17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उत्कृष्ट व्यङ्ग्यको झापु 'बाघेझापु' छोटो गन्थन

कृति/समीक्षा केशवराज आमोदी December 22, 2024, 4:20 am
केशवराज आमोदी
केशवराज आमोदी

वि.सं. २०२१ साल फागुन २३ गतेको शुभ मुहूर्तमा पिता ईश्वरीप्रसाद दाहाल र माता कलादेवी दाहालका पुत्ररत्नका रूपमा ऐतिहासिक जिल्ला गोरखाको तान्द्राङ-३ , मझिन्थोकमा चिरञ्जीवी दाहालको जन्म भएको हो। हाल कालिका नगरपालिका- ६, चितवनलाई स्थायी बसोबासमा रूपान्तरित गरी जीवनका उर्वर समय जागिरमा खर्चेर सेवा निवृत्त भएउपरान्त उमेरले नेटो काट्न लागेको अवस्थामा बैँसेजोश र उत्साहका साथ साहित्यको अध्ययन, सिर्जन र उन्नयनमा लाग्नु र दिनोत्तर सफलता हासिल गर्दै जानु नव- सर्जकहरूका निम्ति प्रेरणा -प्रसङ्ग र साहित्य अम्मलीहरूका लागि हर्षदायी प्रसङ्ग बन्नसक्दछ।

अन्तर्मुखी स्वभावका दाहालजी स्वभावतः विनयी, मितभाषी, स्पष्टवक्ता र कर्तव्यपरायण चरित्रका व्यक्तित्व हुन् । मनोविज्ञानसम्मत उनको मनोद्वन्दमा आच्छन्न आत्मकथ्यमा आधारित सुन्दर कृति मुमूर्षा ( २०७८) समृद्धि ( संयुक्त मुक्तक सङ्ग्रह २०७७ ) राष्ट्रिय बहरमाला २ (संयुक्त गजलसङ्ग्रह २०७९) ग्रीष्मजा (उपन्यास २०८०) राष्ट्रिय बहरमाला ३ ( संयुक्त गजलसङ्ग्रह २०८० ) र बाघेझापु (व्यङ्ग्य निबन्धसङ्ग्रह २०८१) जस्ता कृतिहरूले लोकख्यातिका पताका फर्फराइरहेका छन् ।

आत्म-कथानकताका आधारमा “मुमूर्षा" बाट साहित्यिक यात्रामा संलग्न चिरञ्जीवी दाहालका समसामयिकतालाई च्याप्दै रदीफोकाफियामा समन्वित चतुष्पदीय शैलीका रोचक घोचक मुक्तकहरू , उर्दु - फारसीले तय गरेका रुक्न- अर्कानको प्रयोगमा अवलम्बित बहरबद्ध गजलहरू, नारी मनोजजगत्मा व्याप्त उल्झन, समस्या, मानसिक तनाब, चुनौती र विवशतामा केन्द्रित आख्यानपरक कृतिको मनग्गे सफलता पश्चात् व्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह “बाघेझापु" देखापरेको छ । यो कृति भर्खरै फित्कौली अनलाइन मिडिया कलङ्की काठमाडौंमार्फत प्रकाशनमा आएको हो ।
‘ बन्ध' धातुमा ‘धञ्' प्रत्यय र नि उपसर्ग लागेर निबन्धको निर्मिति भएको पाइन्छ। नैबन्धिक विधामा रुचि राख्ने निबन्धकारद्वारा आत्मपरक वा वस्तुपरक अथवा आगमन वा निगमन शैली र ढाँचामा मनोतरङ्गित भावना, विचार, सोच या दर्शनका यावत् भावहरू प्रकट गरिनु नै निबन्धको प्राप्ति हो भने शिल्पका आधारमा विषयवस्तु, उद्देश्य , भाषाशैली र दृष्टिविन्दुबाट निबन्धन हुनु नै निबन्धको सौन्दर्य हो ।

काव्य ग्रन्थमा बेसी सुखात्मक अनुभूत हुने हास्यरस आचार्य भरत मुनिका अनुसार चार उपरसहरूको कोटीमा आउँछ भने आचार्य विश्वनाथका मतानुसार स्मित, हसित, विहसित, अवहसित, अपहसित र अतिहसित गरी छ भेद मानिन्छन् । हास्यरसको स्थायी भाव हास, विभाव, आचार, व्यवहार, केशविन्यास, नाम तथा अर्थ आदिको विकृतिमा वर्द्धित श्रृङ्गार- रसमा मुछिएर विकृत वेशालङ्कार, धाष्टर्य (धृष्टता) लौल्य ( चञ्चलता वा अस्थिरता), कलह, व्यङ्ग्यदर्शन, दोषारोपणमा यसले विशेष प्रभाव पारेको हुन्छ । आत्मस्थ र परस्थ वा आत्म समुत्थ र परसमुत्थ गरी हास्यका थप दुई भेद देखिन्छन् । स्वयं हास्नु वा अन्य कोही हाँस्नुमा यो अवलम्बित रहन्छ । यी सामान्य हास्यरसजन्य चर्चा “ हास्य र व्यङ्ग्य, हास्य वा व्यङ्ग्य , हास्य पनि व्यङ्ग्य पनि " को द्वन्द समासीय विग्रहमा निर्मित समस्त पदीय हास्यव्यङ्ग्यको समायोजन भएको हो । हास्यले जस्तै व्यङ्ग्यको अर्थ खोतल्दा कतै भ्यागुतो, कतै जसको कुनै अङ्ग असामान्य वा विकृत भएको छ र कतै शब्दको त्यो अर्थ जो त्यसको व्यञ्जनावृत्तिबाट प्रकट हुन्छ । शब्दका व्यञ्जना शक्तिबाट प्रस्फुटित अर्थमा विस्तारित हुँदै हास्यव्यङ्ग्यको सतह फैलिँदै गएको मान्नुपर्ने देखिन्छ ।

बहुव्रीहि समासको सादृश्यरुपमा सृजित “ बाघेझापु" का बारेमा केही पाठकीय विचार राख्ने सोच बनाउँदैछु । कवि, गजलकार, उपन्यासकार र निबन्धकारको परिचय बनाउन सफल चिरञ्जीवी दाहालको ”बाघेझापु" उत्कृष्ट हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहको रुपमा आएको छ । यसले हास्यव्यङ्ग्य लेख्ने हरूलाई प्रतिस्पर्धामा उतारिरहेको छ भने आफ्ना मानक पाठकलाई हास्यव्यङ्ग्यको मोहनीले खिचिरहेको छ । मानवीय संवेग, मनोविकृति , मनो दौर्बल्य र मनोद्वन्दका आरोह- अवरोहदेखि राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक तहमा दृष्टिगोचरीभूत विकृति- विसङ्तिजन्य दुष्प्रवृत्ति, दुर्भाव, दुर्विपाक र दुर्भिसन्धिप्रति कतै इन्द्रको बज्र, कतै भीमसेनी मुक्का र कतै हाँडीगाउँले बाघेझापुको मुङग्रे ठोकाइ पाइन्छ ।

प्रकाशक्यौलीद्वारा प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार नरनाथ लुइँटेलले भूमिका लेखनका सन्दर्भमा “बाघेझापु मार्फत हानिएको सशक्त व्यङ्ग्य प्रहार " को विशेषोक्ति प्रकट गर्दै कृतिगत वस्तुतथ्यको प्रकाश पारेका छन् भने अर्का चर्चित चट्याङ् मास्टरको “ हार्दिक बधाई र शुभकामना " ले पनि कृतित्व र कृतिकारका बारेमा यथासम्भव उल्लेख गरेकै छन् । स्मरणीय के छ भने अग्र आवरणदेखि लिएर भित्री तहका उनन्चालिस वटै निबन्धहरूको र तिनको विषयवस्तुसँग सुहाउँदो चित्र कोरेर पाठकवर्गलाई सहजतापूर्वक बुझ्न सक्ने व्यङ्ग्य चित्रकार टंक आलेको चित्रकारिता प्रशंसनीय रहेको छ । यसै गरी मुखबन्ध शीर्षकबाट लेखकले आफ्ना भनाइहरूलाई पस्कँदै निबन्ध , निबन्धलेखन र प्रकाशनका सन्दर्भलाई स्पर्श गर्दै सहयोगी सबैलाई धन्यवादको औपचारिकता निर्वाह गरेका छन् ।
प्राय: चिकित्सकहरूले सानासाना नानीहरूलाई हसाउँदै इन्जेक्सन दिए झैँ हास्य र व्यङ्ग्यमा पाठकलाई भुलाउन निबन्धकार खप्पिस देखिन्छन् । त्यसो त हाँसो त्यसै फुस्किँदैन, हाँसो फुस्किन वा फुस्काउन विकृत मुखाकृति, विकृत साजसज्जा, विकृत दोषारोपण, विकृत चालढाल र विकृत कार्य व्यापारको खुबी चाहिन्छ। बेलगाम हँसाउनु र मर्माहत हुने गरी व्यङ्ग्यका लपेटाले लप्काउनु सबैलाई सहज - सम्भव हुँदैन। यसकालागि विशिष्ट अभिव्यञ्जनात्मक क्षमता भएका वा तिनैको सिको गर्दै हास्यव्यङ्ग्य निबन्धमा प्रवेश गरेका चिरञ्जीवी दाहालको लेखनी निकै शक्तिशाली बनेर देखापरेको छ । अनुगमनको भरमा वा शङ्काकै भरमा लङ्का हल्लाउने “अड्कले काका "को अनुमानको छेउ टुप्पो फेला नपारे पनि यसैले काकाले जीवन गुजारी रहेका छन् । अडकले काकाका मनोवृत्तिका पात्रहरूको राम्ररी चरित्रफास भएको छ । इच्छै इच्छाको पहाड बोकेर मानिस बाँचिरहेछ तैपनि “ऊ रावण र यी रावण"को भेद नपाएर कहिलेसम्म बतासिरहने हुन् यसै भन्न सकिन्न। “ जहाँ नपँहुचे रवि उहाँ पहुँचे कवि " भनिने हिन्दीको उखान झैँ अहिले राजनीति विषाक्त धुवाँले कविको चन्द्रमा वर्णनले पुष्टि गरेको पाइए पनि “क्लिटोमेनिया" बाट पार पाउन विज्ञानलाई समेत हम्मेहम्मे परिरहेको छ । नबोल्नेको चामल बिक्री नहुने देशमा बोल्नेको पिठो बिकीरहेको हुन्छ भनेझैँ यहाँ “कोइलीको होइन कौवाको पूजा हुन्छ" तर के गर्नु खुशी आकासबाट बर्साउन मलजलको प्रबन्ध त गर्नैपर्छ । खेतबारीमा काम गर्ने खेतालोको श्रमको महत्व कति हुन्छ, बाली भित्र्याउँदा चाल पाइन्छ जस्ता विषयवस्तुमा हास्यव्यङ्ग्यले पाठकलाई विघ्नै तरङ्गित गर्दछन् ।

“खौरिएको कपाल र श्राद्धको फुरौला" मा बाल स्वभावजन्य कुतुहलतामा ताडित हुनुपरेको , “गुरुलाई चिठ्ठी"मा " यद् पठितं तद् गुरुवे समर्पिते " (जे पढेँ गुरुलाई नै समर्पण गरेँ) भनेझैँ नैतिकता, मर्यादा , अनुशासन र इमान्दारिता छोडिसकेको जानकारी गराइएको सन्दर्भमा निकै घोचपेचहरू भएका छन् । त्यसैगरी “चटक जारी छ" , “झुट बोल्न छुट", “ताली लगाउने पेसा" , “तालुको रौँसँगै हराएको सुद्धी", “थाम्न नसक्ने बोझ" , “दरबारी कवि", “नमस्कार प्रथा खारेज होस्" , जस्ता शीर्षकहरूले हाँसो र व्यङ्ग्यको पोखरीमा पटकपटक डुबाउँछन् । राज्यमा भइरहेका राजनीतिक खिचातानी, सर्वसाधारणमाथि थिचोमिचो र सांस्कृतिक विचलनप्रति कडा प्रहार गरिएको छ ।“नानीदेखिको बानी", “निकम्मा हाकिम र दास प्रवृति", परिवर्तन, पाखण्डी लेखकको मखण्डी लेखाइ, “फेसबुके जात्रा" का निबन्धहरूले नै देशको वर्तमान अवस्थाप्रति हास्यव्यङ्ग्यात्मक खिचडी पकाइरहेका छन् ।

“बाघेझापु" कृति भित्रको चौबिसौँ निबन्ध हो । बाघेझापु मार्फत पद प्रतिष्ठा र पँहुचमा बसी मनपरी गर्नेहरू प्रति हानिएको कसिलो झापड हो तर पनि यसले बाँकी निबन्धहरूको समेत प्रतिनिधित्व गरेको देखिन्छ । त्यसै गरी “भातमारा" , “मर्द र नामर्दको परिभाषा फेरिएपछि", “मान्छे जुधाउँदाको मजा", “मिथ्या पुराण", “मिथ्या सिद्धान्तको शालिक" जस्ता निबन्धहरू पनि मर्मस्पर्शी र उत्तिकै पठनीय छन् । “मुर्ख", “रङ नम्बर", “वरिष्ठताको भूत", “स्तुति गान", “साढुदाइको ससुराली", “सानो कद", “सित्तैमा मनोरन्जन लिने हो", “शहर", “हामी ढोलक हौँ बजिरहन्छौं" र “क्षमा पाउँ प्रभु" भित्रका सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक र ऐतिहासिक विकृतिका उच्छवासहरू निस्रित देखिन्छन् ।

एउटै निबन्ध भित्र पनि साना साना निबन्धात्मक भङ्गालाहरू रहेका छन् । ती भङ्गालाहरूमा हाँसो र व्यङ्ग्य बाढीहरू उर्लापात गइरहेको देखाउनु निबन्धकारको सफलता हो ।
अन्त्यमा सबै निबन्ध हरूमा भाव , भाषा, र शैलीको परिस्कृत रुप बिम्म छाएको छ । उखानटुक्का वा वाग्धाराहरूको यथास्थानको प्रयुक्तिले निबन्धमा निखार आएको छ । शैल्पिक प्रयुक्तिलाई केलाउँदै लेखक हास्यव्यङ्ग्यात्मक निबन्धलाई नै आफ्नो मूल विधा मानेर साधनामा डुबेझैँ लाग्छ । यति सुन्दर कृति उपलब्ध गराउनु भएकामा लेखकलाई धन्यवाद दिँदै लेखनी यहीँ बिसाउँछु ।

आमोदी निकेतन, रत्ननगर , चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।