‘दानबहादुर !’ मेरो स्मृतिपटलमा अविस्मरणीय रुपमा अङ्कित एउटा नाम हो । आज पोखराको कुनै टोलमा रहेको आफ्नो डेरादेखि पृथ्वीनारायण क्याम्पससम्मको बाटो नाप्ने दिनचर्या बोकेको मैले त्यो नामधारी व्यक्तिलाई कयौंपल्ट देख्ने गरेको छु । लामाचौर या बाटुलेचौर कतै बस्ने गरेको हुनुपर्छ ऊ, किनभने त्यतिबेला पनि उसले आफ्नो ठेगाना यतैतिर बताएको थियो । धेरैपल्ट देखेर पनि बोलाउन मैले सकेको छैन उसलाई, तर प्रत्येक पटकको भेटमा नियालेर हेर्ने कोसिस चाहिँ गरेको छु । झुत्रो भनिहाल्न नमिल्ने मैला शर्ट–पैन्ट, कहिले खासावाला हरिया कपडाका पुराना र मैला जुत्ता र कहिले चप्पल अनि मैलो कालो टोपीको पहिरनमा अक्सर ऊ भेटिने गर्छ । हरेकजसो भेटमा उसको अनुहार चाउरिँदै गएको मैले महसुस गरेको छु । अझ अचेल त असमयमै बूढो भएर कुप्रिएको पनि छ । यो हुलिया भएको दानबहादुर कुनै कल्पित साहित्यको चरित्र वा व्यक्तिको नाम होइन, यसलाई त तपाईंले चाहनुभयो भने पृ.ना. क्याम्पसको गेटनिरबाट महेन्द्रपुलतिर झर्दै गरेको वा पोखराका कुनै टोल ÷ गल्लीमा हिँड्दै वा बस्दै गरेको रुपमा अहिले नै सशरीर भेटिन सक्छ ।
आजभन्दा दुई–तीन दिनअघि पनि मैले जि.प्र.का. अगाडिको चौतारामा सुन्तला फिँजाएर बेच्न बसेकी एउटी महिलासँग आफन्त जस्तै कुरा गरी बसिरहेको उसलाई देखें । चालिस–पचास कदम जति उसलाई हेर्दै हिँड्दै गरें । अलि पर पुगेपछि पनि फर्केर हेरें । एक छिन बसेरै हेर्ने वा शोधखोज गरी परिचयको नवीकरण गर्ने उत्सुकता पनि ममा नजागेको होइन, तर किन हो कुन्नि त्यसो गर्न मैले सकिन । ऊ गम्भीरतापूर्वक दुःखसुखका कुरा गरिरहे जस्तो लाग्थ्यो । उसको हुलिया र त्यस महिलाको व्यावसायिक स्थितिमा एक खाले साम्य वा मेल देखेकाले पनि मलाई विगतको उससँगको परिचयको स्मृतिले चिमोट्यो । बाटामा क–कससँग भेट्दै, कुरा गर्दै, आफूलाई कुनै ‘ज्यान’ नभएको लाग्ने कथित नमस्कारको आदान–प्रदान गर्दै ‘आफ्नो घर’ भन्नु पर्ने बहालको घरमा आइपुग्छु । स्मृति पटलभरि ऊ छाइरहन्छ । मेरो र उसको विगतमा भएको जान पहिचानले पुनः चिमोट्न थाल्छ । कहिल्यै लेख्नमा रूचि नराख्ने, त्यसैले लेख्न पनि नजान्ने मजस्तो अल्छीलाई पनि मभित्र अटाउनै नसकेर होला शायद, स्मृतिका छालहरुले कलममार्फत छताछुल्ल भै पोखाउन लगाउँछन् । माफ गर्नू दानबहादुर दाइ, कुनै वाद वा दलको छाता ओढेको, भित्र जे भए पनि राम्रो आवरणले ढाकिएको, नाम चलेको, स्थापित र सिद्धहस्त पेशेवर लेखकको लेखनीबाट नभै एउटा अल्छी र सिकारू व्यक्तिको कलमबाट तपाईंको चित्र कोरिन गएकामा ।
वि.सं. २०२८ सालतिरको कुरा हो । हामी केही पोखरातिरका र केही गुल्मी–अर्घाखाँचीतिरका गरी करिब असी घर–परिवार नवलपरासी जिल्लाको ‘बर्दघाट, चिसापानी’ भन्ने ठाउँको ऐलानी पर्ती जग्गामा सुकुम्बासीका रुपमा बसेका थियौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको दक्षिणपट्टि अवस्थित सो जग्गाको केही भाग शायद वन सीमानाभित्र पनि पर्दथ्यो । त्यतिखेर पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डको निर्माण कार्य रहेको थियो । हामीमध्ये धेरैजसो दिउँसो राजमार्गमा काम गर्ने र बिहान–बेलुका शा.व.स. (शाही वन संरक्षक) का आँखा छलेर झाला (मसिनो झाडी) फाँड्ने, खन्ने र खेती गर्ने गथ्यौं । झुप्रा बनाएर राजमार्गको किनारमा बसेका भए तापनि जङ्गल आवाद गरेर खेतीपाती गरिरहेका हुनाले वन विभागका विभिन्न खाले कर्मचारीहरुसँग हाम्रो जम्काभेट भई नै रहन्थ्यो । कहिले उनीहरु हामीलाई धम्क्याएर मात्र जाने गर्दथे भने कहिले बस्तीका गाईभैंसी हुलेर हाम्रो खेती चराइदिने र झुप्रा भत्काइदिने वा डढाइदिने गर्दथे । पहिले पहिले त आफ्नो मिहिनेतमाथि भएको त्यस्तो कुठाराघातले हामीलाई अत्तालिने गरी स्तब्ध तुल्याउँथ्यो । अर्थात् अनुहारमा पढ्न सकिने गरी भित्रका घाउहरु देखिन्थे । जब यो क्रम बारम्बार दोहोरिन थाल्यो, हामी अभ्यस्त भयौं र त्यो घाउलाई भित्र लुकाउँदै आफ्नो अभियानमा लागिरह्यौं ।
कहिले फरेष्टर, कहिले रेञ्जर र कहिले शावसको विट (इलाका) को हवल्दार एक्लै वा केही सिपाहीका साथ हामीलाई वन संरक्षणका निम्ति त्यहाँबाट हटाउनेभन्दा पनि केही झारझुर पारेर खल्ती भर्ने वा दारू (रक्सी) को जोहो गर्ने उद्देश्यले बारम्बार आइरहने गर्थे । उनीहरुसँगै आउनेमा अरूको त मलाई त्यति सम्झना छैन, एक जना हरि भन्ने र एक जना यिनै दानबहादुर हुन्थे । भर्खर एक्काईस–बाईस वर्षमा पाइला टेकेको मेरो युवा सुलभ भावुकताले हरिलाई निकै नजिक तुल्याएको थियो र एक्लै भेट्दा पनि हरिसँग अन्य कुराकानी गर्ने, चिया पिउने वा आफूले नपिए पनि उसलाई भट्टीमा दारू पिउन साथ दिने आदि जस्ता क्रियाकलाप हुन थालेका थिए । यसै प्रसङ्गमा यौटा कुरा भनिहालौं, मैले त्यतिखेरसम्म दारू पिउन सिकिसकेको थिइन । पछि बारम्बारका यस्तै सर–सङ्गत र बसाउठमा मैले दारू पिउन सिकें र म जस्ता अरूहरुले पनि सिकें । नसिकौं पनि किन ? जसमा त्यस्तो जादू थियो, जसले हामीले निकै कठिन ठानेका काम कुरा पनि सहज तुल्याइदिन्थ्यो, कतिपय अप्ठेराबाट हामीलाई सहजै उम्काइदिन्थ्यो । एउटा यसैको प्रसङ्ग पनि भनिहालौं, एकपटक... शाही याने ‘बाबुसाहेब’ शावसका शायद सुवेदार थिए, केही सिपाही साथ लिएर हाम्रो बस्ती भत्काउन र खेती चराउन आइपुगे । रहँदाबस्दा यसअघि नै हरिहरुबाट के कुरा थाहा लागिसकेको थियो भने यिनी ज्यादै दारुप्रेमी छन्, त्यसैले यता उनी हाम्रा साथीहरुलाई धम्क्याउँदै थिए, साथीहरुकै सल्लाहअनुसार म चाहिँ नजिकैको भट्टीमा दारू लिन दौडें । एक ग्यालन (शायद ५ लिटर जतिको) दारू ल्याएर उनी झोक्किइरहेकै बेला सबैका अघि राखियो । एक–दुई गर्दै उनका हातसम्म पनि गिलास पुर्यायौं । त्यस दिन त्यसअघि उनले पिएका रहेनछन् । हामीप्रति धम्कीको भाषा पनि बोल्दै र दारू पनि पिउँदै गरी एक गिलास सिध्याएर अर्को गिलास सिध्याउन पाउँदानपाउँदै उनलाई लागिसकेछ क्यारे; उनी त अझ रिसाएर जथाभावी बोल्ने, लठ्ठी उजाउने र झुप्रालाई लक्ष्य गरेर लात्ती उचाल्ने जस्ता काम गर्न थाले । दारू थपिँदै गयो, एकपछि अर्को गिलास । कयौं गिलास रित्याइसक्दा पनि उनी त दुई गिलासकै अवस्थामा बडबडाइरहे । आखिर दारूको ग्यालन रित्तिएको देखेपछि कथित धम्कीको भाषामा ‘लौ केटा हो, यी सालेहरुलाई अर्कोपल्ट ठिक पारौंला’ भन्दै आफ्ना दारूले टन्न भएको सानवानसहित हिंडे । यसरी त्यसपटकको बाली र बस्तीका झुप्रा उजाडिनबाट बचे ।
यस्तै र यसरी नै शावस र वन विभागका कर्मचारीसँग जम्काभेट हुँदै जाँदा एक दिन माथि वर्णित शाहीकै नेतृत्वमा डी.एफ.ओ. (जिल्ला वन अधिकृत) को निर्देशनमा राजमार्गको छेउछाउका खास गरी सुकुम्बासीका वस्तीहरु भत्काउँदै जाने क्रममा हाम्रो बस्तीमा पनि त्यो टोली आइपुग्यो । हामीहरु बिहानको खाना खान भनेर आइपुगेका मात्र के थियौं हामीमध्ये जति फेला पर्यौं, समातियौं । हामीलाई खाना खान समेत दिइएन । केही साथीहरु वनमै यो कुरो थाहा पाएर उतै लुके । बाबुसाहेब, उनीजस्तै र उनीभन्दा केही माथिका हाकिमहरु लगायत सबैजसो शावसका सिपाहीहरु पनि दारूले टन्न भएका थिए । उनीहरु दारूको नशासँगै क्रूरताको नशाले पनि भरिएका थिए । हामीभन्दा अघि पनि अर्को बस्तीबाट सुकुम्बासीहरु पक्रेर ल्याएका रहेछन् । उनीहरुसँगै हामीलाई पनि लिएर फेरि अर्को बस्तीमा पसे । त्यहाँ पनि झुप्रामा लात्तीले हान्दै र जथाभावी फोहर कुरा बोल्दै सुकुम्बासीलाई हकार्न र पक्रिन थाले । त्यहाँ पनि केही साथीहरु पोखरातिरकै थिए । तिनैमध्ये स–सानो दोकान गरिबसेका एक जना... गिरीले आफू गैरसुकुम्बासी भएको वा जङ्गल फडानीमा संलग्न नभएको भनी केही प्रतिवाद गर्न मात्र के लागेका थिए बाबुसाहेव रन्किइहाले र सँगैको पुड्को भनिहाल्न नमिल्ने तर होचो कदको, खाइलाग्दो जिउडाल भएको र तप्प रगत चुहिएला जस्ता गाला भएको एक जना शावसलाई गिरीलाई पिट्न आदेश दिए । प्रसङ्गबस अचानक भेट भएको र आफूसँग खासै रिसराग नभएको आफ्नै पोखरातिरको आफू जस्तै एउटा मान्छेलाई बाबुसाहेबको हाकिमी आदेशभन्दा पनि दारूको आदेशकै भरमा पिटिहाल्न उसका हात तयार भएनन् होला शायद र ऊ एकछिन आदेश पालन गर्ने मुद्रामै आनाकानी गरी बस्यो । यत्तिकैमा उनी एक्कासि उसका राता गालामा चड्कन दिँदै गर्जिन थाले ‘साले ! यी यसरी पिट् भनेको ।’ उसले त्यत्रा मान्छेका सामु आफ्नै हाकिमबाट आफू अपमानित हुनु परेकामा असजिलो महसुस गर्दै गिरीलाई पिट्यो । दुईचार झापड लगाएपछि उनलाई त्यहीं छोडियो । त्यहाँका अरू एक दुई जनालाई पक्रेर हामी सबैलाई बुटवलतिर चलान गरियो ।
यही घटना हो, जसले दानबहादुरलाई मेरो स्मृतिपटलमा आजसम्म जीवन्त राखेको छ । यहाँनेर अहिले त कुरा के पनि प¥यो भने बारम्बार सशरीर भेटिन पनि थाल्यो । उसको त्यस जागिरे जीवनकालको त्यो स्थिति र आजको उसको हुलियाले सङ्केत गरेको यो स्थितिका बीचको साम्य वा वैषम्यबारे मलाई घोत्लिनै पर्ने पनि बनायो । त्यतिखेर मधेशमा सानोतिनो सरकारी जागिर खानेले पनि अलि–अलि त जमिनको जोहो गरेकै देखिएको हो । ऊ पनि वन विभागको सानै भए पनि जागिरे भएकाले केही बन्दोवस्त ग¥यो कि वा केही पनि गरेन ? लाग्छ, अहिलेको उसको हुलियाले त शायद केही गरेकै छैन ।
त्यसअघि मैले सुनेको मात्रै थिएँ, पुलिसका हाकिमहरु आफ्नो मातहतका कर्मचारीमाथि त्यस्तो व्यवहार गर्छन् । पहिलोपल्ट प्रत्यक्ष देख्नुपरेको त्यस घटनाले वर्तमान सामाजिक संरचनाप्रतिको मेरो सुलभ विद्रोहको भावनालाई अझ तीव्र तुल्यायो । अथवा यसो भनौं त्यस अनुभूत यथार्थले त्यसलाई चिर्न अझ गम्भीर भएर चिन्तन गर्न र प्रौढता र परिपक्वतातिर उन्मुख हुन अभिप्रेरित ग¥यो । ठूलाले सानालाई, धनीले गरीबलाई, मालिकले मजदुरलाई माथिल्लो कर्मचारीले तल्लो कर्मचारीलाई, पुरूषले महिलालाई र कथित माथिल्लो जातले तल्लो जातलाई दबाउने र हेप्ने चलनलाई परम्परागत सामाजिक मर्यादा नै मान्ने संस्कारमा हुर्काइएको दानबहादुरले त्यस घटनालाई कुन रुपमा लिएको छ कुन्नि ? तर मेरा निम्ति भने त्यो क्षण अविस्मरणीय नै बन्न पुग्यो । आफ्नो सम्पूर्ण जवानी जागिर नामको त्यस दासत्वमा बिताएर उसले के प्राप्त गयो र अहिले उसलाई त्यस विगतले चिमोटिरहेको छ कि छैन, आदि जस्ता थुप्रै जिज्ञासा शान्त गर्न फेरि ऊ भेटियो भने विगतका स्मृतिहरु कोट्याउँदै परिचयको नवीकरण गर्न र उसको वर्तमान बुझ्न उससँग तिकै बेर बसेर कुरा गर्ने धोको मेरो ममा जागृत भएको छ ।
उतिखेरै उपप्रधानपञ्च भइसकेका गिरीजी अहिले कुन वाद या दलको छाता ओढेर के गर्दै छन्, थाहा छैन । हरि के गर्दै छ, त्यो पनि थाहा छैन । बाबुसाहेब भने राजनीति पीडितमा जग्गा पाएर बर्दघाटतिरै दारूका बोतलसँग खेल्दै छन् भन्ने केही साथीबाट सुनेको छु । म यतै पोखरातिर पृथ्वीनारायण क्याम्पसदेखि आफ्नो डेरासम्मको बाटो नाप्दै छु ।
र अन्तमा–
पाठकवृन्द, दानबहादुर मेरो विगतको स्मृतिलाई ताजा गर्ने माध्यम मात्र नभएर नेपाली समाजको जीवन्त चरित्र हो, जसले वर्तमान समाजव्यवस्थाका शिकार भएका थुप्रै यस्ता व्यक्ति र चरित्रहरुको प्रतिनिधित्व गर्दछ । जसरी उसको बैंस आफू जस्तै हजारौं सुकुम्बासीका बस्ती उजाड्ने ‘माथिका’हरुको हुकुम तामेल गर्दैमा बित्यो र हाल त्यस लतमा जीवन गुजारिरहेछ त्यसरी नै मेरो बैंसका केही महत्वपूर्ण वर्षहरु उसले उजाड्ने बस्तीहरु मध्येको एउटा बस्तीमा बितेकाले र करिब उसकै हालत (माथि वर्णित हुलियाले सङ्केत गरेको) मा वर्तमानमा जिउन म पनि बाध्य भइरहेकाले हामीलाई यस स्थितिसम्म पुर्याएको छ । अहिले वास्तवमा ऊ के गर्दै छ र आफ्नो विगत र वर्तमानबारे उसको के धारणा छ, त्यसबारे मौका मिलेमा तपाईंहरुसँगको यस्तै भेटमा बिस्तार गर्ने नै छु ।
पोखरा– ४, कास्की