नेपाली साहित्यको विस्तारमा सक्रिय भूमिका लिँदै आएका एक प्रतिष्ठित नाम हो बाबुराम श्रेष्ठ ‘वर्षा’। बाबुराम श्रेष्ठ ‘वर्षा’ वि.सं. २०१० मा ताप्लेजुङ जिल्लाको खेवाङ गाउँमा जन्मनुभएको हो। माता विष्णुमाया श्रेष्ठ र पिता हरि नारायण श्रेष्ठका साहिँला पुत्ररत्नका रूपमा जन्म ग्रहण गर्नुभएको हो। श्री ‘वर्षा’ ले गाउँकै विद्यालयबाट प्राथमिक शिक्षा अध्ययन गरी फिदिमको माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षा पास गरेका हुन्। प्रवेशिका पास गरेपछि उनले भद्रपुर झापाबाट प्रहरी सेवा वि.सं. २०३१ सालबाट शुरू गर्नुभएको कुरा थाह लाग्दछ। यसरी ३२ वर्षसम्म प्रहरी सेवामा व्यस्त रहेर पनि उनले आफ्नो कार्यकाल समयमा विभिन्न विधाका पुस्तकहरू लेखेर नेपाली साहित्यको भण्डारमा थप टेवा पुऱ्याउन सक्नु कुनै चानचुने कुरा होइन।
उनले लेखेका पुस्तकहरू निम्न अनुसार रहेका छन् –
(१) बाबा भजन संग्रह – २०६४
(२) वर्षाको थोपा कविता संग्रह - २०२४
(३) वर्षाको संकलित लेख संग्रह – २०६५
(४) प्रत्येक पलको कविता संग्रह – २०६५
(५) प्रहरीमा ३२ वर्ष लेख संग्रह – २०६७
(६) धार्मिक यात्रा एक अनुभूति – २०६८
(७) खेवाङ डायरी – २०६६
(८) वंशावली अनन्त गोत्रीय सिमरासे श्रेष्ठ – २०७१
(९) वर्षाको ताप्लेजुङ डायरी – २०७३
(१०) समयको हुरी कविता संग्रह – २०७३
(११) नारीको उदय एक चर्चा डायरी – २०७६
(१२) धार्मिक र सांस्कृतिक यात्रा – २०७७
(१३) कोरोनाकालीन कविता – २०७८
(१४) खप्तड भ्रमणमा बझाङको चिरफारको लेख – २०७६
आदि कृतिहरू प्रकाशित छन्।
यस सानो लेखमा ‘वर्षा’ का प्रकाशित ‘कोरोना कालीन कविता’ संकलन वि. सं. २०७८ का कविताहरूको अवलोकन गरिएको छ। कोरोना कालीन कविता संकलनमा संग्रहीत छोटामोटा ४० वटा कविताहरू छन्। यी कविताहरूमा कविको यथार्थ भाव अनुभूतिहरू प्रस्फुटित भएका छन्। श्रेष्ठका ४० वटा कविताहरू गद्यमा सिर्जना भएका छन्।
कोरोना कालमा हरेक मानिसहरू कोठामा थुनिएका बेलामा उर्लिएका भावहरूलाई कवितारूपि सारहरू जोड्दै १५/१६ महिनाभित्र उब्जिएका थोकहरू रातनीति हैजा, सीमा हैजा, कोरोना हैजा, लेखकीय दिमागी हैजा बटुलबाटुल गरी आफ्नै पनको अनुभूतिहरूलाई समावेश गरी पोखिए भाव तरंगहरू बोकेको कविताहरू हुन् – कोरोना कालीन।
यसरी ‘वर्षा’ – का कविताहरूमा विगतका समयमा विश्व व्यापी कोविड १९ (कोरोना) को प्रकोपले मानव समाज अस्तव्यस्त बनेको स्थितिलाई यसरी समेटेको देखिन्छ। यस्ता केहि पंक्तिहरू हेरौं –
‘काल छर्दै आयो गाउँ शहरमा कोरोना
त्रास फिजाउँदै घर घरमा पस्यो कोरोना।
बारेर एरीया रोकिन्दैन कोरोना,
लकडाउनले अब छेकिन्दैन कोरोना।
मानव छेकावार छेड़यो विश्वभरिमा,
कोरोनाले भत्कायो कर्फ्यु घेरा।
रोकेर रोकिने अवस्था अब छैन यहाँ
सामरिक देशको कोत घरमा बसायो डेरा।’ (मृत्यु मुख, पृष्ठ ३१)
कवि वर्षाले विश्व महामारी ‘कोरोना’- लाई कुन देशबाट आयौ हाम्रो गाउँ शहरमा भनेर प्रश्न तेर्साएका छन् भने यस हैजाले त्राही मानव समाज आज स्तब्ध बनेको छ। यस कोरोनाबाट आफ्नो देश नेपाली पनि अक्षुण्ण रहन सकेन। यहाँ देशभरि लकडाउन प्रक्रिया भयो र सबैले यसको पालना गरेतापनि कोरोनाको कारण धेरै संख्यामा जनजीवन गुमेका छन्। यस्तो संकटको समयमा कविले जनसाधारण मानिसहरूलाई सान्त्वना दिँदै सकारात्मक भाव प्रस्तुत गर्दै आगामी दिनमा हाम्रो देश नेपाल कोरोना जस्तो हैजामुक्त देश बन्नेछ भनेर सम्भावना प्रकट गरेका छन्।
यसरीनै कविको अर्को कवितालाई हेरौं –
कोरोनाको जन्म चीनमा भएछ
उसको खानकी मानिस रहेछ।
हजारसम्म गाँस हाल्न पाएछ
अनि त्यहाँ निकै फस्टाएछ।
त्यहाँबाट अमेरिका हानिएछ
हजारौंलाई चपाउँदै घर बसाएछ
अनि निक्कैलाई सूचना प्रचार रहेछ
तब विश्व यात्रामा निस्केछ। (कोरोना कविता पृष्ठ -१)
यस कविताद्वारा यस कोरोना कालीन समयमा मानिसहरूले भोग्नुपरेको समस्याहरू विस्तृत रूपमा बयान गरेको पाइन्छ। भारत हुँदै विस्तारै नेपाल प्रवेश गरेपछि नेपालमा पनि लकडाउन शुरू भयो। यसरी कोरोनाले नेपाली जनजीवनलाई अस्तव्यस्त बनाएर त्राहीमाम मच्चायो। यस समय मानिसहरूले भोगेको दुःखहरू आफ्नो सृजनाहरूमा छर्लङ्ग पारिदिएका छन्। श्वासबाट सर्ने रोग भएको हुनाले यसको रोकथामको निम्ति मास्क प्रयोग गरी अरूको श्वाससंग आफ्नो श्वास नमिसाउनु भनी W.H.O. को निर्देशलाई पालन गर्दै कविले कविता मार्फत जानकारी गराउनुभएको छ।
कवि ‘वर्षा’ – ले विश्व महामारी ‘कोरोना’ – लाई थुप्रै कोणबाट प्रश्नहरू तेर्साएका छन्। यसै हैजाले त्राही त्राही मानव समाज आज स्तब्ध बनेको छ। कविले आफ्ना सिर्जनाद्वारा कोरोनालाई मानव जातिको यो कालो इतिहास भन्दै आफ्नो सकारात्मक भाव प्रस्तुत गरेका छन्। उनका कविताहरूमा जाति समाजलाई सचेतना आह्वान गर्दै परोक्ष अपरोक्ष रूपमा विद्रोहका हुँकार पोखेको देखिन्छ। यस्ता विद्रोह भावका अभिव्यक्तिका केही पंक्तिहरू उल्लेख छन् –
‘ओराली सन्तती
पुर्खा उकाली
झर्दैछ पुरानो
थप्दै उकाली।
बिर्सियो पुर्खौली
संस्कार हरननि
विदेशी चलनले
गुम्यो संस्कृति।
हाड़नाता हरायो
समागमन यो
कर्म चलन हरायो
भाषा लोप भो।
विदेशी चलनको
साइनो मेटियो
जातित्व हरन यो
सबै एकै भो।’ (उकाली ओराली, पृष्ठ – ३४)
कवि ‘वर्षा’ – ले आफ्ना कविताका माध्यमद्वारा समाजमा भइरहेको विकृतिलाई लिएर चर्को आवाज उठाएका छन्। विदेशी चलनले आफ्नो जातित्व मातृभाषा, हाम्रो संस्कृति विलीन भएर गइरहेको अवस्थालाई पाठकको मन आल्हादित गराउँदै यसरी समसामयिक परिवेशमा भइरहेको विभिन्न समस्याहरूलाई चिन्तन गराउन तर्फ अघि धकेल्दछन्।
नेपालको गाउँ बस्ती शहर आदि क्षेत्रमा व्याप्त समस्या, शोषण, दमन, हालको ‘कोविड नाइन्टिन’ – ले ल्याएको विश्व महामारी संकट साथै सामाजिक, आर्थिक, राजनैतिक तनाव आदि समस्याहरूले जन्माएको जटिल परिस्थिति अवगत गराउँदैछन्।
निष्कर्ष
कवि बाबुराम श्रेष्ठ ‘वर्षा’ – का प्रस्तुत कविता संकलनमा प्राय जस्तो कविताहरूमा सामाजिक सरोकारका सकसहरू पाइन्छन्। कविताका पंक्तिहरूमा कोरोनाबाट संसारभरि परेको आर्थिक संकट जस्ता दीर्घकालीन समस्याहरू उजागर भएको पाइन्छ। कोरोनाले दिएको सन्देशलाई मानिसले आफ्नो जीवनमा दीर्घकालीन सम्म उपयोग गरे धेरै लाभदायक हुनेछ भन्ने कुरालाई पनि कविले आफ्नो रचनाहरूमा प्रष्ट पारेका छन्।
लामो समयसम्म नेपाल प्रहरी मार्फत राष्ट्र सेवामा समर्पित भई साहित्य साधनमा जुट्नुभएका ‘वर्षा’ – को लगन, मेहनत, अध्ययन र सिर्जनशीलता हामी सबैका लागि प्रेरणाका श्रोत बन्न सकेका छन्। नेपाली भाषा साहित्यमा दीर्घ साधक तथा बहुमुखी प्रतिभाका धनी पूर्व प्रहरी अधिकृत समेत भई लामो समयसम्म सेवारत रहँदा धेरै मान सम्मानका साथै गोर्खा दक्षिण बाहु जस्तो गरिमामय पदक समेत राष्ट्र प्रमुखद्वारा प्राप्त गर्न सफल कवि, चिन्तक, साहित्यकार, नेपाल पूर्व प्रहरी संगठनकोशी प्रदेशका अध्यक्ष जस्तो गरिमामय पदमा आसीन हुनुहुन्छ। साहित्यिक तथा अन्य संघ-संस्थामा आबद्ध ‘वर्षा’ – का आगामी दिनहरू सुखमय रहून् साथै उनको साहित्यिक यात्राले अझै शिखर चुम्न सकोस्, यही कामनाका साथमा मेरो केही शब्दलाई यहीं अन्त गर्दछु।
नागरी फार्म चियाबारी