"त्याे सामान यता राखेर तिमी बाहिरै बस । अनि तपाईँहरु भित्रै आउनुहाेस् न ।" ढाेकाकाे सँघारमा उभिएका गंगाप्रसादले भने ।
रजनीसँग आएका अन्य साथीहरुले असजिलाे मान्दै, हामी यतै बस्छौंँ नि भनेर कुर्सी तान्दै बसे । उपस्थित सबैकाे नजर रजनीतिर दौडिएकाे थियो । गंगाप्रसादले समाजमा निकै ख्याती कमाएका थिए । आज उनका बाबु बितेका सातौँ दिन, उनका घरमा आउने जानेकाे निकै लर्काे थियो । रजनी धमिलाे मन बनाउँदै त्यहाँबाट उम्कन खाेजिन् तर सकिनन्।
गंगाप्रसाद सामाजिक भेलामा समाज रुपान्तरणका बखान गर्दै, मानिसले छुवाछुतकाे
भावना राख्नु निन्दनीय अपराध हाे भन्दै हिड्थे । आज उनकाे व्यवहारले उनकाे सक्कली रुप उदाङ्गाे भएकाे थियो।
"बुबा , बुबा ! वहाँ मलाई अंग्रेजी पढाउने गुरुआमा हाे नि, भित्र बाेलाउनु न ।" उनका छाेराले जिद्दी गर्दै भने । गंगाप्रसादले छाेराका नजिक गएर फुस्फुसाए , "बढ्ता जान्ने नहाे, उनी पानी नचल्ने जात हुन् । भित्र बाेलाउ हुन्न बुझिस् ।"
छाेराले पारदर्शी झाेलातिर आँखा तेर्स्याउँदै भने , "बुबा अनि वहाँले ल्याउनु भएकाे बिचार चाहिँ भित्र लैजानु भाे त फुपूले ।"
बिराटनगर - ६ माेरङ