18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनोभाव

कविता कृष्ण उपाध्याय November 20, 2024, 2:49 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

१.
ल हेरौँ त हे प्रिय हल्ला छ कस्तो
ल हेरौँ त मत्तै छ हाती नि कस्तो ।
कतै लौ न के भो कसोरी बुझौँ म
न मारे कि छोरो कसोरी बुझौँ म ।।

उता सुन्नु हल्ला छ कस्तो अचाक्ली
कि राजा उठे मार्न खड्गै उचाली ।
कसोरी म खोलौँ कडा जो छ साङ्लो
गई सुन्न गारो, न ढोका खुलेको ।।

हरे ! चौध वर्षे भयो लौ छुटेको
नदेखी मुहारै म मर्ने भएँ लौ।
हरे दैव ! आयो बिपत्ति बचाऊ
ल है एक मात्र छ कान्छो बचेको ।।

२.
अहो भाग्य ! बच्यौै तिमी कान्छु हाम्रो
म सुन्दै छु ऐले मिठो गान तिम्रो।
जितेछौ ति राजा थिए धेर दुष्ट
अहो भाग्य हाम्रो ! भए देव इष्ट ।।

३.
न छोऊ न पाऊ, गरौँ अंकमाल
म सुङ्ने छु पैले ति लट्टे कपाल ।
म हेर्ने छु पैले ति आँखा उज्याला
मुखै जो छ तिम्रो सधै नै दिवाना ।।

खेलेरै बितायौ बनैमा कसोरी
ढिलो पो गर्यौ धेर लट्टे कसोरी ।
बस्यौँ झ्यालखाना, बिते चौध वर्ष
लिई आश धेरै, बिते यत्रा वर्ष।।

४.
अहो ! मात तिम्रो सधैँ याद आयो
सधैँ आँसु झारेँ, कुरेरै दिनै यो ।
कुबेला कसोरी म आँऊ त माते
तिमीकै कुरा मानि पर्खे नि माते।।

नभन्या कसोरी भन्यौ चै नभन्नु
भन्यौ राम जाऊ अयोध्या नबस्नु ।
बिना प्रेम तिम्रो बसेँ चौध वर्ष
बिना कृष्ण तिमी बस्यौ चौध वर्ष।।

नोटः देवकी बसुदेव झ्यालखानामै हुँदा, देवकीलाई कृष्ण मथुरा आएको थाह थियो भन्ने भावमा। देवकीको भाव कस्तो भयो होला भन्ने स्वैर कल्पना
१. देवकी झ्यालखानामा वासुदेवलाइ भन्दै
२. देवकीको मनोभाव
३. झ्यालखानामा देवकी कृष्णलाई भन्दै
४. कृष्ण देवकीलाइ भन्दै

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।