18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झनामा ताराकान्त सर

संस्मरण/स्‍मृति नारायण मरासिनी December 25, 2024, 11:37 pm
नारायण मरासिनी
नारायण मरासिनी

तारा सर ! यतिबेला म तपाईंलाई सम्झने प्रयत्नमा छु । सधैँको जस्तै त्यस दिन अर्थात् २०८० सालको पुस २८ गतेका दिन पनि धर्तीमा बिहानको उज्यालो खस्दै थियो । चिसो मौसम, म बिछ्यौनामै बसेर मोबाइल हेर्दै थिएँ– राप्ती नदीमा भएको रात्री बस दुर्घटनाको प्रत्यक्ष प्रसारणले मेरो मनलाई क्षतविक्षत बनायो । मैले सोचेको पनि थिइन; तपाईंले यति छिट्टै यस संसारबाट बिदा लिनुहुन्छ भन्ने कुरा ! मलाई राम्रैसँग थाहा छ– देह अजम्बरी हुँदैन । रहने त उही सम्झना मात्रै न हो । तथापि केही गर्न सक्ने खुबी भएको मान्छे अलिक बढी बाँचिदिए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक रहेछ सर ! दुर्घटनामा परेर निधन भएकाहरूमध्ये जब तपाईंको नाम पनि आयो तब म केही समय त रन्थनिएँ । समाचारमा आएको नाम तपाईंको होइन होला भन्ने पनि लाग्यो । मैले मित्रलाल पंज्ञानी सरलाई फोन गरेँ– उहाँले ताराकान्त सर नै हो भन्ने कुरा गर्नुभयो । अझै पनि विश्वास लागेन र जगदीश चन्द्र सरलाई फोन गरेँ– मलाई जगदीश सर र ताराकान्त सर एउटै सिक्काका दुई पाटाजस्तै लाग्छ । जगदीश सरले पनि मित्रलालकै कुरालाई सदर गरेपछि भारी मनले मैले तपाईंको मृत्युलाई स्वीकार गरेको थिएँ तारा सर !
मलाई लाग्छ– यस संसारमा समस्या नै नभएको त कुनै पनि मान्छे हुँदैन । यथार्थमा हेरिल्याउँदा मान्छे भन्नु नै समस्या र सङ्घर्षको प्रतिरूप रहेछ । सङ्घर्षलाई जीवनको पर्यायका रुपमा लिने तपाईंले बाल्यकालदेखि नै सङ्घर्षपूर्ण जीवन बाँच्नुभयो । एकपटक मलाई पढाउने क्रममा भन्नुभएको पनि थियो तपाईंले– बिना सङ्घर्षको जीवनमा सजीवपन हुँदैन । तारा सर ! तपाईं सही विचारका साथ सही निर्णय लिन सक्ने मान्छे हुनुहुन्थ्यो । वास्तवमा जीवनलाई सफल बनाउनका लागि सही विचार आवश्यक पर्छ अर्थात् सही विचारलाई अँगाल्नु पर्छ । मान्छे बाँच्ने भनेकै विचारले हो नि हगि तारा सर ! तपाईंको हिम्मतलाई म सलाम गर्छु सर ! जीवनको पूवाद्र्ध चरणमा जति नै दुःख भोग्नु परे पनि हिम्मतका साथ अगाडि बढेर तपाईंले अर्थपूर्ण जीवन बाँच्नुभयो । जे जति बाँच्नुभयो क्रियाशीलताका साथ सार्थक जीवन बाँच्नुभयो । कहिल्यै कसैको अर्गेल्याइँ गर्नुभएन । मुख्य कुरो त गोरेटो बिराउनु भएन तपाईंले । वैचारिक गोरेटो जुन रोज्नुभएको थियोे त्यसैमा निरन्तर अगाडि बढ्नुभयो ।

आलोचनामा उग्रता रहेन तपाईंको । शीतल शीतल शब्दहरूका माध्यमबाट क्रान्तिलाई ऊर्जा दिने तपाईंको लेखन शैलीबाट प्रभावित एउटा चेलो हुँ म । चेलो त म जगदीश सरको पनि हुँ । चेलो हुनलाई स्कुल क्याम्पसमा पढाउने मास्टरको विद्यार्थी नै हुनुपर्छ भन्ने पनि त छैन । जगदीश सर ! एउटा कुरा भन्छु नरिसाउनुस् है– तपाईं मेरै जिल्लाबासी भए पनि किन किन मलाई तपाईंका आगो ओकल्ने शब्दहरूभन्दा मन्दमन्द ताप भएका तारा सरका शब्दहरू बढी मिठासपूर्ण लाग्छन् । यद्यपि आजको समयमा आगाका शब्दहरू मात्रै पर्याप्त छैनन; समाजको आमूल परिवर्तनका लागि बम ब्लास्टिङ नै आवश्यक छ । यसमा त म पनि तपाईंसँग सहमत नै छु जगदीश सर !

आलोचनाका क्रममा मन्दमन्द ताप दिने तारा सरका चहकिला र गहकिला शब्दहरू मलाई वजनदार पनि लाग्छन् । हजारौं हलुङ्गा शब्दहरू थुपारेर लेखलाई भद्दा बनाउनुभन्दा अर्थात् विचारलाई भद्दा बनाउनुभन्दा बरु दुई–चार सय शब्दहरू मात्रै किन नहोऊन् तिनै दुई–चार सय वजनदार शब्दहरूले लेखनमा घनत्व प्रदान गर्छन् भन्ने म ठान्दछु ।

तारा सर ! तपाईंको बाल्यकाल पनि केही मात्रामा पढेँ मैले । दुःखको सदुपयोग गरेर नै तपाईंले सुख प्राप्त गर्नुभएको हो भन्ने मलाई लागेको छ । घमण्डले भरिएको मान्छे हावामा उडेको बेलुन जस्तै हो भन्ने यथार्थलाई तपाईंले बुझ्नुभएको थियो सायद् । जति नै माथि पुगे पनि एक न एक क्षण त्यो बेलुन फुट्छ नै । तपाईं हावा भरिएको बेलुनमा स्थायित्व नदेख्ने मान्छे । यसैले पनि होला मलाई लाग्छ– तपाईंमा घमण्डको मात्रा रत्तिभर रहेन । बरु तपाईंलाई त मैले सपना देख्ने मान्छेका रुपमा लिएको छु । समस्याको उपयोग गर्दै मान्छेलाई सुन्दर बनाउने सपना देख्नुहुन्थ्यो तपाईं । समाजलाई समृद्ध बनाउने सपना देख्नुहुन्थ्यो तपाईं । शिखर चढ्ने सपना देख्नुहुन्थ्यो तपाईं ! शिखर चढ्दै पनि हुनुहुन्थ्यो हरेस नखाईकन । धेरै आधार शिविरहरू पार गरिसक्नुभएको थियो तपाईंले तर बिचैमा हावाहुरी आयो सर ! तपाईं ढल्नुभयो । शरीर ढले पनि तपाईंको विचार ढलेको छैन नि; हामी पढिरहेका छौं हृदयका पाना पानामा तपाईंको मस्तिष्कबाट निस्केका ताताताता र राता शब्दहरू ।

तपाईंले भनेको म सम्झिरहेको छु तारा सर ! असल र खराब कुरा त मानिसको सोचाइका उपज हुन् । संसारमा सबै चिज सुन्दर छैनन् र सबै असल पनि छैनन् । खराबीहरू व्यापक छन् । खराब चिजले असललाई ढाकेको छ; असललाई ङ्याकेको ङ्याक्यै छ जस्तो कि राजनीति आफैमा सुन्दर छ तर खराबहरूले यसलाई व्यापार बनाएका छन् । हाम्रो देशको राजनीतिक सत्ता दलालहरूको व्यापार बनेकामा तपाईं जस्तै म पनि चिन्तित छु सर ! दलालहरूलाई कति नप्गेको हगि तारा सर ! जन्मदा रित्तै आएका मान्छेहरू मर्दाखेरि पनि त रित्तै हुन्छन् नि हगि ! मरेर जाँदाखेरि हाम्रा लागि उसले जे छोडेको छ त्यही नै त जीवनको अर्थ हो नि, होइन र सर ?

सङ्घर्षबाट कहिल्यै पलायन नभएको र जीवनदेखि कहिल्यै नथाकेको-नभागेको मान्छे तपाईं हरेक समयलाई विशेष बनाउने प्रयत्न गर्नुहुन्थ्यो । समयलाई दह्रोसँग सम्बोधन गर्न सक्नुहुन्थ्यो तपाईं; मैले छ महिनासम्म तपाईंसँग पढेँ सर साँझका कक्षाहरूमा । दर्शनाचार्यको भोक मेट्ने क्रममा अन लाइनमार्फत म तपाईंको समीपमा पुगेको थिएँ । पढ्न त सोही प्रयोजनमा रमेश भट्टराई सरसँग पनि पढेँ मैले एक वर्षसम्म । साँझमा तपाईंसँग ल्यापटपमा बसेर पढ्नुको मजा बेग्लै थियो नि तारा सर ! मेरो ल्यापटपमा तपाईंका केही शब्दहरू अझै पनि सुरक्षित छन् । ल्यापटपमा भन्दा पनि अझ बढी मेरो मानसपटमा सुरक्षित छन् सर तपाईंको मसिनो स्वरमा गुन्जिएका ती कणप्रिय शब्दहरू ।

तारा सर ! तपाईंको सम्झनालाई मैले शृङ्खलाबद्ध रुपमा अगाडि बढाउन सकिरहेको छैन । दुई वर्षभन्दा बढी भयो– म बिरामी छु, ठुलै बिरामी । यसैले पो हो कि मेरो मानसपटमा सिलसिलेवार रुपमा आएका छैनन् सम्झनाका क्षणहरू । यद्यपि म सम्झन्छु– तपाईंसँग मेरो पहिलो भेट २०५६ सालमा भएको हो प्रगतिशील लेखक सङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनमा । उक्त सम्मेलनमा भाग लिन पोखराबाट काठमाडौँ हिँडेका घनश्याम ढकाल, रविलाल अधिकारी र कुलबहादुर केसीका साथमा थिएँ म पनि । आज यी तिनै जना पोखरेलीहरू जीवित छैनन् । त्यस सम्मेलनका बखत कृष्ण सेन ‘इच्छुक’हरू प्रहरी हिरासतमा हुनुहुन्थ्यो ।

२०६३–०६४ को शान्ति–सम्झौतापश्चात् पोखरामा ‘गण्डकी साहित्य सङ्गम’ले राखेको साहित्यिक प्रशिक्षणको कार्यक्रममा तपाईंले प्रगतिवादी कविताका सन्दर्भमा सहजीकरण गर्नुभएको पनि यति बेला मैले सम्झिरहेको छु । उक्त कार्यक्रममा निनु चापागाईं, श्याम श्रेष्ठ, रमेश भट्टराईलगायत पनि एक–एकवटा विषय लिएर प्रस्तुत हुनुभएको थियो । तपाईंले प्रगतिवादी कविता लेखनका क्रममा प्रयोग गरिने बिम्बहरूका बारेमा बोल्दा इच्छुकका कवितांशलाई साक्ष्य बनाएको स्मृतिबिम्ब पनि मेरो मानसपटमा जीवितै छ । पोखरामा त तपाईं धेरैपटकका कार्यक्रमहरूमा आउनुभयो नि सर !

प्रलेसले पोखरामा आयोजना गरेको गोष्ठीमा तपाईंले प्रस्तुत गरेको कवितासँग सम्बन्धित कार्यपत्र पनि मैले अक्षरशः पढेको छु सर ! ‘मान्छेलाई नयाँ पहिचान दिन खोज्ने कवि दिल साहनी’ जस्ता समीक्षाहरू पढेको छु । तपाईंका आलोचनात्मक लेखहरू पढेपछि नै मलाई पनि समीक्षामा कलम चलाउन ऊर्जा मिलेको तथ्यलाई मैले भुल्नु हुँदैन । मलाई कविताको सिद्धान्त बुझ्नका लागि तपाईंको ‘प्रगतिवाद र कविता’ले निकै न सहयोग पु¥याएको हो सर ! पढ्न त मैले तपाईंका अरु पुस्तक पनि पढेको छु तर आकारमा सानो भएर पनि तपाईंको आफ्नै विद्यावारिधिको थेसिसबाट बनाइएको यही पुस्तक नै मेरा लागि बढी प्रिय छ सर !

म तपाईंले लेखेका समीक्षाबाट प्रभावित छु भन्ने कुरा मैले तपाईंकै सामुन्ने पनि त गरेको थिएँ नि तारा सर, स्याङ्जाबाट पोखरा फर्कने क्रममा । त्यही क्रममा फेसबुकमा आउने जगदीश सरका स्टाटसहरूलाई लिएर हामी दुईले केही टीकाटिप्पणी पनि गरेका थियौं । हाम्रो चिन्ता र चासोको विषय जगदीश सरले फेसबुकका स्टाटसमा प्रयोग गर्ने भाषाका बारेमा थियो । त्यति बेला अर्थात् २०८० सालमै तपाईं दुर्घटनामा पर्नुभन्दा डेढ महिना पहिले त हो नि मैले यो कुरा गरेको अर्थात् हामी बिच यस विषयमा कुराकानी भएको । हामी माइक्रो बसमा थियौँ र हाम्रो पछाडिका सिटमा थिए साक्षीका रुपमा मित्रलाल र सुकुम शर्मा । हो, त्यस समयमा हामी ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले आयोजना गरेको सम्मानको कार्यक्रममा भाग लिएर फर्कंदै थियौँ । तपाईं त्यस कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले प्रदान गर्ने पुरस्कार तथा सम्मानको कुरा आउँदा देवेन्द्र लम्सालद्वारा स्थापित र प्रतिष्ठानद्वारा सञ्चालित ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’द्वारा सर्वप्रथम २०७६ सालमा तपाईंलाई पोखरामा बोलाएर सम्मान गरेको विगत पनि मैले सम्झिरहेको छु ।

तपाईंसँगै बसेर दिनभरको यात्रा पनि त गरेको छु नि सर मैले । बिहान झिसमिसेदेखि बसमा र दिउँसोको एक बजेदेखि साँझसम्मको पैदल यात्रा । तनहुँको आँबुखैरेनीदेखि गोरखाको बारपाकसम्म बसमा र बारपाकदेखि लाप्राकसम्म घरि जीपमा र घरि पैदल यात्रा गर्दै हामीले दिनभरि धुले बाटामा उकालो र ओरालो गरेको सम्झना पनि मसँग आलै छ । अघिल्लो साँझ आँबुखैरेनीमा ‘आँबुखैरेनी स्रष्टा समाज’ले गरेको कविता वाचनको कार्यक्रममा तपाईंलाई मैले कविता सुनाएको थिएँ र उक्त कविताको मौखिक टिप्पणी तपाईंले गरेको पनि मेरो स्मरणमा ताजै छ । त्यसै साँझको भोलिपल्ट त हो नि आँबुखैरेनीबाट हामी गोरखाको बारपाक–सुलीकोट र लाप्राक पुगेको ।

२०७६ सालको फागुनमा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ र ‘गण्डकी साहित्य सङ्गम’ मिलेर पोखरामा आयोजना गरेको ‘सांस्कृतिक रूपान्तरण’ विषयक अन्तरक्रियामा हामी सँगै थियौँ नि तारा सर ! हामीहरूसँग हुनुहुन्थ्यो निनु चापागाईं, अमर गिरी, कृष्णराज अधिकारी, अनिल लगायतका दर्जनौं स्रष्टा–द्रष्टा व्यक्तित्व । घनश्याम ढकालको स्मृति मनाउने क्रममा पनि तपाईं पोखरा आउनुभएको थियो र साँझमा हामी बसेका थियौं लेकसाइडको एउटा होटलमा । साथमा थिए उनै निनु, बलराम, संगीत, राजेन्द्र र भीम रानाभाटहरू । मैले तपाईंसँग एउटै टेबुलमा बसेर खाइपिएको साँझ थियो त्यो ।

विगतका विभिन्न भेटहरू तँछाडमछाड गर्दै आइरहेका छन् अहिले मेरो मस्तिष्कमा । अटेसमटेस छन् विशृङ्खलित स्मृतिहरू । अवधि त्यति लामो त होइन सर ! तपाईंसँग भेट भएको दुई दशकभन्दा केही बढी मात्रै हो तर पनि अध्ययन र लेखनका क्रममा तपाईंले देखाएको बाटो हिँड्न पाउनु मेरा लागि गर्वको विषय भएको छ । म पनि तपाइँकै बाटामा हिँड्ने प्रयत्नमा छु । बाटाहरू धेरै छन् यद्यपि म मूल बाटामै हिँड्न चाहन्छु ।

हामी हिँडन्तेहरू हिँड्ने क्रममा नै पुगेका थियौँ २०७९ सालको नयाँ वर्षसँगै गोरखा बजारमा । पूरा दुई दिनको समय लगाएर सम्पन्न गरेका थियौँ हामीले कथासम्बन्धी एउटा बिर्सनै नसकिने गोष्ठी ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’को ब्यानरमा र साथमा थिए रोशन जनकपुरी, इस्माली, हिरामणि, क्षितिज मगर, विजय आचार्य र मोदनाथ मरहट्टाहरू । तपाईंले सहजीकरण गर्नुभएको त्यो कार्यक्रम पनि यतिबेला सम्झिरहेको छु सर !

धेरै ठाउँमा भए कार्यक्रमहरू, संस्थागत रुपमा पनि भए सहकार्यहरू, कुनकुनलाई प्राथमिकतामा राखेर सम्झनु र कुनलाई छाडिदिनु ! सम्झेर साध्यै छैन सर ! धेरै धेरै छन् कार्यक्रमहरू हाम्रा भेटघाटका । नजिकैबाट देखभेट र चिनजान भएको मान्छेसँग आत्मियता क्रमशः झ्याङ्गिँदो रहेछ । हामी बीचको सद्भाव फैलँदै गएको थियो; आत्मीयता बढ्दै गएको थियो । हामी आआफ्नै क्षेत्रमार्फत गतिशील हुँदै थियौँ । अचानक पुसको त्यो चिसो सिरेटामा तपाईंको भौतिक अस्तित्व समाप्त भयो सर ! यद्यपि म आशावादी छु– तपाईंका ती मन्दमन्द ताप भएका शब्दहरूले भोलि यस धर्तीमा एउटा सुनौलो बिहान जन्माउनेछन् ।

ज्याग्दीखोला, स्याङ्जा, हालः पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।