हाम्रा समाजमा यस्ता पनि व्यक्ति छन् जसले आफ्नो जाति उत्थानको निम्ति आफ्नो जीवन समर्पित गर्नुभएको छ। त्यस्ता केही थोरै व्यक्तित्वमध्ये कालिम्पोङका श्री काजीसिंह हुन्। उहाँ अहिले हाम्रो जातिका श्रीपेच हुन्, गौरव हुन्। हामीलाई लाग्छ, पश्चिम बङ्गालबाट पद्मश्रीको सम्मान पाउने अथ्यन्तै थोरौ मध्ये काजी सिंह एक हुन्।
१.सरकारी सम्मान र हाम्रा गोर्खे पहाड़वासी - भारत सरकारद्वारा देशमा साहित्य, कला, जनकार्य, खेल आदि क्षेत्रमा विशिष्ट योगदान दिनेलाई सम्मानित गरिन्छ। यस्ता सम्मानहरू बरीयताको क्रमले भारतरत्न, पद्मविभूषण, पद्मभूषण र पद्मश्री। यीमध्ये हालसम्म सर्वोच्च भारत रत्न र पद्मविभूषण त हालसम्म कुनै गोर्खाले पाउने अवसर पाएका छैन। तेस्रो उच्च सम्मान पद्मभूषण भने तेञ्जीङ शेर्पाले पाएका हुन्। पद्मश्री पाउने भारतका भोटे-लाप्चे नेपाली गरी तीन जातिका केही व्यक्ति छन्। सानु लामा, केदार गुरूङ, बी बी मुरिङ्ला, सोनाम छिरिङ लेप्चा, लीलबहादुर छेत्री, जितु राई, शिव थापा, भाइचुङ भोटिया, सुनिल छेत्री, काजी सिंह हुन्। गत २१ मार्च, २०२२ का दिन नयाँ दिल्लीको राष्ट्रपति भवनमा राष्ट्रपतिका बाहुलीबाट काजीसिंहलाई पद्मश्रीबाट सम्मानित गरिएको छ। यो सम्मान उनको निम्ति मात्र नभएर भारतवासी समस्त गोर्खाजातिको गौरवको कुरा हो।
२. साहित्यिक क्षेत्रमा लीलबहादुर छेत्री (असम), सानु लामा, केदार गुरूङ, बी बी मुरिङला (तीनैजना सिक्किमका) हुन्। नेपाली साहित्यका शिखरपुरूष इन्द्रबहादुर राईलाई हाम्रो बङ्गाल सरकारले सिफारिस गरेन र उहाँ बञ्चित भए। दार्जिलिङका केही यस्ता प्रतिभा वञ्चित भएका छन्। यसबाट हाम्रो मन दुख्ने कुरा छ। तर पनि हामी आफैं सक्षम छौं।
३. काजीसिंह विद्यार्थीको जन्म २५ जुलाई १९४५ मा दार्जिलिङको फुपछिरिङ चियाकमानमा भएको हो। उनका बाबु-आमाको नाम स्व. इन्द्रजित सिंह र मोहनफुल सिंह थियो। स्व. इन्द्रजित सिंह एक कुशल मादलवादक थिए। त्यस समयका उहाँले मादल वादनमा प्रसिद्धि पाएका थिए। काजी सिंहसानामा मारुनी नाच्ने गर्दथे तर किशोरकालदेखि मादल वादनमा रुचि लिएका हुन्। फुबछिरिङ चियाबारीका सेतुसिंह सरदार र तिनका छोरा इन्द्रजीत सिंह सरदारमादलको साङ्गीतिक क्षेत्रका सिपालु थिए। इन्द्रजित सरदारले छोरो काजीलाई पनि आफ्नो सिप सिकाए। इन्द्रजितले गीताङ्गे र गायकहरूको गाउँले गुठी बनाएर मादले गीतमा एकरूपता ल्याउन उहाँ प्रयत्नशील रहे।
४. काजीसिंहले दार्जिलिङको सन्त रोबर्ट्स विद्यालय अध्ययन गरा हुन् भने उनको म्याट्रिक परीक्षा सन् १९६४ हो। सन् १९६४ – देखि १९७२ सम्म दार्जिलिङको एउटा होटेलमा मेनेजर बनेका थिए। त्यसपछि उहाँ सन् १९७४ देखि १९८३ सम्म बलिउडमा काम गरे भने त्यसपछि उहाँ गान्तोक टासी नामग्याल एकाडेमीमा सङ्गीत शिक्षकका रूपमा कार्यरत रही २००५ मा सेवानिवृत्त भएका हुन्। उहाँ २००७ देखि कालिम्पोङको गौरव भएर बस्नुभएको छ। यहाँ घरबाट नै संस्कृति संरक्षण संस्थान खोलेर बस्नुभएको छ।
४. काजीसिंह एक अन्वेषक र लेखक समेत हुन्। उहाँ मादल बजाउन मात्र होइन यसको अनुसन्धानमा समर्पित व्यक्तित्व हुन्। मादलबारेको गहिरो अध्ययनको उपज उनको संगीतविषयक ग्रन्थ 'मादल' (ईसाब्द १९६७, सन् १९७४) भन्ने पुस्तक तीन पटक प्रकाशित भएको छ। यसमा मादलको उत्तपत्ति, परम्परा, ताल उपताल आदिबारे विस्तृत अध्ययन गरिएको छ। यसबाहेको उनका लोकसङ्गीतका अन्य पुस्तकहरू'संगीत सरोवर' (१९८६), 'Sangeet for Beginners' (१९८८), 'बिर्सिएको संस्कृति फेरि दोहोऱ्याऔँ '(१९९८), 'श्रीमादल : शास्त्रीय एवं व्यावहारिक पक्ष' (२०१४) प्रकाशमा ल्याइसकेका छन् भने 'श्रीमादल कलानिधि' प्रकाशित हुन बाँकी नै छ।
५. काजीसिंह एक कवि हुन्। उहाँले २५०-३०० जति कविताहरू खातामा लेखिसक्नु भएको छ। सन्त रोबर्टस स्कुल, दार्जिलिङमा पढ्दा आफना गुरू डा जगत छेत्रीलाई एक मोटो खाताभरिका कविता देखाउनु भएको थियो। जगत सरले कविता पढेर तिम्रा कविता राम्रा रहेछन्, छाप्न लायकका रहेछन्, छाप्ने भए छाप भन्नेसमेत भन्नुभएको थियो तर उहाँ मादलको अध्ययन अनुसन्धानमा लागेर कवितासङ्ग्रह छाप्नपट्टि लाग्नुभएन। उनको कवि व्यक्तित्व ओझेलमा परेको छ। यसलाई पनि बाहिर ल्याउन आवश्यक छ।
६. काजीसिंहले सन् १९७४ देखि सन् १९८३ सालसम्म बलिउडमा काम गरे। उहाँ ६०-का दशकमा हिन्दी चित्रपट संगीत टोलीमा मादलेसमेत रहिसकेका छन्। बम्बईको चलचित्र उद्योगमा लक्ष्मीकान्त प्यारेलाल, कल्याणजी-आनन्दजी, राम-लक्ष्मण, अजय स्वामी आदि संगीतकारहरूसित मादले बनी साथ दिएका थिए। त्यसपछि उहाँ पाँच वर्षलाई मादलको अध्ययन गर्न मुम्बइ छोडेर दार्जिलिङ आएको थिए। आफ्नो अध्ययनलाई अघि बढाउँदै गान्तोकको टाशी नामग्याल एकाडेमीका सङ्गीत शिक्षक बने हुन् अनि २००५-मा सेवानिवृत्त हुनुभएको हो।
७. काजीसिंह एक कुशल गीतकार -सङ्गीतकार हुन्। उनी बम्बइ बस्ता हिन्दी –उर्दूमा धेरै गीत र शायरीहरू लेख्नुभएको थियो। उनको एकसमयको लोकप्रिय गीत ‘तिमी त रैछौ नी मङ्गले गाउँको मै पनि त्यही गाउँको’ 'स्वामी राजाले लै-लै', 'तिमीले दिएकोमायालाई', 'माऱ्यो नि कान्छीले' १९७४-मा ध्रुव के सी र सुषमा श्रेष्ठका स्वरमा निस्केपछि लोकप्रिय बनेका थिए। गान्तोकका धर्मगुरु सूर्यवीर तुलाधर-को भीमकाली मन्दिरबाट निकालिएको भजन सङ्ग्रह 'भक्ति रसामृत'-मा काजी गुरुलेसंगीत संयोजन गरेका थिए भने 'उदाहरण' नामको गीति अल्बममा एउटा गीत एक सुर र सात तालको एकै साथ प्रयोग गर्नुभएको छ। हिन्दीमा पनि यस्तो प्रयोग भएको पाइन्न। यसमा स्वयं प्रतिष्ठापित सात राग प्रयोग गर्नुभएको छ। यसबाहेक उहाँको शब्द र सङ्गीतमा रहेको स्वर सुमन गीति अल्बम पनि प्रकाशित देखिन्छ। उनको शब्द सङ्गीतमा सुष्मा श्रेष्ठ, सुरेश वाडेकर, साधना सरगम, अभिजीत भट्टचार्य आदिले नेपाली गीत गाएका छन्।
८. काजीसिंह एक सङ्गीत साधक हुन्। उहाँले मादलको संगीत पक्षको खोज अनुसन्धान गर्ने क्रममा मादलको प्राचीनकालको उत्पत्ति र इतिहास परम्पराको व्यापक अध्ययन-अनुसन्धान छपन्न वर्षदेखि गरिरहेको छन्। उहाँको श्रीमादल कलानिधि भन्ने प्रकाशोन्मुख पुस्तकमा मादलको विस्तृत अध्ययन रहेको पाइने छ भन्ने जानकारी पाइन्छ। उहाँले मादललाई भारतका अन्य बाद्यवाजा झैं सुर र तालको शास्त्रसम्मत सैद्धान्तिक स्वरूपको खोजी गर्नुभएको छ। उहाँभन्दा पहिले मादल विभिन्न तालमा त बजाइन्थ्यो, मादल बजाउन धेरैले जान्दथिए तर त्यसलाई नोटेसन (साङ्गीतिक छन्द) मा उतार्ने ठुलो काम भने काजीसिंहले गर्नुभएको छ। यसैमा उहाँको महिमा र गरिमा छ। यस सङ्गीतका विभिन्न ताल र सुरसित परिचित छन्। उहाँ आफैले यी संगीत छन्द (नोटेसन) सृजनागर्नुभएको छ -
१) गणपति छन्द- SIII IIII ISSI SSII
२) लम्बोदर छन्द- SIII IIII SSII (SII III IIS SII)
३) भीमकाली छन्द- SSS SSI SII SSS
४) मारुतीनन्दन छन्द - SSS III SII SII
५) गिरिधारी छन्द- SII SSS IIS S
६) विश्वकर्मा छन्द- SSS ISS
७) बसिबिञालो छन्द- III SSS ISS ISI II
८) सरस्वती छन्द - III SSS IIS ISS SII
भारतीय संगीतका लागि भनी आफैले दुइवटा राग प्रस्तावित गर्नुभएको छ -
१) राग शुक्रतोड़ी - आरोह - सा रे ग प ध सा I अवरोध - सा ध म ग रेसा
२) राग आदित्य - आरोह - नि सा ग म ध नि सा I अवरोह- सा नि ध म ग सा
८. आफ्ना अवदानका लागि दिल्ली, महाराष्ट्र, पश्चिम बङ्ग, सिक्किमका प्रशासन र सामाजिक संस्थानहरूबाट उहाँ कैञौपल्ट सम्मानित हुनुभएको छ।
९. आफ्नो जीवनको उत्तरार्द्धमा आश्रमकालमा कालेबुङमा मादल वादनको प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेका छन्। उहाँ खस-किरातको जनजातीय गायन वादन परम्परालाई शास्त्रीय पन्तको सापेक्षतामा स्थापित गर्न चाहन्छन्।(डा दिवाकर प्रधान, फेसबुक पोस्ट)
१०. भारतका परम्परागत सङ्गीतका वाद्यवादन र तिनका प्रख्यात वादकहरू सर्वत्र परिचित छन्। सितारमा प्रमुख पं. रवि शङ्कर, उस्ताद अब्दुल हलिम जफ्फर खान, उस्ताद अली अकबर खान, बाँसुरीमा पं. हरिप्रसाद चौरासिया, पन्नालाल घोष, शहनाइमा उस्ताद बिस्मिल्लाह खान, कृष्णराम चौधरी, अली अहमद हुसैन, तबलामा उस्ताद जाकिर हुसैन, उस्ताद अल्लारखा, सबिर खान, पं. किशन महाराज, पं. ज्ञानप्रकाश घोष, सन्दीप दास आदि, सन्तुरमा पं. शिवकुमार शर्मा, सरोदमा उस्ताद अलाउद्दीन खान, उस्ताद अमजद अली खान, बुद्धदेव दासगुप्त आदि, सारङ्गीमा उस्ताद शकुर खान, पं राम नारायण, पं रमेश मिश्र, सुल्तान खान, उस्ताद बिन्दा खान, मृदङ्गमा के भी प्रसाद, एस. भी. राजाराव, उमालयजुरम शिवराम, पालघाट मणि अय़्यर आदि।
११. अब मादललाई पनि भारतीय शास्त्रीय वाद्यवादनको रूपमा मानेर यसमा काजी सिंहको नाम प्रमुख रूपमा जोड्नु पर्दछ, जोडिन्छ। हाम्रो मूल पूर्वीय मादललाई उहाँले श्रीमादल भनी नामकरण गर्नुभएको छ। यस वर्षको पद्मश्री दिएर भारत सरकारले उनलाई राष्ट्रिय वाद्यवादक वा मादलाचार्यका रूपमा मान्यता दिएको मान्न सकिन्छ। यसका साथै उनलाई पण्डित काजी सिंहको उपाधि पनि दिन उचित ठहर्दछ। अरूले नलेखे हामीले नै पं. काजी सिंह भन्ने गरौं। हामी हाम्रो आफ्नै भाग्यनिर्माता र मान्यता दिन सबल छौं। यसका साथै उनका सुपुत्र निशान्त सिंहलाईपखाबाजका राष्ट्रिय कलाकार र पण्डितको रूपमा नाम दर्ता गरेको छ। बाबु छोराको जुगलबन्दीमा केही कार्यक्रम पनि सम्पन्न भएको छ।
अतः पं. काजीसिंह विद्यार्थी हाम्रा अमूल्य रत्न हुनुहुन्छ। उहाँको सुस्वस्थ्य र दीर्घायुको कामना गर्दछु।
सामाग्री स्रोत-
१ डा दिवाकर प्रधान, फेसबुक पोस्ट, २६ जनवरी, २०२२।
२. काजीसिंह स्वयम्सित सोधेर लेखिएको।