साहित्यकार वासुदेव अधिकारीद्वारा रचित कोरोनाको पहिलो चरण र त्यस समयको घातक लकडाउनको प्रतिफल ‘बस्तीमा आगो’ २०७७ (कोरोना बन्दाबन्दी श्रृङ्खलाका कविता) साउनमा प्रकाशित पाँचौँ कवितासङ्ग्रह हो । संसारमा कोरोना नामको भाइरस एकाएक समाजमा देखापर्यो र यसले पुरै विश्वलाई नै चपेटामा पार्यो । नेपालमा पनि २०७६ फागुन-चैतदेखि कोरोनाका केही उदाहरण समाजमा भेटिन थाले र त्यो क्रम केही बढ्न थालेपछि सन २०२० को मार्चमा विश्व स्वास्थ्य संगठन (WHO)ले यसलाई महामारी नै घोषणा गर्यो । त्यसको प्रभावका कारण नेपालमा पहिलोपटक २०७६ चैत ११ गतेदेखि सुरुभएको बन्दाबन्दी (लकडाउन)ले ४ महिना २०७७ साउन ६ गतेसम्म समाजलाई बन्दी बनायो । त्यही बन्द समयको उपयोग गर्दै दैनिक घटेका घटनाहरूलाई क्रमवद्ध गरी आफ्ना विचारले सिचित गर्दै कवितामा सजाउने काम कवि अधिकारीले प्रस्तुत कवितासङ्ग्रहमा गरे ।
चिनेजानेको लक्षण बोकेको अनौँठो कोरोना, कहिल्यै नदेखेको, नसुनेको र नभोगेको ‘लकडाउन’, ‘क्वारेन्टाइन’ जस्ता शब्दहरू गाउँ गाउँमा बस्ने नेपालीका शब्दकोशमा थपिए । विदेश गएकाहरू नेपाल आए, त्यस्तै सहर पसेकाहरू पनि गाउँ जान थाले । गाउँमा पनि कोरोनाको डर र त्रासबिच एक किसिमको रमाइलो प्रवेश गर्यो । वर्षौ ढुक्कले घरमा बस्न नपाएका र आफ्ना केटाकेटीसँग खेल्न नपाएकाहरूले पनि एक किसिमको हर्षको सास पनि फेरे । आफूले आफूलाई र आफ्नालाई समय दिएर बसे । तर, पनि कोरोना डरमुक्त थिएन । यो भाइरस नेपाली जनजीवनमा भयवित बिमारका रूपमा परिचित भयो । नेपालीले वर्षदिनका लागि गरेको जोहोले छाक टार्न धौ धौ पर्यो । हाम्रा विगतका र आजका कमी कम्जोरीको लेखाजोखा गर्ने प्रशस्तै समय भए, कोरोनाले नेपाली समाजलाई सरसफाइको नयाँ परिभाषा सिकायो, केही उपलवब्धीमूलकजस्तो पनि देखियो, केटाकेटी घरमा सबैसँग बसेर किताब पढ्न र कुरा गर्न पनि थाले । तर, पनि कोरोना सम्बन्धी जिज्ञासा भने समाजमा कम थिएन । मानिस अनुशासनको नयाँ अभ्यासमा लागे । तर, अध्यारामा भ्रमको खेती गरेर फेसबुक वा सामाजिक सञ्जाल भर्ने पनि उत्तिकै सकृय भए । कोरोनाका लडाइँमा केही विजयी र केही हारका कथा अनि समाजका अनेको कुप्रथा, राजनीतिक कुसंस्कार, विदेशीको लोभ, कोरोनाको उपचार गर्न धर्म परिचय बन्यो र धर्मको व्यापार भैरहेको जस्ता अनेक समाचार आए । त्यही कोरोनाका समयमा जे जति सकारात्मक र नकारात्मक घटना घटे तिनैलाई विषयवस्तुको स्रोत बनाएर ‘वस्तीमा आगो’ कवितासङ्ग्रह रचना भयो । त्यही सङ्ग्रहलाई गद्य कवितामा चाहिने लयात्मकता, भाव वा विचार, प्रतीकात्मकता अनि प्रस्तुतीकरणका दृष्टिबाट यहाँ समीक्षा गरिएको छ ।
लयात्मकता
कविताको मूल रूप छन्द वा लयमा हुन्छ । गद्य कवितामा छन्द हुँदैन । तर, कवितामा आवश्यक छन्दको पूर्णता दिन लय वा ध्वनि आएका हुन्छन् । कवि अधिकारीले कवितामा कोरोनाको घटना क्रम वर्णनको गद्य कवितामा लयात्मकता र ध्वनि आवृत्तिको गरेका छन् ।
हामी केही लाटिएपछि
प्वाँखहरू केही काटिएपछि
……
को को पर्लान् त्यस खाडलमा?
को को पाक्लान् त्यस उमेरमा?
माथिका हरफमा हरेक जोडामा अन्त्यानुप्रासयुक्त शब्दहरूको प्रयोग भएको छ । ध्वनिको आवृत्ति वा लयात्मकताले यसलाई निबन्धभन्दा फरक कविता भनेर चिनाउने काम गरेको छ । ‘वस्तीमा आगो’का कविताहरू गद्यात्मक शैलीमा प्रस्तुत छन् तर, यी कविताहरूमा प्रस्तुत अन्त्यानुप्रासयुक्त शब्दहरूको लयले कतिपय स्थानमा छन्दकै मिठास बोकेर आएका छन्:
हामी घरमा बसेपछि
हामी फेसबुकमा लट्ठिएपछि
वसन्त आयो रे
काफल पाक्यो चराले गीत गायो रे
वसन्त आएर के गर्नु
चराले गीत गाएर के गर्नु
माथिका हरफमा आएका पहिलो जोडा हरफमा पछिल्ला शब्दको ‘एपछि’ त्यसपछिको हरफमा दोहोरिएको छ । त्यस्तै दोस्रो जोडामा पहिलो हरफको ‘आयो रे’ अनुप्रास भएर अर्को हरफमा दोहोरिएको छ । तेस्रो जोडामा पछिल्लो ‘एर के गर्नु’ दोहोरिएर आएको छ । यी अनुप्रासहरूले एककिसिमको लयात्मक मिठासलाई प्रस्तुत गरेको छ र कवितालाई कवितात्मक बनाएको छ ।
हामीलाई थुन्यौ पनि
छाम्यौ पनि
जान्यौ पनि
....
धेरै सिकायौ
धेरै बुझायौ
…
हामीलाई लुते बनायौ
यहाँ ‘आयौ’ ध्वनि बारम्बार आवृत्ति भएको छ । कविले यसरी ध्वनिको आवृत्ति गराएर श्लोकमा आएका ‘धेरै बुझायौ’ ‘धेरै सिकायौ’ जस्ता जोडा हरफमा संगीतात्मक स्वरूप निर्माण पनि भएको पाइन्छछ । जसले गद्य कवितालाई गीतको स्वरूप दिएको छ । त्यही श्लोकमा पछिल्ला दुईओटा हरफ ‘सचेत पारी’ … ‘लुते बनायौ’ समेत थप्ता गजलको सेरमा जस्तो ‘धेरै सिकायौ’ ले उठाएको भावमा ‘लुते बनायौ’ ले मिठो उत्तर समेत दिएर छोटा छोटा हरफमा पनि गजलको स्वाद थपेको अनुभव हुन्छ ।
भाव/ विचार तथा सन्देश
गद्य कवितामा भावको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । कविले कोरोनाकालका घटना र समाचार अनि सामाजिक व्यवहारका पाटाहरूलाई विषयवस्तु बनाएर आफ्ना विचारले सिचित गर्दै अद्वितीय शैलीगत कलाले कविता सजाएका छन् । चैत २, २०७६ मा कविता लेखनको प्रारम्भमा रचित ‘सिम्पल कोरोना’ को सिम्पल वर्णनमा सिम्पल ढङ्गले ‘कोरोना सिम्पल छैन है’ भन्ने सन्देश दिएको छ ।
सिम्पल जीवाणु
सिम्पल रोग
सिम्पल सङ्क्रमण
सिम्पल जिब्रो टोकाइस
सिम्पल रूगाखोकीबाट सिम्पल मृत्युसम्माको वर्णन गर्दै समाजमा कोरोनासँग सजग रहनु पर्छ भन्ने उपयोगी सन्देश यसले बोकिको छ । मानिसको ज्यानै लिने सिम्पल कोरोनामा नेपाली जडीबुटीले केही राहत हुनसक्ने सम्भावनाका साथै द्रुतत्तर गरिमा गाउँ गाउँसम्म पुगेको कोरोनाबाट बच्नका लागि गरिएका उपायहरूलाई वर्णन बढो रोचक र प्रभावकारी छन् । कोरोना डरलाग्दो थियो र त्यतिबेलाका समाचार पनि डरलाग्दा थिए । ती दिन र डरको अभिव्यक्तिका लागि बक्रोक्तिको प्रयोगले कवितामा मिठास भर्ने काम गरेको छ ।
दिउँसै दिन अस्ताउँछ
दिउँसै अत्यासका तारामण्डल उदाउँछ
लजाई लजाई आउँछ हावा
र आत्महत्याको खवर छोडेर जान्छ
कवि नारीलाई सम्मान गर्छन् । प्रस्तुत वाक्य ‘अवला भन्न सक्दिँन आमालाई’ ले उनको नारीवादी सोचलाई पुष्टि गर्छ । आमाका काखमा रहँदा डर सकिन्थ्यो, त्यसैले तिनलाई अवला भन्नु अपमान हो भन्ने भाव प्रकट गर्ने कविले कोरोनाका समयमा राज्य सञ्चालनका तहमा पुगेकाले गरेका खराब काम औल्याउँदै सबै ठप्प बनाएर कुर्सीको हानाछाप गरिरहेको भाव राख्तै नेपाली सँस्कृतिमा नैतिक शिक्षाको ज्ञानअन्तर्गत पाइने राम्रो र नराम्रो, काम र नकाम अनि पाप र पुण्यको लेखाजोखा यहीँ हुन्छ भन्ने भनाइले कविले अगुवाहरूबाट नै चोरी र लुटका उदाहरणसहित खवरदारी दिएका छन् ।
कोरोनाले ध्वस्त पारेको अर्थतन्त्र र कलकारखाना अनि त्यहाँ काम गर्ने भोकले सोतार भएका मजदुरको पीडा र बढ्दो बेरोजगारी समस्यालाई बढो मार्मिक तवरले प्रस्तुत गरेका छन् । यी भावहरूले कवितालाई मार्क्सवादी चिन्तनमा आधारित भएको पुष्टि गर्छन् ।
भान्साको अँध्यारो छामिरहेँछु
मज्दुर पनि हुन नपाएका
बेरोजगार मन पढिरहेँछु
त्यस समयमा हाम्रो समाजमा समाचार प्रशारण गर्ने सजिलो र उपयोगी साधन बनेका सामाजिक सञ्जाल र त्यहाँ गरिने गालीले वास्तविक रूपले काम गर्नेहरू पनि अछुतो नरहको पाटो उठाउँदै कवि समाजको कमजोरी यसरी प्रस्तुत गर्छन् :
हामी लयमा भुलिन्छौँ
अनुहारमा लद्भिन्छौँ
र नपढी औँठा लगाउँछौँ
राष्ट्रियताको भावले पाठकलाई जुरुक्क पार्ने ‘जङ्गे पिलर हराउनु’ जनता उठ्न नसकेका दिनमा देशको माटो दिन प्रतिदिन मिच्न दिने मुखिया वा राजनेताहरू ‘मालिककै थुक किन मन पर्छ?’ त्यस्तै ‘अहिलेको बन्दाबन्दीमा…साहुले फोस्सामा मनुवा पठायो रे’ जस्ता वाक्यहरूले बोकेका राष्ट्रवादी चिन्तनले जनता जुरुक्क उठाउने काम गर्छ । कोरोनाका समयमा विदेशी भूमिमा काम गर्नेले पाएका दुख र पीडामा सहृदयी भाव व्यक्त गर्दै बाहिर गएका श्रमशील नागरिकलाई देश फर्काउने काममा जुट्न आह्वान गरिएको छ । कवि जनतामा एकता, माया र सद्भावले कोरोनालाई जितिएको सन्देश दिँदै राज्यमा बिग्रेका वा बिगारिएका कुरामा एकतावद्ध रूपमा अघि बढेर राज्य सञ्चालकलाई खवरदारी दिनु पर्छ भन्ने भाव कवितामा राखेका छन् ।
प्रतीकात्मकता
प्रस्तुत कवितासङ्ग्रहमा कविले कोरोना र त्यस सन्दर्भमा आएका अवस्थाहरू वर्णनका लागि अनेक वा बिम्बहरू र उपनामहरू ‘हरामी कोरोना, क्याक्टस कोरोना, आगो, हुरी, डढेलो, खाडल, भिआइपि रोग, अन्धकार, बाघ, मनसुन (कोरोनाको भ्याक्सिन वा ओखती)’ आदिको प्रयोग गरेका छन् । प्रस्तुत सङ्ग्रहमा यस्ता शब्दको खोजी मात्रैले पनि पउटा । कविले ‘लकडाउन’ चिनाउन आमाको काखलाई प्रतीक बनाएका छन् । कविका कोइली र झ्याउँकिरीका गीत र तिनको तुलना नेपाली समाजमा देखिएका दुईवटा प्रवृत्तिको लेखाजोखा छ तर यी गानहरूले मानिसका दुईवटा प्रवृति सर्लक्क छुट्याउने काम गरको छ । कविता सरल छन् तर ‘नोस्टालजिया’ (वितेकाका दिनका रमाइलो सम्झनाको सम्झना गराउने भाव) जस्ता केही शब्दहरू प्रतीकका रूपमा प्रयोग हुँदा अर्थ खोज्न पाठकले बल गर्नै पर्ने देखिन्छ । सुरिलो र मिठो धुन हुने एक्लै रमाउने कोइली अरुको मर्मको वास्ता नगरी एक्लै मिठो खाने कोइली र नराम्रो र दुखलाग्ने गीत गाउने, समूहमा रमाउने, जुनसुकै अवस्थामा समूह नछोड्ने पीडाको गीत सामुहिक रूपमा गाउने झ्याउँकिरी कविका प्रकृतिक प्रतीहरू हुन् । अर्थात् कवि प्रकृति र समाजबाट नै बिम्ब र प्रतीक लिन्छन् र तीनको सटिक प्रयोगले कविता मनमोहक बनाउँछन् ।
प्रस्तुततीकरण तथा शैली
‘बन्दाबन्दी’ लाई ‘प्रिय’ को सम्बोधन गर्दै कोरनाका लकडाउनको बेलाका समाजमा देखिएका अनेक पाटाहरूलाई आफ्नो विशेष शैलीको प्रयोग गर्दै कवि अधिकारीले ‘वस्तीमा आगो’ रचना गरेका छन् । कविताहरूमा सरलभाषा प्राकृतिक बिम्बहरूको प्रयोग गर्दै सामाजिक कुसंस्कारहरूमाथि अङ्कुश लगाउने काम भएको छ । गद्यात्मक शैलीमा रचना भएको छ र यहाँ शब्दकालङ्कार र अर्थालङ्कारको सामान्य प्रयोग गरिएका कविताहरूमा एउटा भनाइका दुई वटा अर्थ दिने काम भएक छ । त्यसैले कतिपय स्थानमा पाठकले त्यही समयका घटनाबाट अर्थको खोजी गर्नु पर्ने हुन्छ । सरल कवितामा बक्रोक्तिको प्रयोगले कविता उच्चकोटिको बनाएको छ । कविताले छोटो शब्दमा विशाल अर्थ बोकेको देखिन्छ । कविता पढ्दा एकदम सरल देखिन्छ तर अर्थ केलाउन थालेपछि यसका अर्को खात लाग्छ, जस्तै:
कोरोना नागरिक थिएन
विचरालाई नागरिकता दिइयो रे
यी हरफले कोरोनालाई दिइएको नागरिकताले नेपालभित्र छिरेको कोरोना भन्ने एउटा अर्थ बोकेको छ भने, अर्को अर्थमा नेपालको नागरिकता सम्बन्धी विवाद र कानुन संशोधनजस्ता कुरालाई औल्याएको छ । यसरी अर्थाअलङ्कारको प्रयोगले कविताका हरफहरूलाई गहन बनाएको छ । त्यस्तै अन्तरराष्ट्रिय सीमासँग ‘कोरोना’ (जीवाणु) लाई दिइएको ‘नागरिकता’ र ‘इमिग्रेसन’ नेपालमा सीमापारिबाट छिर्ने (देशका लागि हानिकारक) व्यक्तिहरूलाई सहजै प्रवेश दिन व्यवस्थामाथि व्यङ्ग्य प्रहार गरेको छ ।
इमिग्रेसन पार भई
संसार चहारी राखेको देख्छु
तुलनात्मक रूपमा कविका केही कविता रचना भएका छन् । कतै झ्याउँकिरी र कोइली छण् भने कतै मन र धरा छन् । कविको ‘रातो रङ्ग’ लाई दुईवटा फरक फरक अर्थमा कसरी आउँछ भन्ने काम पनि तुलना नै देखिन्छ । रातो नेपालको झण्डामा प्रयुक्त जीतको रङ्ग र कोरोनाका समयमा देखिएको त्यही रातोसँगैको ‘पोजेटिभ’ शब्दले बोकेको हारको प्रस्तुतिले त्यसबेलाको मर्मलाई बोकेको छ ।
रातो रङ
विजयी रङ होइन सँधैँ
पोजेटिभ रिजल्ट
सकारात्मक होइन सँधैँ
समग्रमा हेर्दा कोरोना समयको उपयोग गरिएको ‘वस्तीमा आगो’ कवितासङ्ग्रहका कविता सरल छन् । तर, कविताले बोकेका अर्थ र कवितामा उठेका सन्दर्भहरू विचारणीय छन् । गद्यात्मक शैलीमा रचिएका कविताहरू प्रस्तुतीकरणका हिसाबले अति रोचक छन् । मार्क्सवादी चिन्तनबाट प्रेरित यस सङ्ग्रहका कविताहरूमा समाज सुधारको आवश्यक्ता, आर्थिक क्रान्तिआदिलाई देखाइएका छन् । कवितामा नारीप्रति सकारात्मक धारणा अनि राष्ट्रवादी सोच पनि पाइन्छ । ‘वस्तीमा आगो’ सङ्ग्रहका कवितामा अर्थलाई सहज बनाइएको छ र बक्रोक्तिको सामान्य प्रयोग पनि गरिएको छ । प्रस्तुत कविता सङ्ग्रहमा पहिलो चरणको कोरोना र लकडाउनको घटनालाई क्रमवद्ध र ऐतिहासिक क्रममा राखिएकाले पाठकले पछिसम्म कुन दिन कस्तो भएछ भनेर खोज्नेका लागि यस सङ्ग्रह उपयोगी हुने देखिन्छ ।