18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सिट नम्बर १६

संस्मरण/स्‍मृति गीता खनाल December 20, 2024, 8:34 am
गीता खनाल
गीता खनाल

कामकाजी व्यस्त महिलाको सूचीमा म आफूलाई पनि राख्न रुचाउँछु । कामैकामको बोझले थिचेको बेला मलाई झन् गर्वको महसुस हुन्छ । फुर्सदको एकाध घण्टा पनि निकै पट्यारिंदो लाग्छ मलाई । अति व्यस्त दिनचर्याका बीच अप्रत्यासित कामकाज आइपर्छन् राजधानीतिर जानुपर्ने । जिन्दगीमा अपेक्षा गरेका कुराहरू मात्र कहाँ आइलाग्छन् र ! अपत्यारिला तथा झन्झटिला लाग्ने कामसँग पनि त जम्काभेट हुन्छ नि ! मेरा जीवनमा आएका संघर्षका ज्वारभाटाहरु सानोतिनो मेहनतले रोकिदैनन् । एउटा लहर आउँछ, त्यसलाई भौतिक र मानसिक बल प्रयोग गरेर छेक्न खोज्छु फेरी अर्को त्यो भन्दा ठुलो भएर आउँछ । यति धेरै लहरहरुले धक्का दिंदा–दिंदा कालिगण्डकीको शालिग्राम जस्तै कडा बनाई सकेको छ मलाई, यदि ढुंगा हुन्थ्यो भने शालिग्रामको रुप लिई सक्थ्यो होला । फेरि पनि मेरो केही गुनासो छैन । सरल रेखामा मात्र जिन्दगी हिंड्दैन भन्ने राम्रो हेक्का पनि त छ मलाई ।

हतार–हतारमा दिउँसोको काम सकेर बेलुका ८ः३० बजेको रात्रिबस चढ्न पुग्छु । करिब नौ घण्टाको लागि मैले आफ्नो बनाएको एउटा सिट खोज्छु “सिट नम्बर १६” । सेकेण्ड लास्ट सिट हो यो । हतारै–हतारमा रात्रिबसको टिकट पनि समयमै लिन नसकेर पछाडि परेें । फस्ट सिट होस् वा लास्ट सिट, पुग्ने समय त एउटै नै हो नि ! तथापि, बसले कति थेचार्छ, कति पछार्छ भन्ने चिन्ताले मनमा धेरथोर अड्डा त जमाइ नै हाल्छ ।

दिनभरिको थकाइले शरीर शिथिल छ । सिट जस्तो भए पनि समयमै गन्तव्यमा पुग्न पाए हुन्थ्यो भन्ने झिनो आशाले १६ नं. को सिटमा बसेको छु । अगाडिका सिटबाट हल्ला आइरहेको छ । कोही बसिसकेका छन् सिटमा, कोही बस्ने तरखर गर्दैछन् । २०० कि.मि. टाढाको यात्रा तय गरेको छु । चिसो बढिरहेको छ, आजभोलि छिट्टै रात पर्ने हुँदा रात छिप्पिसकेको जस्तो भान भइरहेछ । आडमा सहयात्री कस्ता पर्छन् भन्ने कुराले पनि पिरोलि रहेको छ ।

केही मिनेटको अन्तरालमा आडमा कस्तो साथी आउला भनेर यस्सो झ्यालतिर आँखा लगाएको मन झसक्क झस्कियो ! उस्तै उमेर, उस्तै अनुहार, सभ्य अनि शालिन देखिने व्यक्तित्व जसले २० वर्षअघि कहिल्यै भेट नहुने गरि मलाई एक्लै छोडेको थियो । दिमागले सोच्नै सकेन । आफूलाई बिर्सिन पुगें । टुक्रिएको मेरो मुटुको टुक्रा एक्कासी भेटेको भान भयो । ‘सानुभाइ’ भन्ने आवाज निस्के जस्तो लाग्यो आफैँलाई ! मन त्यसै–त्यसै पुलङ्कित भयो । हातले उसको अनुहार छुन मन लाग्छ तर कता–कता डराको पनि छु । दिमागले मेरो सानुसँग बल्ल भेट भयो भन्ने सोच्छ । मनमा भने ऐठन हुन्छ, मन कक्क्रक्क हुन्छ । सक्दिन खप्नलाई अनि उसँग बोल्ने बहानामा झोलाबाट दुई वटा सुन्तला झिकेर मेरै भाइलाई दिन्छु “सानुभाइ, लाउ सुन्तला !” उसले पनि मन्द मुस्कानले हातमा लिंदै मैरै भाइको शब्दमा “थ्याङ्क्यू दिज्यू भन्छ !”

कहिल्यै भेट्न नसकिने मेरै भाइका शब्दहरू मेरा कानमा ठोकिए जस्तो लाग्यो मलाई । उसले सहर्ष सुन्तला लिएकोमा मेरो मनमा खुशी तरंगित भयो । खुब हेरेँ मन अघाउने गरेर । उसका आँखा छलेर । फेरि सम्झिन पुगेँ बिगत, मन भारी भएको छ, भन्छ मनले “गुनासो त छैन सानु तिमीसँग मेरो, मलाई एक्लै छोडे पनि तिम्रो सहादत सगरमाथाभन्दा अग्लो छ, इतिहासका पानाहरु फेर्दै अमिट छाप छोडेका छौ, शासकहरुले नचाहदा–नचाहदै पनि व्यवस्था परिवर्तन गरेरै छोड्यौ । मात्रै बाँकी अवस्था परिवर्तनको छ, यसमा पनि आशावादी छु, चाहेर पनि सवै दिदीले तिमी जस्तो भाई कहाँ पाउँछन् र सानु !” कुडिएको मनलाई थमथम्याउँदै चश्मालाई केही माथि उचालेर आँखाको कुना–कुनामा टिस्यु पेपरले धेरै बेर थिचिराखेँ । उ को थियो ? आइ डन्ट नो । मैले सोध्ने प्रयास पनि गरिन । उसलाई पनि असहज लागेर होला बेला–बेला पुलुक्क हेथ्र्यो । बिचरा त्यो निर्दोषलाई के थाहा म निष्ठुरीको बानी ! अनुभवले खारिएर यसरी ‘भेटिएकाहरूमा मित्रताको स्थायित्व हुन्न’ भनेर सोच्ने मान्छे म । उसको बारेमा केही पनि सोधिन तर अघाउने गरी हेरें ।

सडकमा गाडीको लावालस्कर कम हुँदैछ । सडक छेउका बत्तीहरू निरन्तर उज्यालो छरिरहेका छन् । कुहिरोको घुम्टो भित्र पसेको छ माछेपुच्छ्रे पनि । चिसोको स्पर्श हात र कानमा महसुस हुन थालेको छ । खै किन हो कुन्नी भनिएको समयभन्दा केही विलम्ब भइरहेको छ यात्रारम्भ गर्न । यसैबीच बाहिरबाट हतारिएर एकजना मान्छे गाडीमा पस्छन् । “सबै जना आउनु भयो नि ?” उनको ठूलो आवाज गाडीभरि फैलिन्छ । उनको इशारा पश्चात गाडीले गति लिन्छ ।

सिट नम्बर १६ मा बसेर अब हिड्न लागेको खबर सुनाउँछु मेरो सबैभन्दा प्रिय मान्छेलाई । कहिले साथी बन्छन् उनी, कहिले अभिभावक पनि बन्छन् । आफ्नो चिन्ता नगर्न अनि मेरो स्वास्थ्यको ख्याल गर्न सम्झाउछन्, रात्रिबसमा यात्रा नगर्न पनि सल्लाह दिन्छन्, मेरो भरोषाको त्यान्द्रो छोरा एलेन ।

बसपार्कबाट हिडेपछि एकैछिनमा आइपुग्यो उत्तमचोक । म झल्याँस्स सम्झिन्छु – असल गुरु जर्ज जोन सर र डा. एलियाम्मा जोन म्याडमको निवास । केही महिना अघि पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जोन सरले पश्चिम नेपालमा गर्नु भएको शैक्षिक योगदानबारे उहाँकै निवासमा गएर प्रत्यक्ष रूपमा सुन्न पाएको सुखद क्षण सम्झेँ । धेरै वर्ष पोखरामा बसेर पनि मैले उहाँको जोडीलाई नजिकबाट भेट्ने अवसर पाएको थिइनँ । यो बेजोड दम्पतीलाई मनमनै सादर नमन गर्न पुगेँ ।

विजयपुर खोला तरेपछि बसमा ठूलो स्वरले गीत बज्न थाल्यो । सुरुमा त खै के गीत थियो, त्यति याद पनि गरेको थिइनँ । ठ्याक्कै बेगनास ताल जाने बाटो पुगेपछि गीत बज्न थाल्यो–‘घुमाउने घर पोखरामा’ । मेरा एकजना साथीले ‘पोखरा बस्ने साथीलाई कोसेली’ भनेर युट्युबमा भएको यो गीतको लिंक म्यासेन्जरमा पठाइदिनु भएको सम्झें । ‘माछापुच्छ्रे काखैमा बेगनास’ गीतका यी शब्दहरूले सम्झना गराइदियो हामी आमा छोराको स्कुटर यात्रा । पोखराबाट कास्कीको बेगनास, लमजुङको करापुटार हुँदै भोर्लेटार यात्रा अनि सुन्दरबजारको अल्लि परबाट पाउदीको डिल हुँदै मस्र्याङ्दीको पुल तरेर धमिलीकुवा, अल्काटार अनि साहिलीटार हुँदै जन्मथलो गोरखाको खनालथोक गएको दिनको स्मरण गर्दा मनै कटक्क खायो । बस छोडेर स्कुटरमा त्यतैतिर जाउँ कि जस्तो भयो मन ।

गाडी एक तमासले गुडिरहेको छ । बाहिरको वातावरण सुनसान छ । कोही निदाइसकेका छन् । कोही गीत सुनिरहेका छन् । गाडीमा हम्मेसी निदाउन नसक्ने बानी छ मेरो । अरू निदाएको देख्दा पनि लोभ लागेर आउँछ । मैले बाटो काट्ने उपाए निकाल्छु मोवाइलमा डाटा चलाएर । घुमाउने घर पोखरामा भन्ने गीतले एउटा जिज्ञासा अंकुराउँछ मेरो मनमा । हैन कति धेरै गीत छन् पोखराको नाममा ? युटुबमा खोजेर हेर्न मन लाग्छ । सुन्दै आएका कर्णप्रिय गीत हुन् – ‘माझी दाइ पोखरा फेवातालको’, ‘जोमसोमे बजारमा’ ‘घर हाम्रो पोखरा’, ‘म विना कसै कसैलाई मुश्किल छ पोखरामा’, ‘हङकङ पोखरा’, ‘घर त पोखरा’ आदि युटुबमा यी सबै गीत भेटिए ।

झन्डै दुई दशकभन्दा बढी समय पोखरालाई कर्मथलो बनाएको नाताले ‘पोखरा’ चर्चामा हुँदा रमाइलो लाग्नु स्वाभाविकै हो । खोज्दै गर्दा अरू गीतहरू फेला परे – ‘जान्छु म पोखरा’, ‘बुटवल पोखरा’, ‘सोल्टिनी जाउँ घुम्न पोखरा’, ‘जाम सानु पोखरा’, ‘पोखरामा फेवा ताल’, ‘मायालुको पोखरा घर छ’, ‘पोखरा कमलपोखरी’, ‘पोखरेली कान्छी’, ‘पोखराको बसलाई’ ‘पोखराको बसमा’, ‘पोखरामा सेती’ आदि । मैले नाम मात्र हेर्ने काम गरेँ । पुरै सुन्न त वाईफाई भएको ठाउँ हुनुपर्छ अनि फुर्सद पनि ।

पोखरा पर्यटकीय राजधानी मात्र हैन गीत संगीतको पनि राजधानी रहेछ भन्ने लाग्यो मलाई । सुन्दर ठाउँले गीत जन्माउने रहेछ । त्यस्तै गीतले ठाउँको चर्चा बढाउने रहेछ । एउटा गीतको लिंक कोसेली पठाउने साथीलाई सबै गीतको लिंक पठाइदिउँ जस्तो लाग्यो मलाई । यति धेरै गीतकारको नजरमा परेको पोखरा । यति बिघ्न सङ्गीतकारको सुमधुर लय र लोकप्रिय गायक तथा गायिकाहरूको कर्णप्रिय स्वरमा सजिएको सुन्दर पोखरालाई मेरो नमन छ !

जब डुम्रे पुगेपछि लमजुङ जाने बाटो छुट्टियो, तब मेरो मुटु शरीरबाट झन्डै उछिट्टियो । फेरि मलाई डुम्रेबाट स्कुटरमा तुरतुरे, पालुङटार, आँपपिपल, हर्मी भन्ज्याङ हुँदै खनालथोक पुगौँ जस्तो भयो । मान्छेलाई जन्मभूमिप्रतिको यति धेरै मोह किन हुन्छ होला है ? गाडीले डुम्रे छोड्ने बेलामा मैले ‘बन्दीपुर’ लाई सम्झेँ । पुस्तकमा बन्दिपुरको महिमाबारे पढेको छु । गीतमा ‘बन्दीपुर’ पटक–पटक सुनेको छु । असंख्य पटक यो बाटो हिंड्दा पनि अहिलेसम्म बन्दीपुर जाने साइत जुरेन, यसमा म आफैँदेखि बेखुशी छु ।

पोखरादेखि काठमाडौँ जाने बाटो फराकिलो बनाउने काम त भइरहेको छ । यो सराहनीय छ तर कामको प्रगति कछुवाको चालमा भइरहेको देखेर सरकारप्रति दया लागेर आयो । देशको राजधानी र पर्यटकीय राजधानीलाई जोड्ने सडकलाई बढी प्राथमिकता दिनु पर्ने थियो । निर्माणको कार्यलाई तीब्र गति दिनु पर्ने थियो । मनमा यस्तै–यस्तै कुरा खेलीरहेको थियो । गाडी घचक्क रोकियो । खाना खाने होटेल रहेछ आँबु खैरेनीमा, भाइ पनि खाना खान झरे । मेरो त बाटोमा खाना खाने चलन छैन, फलफूलले काम चलाउने बानी छ । यात्रामा सुत्न नसक्ने र खाना खान नसक्ने हुँदा पनि रात्रिबसको यात्रा गर्न तम्सिने भएकोले मैले धेरै पटक आफन्तबाट गाली पनि खाएकी छु । यो मेरो रहर हैन बाध्यता हो ।

रात छिप्पिदै गएको छ । बाहिरी वातावरण चकमन्न छ । हेमन्त ऋतुको मध्यान्तर समय, चिसो सिरेटो जोडतोडले चल्ने नै भयो, सिरेटोले झुक्याएर शरिरका अङ्ग–अङ्ग स्पर्श गर्न खोज्नु पनि स्वभाविकै भयो । दायाँ–बायाँ र आडमा रहेका मेरो मनको भाइ पनि घ्वार–घ्वार गरेका छन् । रातिको यात्रा, बनाउँदै गरेको पृथ्वी राजमार्गको बाटो, अनि पछाडिको सिट । बसले कहिले १६० डिग्रीमा दायाँ–बायाँ गर्छ त कहिले जुरुक्कै उचालेर छतको टिनमा टाउको ठोकाइदिउँला झै गर्छ । बेला–बेला हातमा भएको मोवाइल धरमराएर झरुँला झै गर्छ । हातमा मोबाइल अडिन नसकेपछि जकेटको पकेटमा चेन लगाएर अड्याउँछु मोवाइललाई । पकेटको एक सानो कुनाबाट एयरफोनको तार निकालेर कानको दुवै प्वालमा बलै अड्याउँछु । अनि भर्खर चलेको बद्री पगेनीको ‘कन्या राशी’ गीत सुन्छु । आहा ! क्या मीठो, कति मज्जा आएको छ । बेला–बेला कानबाट एयरफोनको टुप्पो अडिनै नसकेर फुत्त झर्छ । दुबै हातले टुप्पो समातेर कानमै राखेर बसेको छु । त्यतिबेलाको आनन्दको बयान गरिसाध्य छैन । मलाई न सिट असजिलो भयो, न त रात्रिकालीन यात्रामा डर नै । न अरू कुरा दिमागमा खेल्यो, न आडको भाइलाइ नै हेर्न भ्याएँ ।

एकैपटक बस स्टेशनमा पुगेको थाहा पाएँ । बिहानको ४.५० बजेको रहेछ । डेराबाट हिँडेको करिब नौ घण्टापछि गन्तव्यमा पुग्न पाउँदा पनि खुशीको सीमा नै रहेन । समयमै काठमाडौँ पुगेकोले अब आफ्नो काम निर्धक्क भ्याउँछु भन्ने सोचेर खुशीयाली छाएको थियो मनमा ।

रात्रिबसबाट झरेको समयदेखि नै हतार–हतार आफ्नो कार्य योजना अनुसार कुद्ने काम गरेँ । काम सजिलो थिएन, चुनौतीको कडा चट्टानलाई बुद्धिमत्तापूर्वक फोर्नु थियो, फोरेरै छाडें । आफ्नै अनुकूलतामा मिशन पूरा गर्न सफल भएँ । त्यसैले त अप्ठेराहरु सवै दुस्मन हुदैनन् भन्ने लाग्छ मलाई । काम नसकिउन्जेलसम्म मलाई भोक र निन्द्राको यादै भएन । रात्रिकालीन यात्राले शिथिल भएको शरीर गलेको भान पनि भएन । अपरान्ह तीन बजे बल्ल आफूले खाना नखाएको कुरा सम्झेँ । झोलामा भएको बदाम, ओखर, स्याउ र सुन्तलासँग साक्षात्कार गरेपछि पेटमा मुसा दगुर्न छोड्यो । एक कप कफीको चुस्की लगाए पछि दिमाग फ्रेस भए जस्तो लाग्यो ।

रात्रिबसबाट झरेको करिव ११ घण्टापछि नौ घण्टा लगाएर आएको बाटोलाई फेरि २७ मिनेटमा छोट्याएर फर्कने निधो गरेँ । किनकि गाडीमा फर्कने मेरो कुनै तागतै थिएन । तागत नहुँदैमा यो बिकल्पमा जान सक्ने मेरो औकात त हुँदै होइन । तथापि बोझ नपार्ने शर्तमा आफ्नो एक साथीलाई ईटिकट काटिदिन आग्रह गरेँ । भोलिपल्ट सकेर बुझाउनु पर्ने जरुरी कामले पनि मलाई बाध्य पारेको थियो ।

बेलुका आठ बजेभन्दा अगाडिको टिकट भेटिएन । तैपनि भित्रका कर्मचारीलाई भनेर अगाडि नै उड्न पाइहाल्छु कि भनेर म हतारिंदै साढे छ बजे नै घरेलु विमानस्थल पुगेँ, सोचेजस्तो भएन । राति नौ बजे बल्ल पालो आयो । त्यो भन्दा पछि पनि अर्को उडान भएकोले रद्ध नहुने कुरामा चाहिँ म ढुक्क नै थिएँ ।

जहाज चढ्नु अघि बसमा धेरै बेरसम्म रोकेर राखेकोले शंका पनि लागेको थियो । प्लेन भित्र पसेपछि शंका हरायो । सिट त फेरि पनि नम्बर १६ नै परेछ । कस्तो संयोग ! पाइलटले एयरपोर्टको टावरलाई सूचना प्रवाह गरे जस्तै मैले पनि आफ्नो दिलको टावरलाई फोन गरेँ म आउदै छु भनेर, उनी फुरुङ्ग भए । धावनमार्गमा एकछिन गुडुङडुङ कुदेपछि भुइँ छोड्यो प्लेनले । बौद्धपट्टिबाट फन्को मारेर पश्चिम दिशाको रुट समात्यो । एकैछिनमा माथिबाट देखिएको काठमाडौँको झिलिमिली मिलिक्कै हरायो । झ्यालबाट उत्तरतिरको मनमोहक हिमशृंखलाको दृश्यपान गरेर मन बहलाउने परिस्थिति थिएन । आँखा चिम्लेर एक झप्को दिने विचार आयो तर मन शान्त रहन सकेन । अनेकानेक तर्कना आउन थाले एकपछि अर्को गर्दै मस्र्याङदीको छाल झैँ हुत्तिएर । मैले एकजना साथीसँगको सम्वाद स्मरण गर्न पुगेँ ।

“गीता, तिमी ओभर स्मार्ट भएर एक्लै रात्रिबसमा यात्रा नगर । महिलाको लागि असुरक्षित छ रात्रिबस । शौचालय जाने ठाउँ असुरक्षित, खाना खाने ठाउँ असुरक्षित । आडैको सिटमा रक्सी पिएको मान्छे पर्ने सम्भावना” उनले यी सबै कुरा मैले बोल्न नपाउँदै भनिसकेकी थिइन् ।

“पूर्ण रूपमा सबै ठाउँ सुरक्षित छन् भनेर म पनि दावी गर्दिन तर हामी जस्ता अर्थ र समय धेरै खर्चिन नसक्ने कामकाजी महिलाले रात्रिबसमा यात्रा गर्न आँट नगर्ने हो भने कसरी सुरक्षित वातावरण बनाउन सकिन्छ त ?” मेरो जवाफ यस्तो थियो उनलाई । उनले डर देखाउँदै भनेकी थिइन् “आफूलाई परेपछि त सक्कीगो नि !” उनलाई थाहा नभएका मेरा कयौं यात्रा रातीका नै हुुन्छन्, “देखा जाएगा !” मेरो उत्तर थियो । मनमनै सम्झेँ, तीनै तहका सरकार तथा यातायात व्यावसायीहरूले रात्रीकालीन तथा दिवा सेवाका सवारी साधनहरूलाई महिला मैत्री बनाउन विशेष पहल गर्नु पर्दछ । हरेक नागरिकले पनि यो मामिलामा आफूलाई सचेत राख्नु पर्दछ ।

भनिएकै समयमा प्लेनले भुइँ छोयो । पोखराको अन्तर्राष्ट्रिय एयरपोर्ट बस्तीबाट टाढा छ । एकान्तमा छ । जहाँ कुनै सार्वजनिक सवारी साधन त पाइने कुरै हुन्न । लुकेर बसेका पठाओ, ईन ड्राइभ पाउँछु कि भनेर पल्याक–पुलुक हेर्छु । चकमन्न रातमा कहिं पनि कोही देख्दिन । ठीकै छ यहाँबाट हाइवे जान साढे दुई किलोमिटर त हो नि ! हिँडेरै जान्छु भनेर करिब–करिब आधा बाटो हिँडेपछि एउटा स्कुटर नजिकै आएर रोकियो ।“कहाँ जाने ? यसमा जानुहुन्छ ?” एक जना स्कुटर हाँकेर आएकी महिलाले सोध्नुभयो । “म टाढा जाने हो, हाइवेसम्म जान्छु अनि साधन खोज्छु भनेर हिडेको” मैले उत्तर दिएँ । “तपाई कहाँ जाने” भनेर सोधिनँ । “अमरसिंह चोकसम्म छोडिदिन्छु तपाईलाई” शिष्ट भावले उहाँले भन्नुभयो । त्यसपछि म स्कुटर को पछाडि बसेँ । सोध्दै जाँदा उहाँ पनि त्यही फ्लाइटमा आउनुभएको रहेछ । स्कुटर उहाँले अघिल्लो दिन नै एयरपोर्टमा छोडेर जानुभएको रहेछ । मैले अचम्म मान्दै कसरी भनेर सोधेँ । उहाँले “मैले पुलिसलाई भनेर छोडेको हो त्यहाँ” भन्नुभयो उहाँको यो चलाखीपनले मलाई झन लोभ्यायो

उहाँले काठमाडौँमा एमफिल अध्ययन गरेर भ्याउनुभएको रहेछ । यो पटक थेसिस बुझाएर फर्किनुभएको रहेछ । उहाँको व्यक्तित्व मलाई असाध्यै मन पर्यो । क्या स्मार्ट, क्या याक्टिभ, निडर अनि आत्मविश्वासी महिला ! मलाई मन पर्ने स्वभाव भएकी । कुरा गर्दै जाँदा त उहाँ मेरै छोरा अल्लि सानो हुँदाको शिक्षक पो हुनुहुँदोरहेछ, लामाचौर बस्ने । झन् धेरै खुशी भएँ । संघर्ष त उहाँको र मेरो धेरै फरक छ तर पनि समयलाई आफ्नो अनुकूलतामा ढाल्न अठोट गर्ने हामी दुबै हिम्मतवाली महिला रहेछौँ । मेरो सिट नम्बर १६ ले भेट गराएका यी दुई सहयात्री जिन्दगीभर मेरो मन मुटुमा रहि रहनेछन् ।

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।