हटाएर पुस्तकको विस्तृत जाँच गर्ने गर्छन् र त्यसको निदान समेत गरी उपचार पद्धति पनि सीफारिस गर्छन् । एउटा सफल समीक्षकमा हुने यस प्रकारको गुण सबै समीक्षकमा हतपती नपाइन सक्छ । त्यसैले प्रा. कपिल अज्ञात एकजना उच्चकोटीका समीक्षक हुन् भन्दा अतिशयोक्ति नहोला । अत्यन्त अध्ययनशील व्यक्तित्व अज्ञातले यस कृतिमा कयौँ दर्जन ग्रन्थका प्रसङ्ग उद्धृत गरेबाट पनि उनको अध्ययनप्रतिको रुचि सहजै बुझ्न सकिन्छ ।

यात्रा गर्दा दायाँबायाँ पनि हेरेर हिँड्नुपर्छ । यो भनाइ सबैमा लागु हुन्छ । यात्राका क्रममा बीच सडकमा फाटेका सहायक मार्गमा देखिने सौन्दर्यको रसपान गर्न कुन पथिकलाई मन लाग्दैन र ? तसर्थ अज्ञातले पनि आफू हिँडिरहेको मूल बाटो छोडेर प्रसस्त सहायक मार्गहरूबाट यात्रा गरिसकेका छन् । फलस्वरुप “समयको सुगन्ध” (२०७७) बाहेक पनि उनका उत्कृष्ट र दर्जनौँ कृतिहरू बजारमा आइसकेका छन् । समालोचनामा रमाउने लेखक अज्ञातले अन्य विधामा चलाएको कलमबाट त्यस्तै सुगन्ध छरिरहेका हुन्छन् । यहाँ भने केही समयअघि प्रकाशित कपिल अज्ञातको आलेखसङ्ग्रह “समयको सुगन्ध” का बारेमा सानो टिप्पणी गर्ने प्रयास गरेको छु ।


“समयको सुगन्ध” केही अगाडि प्रकाशित भए पनि मैले भने भर्खरै अध्ययन गर्ने मौका पाएको हुँ । जब यो कृति मेरो हातमा पर्यो मैले एकै बसाइमा सक्ने निर्णय गरेँ । मान्छेले गरेका निर्णय र मान्छेका इच्छा र चाहना सबै पूरा हँुदैनन् । त्यस्तै भयो, एक बसाइमा पुस्तक पढ्ने रहर हुँदाहुँदै पनि यो पुस्तक बुत्याउन मलाई दुई बसाइको सहारा लिनुप¥यो । जब निबन्धमा पढ्दै जाँदा थाहा भयो, शीर्षक जस्तै यो साँच्चै अत्यन्त सुगन्धित पाइयो ।


आलेखमा रसको एउटा यस्तो जादुमयी तलाउ निरन्तर छचल्किरहेको पाइन्छ, जहाँ पुग्नासाथ जुनसुकै पाठक पनि त्यसमा पौडिएर मनोरञ्जन गर्न उद्यत हुन्छ । कहिले विचारको मोतिलाई एकटकसँग नियालिरहन मनलाग्छ भने कतै रोमाञ्चक गहिराइमा हराउँदा काउकुती लागेको महसुस गर्न वाध्य बनाउँछ । यस तलाउमा पाठककले सर्वत्र आत्मीयपन र आफ्नै परिवेश पाउँछ भने रङ्गी–बिरङ्गी माछाहरू खेलिरहेको अनुभूति समेत गर्न सक्छ । यदाकदा शास्त्रीय विवेचना र शास्त्रीय कथा प्रसङ्गहरूका कारण आलेख सङ्ग्रह विशिष्ट श्रेणीको बनेको छ । सङ्ग्रहमा सायद कुनै आलेख छैन, जुन पाठकका दृष्टिमा शास्त्रलाई ओझेलमा पारिएको होस् । निबन्ध पढ्दा लाग्छ, व्यासमा बसेर कुनै प्रख्यात रामायण वाचकले शास्त्रीय उद्धरण प्रस्तुत गर्दै रामकथा वाचन गरिरहेको छ र हामी ध्यानपूर्वक श्रवण गरिरहेका छौं ।


“समयको सुगन्ध “का प्रत्येक अध्यायमा नेपाली जनजिब्रोमा झुण्डिने र विषयवस्तुसँग ट्याक्क मेल खाने खालका उखान टुक्काहरू समावेश गरिएका छन् । यसले आलेखलाई सुनमा सुगन्ध थपिदिएको छ । ज्योतिष विज्ञानका एकजना सिद्धहस्त व्यक्तित्व पनि भएकाले हुनुपर्छ यस कृतिका कतिपय आलेखहरूमा अज्ञातले ज्योतिष विद्याको प्रसङ्गलाई पनि समुचित प्रयोग गरेको पाइन्छ । आलेख त्यस्तो विधा हो , त्यो केवल भाव वा अभिव्यक्ति–कौशलले मात्र सुन्दर बन्न सक्दैन । आलेखको अर्को महत्वपूर्ण तत्व लेखकको मौलिक शब्द हो । जसलाई आकर्षक अर्थको साथमा रूपायित गरिएको हुनुपर्छ । जटिल भन्दा जटिल भावको आकार मिलेको हुनुपर्छ । जुन कुराहरू समालोचक कपिल अज्ञातको यस आलेख सङ्ग्रहमा सङ्ग्रहित प्रत्येक निबन्धमा स्पष्ट देख्न सकिन्छ।


यहाँ लेखकले कुनै पनि महत्वपूर्ण र व्यापक सम्भावना बोकेको विषयमा केन्द्रित न रही अत्यन्त सामान्य र साधारण विषयलाई लालित्य पोतेर असामान्य र असाधारण विषय बनाएका छन् । लेखकले उपेक्षित विषयलाई अपेक्षित र मृत विषयलाई अमृत बनाएर यसरी प्रस्तुत गरेका छन् कि केही निबन्धहरू जीवन–दर्शनको मीमांसा मात्र बनेको छैन जसमा आध्यात्मिक र सांस्कृतिक बोध समेत स्वतः समाहित भएको छ ।


पुस्तकमा लेखकका निजी संस्मरण र जीवनका भोगाइहरू लेखिएको भए पनि ती हरेक मान्छेले भोगेका र व्यहोर्ने गरेका यथार्थहरू छन् । जसले मान्छेको मन सजिलै छुन्छ । झ्वाट्ट हेर्दा आलेखमा उल्लेख गरिएका शीर्षकहरूमा हतपती कलम चलेको पाइँदैन तर लेखकले यहाँ त्यस्तै शीर्षकमा कलम चलाउन उपयुक्त ठानेका छन् । साँगुरो विषयलाई साहित्यिक रङ दिएर तनक्क तन्काइएका कारण हरेक लेखहरू फराकिला र महत्वपूर्ण बनेका छन् र तिनमा मान्छेको जीवन दर्शन बोलिरहेको पाइन्छ । झट्ट हेर्दा स्थूल वस्तु जताबाट पनि र जसले पनि देख्न सक्छ तर सूक्ष्म वस्तुलाई हेरेर त्यसको लेखाजोखा गर्ने कार्य जटिल मानिन्छ । तर यहाँ अज्ञातले सूक्ष्म वस्तुको निकै सूक्ष्म तरिकाले विश्लेषण गरेका छन् । विषय विवेचनाको परिप्रेक्ष्यमा अनेक ज्ञान–विज्ञान र शास्त्रलाई मानवीय संवदेनामा घोलेर आलेखलाई अत्यन्त दार्शनिक रङ दिइएको छ । उन्नत प्रबिधि एवं शास्त्र र विज्ञानको समेत चर्चा गरी आलेखलाई थप रोचक बनाउने लेखकको प्रयास अत्यन्त सह्रानीय छ । आलेखमा दृष्टि र सृष्टि, भाव र विचार, कल्पना र यथार्थ सबैको सम्मिश्रण गरिएकोले लेखकको लेखकीय वैशिष्ट्य स्पष्टसँग अनुमान गर्न सकिन्छ ।


मान्छेले जीवनयात्रामा सफलतामात्र चुमिरहने अपेक्षा गर्नु हुँदैन । मान्छेको स्वभाव सफलता हात पर्दा तीन बित्ता उफ्रने र असफलता हात परे कोकोहोलो मच्चाउने प्रवृतिको हुन्छ । जीवनको सबैभन्दा ठूलो दुः ख नै यही हो । असफलतालाई यात्राको एक अभिन्न अङ्गको रूपमा स्वीकार गर्नसक्नुपर्छ । असफलताले व्यक्तिलाई तिखार्ने काम गर्छ । जसरी लेख्दालेख्दै सकिएको पेन्सिलको लिडलाई सार्परले तिखार्ने काम गर्छ त्यसरी नै मान्छेको प्रगति तिखार्ने सार्पर जस्तै हो असफलता भनेको । असफलता नामको सार्परले तिखारेको जीवन सुन्दर हुने गरेको छ । असफलतासँग डराउनु पर्दैन, बरु असफलताले आत्म–सुधारको यात्रामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।


अज्ञातले प्रस्तुत कृति “समयको सुगन्ध“ मार्फत असफलतालाई अँगालेर आफ्नै गल्तीबाट आफैले सिक्न सक्ने प्रेरणा दिएका छन् आलेख सङ्ग्रहको पहिलो लेख “जय नातिकृष्ण“ मा हाम्रो वर्तमान नेपाली समाजको वास्तविकता बोलिरहेको छ । जसमा अधिकांश हजुरबाहरूको मनको भावनालाई छताछुल्ल बनाएर पोखिएको छ । उनले नातिको बाल्यलीलामा रमाउँदै पारिवारिक सन्ताप र बोझिलो मन सिमलको भुवाजस्तै हलुको भएको अनुभूति गरेको कुरा बडो मिठासपूर्ण ढङ्गले विश्लेषण गरेका छन् । यस आलेखको प्रत्येक हरफहरू पढ्दै जाँदा पाठकले आफ्नै नातिनातिनालाई काखमा लिएर खेलाइरहेको सम्झिन बाध्य बनाउँछ । लेखकले पुनर्जन्ममा त्यति विश्वास नलाग्ने उल्लेख गर्दागर्दै पनि धर्मशास्त्र र आध्यात्मिक सत्यतालाई सहजै स्वीकार गरेका छन् र त आलेख अझै पठनीय बनेको छ । नातिका माध्यमबाट संसार स्वर्ग तुल्य बनेको मिठो मुक्तकीय श्लोकले प्रस्तुत आलेखको अन्त्य गरिएको छ ।


दोस्रो आलेख “मेरो घर मेरो स्वर्ग” मा लेखकले अत्यन्त निजी विषयलाई पनि साहित्यिक रङ पोतेर हितकर र रुचिकर बनाउन सकिने कुरा स्वयं उल्लेख गरेका छन् । लेखकले स्वीकार गरे जस्तै यति सानो विषयलाई पनि उनले वृहतरूपमा व्याख्या गर्दै साहित्यिक रङको लेपन लगाएर अत्यन्त आकर्षक बनाएका छन् । आलेखमा हरेक मान्छेले देख्ने गरेको जीवनको सुन्दर सपनालाई आफ्नो स्वैरकल्पनामा डुबुल्की मार्दै मिठो कविता मार्फत बयान गरेका छन् । “महाभारत”को प्रसङ्ग, खलिल जिब्रान, शङ्कराचार्यको भनाइ र महाकवि देवकोटाको विचार समेतलाई उदाहरणको रूपमा प्रस्तुत गर्दा यो आलेख उच्चकोटिको बन्न पुगेको छ । यस आलेखमा पनि प्रसङ्गलाई मेल खाने गरि सुन्दर मुक्तकद्वारा बिट मारिएको छ । तेस्रो आलेख “घरः आवश्यकता र रहर“ शीर्षकमा घरको आवश्यकता र मान्छेको रहरको यथार्थ चित्रण गरिएको छ । चराचुरुङ्गीदेखि लिएर हरेक मान्छेलाई घर चाहिन्छ भन्दै उनले घरको आवश्यकता र सबैलाई आफ्नो एउटा घर होस्, सुन्दर परिवार होस् भन्ने मानवीय स्वभावको चर्चा गरेका छन् । लेखकले यहाँ आफ्नो रहर मार्फत मान्छेको रहरका विषयमा सारगर्भित विचार पोखेका छन् ।


अर्को आलेख “ मेरो पुत्र मेरो गौरव “ रहेको छ । पुत्रका विषयमा विभिन्न आध्यात्मिक र धार्मिक ग्रन्थहरूको भनाइ उधृत गर्दै पुत्र महिमालाई निकै सटीक ढङ्गबाट यस पुस्तकमा उतारेका छन् । यसमा पनि निकै सुन्दरताका साथ मानवीय चाहनाको चिरफार गरिएको पाइन्छ । “उनी सानो छँदा “ शीर्षकको आलेखमा पनि लेखक अज्ञातले आफ्नो निजी संस्मरणमा सारा पाठकको मन तानेका छन् । बाँकी निबन्धहरू एक से एक सुन्दर र पठनीय बनेका छन् ।


कृतिभित्र कतिपय आलेखमा आत्मसुधार र आत्मसमीक्षाको अवधारणाहरूमा केन्द्रित गरिएको छ । जीवनको पहाड चढ्न दृढसंकल्प, लगनशीलता र जोखिम मोल्नसमेत तयार हुनुपर्छ भन्ने दर्शन पनि यस कृतिमा पाइन्छ । यसबाहेक “हितोपदेश”, “पञ्चतन्त्र”, “नीतिशतक”का प्रसङ्गहरूको समेत उल्लेख भएकोले कृति निकै गहकिलो बनेको छ । कृतिमा अज्ञातले पाठकहरूलाई मान्छेको व्यक्तिगत संघर्ष र चुनौतीलाई आत्म–खोजको अवसरको रूपमा स्वीकार गर्न प्रोत्साहित गरेका छन् । उनी तर्क गर्छन् “म आफूलाई एकदम भरोसा गर्छु । मैले धेरै कुराको सामना गरेको छु । आगामी दिनहरूमा आउने अरू चुनौतीहरू पनि सामना गर्ने छु । आजकल म यी चुनौतीहरू सामना गर्ने विचारले आनन्दित भएको छु ।” मान्छे चुनौतीसँग भाग्नु हुँदैन, बरु यसलाई व्यक्तिगत विकास र आत्म–वास्तविकताको यात्राको आवश्यक भागको रूपमा हेर्नुपर्छ । समग्रमा, “समयको सुगन्ध“ एक प्रेरक र प्रेरणादायक पुस्तक प्रमाणित भएको छ । जसले मान्छेलाई उसको व्यक्तिगत संघर्ष गर्न, चुनौतीहरूको सामना गर्न र व्यक्तिगत कठिनाइलाई अवसरहरूको रूपमा अँगाल्न प्रोत्साहन मिल्छ । उनको आलेख पढ्दै जाँदा जीवनलाई नियन्त्रण गरेर बाँच्न, लक्ष्य लिएर अघि बढ्न, दृढता र लगनशीलताका साथ तिनीहरूलाई पछ्याउन प्रोत्साहित गरिरहेको पाइन्छ । व्यक्तिगत विकासका लागि निरन्तर कर्म गर्नुपर्छ, कर्मद्वारा व्यक्तिको उन्नति अवश्य सम्भव छ भन्ने कुरामा लेखकले जोड दिएको पाइन्छ । त्यसका लागि मनमा दृढ संकल्प लिएर अघि बढ्नुपर्छ भन्ने विचार लेखकको छ । घर गृहस्थ सञ्चालन, सन्तानको लालनपालन र सन्तानलाई दिइने उचित शिक्षादीक्षाका विषयमा समेत कृतिमा यथोचित रुपमा व्याख्या गरिएको छ । यसैगरी धनी र गरिबबीचको फरकका सन्दर्भमा लेखले निकै वैज्ञानिक तवरले वर्णन गरेका छन् । रोगले ग्रस्त बनाएको समयमा खप्तड बाबाको विचार विज्ञानबाट मनमा सकारात्मक विचार निर्माण गर्ने कुरादेखि लिएर खानपानका सन्दर्भमा सेक्सपियरका महत्वपूर्ण भनाइसमेत उल्लेख गरिएको छ । लेखकले “स्वास्थ्य जीवनको सुन्दर उपाय” मार्फत दैनिक खानपानका विषयमा आयुर्वेद चिकित्सा पद्धतिमा टेकेर पथ्य–अपथ्य खानपानबारे विस्तृत जानकारी गराएका छन् । यति सानो पुस्तकमा यस्ता महत्वपूर्ण विषय समेटेर कृति प्रकाशित गर्नु लेखकको सफलताको निशानी हो । उत्कृष्ट कृतिका लागि लेखक कपिल अज्ञातलाई अनगिन्ती शुभकामना र बधाई !


कालिका, चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।