युक्रेनको
कालो धुवाँले निस्सासिएको रातपछिको बिहान,
यो एउटा बिहान,
पानी एकोहोरो परिरहेको छ
कुनै एउटी टुहुरी केटीको रुवाइको धुनजस्तो
र एउटा चरा भिझ्दै बसिरहेको छ
गगुनको नाङ्गो हाँगामा डढेलो लागेको विश्व व्यापार केन्द्रजस्तो।
समाचार पत्रिकाहरूभरि
जतातत्तै अनिँदा खबरहरू छन्—
सिमानामा गोली चलेको, मान्छेको आत्महत्या भएको,
अनि ईश्वरको मृत्युको।
ओडेसा, माइकोलिब, मारियुपोल, क्यिभ, खारकिभ सहरका
आमाहरूले काला-काला बुर्काहरूमा
राता-राता आँसुहरू पुछ्दै होलिन्!
रुँदै भए तापनि
बमले चुँडिएको खुट्टामा मलमपट्टी लगाउँदै होला
एउटा सानो केटाले हातमा मारोडोनाको नक्सा लिएर!
यो बिहान,
जम्मू-काश्मीरको कुनै एउटा दुर्गम गाउँमा
एउटा नवजात छोरा जन्मियो होला
उन्मुक्तिको पलङमाथि!
पल्लो घरकाले
युद्ध विरामको खबर अघि नै दिइसक्यो
मैले पनि मुख मिठो गरिसकेँ।
मन्दिर गएर आउनेहरूले प्रसाद पनि बाँडिसके
म मात्रै ईश्वर बन्धी गर्नेहरूसित
शान्तिको मलामी गइरहेको रहेछु
फतिहा गाउँदै।
यो बिहान,
यो क्षण म पटक्क रुँदिनँ
तर अहिले मस्जिदमा
एक हुल परिचित अल्लाहरू नमाज पढिरहेका छन्।
दार्जीलिङ