भक्त राईको नेपाली लेकगीतको परिचय (२०८१) शीर्षकको ग्रन्थ हालै प्रकाशित भएको छ । राई पूर्वीय दर्शन, लोकसंस्कृति र लोकसाहित्यका एक ख्यातिप्राप्त र लब्धप्रतिष्ठित विद्वान् हुन् । उनी नेपाल सरकारका संस्कृति विज्ञ पनि हुन् । भोजपुर नगरपालिका -१०, भैँसीपङ्खामा २०२८ फागुन १५ गते आमा वर्तमाया र बुवा धनमान राईका सुपुत्रका रूपमा जन्मेका भक्तबहादुर राई नै आफ्ना सत्कर्मले गर्दा नेपाली साहित्य र संस्कृतिका क्षेत्रमा भक्त राई (डा. भक्त राई) नामले सुपरिचित भएका हुन् । हाल ललितपुर महानगरपालिका -२६, ढोलाहिटीमा बसोबास गरी साधनारत राईले त्रिविबाट नेपालीमा स्नातकोत्तर तथा किरात राई जातिमा प्रचलित लोकगीतको विधातात्त्विक अध्ययन शीर्षकमा विद्यावारिधि पनि गरेका छन् । खेलकुद तथा नाटक, बालकथा र बालकविताको सिर्जनामा विशेष अभिरुचि भए पनि उनी यता आएर पूर्वीय दर्शन, लोकसंस्कृति र लोकसाहित्यको अनुसन्धानमा गहिरिएर लागिपरेको पाइन्छ । यसको परिणामस्वरूप दर्शन, लोकसंस्कृति र लोकसाहित्यसम्बन्धी उनका दर्जनजति पुस्तक प्रकाशन भएका तथा दर्जनौँ कार्यपत्र प्रस्तुत भएका छन् । प्रस्तुत ग्रन्थ यसैको निरन्तरता हो ।
प्रस्तुत ग्रन्थको 'लेकगीतको सैद्धान्तिक परिचय' शीर्षकको पहिलो अध्यायमा लोकगीतको सैद्धान्तिक परिचय दिँदै त्यसकै आलोकमा विशेषतः पूर्वी नेपालमा प्रचलित केही लोकगीतको विश्लेषण गरिएको छ । यस ग्रन्थको पहिलो अध्यायमा लोकगीतको परिचय र परिभाषा, निकटस्थ अन्य विधा र विषयसितको सम्बन्ध, लोकगीतका विशेषता, लोकगीतका तत्त्व, लोकगीतको वर्गीकरण, नेपाली लोकगीतको अध्ययन–परम्परा र लोकगीतको विश्लेषणको सैद्धान्तिक आधार दिइएको छ ।
'आस्था–अनुष्ठानमूलक लोकगीत' शीर्षकको दोस्रो अध्यायमा आस्था र अनुष्ठानमूलक लोकगीतको अध्ययन गरिएको छ । यसक्रममा यहाँ पूर्वी पहाडी क्षेत्रका विशेषतः किरात राई समुदायमा प्रचलित रिसिया र होप्माछाम गीतलाई तिनको उत्पत्ति र नामकरण, प्रयोगक्षेत्र र प्रयोक्ता, विशेषता, गायन अवसर, पाठ र सन्दर्भ, प्रस्तुतीकरण, विषयवस्तु, लय र भाका, कथनपद्धति, प्रस्तोता (गायक–गायिका), भाषा, वाद्यवादन, अलङ्कार, स्थायी, अन्तरा, थेगो र रहनी, दर्शक तथा श्रोता गरी विभिन्न १५ आधार वा कोणबाट गहन विश्लेषण गरिएको छ । यहाँ भजन, कीर्तन र बालनको भने छोटकरीमा परिचय मात्र दिइएको छ ।
'पर्वगीतहरू' शीर्षकको तेस्रो अध्यायमा पूर्वी पहाडी क्षेत्रका विशेषतः किरात राई समुदायमा प्रचलित साकेला, पापानी र मारुनी गीतलाई रिसिया र होप्माछाममा झैँ यिनको उत्पत्ति र नामकरण, प्रयोगक्षेत्र र प्रयोक्ता, विशेषता, गायन अवसर, पाठ र सन्दर्भ, प्रस्तुतीकरण, विषयवस्तु, लय र भाका, कथनपद्धति, प्रस्तोता (गायक–गायिका), भाषा, वाद्यवादन, अलङ्कार, स्थायी, अन्तरा, थेगो र रहनी, दर्शक तथा श्रोता गरी विभिन्न १५ आधार वा कोणबाट विश्लेषण गरिएको छ भने तिजेगीत, सिमल बारुला गीत, धिमाल गीत, तक्सिम गीत, बिरहिन गीत र देउसी गीतको छोटकरीमा परिचय मात्र प्रस्तुत गरिएको छ ।
यसैगरी 'बाह्रमासेगीत' शीर्षकको चौथो अध्यायमा विशेषतः पूर्वी पहाडी क्षेत्रमा प्रचलित गोठाले गीत, हाकपारे गीत, सँगिनी गीत र पालम गीतलाई रिसिया र होप्माछाममा झैँ उत्पत्ति र नामकरण, प्रयोगक्षेत्र र प्रयोक्ता, विशेषता, गायन अवसर, पाठ र सन्दर्भ, प्रस्तुतीकरण, विषयवस्तु, लय र भाका, कथनपद्धति, प्रस्तोता (गायक-गायिका), भाषा, वाद्यवादन, अलङ्कार, स्थायी, अन्तरा, थेगो र रहनी, दर्शक तथा श्रोता गरी विभिन्न १५ आधार वा कोणबाट गहन विश्लेषण गरिएको छ भने टुङ्ना, रामदले, र सेलो गीतको छोटकरीमा सामान्य परिचय मात्र प्रस्तुत गरिएको छ ।
'संस्कारगीत' शीर्षकको पाँचौँ अध्यायमा हियारी गीतलाई रिसिया र होप्माछाममा झैँ यसको उत्पत्ति र नामकरण, प्रयोगक्षेत्र र प्रयोक्ता, विशेषता, गायन अवसर, पाठ र सन्दर्भ, प्रस्तुतीकरण, विषयवस्तु, लय र भाका, कथनपद्धति, प्रस्तोता (गायक-गायिका), भाषा, वाद्यवादन, अलङ्कार, स्थायी, अन्तरा, थेगो र रहनी, दर्शक तथा श्रोता गरी विभिन्न १५ आधार वा कोणबाट गहन विश्लेषण गरिएको छ भने खाँडो, दमाईँ गीत, सिलोक र रत्यौली गीतको सामान्य परिचय प्रस्तुत गरिएको छ ।
यसैगरी 'कर्मगीत' शीर्षकको छैठौँ अध्यायमा असारे (रसिया) र दाइँ गीतको छोटकरीमा सामान्य परिचय मात्र दिइएको छ । कर्मगीत भनेको श्रम वा काम गर्दा गाइने आवसरिक गीत हो । यहाँ धेरै कर्मगीत छुटेका छन् ।
यसरी सबै लोकगीतप्रति समन्याय हुन नसके पनि लोकगीतको खोजी र अध्ययनमा राईको गहिरो अध्ययन रहेको पाइन्छ ।
नेपाल प्रकृति र संस्कृतिमा विशेष समृद्ध छ । सयौँ फूलको माला झैँ नेपाली लोकसंस्कृति थरीथरीका संस्कृतिको समष्टि हो । लोकगीत त्यही संस्कृतिको एक अमूर्त सम्पदा हो । लोकगीतमा जातीय पहिचान हुन्छ । यहाँ विश्लेषित लोकगीतमध्ये रिसिया, होप्माछाम, साकेला, पापानी, गोठाले, हाकपारे, रामदले, हियारी लोकगीतलाई किरात राई समुदायमा गाइने लोकगीतका रूपमा लिइएको छ । धाननाचका अवसरमा गाइने पालम लोकगीतलाई लिम्बू जातिको लोकगीतका रूपमा लिइएको छ । यसैगरी बिरहिन लोकगीतलाई थारू, धिमाल लोकगीतलाई धिमाल, ताक्सिम लोकगीतलाई लाप्चा (रोङ), सेलो लोकगीतलाई तामाङ, दमाईँ गीत दमाईँ जातिको लोकगीतका रूपमा लिइएको छ । मारुनी नाचमा गाइने मारुनी गीत पहिले हिन्दु वा खसआर्यले गाउने भए तापनि यता आएर यो किरात राईलगायतका जाति वा समुदायमा समेत त्यत्तिकै मात्रामा गाउन थालिएको पाइन्छ । सिमल बारुला मगर र राई जातिमा विशेष प्रचलनमा छ । टुङ्नाचाहिँ उच्च पहाडी तथा हिमाली क्षेत्रका शेर्पा, गुरुङ, तामाङ र लाप्चा समुदायमा गाइन्छ । यस्तै, भजन, कीर्तन, बालन, तिजेगीत, देउसी, सँगिनी, खाँडो, सिलोक, रत्यौली, असारे, दाइँ, मारुनी आदि लोकगीतलाई खसआर्य वा बाहुन क्षेत्री समुदायमा गाइने लोकगीतका रूपमा लिइएको छ । जुन जाति र समुदायमा प्रचलित भए पनि लोकगीतले सबैको मनमुटुलाई झङ्कृत गर्ने हुनाले लोकगीत कुनै जाति वा समुदायको घेरामा रहिरहँदैनन् । लोकगीत मनोरञ्जनको माध्यमसमेत भएकाले जोजसले पनि गाएर वा गाउँदा साथ दिएर मनोरञ्जन लिँदै आएको पाइन्छ । यसरी हेर्दा यहाँ किरात राई, लिम्बू, थारू, धिमाल, लाप्चा (रोङ), तामाङ, दमाईँ मगर, शेर्पा, गुरुङ, बाहुन, क्षेत्री आदि जाति वा समुदायमा प्रचलित लोकगीतको अध्ययन भएको भएको, तर नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने राजवंशी, झाँगड, सतार, कोचे, मेचे, मारवाडी, नेवार आदिका लोकगीतको उल्लेख भएको छैन । थारू, गुरुङ र मगर आदिका लोकगीतको पनि नाम मात्रको उल्लेख पाइन्छ ।
प्रस्तुत ग्रन्थमा संरचनागत, विषयगत, प्रस्तुतिगत र भाषागत केही सीमा रहेका छन्, तापनि यसले पुर्बेली लोकगीतको अध्ययन परम्परामा एउटा कोसेढुङ्गाको काम गर्नेमा विश्वस्त हुन सकिन्छ । रिसिया, होप्माछाम र पापानी लोकगीत पश्चिमतर्फ कम सुनिएका लोकगीतहरू हुन्, जसको यहाँ सुन्दर विश्लेषण भएको छ । वस्तुतः प्रस्तुत ग्रन्थ एउटा त्यस्तो आँखीझ्याल हो, जहाँबाट पुर्बेली लोकगीतको विशाल भण्डारलाई आकलन र अनुमान गर्न सकिन्छ ।