2014 सनको युवा साहित्य अकादेमी सम्मानले सम्मानित हुने टीकाराम राई ‘टीका भाइ’ उप नामले साहित्य जगतमा परिचित छन्। चार फेब्रुवारी 1980 सनमा दार्जिलिङ्गमा जन्मिएका टीका भाइ नेपाली भाषाका प्रयोगवादी प्रगतिशील कविका रूपमा चिनिन्छन्। उनी लेखक, अनुवादक र कलाकार पनि हुन्। 2018 सनमा आप्पा नेपाली चलचित्रको कथानकको निरीक्षकका रूपमा सेवा पुऱ्याउने टीका भाइले 2001 सनमा नेपाली चलचित्र फटिचरको नायक पनि खेलेका छन्। नेपाली देखि बाहेक बंगाली, हिन्दी र अन्य वेव सिरिजहरूमा पनि उन्ले अभिनय गरेका छन्। उन्का प्रकाशित साहित्यिक कृतिहरू हुन्- केवल बुख्याँचाहरू (1998), दार्जिलिङ्गको राजनैतिक इतिहास (2008), पैतालातल्तिर (2012) र काँचको पोखरी (2024)। यसका अतिरिक्त संयुक्त रूपमा अरू केही कृतिहरू पनि प्रकाशित छन्। शैक्षिक रूपमा उनि इतिहासका स्नातकोत्तर हुन र नेपालीमा स्नातकोत्तर तहमा हाल पनि अध्ययनरत छन्। प्रस्तुत छ उनिसँग गरिएको साहित्यिक कुराकानी-
वैद्यनाथ उपाध्यायः तँपाईँको लेख्नेक्रम कहिलेबाट र कसरी सुरू गर्नुभयो?
टीका भाइः घरका ठुलाहरूलाई कथा भन्न कर गर्थें। कहिले सुनाउने, कहिले कथा नै याद नहुने, कथाहरू मान्छेले नै रचेका लेखेका हुन् भन्ने थाहा भएपछि मैले पनि लेख्न सक्छु कि सम्झेर कलिलो उमेरमैं सुरुमा कथा लेख्ने कोसिस गरें। ती कलीला उमेरमा कथा लेख्ने कोसिसले कथा नै त जन्मिएन तर कल्पनाशीलतालाई अझ धेर बढ़ायो। पछि छैंटौं श्रेणी पुग्दा एघारको उमेरमा मेरो पहिलो कविता “मातृभूमि” म पढ़ेको पाठशाला मध्य पान्डम उच्चतर माध्यमिक विद्यालयको वार्षिक पत्रिका वर-पिपलमा प्रकाशित भयो। त्यो नै मेरो कविता अभ्यासको प्रारम्भिक बेलाको पहिलो प्रकाशित कविता थियो। पछि स्कुले जीवनमा साहित्यिक कार्यक्रम, बसिबियाँलो आदितिर सक्रिय गराउँदै साहित्य र समाजका विविध ज्ञान-दर्शनको चिन्तनमा प्रेरित गर्नुहुने मेरा सिक्किमका शिक्षक विजय कुमार सुब्बाजी हुनुहुन्थ्यो। मेरो पहिलो प्रकाशित कविता संग्रह केवल बुख्याँचाहरू म अटठारह वर्षको उमेर हुँदा प्रकाशित गरें। त्यसमा पनि कविता भन्दा धेरै मेरो कलिलो उमेरका काव्यिक अभ्यासहरू नै थिए भन्छु म। तर कृति प्रकाशनले आफैंलाई कविता लेखनमा अझ सक्रिय गर्नुपर्छ भन्ने मनोबल पाएँ।
वैद्यनाथ उपाध्यायः लेख्नका निम्ति कुनै अनुप्रेरणा थियो कि?
टीका भाइः लेखन अथवा चिन्तनको अनुप्रेरक कारण एकै देख्दिन म। मेरी आमा, मेरी आमाकी दिदी देमा, शिक्षक विजय कुमार सुब्बाजी व्यक्तिका रूपमा अनुप्रेरक मान्छु। मेरो कल्पनाशीलता, सानै देखिको भावुकता अनि पछि गएर समाजभित्रका विविध स्थितिहरू मेरा लागि अनुप्रेरक रहे।
वैद्यनाथ उपाध्यायः तँपाईँ किन लेख्नुहुन्छ?
टीका भाइः सुरुमा मैले धेरै काल रहर लागेर मात्र लेखें। म किन लेख्छु न सोचि नै, लेखिरहें। फेरि पछि एउटा समय थियो जतिबेला रक्स्याहाको रक्सी तल्तल् जस्तै लेखन तल्तल् जस्तो बन्यो। तर पनि जवाब थिएन कि म किन लेख्दैछु। के म मेरो मानसिक उथलपुथललाई मनोवैज्ञानिक रूपले निकासी दिन लेख्दैछु कि? मेरो व्यक्तिभित्र लुकेर बसेको लेखेर नाम कमाइन्छ, प्रतिष्ठा पाइन्छ भन्ने सोचेर लेखिरहेको हो कि? कि म वास्तवमै म बाँचेको समाजमा अव्यवस्था, बेथिति, अनि अन्तर्विरोधहरू माझमा उत्पीडित पक्षको आवाज र तीनका मुक्तिका लागि नै लेख्दैछु कि? कि म मेरो आफ्नो वैयक्तिक आत्मपीडाबाट पलायित बन्दै केवल आफ्नै मानसिक मुक्ति र आनन्दका लागि लेख्दैछु कि? कि जीवनमा जन्मपछि मृत्युको सत्यबाट भाग्न अनि आफु हुनुको साक्षी र आफै छु भनेर आफैलाई सजग राख्न लेख्दैछु? अहिलेसम्म कतिपय प्रश्नहरूले मेरो मगजमा मेरै जवाब र जस्टिफिकेसनहरूको सिकार खेलिरहन्छ। तर अहिले मलाई लाग्छ, म लेख्दैछु मेरो कला जीवनलाई मेरो समयको उन्नत चेतना संस्कृति एउटा पीढ़ीदेखि अर्को पीढ़ीसम्म हस्तान्तरण गर्ने सामाजिक शरीरको एउटा माध्यम वा पुर्जा वा साँघु जस्तो भएर। म गलत, म सत्य अथवा मैले लेखेका सुन्दर अथवा कुरूप जे नै पनि हुनसक्छ तर मेरो कोशिस अनि साधना समयको श्रेष्ठ र उन्नत साथै गलत र खराब चेतन संस्कृतिलाई चिन्ने अनि कला निर्माण प्रक्रियाका सुन्दर रूप र तरीकाहरू अभ्यास गर्ने एउटा साधक नलेखि बस्न नै सक्दैन। लेख्नु उसको जिम्मेवारीसँगै बाध्यता नै हुँदो रहेछ बुझेर लेख्दैछु भन्ने आज लाग्छ।
वैद्यनाथ उपाध्यायः तँपाईँको दिनचर्या अर्थात् दैनिकीको विषयमा केही जानकारी दिनुहोस्।
टीका भाइः दिनचर्या एकनासे छैन। कमाइका साधन कम्प्युटर छ अहिले, उठेर अनुवादका कामहरू गर्छु। त्यही नै मेरो आय स्रोत हो। आय स्रोत पनि एउटा व्यवसाय र नौकरी होइन, कहिले अनुवाद, कहिले अभिनय, कहिले छुटपुट परियोजना आदिमा निर्भर छु। फुर्सद निस्किन साथ पैदल यात्रा अनि भ्रमण योजनाहरू बन्छ। साँझ-बिहानका समय सामाजिक सञ्जालले पनि लिने गरेको छ। कहिले कहिले व्यायाम पनि गर्ने गरेको छु।
वैद्यनाथ उपाध्यायः दार्जिलिङ्गको साहित्यिक परिवेशको विषयमा के भन्न चाहनुहुन्छ?
टीका भाइः लेख्न रुचाउने, अध्ययन रुचाउने जमात अघिभन्दा धेर बढेर गएको छ दार्जिलिङ्गमा, सामाजिक कारण र कृति बिक्री-वितरणलाई अघिभन्दा सजिलो बनाएको छ। तर कृतिको गुणात्मक ओज अनि चिन्तनको गहिराइ र फराकिलोपनमा कमी आइरहेछ कि? साहित्यिक सिर्जना तैयारीमा केही अल्छेपन अनि हतारो जस्ता कुरोहरूदेखि जोगिदैं साहित्यमा सिर्जनात्मक बहस अनि आलोचनाका लागि हामीले ठाउँ खुल्ला राख्नु पर्ला।
वैद्यनाथ उपाध्यायः लेखकहरूको दिनचर्या र चरित्रको विषयमा कस्तो दृष्टिकोण राख्नुहुन्छ?
टीका भाइः लेखकहरूको दिनचर्या लिएर मेरोमा खास एउटा यस्तो हुनुपर्छ भन्ने धारणा छैन। समाज कम्पलेक्स भएर गयो। विभिन्न पेशा, आर्थिक जीवन अनि परिस्थितिहरूमाझ छन् आम मान्छे पनि अनि कवि पनि। सिर्जनात्मक कार्यका लागि आवश्यक अध्ययन, चिन्तन अनि परिवार र आफ्नो स्वास्थ्यका लागि समय र सजगता केही आवश्यक हुन्छ नै। चरित्र लिएर भने सर्जक मूल रूपमा आफ्नो शब्द र विचारप्रतिको निष्ठासित हुन जरुरी लाग्छ। एउटा लेखेर त्यसको विपरीत बाँच्नु आफ्नै आदर्शको हत्या हो।
वैद्यनाथ उपाध्यायः सामग्रिक रूपमा तँपाईँको लेखाईको मुलभूत संदेश के छ?
टीका भाइ म सन्देश दिनका लागि लेख्दिनँ। पाठकले आफ्नो, आफ्नो समाज अनि जीवनबारे सोच्न सकून, प्रश्न गरून, जहाँ मेरो लेखन टुङ्गिन्छ त्यहाँ आफ्नो भाव र प्रश्नको अलग संसार भेटुन् भन्ने मात्र सम्झन्छु।
वैद्यनाथ उपाध्यायः तँपाईँले आदर्श मानेका लेखकहरू को को हुन?
टीका भाइः हाम्रो लगायत विश्व साहित्यका श्रेष्ठ कला साधक चाहे विचार मिल्ने होस अथवा विचार नमिलेर नयाँ प्रश्नतिर देखाउने सर्जक होस सबै मेरा लागि आदर्श हुन। हामी हाम्रा अग्रजहरूको सौन्दर्य चिन्तन अनि कला साधनको परम्पराका हिस्सा हौं। त्यो परम्परामा प्रारम्भिकदेखि आधुनिक समयसम्म नै विशेष योगदान दिने सबै सर्जकहरूको मूल्य मेरा लागि समान छन्। तर भारतीय साहित्य संसारमा म सन् 1950 देखि 1970 को दशकका सक्रिय सर्जकहरूबाट प्रभावित छु जतिबेला रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, शिवकुमार राई, लैनसिंह वाङदेल, लीलबहादुर क्षत्री, गुमानसिंह चामलिङ, गणेशलाला सुब्बा, अगमसिंह गिरी, अच्छा राई रसिक, पारसमणि प्रधान, इन्द्र सुन्दास, लक्खी देवी सुन्दास कवि वीरेन्द्र, भाइचन्द प्रधान, हरिभक्त कटुवाल, नन्द हाङ्खिम, असित राई, रत्न वान्तवा अनि सत्तरीको दशकको अन्त्यवीर जीवन थिङ आदि सर्कहरू सक्रिय थिए।
वैद्यनाथ उपाध्यायः लेखकहरूमा अध्ययन, चिन्तन मननको कस्तो स्थान हुनुपर्छ?
टीका भाइः अध्ययन, चिन्तन अनि मनन आधुनिक साहित्यमा सबैभन्दा आवश्यक अनि सबैभन्दा चुनौतिपूर्ण विषय दुवै हो। पढेर मात्र लेखिन्छ यो सत्य होइन, समाजमा धेरै आनुभविक ज्ञान अनि चेतनाहरू पनि छन्। लोक साहित्यमा धेरै समाज सत्यहरू नै बुनिएका पनि छन् तर अहिले चेतना संस्कृति ज्ञान र वैचारिक भेलको माझमा तैरिएर टिप्नु पर्दैछ। यो कुरा पनि ठिक लाग्ने, त्यो पनि ठिक लाग्ने, कहिले आफ्नै कुराहरू ठिक-बेठिक दुवै लाग्ने, कहिले कुनै बलियो तर्कहरूको प्रभावमा हाम्रा पुराना मान्यता र चिन्तनहरू भत्किने। फेरि नयाँ गरेर आफ्नो वैचारिक भुईँ निर्माण गर्नुपर्ने यी सबै थोक चिन्तन प्रक्रियाका हिस्सा हुन्। आजका कवि लेखक पहिलेका तुलनामा अझ धेर जीवन दर्शन वा समाज चिन्तनमा जागरूक रहनुपर्ने अवस्था छ। अन्यथा हामी पुराना खराब अथवा समयले दुत्कारी सकेका चेतना संस्कृतिलाई नै प्रतिनिधित्व गरिरहेका हुनसक्छौं। तर सबै थरिका साहित्य अध्ययन, मनन, चिन्तनबाट नै जन्मिने होइन। कतिले आफ्ना आनुभविक ज्ञानहरूद्वारा पनि सुन्दर रचना सिर्जना गर्न सक्छन्। हाम्रा जीवन र समाज पनि विषय सूची बेगरको पुस्तक नै हुनाले, कतिका किताबी अध्ययन नभएर आनुभविक र मुक्त समाज चिन्तन पनि हुनसक्छ। काव्य निर्माणमा कहिले काव्य लहरहरू स्वतस्फुर्त हाम्रा चैतन्यबाट उम्केर काव्यिक रूप ग्रहण गर्न सक्छ। अध्ययन, चिन्तन अनि मननले हाम्रो चेतनाको घरलाई धेरै सुसङ्गत र व्यवस्थित गरिदिएको हुन्छ। सँगै यो साहित्य सिर्जनाका लागि सम्पादनका लागिसम्म सहायक हुने गर्छ।
वैद्यनाथ उपाध्यायः अब के लेख्ने जमर्को गर्दै हुनुहुन्छ?
टीका भाइः केही गैर आख्यान, केही आख्यान लेख्ने योजना धेरै वर्षदेखि थाँतीमा छन्। भारतवर्षमा गोर्खा अथवा नेपाली भाषी जातीयताको इतिहास लेखनको सपना यथावत नै छ। केही कथा, केही उपन्यास पनि सोचेको छु तर हाम्रो जीवन नै यस्तो छ कि योजनाहरू पुरा गर्ने समय या आधार प्राप्ति गाह्रो हुन्छ। जतिसम्म सकिनेछ समयमा लेख्नेछु।