मलाई आफ्नो अभिव्यक्तिले जितिसकेका थिए हलधरले । तर पुरस्कार समारोहपछि मैले उनीसँग प्रत्यक्ष भेट्ने आँट गर्न सकेको थिइनँ। वर्षौं अघि खिसिटिउरी गरेका ती शब्दहरूले मलाई बारम्बार छियाछिया पार्थे।
एकदिन हलधर आफ्नै गाउँमा साहित्यिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा आए। म कार्यक्रममा जाँदा भुइँतिर हेर्दै थिएँ। उनी सबैलाई स्वागत गर्दै मकहाँ आइपुगे। हात जोडेर अभिवादन गरेपछि हल्का मुस्कुराउँदै भने, “गुरुजी, यहाँ आउनुभएकोमा खुशी छु। के हामी अब नयाँ यात्रा सुरु गर्न सक्दैनौं?”
मसँग कुनै शब्द थिएन। उनका शब्दले मेरो मनको सबै दोष पखालिदियो। आँसुका केही थोपा टक्टकाएर झरे। मैले कम्पित स्वरमा भनेँ, “हलधर, तिमीले मलाई केवल शब्दले होइन, कर्मले पाठ सिकायौ। आजको दिनदेखि म तिम्रो विद्यार्थी बन्न चाहन्छु।”
हलधरले नमस्कार गर्न जोडेको मेरो हात समाउँदै भने, “हामी सबै सिक्ने प्रक्रियामा छौं, गुरुजी। तपाईंले मलाई चुनौती नदिएको भए सायद म यहाँसम्म पुग्न सक्दिनथेँ।”
त्यसदिन हलधरसँगै म पनि नयाँ यात्रा सुरु गर्न तयार भएँ। उनले देखाएको वर्तमानप्रतिको दृष्टिकोण नै मेरो पुनर्जन्मको सुरुवात बन्यो।
सप्तरी