घुमक्कडीले प्रथम अध्याय जनकपुर भए पनि म धेरैपटक जनकपुर गएको हुँ । जलेश्वर पनि पुगेको हुँ र यहाँका अञ्चलाधीश तथा ठुला पन्चहरूको चकचकी सुनेको हुँ । वास्तवमा, म कता जान्छु भन्ने टुङ्गो गरेको थिइनँ, तर बस–बिसौनीमा गई बस वारे कुराहरू बुझ्दा यहाँबाट रात्रीबस निकै ठाउँमा जाँदा रहेछन्, तीमध्ये नेपालगन्ज पनि एक रहेछ । म एक्लो तथा यात्रामा अनुभवविहीन यात्री मान्छेले जहाँ पुगे पनि उज्यालैमा पुग्न आवश्यक भएकाले नेपालगन्ज रोजें । रु १७९/– बस भाडा भए पनि १५०/– मात्रै प¥यो । के खोज्छस् कानो ? आँखो ! भयो नेपालगन्ज ! मलाई प्रशासनिक अत्याचारमा साथ दिने त्रिविविका अधिकारीले लखेटेको ठाउँ । नयाँ शिक्षा–योजना लागेपछि विनाकारण सताइएको प्राध्यापकमध्ये म पनि एक । अलिक दम भएको व्यक्ति सताएको भए पनि सताउन दरै भन्नुपथ्र्यो, म राजनीतिमा खास व्यक्तित्व बनाएको मान्छे पनि थिइनँ । पत्रकारिता गर्थें, केही लेख्थें, प्रशासनलाई मन परेन । त्रिविविका पुच्छर पदाधिकारीले हँहँमा हँहँ मिलाए । नेपालगन्ज जान सकिनँ । मैले त्रिविविलाई स्पष्ट म जान नसक्ने, त्रिविविलाई यसबाट हानी भए मैले राजिनामा दिएको कुरा पनि लेखी हुलाकबाट पत्र पठाएँ । सूर्यबहादुर शाक्य र उपेन्द्रमान मल्ल भन्ने त्यतिखेर छोइसक्ना थिएनन्, ज्ञानेन्द्रबहादुर कार्कीले जे भन्यो उही मान्ने । ज्ञानेन्द्रबहादुर मेरो पछि लागेका थिए । (यति लेख्दा यहाँ कथा धेरै रहेछ र भद्रपुरका केही पत्रकार महोदयहरू पनि यस कथाभित्रका पात्र रहेछन्, अहिले बढा छुच्चा कुरा नउक्काउँ र भविष्यलाई साँचूँ ।)
म नेपालगन्ज गइनँ, तर मेरो राजिनामा पनि स्वीकार भएन । १ वर्ष ९ महिना बेतलबी विदा बसेको निवेदन लिइयो र मलाई फेरि भद्रपुरै पठाइयो । यो मार्का मैले हाम्रा वर्तमान शिक्षाध्यक्षलाई बताएँ । ‘अहिले धेरै समस्याग्रस्त छु हेर्न पाउँदिनँ । सहयोग गर्नुहोस् !’ भने । चुपै लागेको छु । कुरामा कुरै गर्ने हो भने मेरो पीडा उपकुलपति मल्लज्यूले पनि अनुभव गर्नुपर्ने हो ।
त आफू वनवास लागेको ठाउँ हेर्ने दिन आएका थिए । फुर्सदको समय आएको थियो । कुनै बेला म यहाँ आउने कुरा हुँदा बाबुआमा रोएका थिए, विद्यार्थी हुँदा छुट्टिएर बस्नुपर्ने बाध्यतामा तर्सिएकी मेरी पत्नी निन्याउरी भएकी थिइन् । ठुली छोरी अलिक बुझ्दथी, निन्याउरो मुख लाएकी थिई । म स्वयम् रुखो–सुखो जे आए पनि र जे–जस्तो भए पनि एकाङ्की जीवनका लागि तयार थिइनँ । जोइटिङ्ग्रे भने पनि भयो । डरछेरुवा भने पनि भयो । अलिकति यो कविताले पनि स्पष्ट पार्ला –
एकै नै दिन छ्यौ तिमी पर भने राम्रो कुनै ठान्दिनँ
जे–जस्तो चिज होस् मिठो र मसिनो त्यो स्वादिलो मान्दिनँ
आफ्नो साथ तिमी हुँदा जति ठुलो होस् स्वर्ग सामान्य छ ।
मेरो स्वर्ग तिमी ! तिमी ! पर भए त्यो स्वर्ग सामान्य छ ।
हुन त यो कविताले ‘स्त्रैण’ प्रवृत्ति झल्केला । जे झल्कोस्, शिक्षकको कि घर प्यारो हुन्छ, कि पढाउने ठाउँ । कसैलाई यी दुबै ठाउँ तितो लाग्ला । मलाई भने आफ्नो क्षमता, रुचि, प्रवृत्ति हेर्दा त्यस्तो लाग्दैन र भद्रपुरप्रति एकनिष्ठ भएर २५ वर्ष बिताइसकेको छु, यताउति जाने सोचेको पनि छुइनँ । एउटा उदेकैको कुरा भए बेग्लै (यो वर्ष पदोन्नति स्वतः भए झैं) हो, नत्र भद्रपुरमै म पढाएर बस्छु, कतै जान्नँ र लगिन्नँ पनि ।
अलिक कुरा बाङ्गियो । त म ३ बजे जनकपुरबाट हिड्ने ‘रैना’ नामको बिरगन्जे बस कम्पनीको बसमा चढें, सारै राम्रो बसयात्रा आरामदायी !
नारायणघाटसम्म वरावर हिडेको बाटो भए तापनि उज्यालैमा यात्रू भएर त्यति हिडिएको थिएन, अबौद्धिक जमघट देखियो, त्यस्ताका गफ खुब सुनियो ।
नारायणघाट ! एक प्रकारको भारतको मुगलसराय जस्तो । काठमाडौंबाट आउने बस, काठमाडौंतिर जाने बस, भैरहवाबाट नेपालगन्ज, दाङतिर जाने–आउने बसको भिड । यात्रूहरू हुलका हुल ! होटलमा भात खानेहरूको हुल ! सुन्तलै–सुन्तलाले सजिएको फलफुल पसल ।
एकाकीबाट सधैं पन्छिने म एक्लै थिएँ, जहानबाट पर हिड्नुपर्दा रुन्चे अनुहार लाउने म एक्लो यात्री भएर दृश्यहरू हेरिहेको थिएँ । होटलका वासी खाना, बस–बिसाउनीमा ‘हगनगौंडी’को अभाववारे मेरो तिखो चिन्तन थियो । कति खर्च छ सडक बनाउन, घर बनाउन ! तर हाम्रोमा स्वास्थ्यको चिन्ता छैन । स्वास्थ्यवारे सरकार नै सावधान छैन ।
बुटबलबाट बस हिड्यो । अलिक विरानो ठाउँ । अँध्यारो समय ! एक्लो म । बसमा भएका गतिविधिको मूकदर्शक । यात्रूहरूको प्रवृत्ति, बिशेष गरी आइमाई भएका ठाउँमा लोग्नेमान्छे बस्न चाहने, बसेपछि कति सकिन्छ तिनीहरूलाई जिस्काउने, चुसुक्क हात यताउति लैजाने ।
हाम्रा यात्रूमा एक जना भिनाजु थिए, तिनले अलिअलि चर्तिकला गरे । ती कहिले दिदीका सिटतिर आउँथे र कहिले सालीका सिटतिर जान्थे । दिदी निदाइन् भने सालीतिर गए, सालीबाट फेरि दिदीतिर कुनै कारणले गइरहेका हुन्थे । मुखमा वरावर सुर्ती च्याप्थे, प्रायः आँखामा निद्रा हाल्थे र छर्लङ्ग अनुशासनहीनता भने हातबाट हुन दिँदैनथे, तर पनि लाग्दथ्यो, कतै–न–कतै बहिनी अलग सिटमा बस्नुबाट ‘अस्ति कश्चित् वाग्विशेषः’ भने थियो ।
वास्तवमा, बुटवलसम्म केही भिड रह्यो, त्यसपछि त्यति भिड रहेन । यही दृश्य नै दृश्य भन्नलायक थियो । अब ‘आशिकी’का गीत बज्न थाले । सङ्गीत सुरु भयो । अब नयाँ खाले एकाकी म भित्रभित्रै भक्कानिएँ । जाडो बढ्दै थियो । मसँग पर्याप्त जाडो छेक्ने लुगा थिए । परिणाम दोलाईं झिकेर ओडेर निदाएँ । बाहिर हेर्दै जाने उत्सुकता निद्राका कारणले सेलायो पनि ।
ठाउँ–ठाउँमा बस रोकिंदै ‘लमही’ भन्ने ठाउँ आयो । यहाँबाट भित्री मत्रेस दाङ पनि बस जाँदोरहेछ । नेपालगन्जपछि अर्को यात्रा यतै गर्ने विचार पनि गरें । यहाँ ड्राइभर २ घण्टाजति सुते । एउटै ड्राइभरले रातभरि ड्राइभरी गर्ने नराम्रो चलन चलेछ भन्ने लाग्यो । कोहलपुर भन्ने ठाउँ आयो । यताबाट नै महेन्द्रनगरतिर राजमार्ग बढ्दो रहेछ र हाम्रो बस नेपालगन्जतिर गयो, विर्तामोडबाट भद्रपुरतिर बस लागे झैं ।
उज्यालो फाट्न आँट्यो । नेपालगन्ज आयो । मलाई त्रिविविले दुःख दिन फालेको ठाउँ । लामो, ठुलो, खुला, झलमल्ल लखनऊ ढाँचाको ठानेकाले त्यस्तै लाग्ने । ‘हजुर’ मुखमा बढी झुन्डिएको ठाउँ । विचित्र लाग्यो यो ठाउँ अलिक उराठ जस्तो । रुख नै रहेनछन् भन्ने लागिहाल्यो । यसैले नै पछि बेस्मारी तातो हावा चल्छ भन्ने अडकल काटें ।
बस अडिएपछि उज्यालो झरिसकेको थियो भने पनि हुन्छ । मलाई दिसाले खट्पटि बनायो । लुगाफाटा र ‘जुही’को ठुलो पोकाका कारणले गर्दा सामान निकै भएकाले अप्ठ्यारो समस्या आइलाग्यो र अझै यसको समाधान सारै नराम्रो गरी भयो । यत्रो विकास गर्ने र विकासप्रेमी कहलाउनेहरूले काठमाडौं बस–बिसौनीमा झै सबै ठाउँका बस–बिसाउनीहरूमा पनि हगनगौंडीको सुव्यवस्था गर्नुपथ्र्यो । सारै मलाई मार्का परेको मैले सोचें । ‘मियाँ का दौड मस्जिद तक’ भने झैं रिक्सा चढेर म क्याम्पसतिरै गएँ । त्यहाँ एक जना मलाई केही चिनेका प्राध्यापक भेटें र उनले प्राध्यापक–आवासगृहमा बस्दै गरेको एक जना भोजपुरबाट आएका जनकपुर निवासी प्रा.दुर्गाप्रसाद सिंह नाउँका प्राध्यापक भएठाउँ लगेर राखिदिए । म थान्को लगाइदिनेप्रति मनमनै सारै कृतकृत्य भएँ । कोठामै टाँसिएको थियो बाथरुम । केही सफा भएँ, दाँत माझें । अलिकति भर्खरै स्वतः भएको सहप्राध्यापकको पदोन्नति पनि मलाई बुढो प्राध्यापकका रूपमा पु¥याई सहयोग गरिरहेथ्यो भने साहित्यकार भन्ने एउटा विशेषणले पनि मलाई कतैकतै केही सहयोग ग¥यो विनम्रता पनि सहयोगीको रूपमा सँगै थियो, यसमा गर्व थिएन र छैन पनि । मलाई आफ्नो साधारणतामा औधी पत्यार छ । मैले झोला बोकेर हिड्दा धेरैपटक सोचेको पनि छु, बन–ठन हिड्नु, ठुलो भएर हिड्नु राम्रो कि ? यसरी नै साधारण भएर ? मैले खुब बिचार गरेको छु । साधारण भएर हिड्नुमा जुन प्रकारको एक विशेष आनन्द छ, पछि जीवनमा आनन्दकै कुरा गर्ने हो भने सो ठुलो भएर हिड्न खोज्ने धेरैले पाएका छैनन्, पाउँदैनन् । मैले पदोन्नतिलाई लात्ती हानेर पनि देखाइदिएँ, मैले मजा नै मानें, कहिल्यै कुण्ठा बोकेर कसैलाई सरापिनँ । मलाई कुराका सन्दर्भमा राती प्रा.दुर्गा भाइले मेरो सरलताको सराहना गरे र मेरो आफ्नो साधारणपन देखिएकामा म ज्यादै खुसी भएँ ।
क्याम्पसमा ‘जुही’को फाइल बेच्ने काम बिहानै भयो । प्रजातन्त्रप्रति आस्थावान् क्याम्पस प्रमुख दिलेन्द्रप्रसाद वडूज्यूले मेरो स्वदेश–भ्रमणलाई बङ्ग्याएर हेरेनन् र स्वदेश–भ्रमणलाई ‘आर्थिक टेवा’ दिनु आवश्यक मान्दै मलाई आदरपूर्वक नियमअनुसारको सहयोग गरे । उनी विनम्र रहेछन् र भन्न सङ्कोच नमान्ने पनि । मैले सिनियरिटीवारे उनीसँग प्रश्न सोधेको थिएँ । उनले उच्चशिक्षामा सिनियरिटीको महत्त्व बखान्दै आफू सिनियरको कदर गर्नमा पछि नपर्ने कुरो पनि गरे । अन्तरिम समय भएकाले उनले यो क्याम्पस प्रमुखको पद स्वीकारेको, तर आफू नै क्या.प्र.हुनुपर्छ भन्ने कुरामा जिद्दी नगर्ने उनको विचार रहेको कुरो पनि जनाए । बडू भन्ने नौलो थरवारे मैले सोद्धा उनी रिसाएनन् र आफू पश्चिम नेपालको बाहुन भएको जानकारी पनि दिए । उनले पढाउने विषय भूगोल रहेछ । क्याम्पसका केही प्रध्यापकसँग भेटघाट त भयो, त्यति गफ भएन । जाडो थियो र थकित पनि थिएँ । दिउँसो नेपालगन्ज बजार हेर्न गएँ । तिनवटा मा.वि. पनि हेर्न गएँ । एउटा मा.वि.मा नन्दराम लम्साललाई भेटें । उनी यहाँको राम्रो साहित्यकार रहेछन् र उनले राम्रा–राम्रा उपन्यास, कथा, निबन्धहरू लेखेको र शिक्षकको काम गर्ने उनी श्रमजीवी तथा निम्नवर्गको निकै पक्षपाती लेखक रहेछन् । म उनको साधना र विचारबाट निकै नै प्रभावित भएँ ।
आज जुन जिल्लामा जाऊ, धनी, सम्पन्न, विद्वान सबै ठुला ठाउँ नै ताक्छन्, त्यसै गरी जताका पनि काठमाडौं नै दगुर्छन् । यहीं बस्ने अर्का साहित्यकार भेट्न उनको पुस्तक पसलमा गएँ । उनी, सनत रेग्मी बाहिर गएका रहेछन् । सनत रेग्मी, राम्रो कथाकार, उनका धेरैवटा कथा–सङ्ग्रह प्रकाशित छन् । यहाँको वहुमुखी साहित्यकार भनिंदा रहेछन् । यहाँको बजारभित्र कतिपय ठाउँमा बिच बाटामा मन्दिर बनेका रहेछन् । घर टम्म । बाक्ला मान्छे ! खान र पानका सोखिन ! काठमाडौंका राणासाहेबहरू पनि यता निकै रहेछन् । दुई जना मान्छे भेटें । एक जनाको नाम आएन, मान्छे नचिन्ने रोग ममा निकै छ । उनले चिया खुवाए, खाएँ । अर्का भेटें, पदम खड्का, मेरा पुराना विद्यार्थी । यहाँ रेडव्रmसमा वडा प्रतिष्ठित भएर काम गर्दैरहेछन् । उनीसँग २÷४ जना युवक पनि थिए । उनले कुराका प्रसङ्गमा मेरो रुचि वामपन्थतिर भएको तिनलाई के भनेका थिए, उनीहरूले मलाई खुब आदर गरे, फुत्कनै गारो भयो मलाई । वास्तवमा, पदमले भनेजति र जस्तो वामपन्थी म हुइनँ । मेरो स्वभावले गर्दा राजनीतिक रूपमा म केही हुन सकिनँ । वामपन्थी कुरा मेरा मगजमा अटाउँछन्, त्यति मात्र हो जस्तो लाग्छ । राती दुर्गा भाइले खाना खुवाउन होटेलमा लगे । खुवाउने पनि भए । मनका गफ गरे । बिहान झोला बोक्नसमेत मद्दत गरे । रिक्सा खोजेर ल्याइदिए र बस–बिसाउनी जान जाडामा जोसुकैले गर्न नसक्ने मद्दत गरे । बाटाभरि विनम्रता यात्रूको ठुलो शस्त्र हो । सायद पहिले यो मसँग कम्ती थियो अहिले धेरै भयो । यसबाट जतासुकै सहयोग, सद्भावना पाइँदोरहेछ, भन्ने मलाई अनुभव भयो । उदाहरणमा बडूज्यू र साथीभाइ भनेपछि भुतुक्क हुने दुर्गाज्यूले नेपालगन्जको एकराते मेरो बसाइमा देखाएको सहयोग र सद्भावनामा घुमन्ते व्यक्तिका लागि कृतज्ञ हुनुपर्ने भयो भन्ने कुरा छर्लङ्ग छ ।
नेपालगन्जमा भाषिक तथा साहित्यिक गतिविधि केही अवश्य छ, केही गोष्ठी भएका छन्, केही पत्रिका छापिएका छन्, केही लेखक पनि छन्, तापनि शिथिल नै रहेछ । यस्तै अनुभव लिएर म दाङतिर लागें । यतातिर साझाले बससेवा केही सस्तो र राम्रो रूपमा दिएको रहेछ, तर पूर्वतिर छैन । भिड भनेर साध्य थिएन । मरीतरी, दुई घण्टा उभिएर लमहीमा आइपुगें । हिजो बिहान एकपटक बसेकै ठाउँ थियो । ओर्लिएर एक ठाउँ सामान थुपारेर समस्याविहीन हुन गएँ । हल्का भएपछि तातो जिलेवी र पुरी पड्काएँ र दाङ जाने बस पर्खिएँ । कुरो बुझ्दैजाँदा ट्रक पनि त्यता जाँदा रहेछन् । डेढघण्टा समय मात्र दाङ पुग्न लाग्ने रहेछ । नभन्दै एउटा ट्रकमा चढ्न पनि पाएँ । ट्रक कच्ची सडकमा धुलो उडाउँदै उकालो उक्लियो अनि डेढ घण्टाजति समयमा विशाल भित्री मधेश दाङमा प्रवेश ग¥यो । बसको भाडा ९/– भन्थे, ट्रकले १०/– माग्दा राजीखुसीले भएजति सबैले दियौं । बसको भिडको गाराले गर्दा ट्रक चढ्न पाउनु नै स्वर्गीय सुख अनुभव भइरहेको थियो ।