18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युद्ध : अन्तरमनसँग

कविता लक्ष्मण देवकोटा September 28, 2024, 10:47 am
लक्ष्मण देवकोटा
लक्ष्मण देवकोटा

घनघोर युद्ध
आफ्नै अन्तरमनसँग चलिरहेको छ
तृष्णाहरुसंग चलिरहेको छ

इर्ष्या, आवेग र कुण्ठाको
आहालबाट उठिसकें म
आफ्नै आत्मासँग
हुरी बतास चलिरहेको छ

जिन्दगी
उदाएर
एक बिहान एकमुठी उज्यालोसंग
अस्ताउँछ
ढल्कँदै मधुरा घामका किरणहरुसंग
घुम्टेमा फूल लिएर उभिइरहेको थिएँ
तिमी आइनौ

पर्खिरहें घाम डाँडापारी पुग्दासम्म
अँध्यारोको गर्तमा सूर्य भासिएझैं
भासिनुपर्ने म
अर्को उज्यालो बिहानको पर्खाइमा धुनी जगाइरहें म
घृणा जागेन ममा
प्रतिशोध जागेन ममा
आफैलाई जित्न नसकेको म
किन आलाप गरूँ तिमीसंग ?

तिमीसँग मात्र होइन
कसैसँग पनि गुनासो छैन मेरो
तिमीसंग मात्र होइन
कसैसंग अपेक्षा पनि छैन मेरो

एक निमेष जिन्दगीमा
स्वयममाथि विजय प्राप्त गर्ने
महान युद्धमा छु
इन्द्रिय, आत्मा र विवेकको
सगरमाथामा ध्वजा फहराउने संग्राममा छु

धर्ती काँपोस भूकम्पले
या पहाड गिरोस नदीका वेगहरुले
म वाचाल छु
भित्र अझभित्र
आफू आफैभित्र
युद्ध गरिरहेछु
अवस्यम्भावी मृत्युसंग डराएर
म कुनै डाक्टरकोमा जीवनको भीख किन मागूँ ?
महाज्ञानको गहिराइमा
जीवन र मृत्युको एक थोप्लो अन्तर छिचोल्दै
ज्ञान विज्ञानको
समुद्री पीँध छुन चाहन्छु म

तिमीसंग हारिरहन
र आफैसँग
जितिरहन चाहन्छु म

घनघोर युद्ध
आफ्नै अन्तरमनसँग चलिरहेको छ
तृष्णाहरुसंग चलिरहेको छ

- पाल्पा, हाल: स्विजरल्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।