18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘हो, प्रश्नै प्रश्नको घेरामा छ नेपाली साहित्य !’

कृति/समीक्षा रमेश प्रभात September 28, 2024, 11:06 am
रमेश प्रभात
रमेश प्रभात

(आज प्रश्न केमा छैन ? हो, प्रश्न जताततै छ । समाजमा प्रश्न छ, साहित्यमा प्रश्न छ, जीवनमा प्रश्न छ । नेपाली वाङ्मय त प्रश्नको चौघेरमा उभिएको छ । यही प्रश्नमय समयलाई आधार बनाएर यो आलेख लेखिएको हो । यसलाई निसमालोचना भनिएको छ । किनकि यसमा समाजको समालोचना छ, साहित्यका कविता, निबन्ध र वार्ताको समालोचना छ । अनि यहाँ शैली निबन्धको अपनाइएको छ । यसर्थ यो निसमालोचना नै हो भन्ने जिकिर गरिएको हो ।)

के प्रश्न गर्नु ज्ञानको मार्ग खोल्नु हो ?


“के हो ठूलो जगतमा ? पसिना विवेक,
उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक ।”
– महाकवि लक्ष्मीप्रसाद देवकोटा

महाकवि देवकोटाले भनेजस्तो ठूलो सपना बोकिनँ मैले । विगत तीन दशकदेखि नै एउटा शिक्षकका रूपमा कार्यरत व्यक्ति हँु म । करिब दुई दशकभन्दा बढी त उच्च शिक्षामा नेपाली भाषा साहित्य पढाउन थालेको नै भइसक्यो, त्योभन्दा अगाडिको कुरा नगरौँ । आजका मितिसम्म नेपालमा शिक्षकको काम विद्यार्थीलाई प्रश्न सोध्नु र विद्यार्थीले सोधेका प्रश्नको उत्तर दिनुभन्दा बेसी केही हुन सकेको छैन । म र मजस्ता केही फरक विचार राख्नेले चाहँदैमा यो परिपाटी फेरिनेवाला छैन । त्यसका लागि त शिक्षा नीनि नै बदलिनुपर्छ । समयमा तोकिएको पाठ्यक्रम पूरा गर्न नसकेमा विभिन्न पक्षको कोपभाजन हुनु त छँदै छ ।

हुन त, जुन विद्यार्थीले प्रश्न गर्न सक्छ, उसले एक न एक दिन अवश्य उत्तर भेट्टाउँछ वा उत्तरको खोजीमा आफूलाई तत्काल प्रवृत्त गराउन सक्छ । यसो भयो भने उसको ज्ञानको मार्ग त पक्कै खुल्छ नि हैन र ? त्यसैले त प्रश्न गर्नु भनेको आफूलाई बदल्नु हो । त्यही भएर बुद्धले साँढे करिब सत्ताइस सय वर्ष अघि नै प्रश्न गर्न भएका हुन् । तर हामी नेपालीहरू न गुरुका अगाडि प्रश्न गर्न सक्छौँ, न मान्यजन वा हाकिमका अगाडि । भित्रभित्रै पिल्सिएर बस्छौँ बरु । यसरी पिल्सिएर बस्दा हामी कुवाको भ्यागुताभन्दा बढी केही बन्न सक्दैनौँ ।

पूर्वीय वाङ्मयमा प्रश्नको प्रभाव कस्तो छ ?


पूर्वीय वाङ्मय प्रश्न गरेका कारण जन्मेको हो । सायद प्रश्न नगरेका भए गार्गी र मैत्रेयी गार्गी र मैत्रेयी हुने थिएनन् कि ? आफ्नो प्रश्नको चित्तबुझ्दो जवाफ नपाएका भए सायद अर्जुनले महाभारतको युद्ध लड्ने थिएनन् कि ? प्रश्न गर्न नसकेको भए सायद सुकदेव ऋषि नै बन्दैनथे कि ? त्यसो त पूर्वीय वाङ्मयको पुराण र उपनिषद् हेर्दा प्रश्नोत्तरको छनक धेरै पाइन्छ । यसर्थ पूर्वीय वाङ्मयको निर्मिति भनेकै प्रश्न हो भन्ने ठान्छु म ।

पौराणिक कालदेखि आजका दिनसम्म जसले प्रश्न गरे पनि उत्तरको खोजी त गरेकै हुन्छ । त्यही उत्तर खोजी नै समाज विकासको कोसेढुङ्गो बनेको छ । प्रश्नले संस्कृति बनायो, प्रश्नले साहित्य बनायो र ज्ञानमीमांसा पनि त प्रश्नले नै जन्माउने हो । प्रश्न नगरिएको भए हामी अझै अज्ञानको खाडलमै पो हुन्थ्यौँ कि ?

नेपाली साहित्यमा कहिलेदेखि प्रश्नको आरम्भ भयो होला ?


मेरो मनमा यतिबेला एउटा प्रश्न गहिरिएर बसेको छ, “साँच्चै, नेपाली साहित्यमा कहिलेदेखि प्रश्नको आरम्भ भयो होला ?” यसको जवाफ भेटेको छैन मैले । भानुभक्त आचार्यभन्दा पहिले नेपालमा कति साहित्यकार थिए ? त्यसको अनुसन्धान चलिरहेकै छ । भानुभक्तको ‘प्रश्नोत्तर’को स्थान भने मेरो मन मस्तिष्कमा अमिट छाप बनेर रहेको छ ।

मसँग संस्कृत साहित्यको ज्ञान त्यति छैन, त्यही भएर म त्यताति जान्नँ । भनिन्छ नि नजाने गाउँको बाटो नसोध्नू । मैले भानुभक्त आचार्य, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमालका कवितामा उठाइएका प्रश्नहरू पढ्दै आएको छु र म पनि प्रश्न उठाउन चाहन्छु । तर, मसँग त्यति गहिरो प्रश्न गर्ने क्षमता आजका मितिसम्म बनेकै छैन । आजका कविहरू आफ्ना कवितामा प्रशस्तै प्रश्नहरू उठाइरहेका छन् । अझ छोटा कवितामा त झन् प्रश्न नै उठाएर टुङ्ग्याउने गरिएको पाइन्छ ।

वार्ता, अन्तर्वार्ता र निवार्तामा के भिन्नता छ ?


म यो आलेखमा भए जति सबै ज्ञानको थुप्रो लगाउने पक्षमा छैन, तैपनि केही कुराचाहिँ राख्न आवश्यक भएकाले कुराको उठान मात्र गरेको हुँ । म बुझ्ने भएदेखि पढ्नमा रुचि राख्न थालेको हुँ । त्यसरी पढिने सामग्रीमा अन्तवार्ता पनि एउटा हो । खासमा अन्तर्वार्ता लिँदा प्रश्नकर्ता र उत्तरदाता आमने सामने भएर लिनुपर्छ भन्ने मान्यता हो मेरो । यो मान्यता मेरो मात्र होइन, अन्तर्वार्ताको सामान्य सिद्धान्त पनि हो । एक ठाउँमा नबसी त कसरी उसका कुरा खोतल्न सकिन्छ र ?

हो, पहिले पहिले अझ भनौँ पञ्चायत कालमा, जतिबेला टेलिफोनको सुबिधा थिएन, यातायातको पनि भरपर्दो सुबिधा थिएन, त्यतिबेला राजधानीबाट टाढा रहेका विशिष्ट व्यक्तिको विचार गोरखापत्रमा छाप्नु प¥यो भने पत्रकारले हुलाकमार्फत् प्रश्न पठाउँथे र उसले दिएको जवाफलाई सम्पादन गरी छाप्थे । त्यस्ता अन्तर्वार्ता यान्त्रिक खालका हुन्थे । अति आवश्यक अवस्थामा मात्र त्यस्ता अन्तर्वार्ता लिइन्थे, नत्र त वार्ताकार र उत्तरदाता सँगसँगै बसेर मात्र अन्तर्वाता लिने प्रचलन पहिला पनि थियो र अहिले पनि छ । यसरी आमने सामने नबसी गरिएको प्रश्नोत्तरलाई अन्तवार्ता भन्न त मिलेन, वार्ता भन्दा उपयुक्त होला कि ?

पाठकवृन्द, मैले भनिसकेँ, प्रश्नकर्ता र उत्तरदाता आमने सामने बसेर कुनै खास विषयमा गरिएको कुराकानी अन्तर्वार्ता हो । यस्तो प्रचलन राजनीतिमा बेसी भए पनि हिजोआज साहित्यमा पनि निकै गरिन थालेको छ । यसरी आमने सामने बसेर कुराकानी गर्दा प्रश्नकर्ताले उत्तरदातासँग दोहोरो प्रश्न सोध्न पाउँछ । उत्तरदाताले लुकाउन खोजेको कुरालाई पनि कोट्याई कोट्याई सोध्न पाउँछ । यसरी आएको उत्तर पढ्दा पाठकलाई पनि मज्जा आउँछ । यति कुराचाहिँ वार्ताकार हुँ भन्नेले बुझ्नैपर्छ भन्ने आग्रह हो मेरो ।

साहित्यका हकमा सोधिएका प्रश्न र तिनको उत्तर सपाट रूपमा प्रस्तुत नगरी त्यसलाई मिलाएर अनुच्छेदको ढाँचामा लेख्ने प्रचलन उत्तम कुँवरका पालादेखि नै चलेको हो । अहिले त्यो मार्गमा हरि अधिकारी हिँडिरहेका छन् । यसरी आवश्यक सम्पादनसहित निबन्धात्मक ढाँचामा प्रस्तुत गरिने अन्तर्वार्ता निवार्ता हो । यसका पाठक पनि धेरै हुन्छन् र पढेपछि आनन्द पनि आउँछ । हो, योचाहिँ वास्तवमै साहित्यको एउटा भेद हो । बाँकी त साहित्य हुन बाँकी नै छ, होइन र ? प्रश्नहरू त अझै बाँकी नै छन् ।

यति लामो भूमिका बाँधी सकेपछि म उदय अधिकारीका प्रश्न र अभि सुवेदी, सरुभक्त, नारायण ढकाल, श्यामल, श्रवण मुकारुङ र मनु मञ्जिलजस्ता पाकादेखि युवापुस्ता सम्मका छजना स्वनामधन्य नेपाली साहित्यकारका उत्तर समेटेर तयार पारिएको ‘प्रश्न’ नामक कृतिको कुरा गर्दै छु । हो, लेखक उदय अधिकारी भनेर नेपाली बजारमा बिकिरहेको उक्त कृति ‘प्रश्न’का बारेमा केही प्रश्न उठाउन चाहन्छु । उक्त कृतिमा आख्यानकार नारायण ढकालसँग गरिएको एउटा संवाद हेरौँ ः

उदय अधिकारी: तपाईंका दुबै उपन्यासहरू ‘पीतसंवाद’ र ‘दुर्भिक्ष’ लाई पाठकले स्वागत गरे, दुर्भिक्षमा नारी पात्रको प्रस्तुतिलाई लिएर केही विवाद पनि भयो । यसलाई तपाईंले कसरी लिनुभएको छ ?
नारायण ढकाल: दुर्भिक्षको मुख्य पात्र सुप्रिया हो । त्यो पात्रप्रति मेरो धेरै अनुराग छ, अहिले पनि । तर त्यस कृतिमा प्रयोग भएका केही संवादहरूलाई लिएर केही नारीवादीहरूले विमति जनाएका छन् । राधाकृष्ण नाम गरेको खलनायकले एउटी वेट्रेसलाई ‘भालु’, ‘रन्डी’ आदि शब्द प्रयोग ग¥यो । त्यो खलनायक बिग्रेको बामआन्दोलनको विकृत चरित्र हो । उपन्याससमा उसको मैले धेरै आलोचना गरेको छु । उसले बोलेका त्यस्ता शब्दमा मलाई कुनै आनन्दको अनुभूति छैन । समाजको चित्रण, पात्रको चित्रणमा जीवन्तता दिन नै ती लेखिए । लेखनधर्मको त्यो अपरिहार्य विषयलाई नबुझी विवाद गरियो । यस्तो विवाद स्थायी हुन्छ भन्ने मलाई लाग्दैन ।

उदय अधिकारी: साठीको दशक लागेपछि साहित्यकार नारायण ढकालले राजनीतिक नारायण ढकाललाई पाखा लगाइदिएकोजस्तो लाग्यो नि ?
(अधिकारी, २०७८: ४५)

माथि लिएको उद्धरणलाई हेर्दा पहिलो प्रश्नले मागेको उत्तर पूरा नहुँदै अर्को प्रश्न आएको छ, त्यो पनि साहित्यबाट निकै पर हटेर राजनीतितर्फ लागेर । पाठकवृन्द, अन्तर्वार्तामा यस्तो कसरी हुन्छ ? तपाईंलाई थाहा छ भने भन्नुस्, नभए म आफैँ बताइदिन्छु । जब वार्ताकार वार्ताका समयमा समीपमा नबसी तयार पारेको लिखित प्रश्न पठाउँछ र त्यसको लिखित जवाफको अपेक्षा गर्छ नि, हो, त्यतिबेला यस्तो यान्त्रिक खालको अन्तर्वार्ता बन्छ । यसमा सचेत हुनैपर्छ नि हैन र ?

त्यसो त उदय अधिकारी राम्रा पाठक हुन्, उनी आफू मात्र पढ्दैनन्, अरुलाई पनि नपढी धरै दिँदैनन् । यो उनको राम्रो पक्ष हो । एउटा राम्रो पाठक राम्रो लेखक हुन सक्छ कि सक्दैन ? यो प्रश्नको उत्तर छैन मसँग । उनी अन्तर्वार्ता लिँदा प्रायः प्रश्न लेखेर पठाउँछन्, त्यसरी पठाएको प्रश्नको लिखित उत्तर बटुलेर छपाउँछन् । हो, त्यो तरिकामाथि प्रश्न हो मेरो । यो सूचना र प्रविधिको जमानामा त्यसरी पनि कहीँ अन्तर्वार्ता लिइन्छ ? सके प्रत्यक्ष भेटेर, नभए फोनबाट पनि त रेकर्ड गरेर अन्तर्वार्ता लिन सकिन्छ । त्यसरी लिएको अन्तर्वार्तालाई टाइप गर्ने, सम्पादन गर्ने र बल्ल पाठकसम्म पुर्याउने हो । वार्ताकारले थोरै मेहनत गर्नु पर्दैन र भन्या ?

वार्ताकै विषयलाई लिएर कुरा गर्नुपर्दा संवादसारथी हरि अधिकारीद्वारा ‘संवादमा समयबिम्ब’ शीर्षकको संवाद–सञ्चयन पुस्तकमा अभि सुवेदीसँग गरिएको संवार्ताको एउटा नमुना हेरौँ:

तपाईं कविता, नाटक, निबन्ध, समालोचनाजस्ता साहित्यका भिन्नभिन्न विधाहरूमा समान सहजताका साथ स्तरीय साहित्य सिर्जना गर्न सक्षम सिद्धहस्त स्रष्टा हुनुहुन्छ । माथि उल्लेख भएका चार विधामध्ये तपाईंको हृदयको सबैभन्दा नजिकको विधा चाहिँ कुन हो ?
मैले अनेकौँ विधामा रचना गरिआएको छु । मलाई लाग्छ, म कविता लेख्ने मानिस हुँ । कवि हुँ । तर मैले काव्यमात्र साधना गरेर लेखिनँ । मेरा कविताका सङ्कलन धेरै छैनन् । अङ्ग्रेजी र नेपालीमा गरी केही छन् । जे लेखे पनि कविता लेखेजस्तो लाग्छ । निबन्ध र नाटकमा कविता लेखेँ जस्तो लाग्छ । समालोचनाका सङ्ग्रहहरू हेर्छु । तिनमा काव्य विषयकै धेरै समालोचना रहेछ । पछिल्लो समयमा नाटक लेख्न थालेपछि मैले थाहा पाएँ– मलाई कविता लेख्ने ठाउँ मिल्यो त्यस विधामा । मेरा नाटकहरूमा संवाद नै काव्यिक हुने रहेछन् । यहाँ उदाहरण लिने ठाउँ भएन । ‘आरुका फूलका सपना’ त काव्य नाटक नै हो । ‘चेसिङ ड्रिम्स’ नाटकीय शैलीको खण्डकाव्य नै हो अङ्ग्रेजीमा । मञ्चित पनि भयो यो । अरु धेरैवटा मञ्चित नाटकका उदाहरण लिएर हेर्दा लाग्छ, मैले कविता लेख्ने अवसर समातेको रहेछु, नाटकमा । गरेछु किन भन्दै छु भने मैले त्यो कुरा पछि थाहा पाएँ । नाटक निर्देशकहरूसँग काम गर्दा थाहा पाएँ । विद्यार्थीले शोधपत्र लेख्दा थाहा पाएँ ।

तपाईंको सबैभन्दा प्रिय विधा कविता हो भने आधुनिक नेपाली कविताको मूलधारमा तपाई आफूलाई कहाँनेर पाउनुहुन्छ ? तपाईका कविताहरूले नेपाली कविताको फलकमा तपाईलाई एक अलग्गै, विशिष्ट काव्यिक हस्ताक्षरका रूपमा पहिचान दिलाउन सक्दछन् जस्तो लाग्छ ?
(अधिकारी, २०८१: ६३–६४)

माथिको संवादलाई हेर्दा पहिलो प्रश्नको उत्तरको जगमा टेकेर अर्को प्रश्न गरिएको छ । जब उत्तरदाताले आफूलाई व्यक्त गर्दै जान्छ, हो, त्यहीँ समातेर प्रश्नकर्ताले अर्को प्रश्न गर्ने हो भने त्यहाँनेर कृत्रिमताको छनक आउँदैन । म यही उदाहरण दिँदै उदय अधिकारीलाई अबको वार्तामा यो विधि अपनाउने सल्लाह दिन्छु । मान्ने नमान्ने त उनको कुरा !

कवितामा प्रश्नको औचित्य कति हुन्छ ?

“आमा त्यो आउँछ र ?”
“हो बा त्यो आउँछ
.............
त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ ।”
– गोपालप्रसाद रिमाल

पाठकवृन्द, तपाईंलाई कस्तो लाग्छ ? मलाई त नेपाली कवितामा सबैभन्दा सशक्त प्रश्न कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कवितामा गरिएको प्रश्न लाग्छ । त्यसमा प्रश्न मात्र होइन, उत्तर पनि निकै सशक्त छ भन्ने ठहर हो मेरो, तर त्यो उत्तर केवल कविको कल्पनामा मात्र सीमित भएर पो हामी नेपाली हैरानमा प¥यौँ त । कविले चाहेजस्तो ‘त्यो’ अर्थात् क्रान्ति अझसम्म आएन । त्यसले गर्दा यो समाज झन् झन् दलदलमा फस्यो । हामी केवल प्रश्नमै रुमल्लिरह्यौँ । उत्तर भेट्टाउन सकेनौँ र नेपाली समाजको यो हबिगत भयो ।

नेपाली कविताले यतिबेला जानेको सबैभन्दा प्रमुख कुरा प्रश्न गर्नु हो । त्यो पहिचानका मुद्दामा बढी केन्द्रित छ । यही सिलसिलामा जोडिएर कवि सरिता तिवारी ‘प्रश्नहरूको कारखाना’ नै लिएर आउँछिन् । साँच्चै, उनको मगजमा कति प्रश्न अटेका छन् हँ ? उनी आफ्नो उक्त कविताकृतिमा चारवटा खण्डमध्ये एउटा खण्डको नाम ‘के तिमीले मलाई आविष्कार गर्यौ ?’ राखेर तथा एकतीसवटा कवितामध्ये दुईवटा कविताको शीर्षक ‘के तिमीले मलाई आविष्कार गर्यौ ?’ र ‘दुख्वा ! तोर नाउँ कथि हलही ?’ जस्ता प्रश्नात्मक खालका राख्छिन् अनि प्रश्नको पक्षमा उभिन्छिन् । यसले उनको प्रश्न गर्ने शैलीको चर्चा मात्र गर्दैन, उनको पक्षधरता पनि देखाउँछ । उनी मूलतः पितृसत्ताले नारीमाथि थोपरेका यावत् शोषण, दमन र यन्त्रणाका विरुद्ध प्रश्न गर्छिन् । यो नै कवि सरिता तिवारीको कविताको मूल स्वर हो ।

उनी ‘के तिमीले मलाई आविष्कार गर्यौ ?’ कवितामा नारीलाई सधैँ आफ्नो लगाममा राख्न चाहने र उसको निर्माण आफूले गरेको ठान्ने समाजका ठेकेदारहरूका विरुद्ध यस्तो हुँकार गर्छिन्ः

ए, यो हावा कसको हो ?
यो माटो र पानी कसको हो ?
कसका हुन् इतिहास, धर्म र कला ?
कसका हुन् विचार, शब्द र लय ?
को हो सृष्टिको उत्तराधिकारी ?
को हुँ म ?
केवल तिमीले प्रदर्शनीमा राखेको
निर्जीव, निर्विवेक, निष्पृह पुतली ?
(तिवारी, २०७२ः ३१)

समाजका ठेकेदारप्रति प्रश्न गरेर मात्र उनी रोकिन्नन् । उनी नारीमाथि गरिने यावत् अत्याचारको खुलेर विरोध गर्दै नारीको भाग्य लेख्ने विधातासँग ‘कालान्तर निद्रापछि’ कवितामा यस्तो प्रश्न गर्दै हुँकारसमेत गर्छिन्ः

कुन तरबारले चिरिरहेछ मेरा गालाको सौन्दर्य
कुन बन्दुकले दागिरहेछ मेरो विवेकको सत्तामाथि
लेख्तै छ कहाँबाट कुन हातले मेरो भाग्यको किताब ?
(तिवारी, २०७२ः ८३)

हो, कविता कालजयी विधा हो । यसले प्रश्न गर्नुपर्छ, आज र भोलिका लागि पनि । यो समाजमा कविताका माध्यमबाट अझ धेरै प्रश्न गर्नु आवश्यक छ । पहिचानका सवालमा, आजीविकाका सवालमा, शोषण र दमनका विरुद्धमा यी र यस्तै प्रश्नहरू अझ धेरै आऊन् भन्ने चाहना हो मेरो । कुरा यत्ति हो कि ती प्रश्नहरूले हामीलाई चिरा चिरामा विभाजन भने नगरून् ।

निबन्धमा उठाउन सकिने प्रश्न के हो ?


खासमा निबन्ध स्वतन्त्र विधा हो । यसमा लेखकले आफ्ना विचारलाई निर्धक्क राख्न पाउँछ । आफ्ना कुरा राख्दा मनग्गे खेल्न पाउँछ । प्रश्नहरू तेस्र्याउन पाउँछ । मन लागेको उत्तर पनि दिन पाउँछ । त्यसैले निबन्ध सबैभन्दा लोकतान्त्रिक विधा हो । यसमा कविताको काव्यात्मकता, आख्यानको वर्णनात्मकता र नाटकको संवादात्मकतालाई सजिलै अबलम्बन गर्न सकिन्छ । यति गर्दा सम्म पनि निबन्ध निबन्ध नै रहन्छ । तर विधा मिश्रण र विधा भञ्जनको स्थितिमा पुगेपछि भने निबन्ध निबन्ध नभएर अरु नै केही बन्छ भन्ने निष्कर्ष छ मेरो ।

पाठकवृन्द, तपाई कत्तिको निबन्ध पढ्नुहुन्छ ? यतिबेला नेपाली निबन्धका क्षेत्रमा ललित निबन्धको खडेरी परेको छ भन्ने ठहर छ मेरो । हिजोआज नेपाली निबन्धले समालोचनाको समेत काम गर्न थालेको छ । केही युवा समालोचकहरू निसमालोचना भनेर खुलेरै आएका छन् । तिनलाई स्वीकार गर्नुको विकल्प छैन, तर निबन्ध भनेर लेख्ने अनि त्यसमा साहित्यिक कृतिको चर्चा परिचर्चा गर्ने निबन्धकारलाई चाहिँ के भन्ने ? यो खुल्ला बहसको विषय बनेको छ । त्यो भीडबाट विल्कुल अलग मोमिला भने पहिलो निबन्धकृति ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ छापिएको सत्र वर्षपछि ‘प्रश्नहरू त अझै बाँकी नै रहन्छन्’ (२०८०) लिएर झुल्किन्छिन् । उनी यसमा पाठकका मनमा प्रश्नको पेटारो नै थमाउँछिन् ।

पाठकवृन्द, तपाईलाई मोमिला कस्तो निबन्धकार हुन् ? भन्ने लाग्छ । म त उनी मृत्यचिन्तन गरेर जीवन खोज्ने लेखक हुन् भन्ने ठान्छु । उनी ‘मृत्यु सौन्दर्य’ शीर्षकको निबन्धमा मृत्युका बारेमा प्रश्न मात्र गर्दिनन्, साथमा नजानिँदो उत्तर पनि दिन्छिन् । हेरौँ निबन्धांशः

आखिर वरण नगरी सुख नपाइने मृत्युको शालीन सौन्यर्य पनि मान्छे चेतनाले नै ग्रहण गर्न किन सक्दैन ? (मोमिला, २०८०ः ५७)

मृत्युकै सन्दर्भ बुझाउने उनको अर्को निबन्ध छ, ‘ईश्वरको अदालतबाट निर्वासित आउटसाइडर’ । यसमा स्वर्गको कुरा गर्दै त्यसको भव्यतामा पनि केही कमी भएको कुरा गर्दै पाठकका मनमा यसरी प्रश्नको तीर सोझ्याएको छ ः

फेरि पनि उल्लासित मेरो मनले स्वर्गको भव्य र शालीन सौन्दर्यभित्र पनि कुन्नि अझ कस्तो खुुसी र आनन्द खोजिरहेछु !...!!! (मोमिला, २०८०ः १०५)

खासमा मोमिला नारीवादी चिन्तन बोकेर हिँड्ने र त्यसको सदा सर्वदा वकालत गरिहिँड्ने लेखक हुन् । उनी पितृसत्ताले नारीमाथि गरेका दमनको ‘नायक भूमिकामा उनी’ शीर्षकको निबन्धमा यसरी प्रश्नात्मक हुँकार गर्छिन्ः

ढुङ्गाको मूर्तिलाई पूजा गरेर महिमामण्डन गर्ने यो समाज साकार महिलालाई ज्ञाननिर्माता भएको देख्नुमा चरम हीनताबोधले ग्रसित हुन पुग्दछ । यसमा ऊ आफ्नो पौरुष हारेको ठान्छ । स्वास्नीमान्छेलाई वेश्या बनाएर भोग्न एक सेकेन्ड नहिचकिचाउने तर विदुषी भएर ससम्मान फूलमालाले सजिएको पनि सहन नसक्ने शासक सोचले ग्रस्त छ, समाजको मूल धार । (मोमिला, २०८०ः ४८)

नारीले स्वतन्त्र नारी भएर बाँचेकोमा ईष्र्या गर्नेहरूसँग उनी जुध्न चाहन्छिन् । उनी त्यही कुरा उनको ‘कोष्ठकभित्रका पीडाहरू र फुटनोट्स’मा यसरी व्यक्त गर्छिन्ः

ओ मेरा ईश्वर ! आज म स्वयम् मेरो जीवनको नियति बदल्न चाहन्छु ! ... !! ... कसैलाई आपत्ति छ ? ...!!! (मोमिला, २०८०ः १५०)

हो, यो समाज पितृसत्ताको चौघेरोमा बन्धित छ, यसको मुख्य दोष पुरुष जाति नभएर समाजमा व्याप्त पितृसत्तात्मक सोंच हो । यस्तो सोंच नारीहरूमा पनि पाइन्छ । त्यस्ता नारीहरूका कुत्सित विचारलाई पखाल्न पनि केही गर्नु पर्ने हो कि मोमिलाजी ? यसबारेमा चाहिँ तपाई किन मौन ? यसबारेमा तपाईका निबन्धमा हामी नारीको उत्थान देख्न चाहने, नारीवादी सोंच राख्ने पुरुषहरूले कहिले पढ्न पाउने ? प्रश्नहरू अझै जीवितै छन् त !

के नेपाली वाङ्मय प्रश्नको चौघेरामा फसेको हो त ?


नेपाली भाषामा हिजोआज ‘वाङ्मय’ शब्द विशेष गरी साहित्यसँग जोडिएर आउन थालेको भान हुन्छ । तर, ‘नेपाली बृहत् शब्दकोश’ले यसको एउटा अर्थ ‘शब्दहरूले युक्त, वाणीसित सम्बन्धित’ भनेर लगाएको छ । त्यसो हुँदा वाङ्मयले समग्र भाषिक क्षेत्रलाई बुझाउँछ । यसभित्र भाषा, साहित्य, समाजविज्ञान, राजनीतिशास्त्र आदि पनि अटाउन सक्छ । आजको समाज जताततै प्रश्नै प्रश्नले घेरिएको हुँदा आजको नेपाली वाङ्मय प्रश्नमय छ भन्न मिल्छ ।

सबैभन्दा बढी त यतिबेला नेपाली राजनीति प्रश्नै प्रश्नले घेरिएको देखिन्छ, प्रश्नले नघेरिएको नेता र पार्टी नै छैन । त्यस्तै समाजका अन्य क्षेत्रमा पनि प्रश्नै प्रश्नहरू तेर्सिएका छन् । तिनको उत्तर कसले दिने ? हुँदा हुँदा साहित्यमा समेत प्रश्नको ओइरो लाग्न थालेको छ । त्यतिसम्म त ठिकै थियो होला, कतिपय कार्यक्रममा प्रश्न गर्नेहरू उत्तरको प्रतीक्षा समेत गर्दैनन् । केबल प्रश्न तेस्र्याउँछन् अनि टाप कस्छन् । यसरी त समाज कसरी अगाडि बढ्ला र खै ?

यो आलेखलाई टुङ्ग्याउनुअघि एटा कुराचाहिँ भन्छु म, समयलाई राम्ररी बुझेका वार्ताकार उदय अधिकारी यतिबेलाको समयलाई परिभाषित गर्दै अर्को अस्त्र फ्याँक्छन् ‘प्रश्नको घेरामा समय’ । त्यसो त हामीले जानेको प्रश्न गर्न हो, त्यही गरिरहेका छौँ । प्रश्न नगरे त उत्तर कहाँबाट पाउन सकिन्छ र ? हैन त पाठकवृन्द ? तपाईं पनि आजकै मितिबाट प्रश्न गर्न थाल्नुस् है । त्यो लेखक, समीक्षक र तपाई पाठकतर्फ नै लक्षित भए पनि के फरक पर्छ र ?

सान्दर्भिका:
अधिकारी, उदय (२०७८), प्रश्न, काठमाडौँ: शिखा बुक्स ।
अधिकारी, हरि (२०८१), संवादमा समयबिम्ब, काठमाडौँ: शिखा बुक्स ।
तिवारी, सरिता (२०७२), प्रश्नहरूको कारखाना, काठमाडौँ: साङ्ग्रिला पुस्तक प्रा.लि. ।
मोमिला (२०८०), प्रश्नहरू त अझै बाँकी नै रहन्छन्, काठमाडौँ: पेज टर्नर प्रा.लि. ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।