चुनावी माहोल थियो । नेताहरू गाउँ पसे । जनताले नमस्कार पाउन थाले ।
“अरूलाई बिर्से पनि रामप्रसादलाई बिर्सनु हुन्न ।” भन्ने कार्यकर्ताको बेजोड सल्लाह नेताले पाइरहेका थिए ।
पहिल्यैदेखि घोकिरहेको नाम त्यसैले नेतालाई “रामप्रसादजी नमस्ते !” भन्न कुनै अप्ठेरो परेन । नेताजीले आफ्नो नाम पुकारेपछि रामप्रसाद खुसी देखियो । गाउँको चल्तो पुर्जो मान्छे, उस्तै परे भोट बैङ्क थियो ऊ ।
“म तपाईंलाई सम्झिरहन्छु नि ! तपाईंको परिवारलाई पनि मैले बिर्सेको छैन ।” नेताको कुराले रामप्रसाद झन् खुसी भयो ।
नेता चिल्लो घस्दै थिए -“हजुरको बुबा र मेरो दोस्ती त पुरानै हो । परार साल यही गाउँमा सँगै चिया पिएर मज्जाले गफ गरेको मलाई हिजै जस्तो लाग्छ । अनि बुबा त सन्चै हुनुहुन्छ नि ?”
दस वर्षअघि नै स्वर्गे भइसकेका पिताजीलाई रामप्रसादले झलक्क सम्झ्यो । नेताको उत्तर फर्काउनतिर उसले ध्यानै दिएन ।
भोर्लेटार, लमजुङ