सहर बसाइँ सर्नेको लर्को देखेपछि
गाउँमा फुल्ने फूलपनि सहर छिरेको छ
गाउँका पाखामा लर्कने फूल
अब सहरमै चम्किन थालेको छ
भाटाका टाटी र भैँसीका गोबरको बन्धनलाई तोडेर
सुठो र पिनामा रमाउँदै छत र वार्दली चढेको छ
बारीका कान्लामा ढकमक्क भएर लर्किने फूल
गाउँका पिँडी र आँगनका कुना त्यागेर
बजारका गमलामा सजिन थालेको छ ।।
पूर्व पुस्ताले पितृ कार्यमा अछुत मानेको त्यही फूल
आफ्नो अस्तित्व र गरिमा खोज्दै
चिताको लासमा पनि मालाको खात भएर
हतार हतार समाधीभित्रै पुग्दैछ,
बा पुस्ताले ‘कुजात’ भनिएका उनै फूलहरु
मालाको हार बनेर पुराण र मन्दिरमा पुजिँदैछन्
खोल्सा, पाखा र भित्ताहरुमा लतारिएका
उन्यू र सीउडीपनि ‘ईन डुवर प्लान्ट’मा रुपान्तरण भएर
बजारका आलिसान महलमा सजिन थालेका छन् ।।
०
फक्रिन नपाई करक्क निमोठिने र चुँडिने चुनौती झेल्दै
कोपिलाहरु सहर भित्रिएरै फक्रिने प्रणमा
शोखले बाँचेकाहरुको मन जित्न
सयौ जातका पातहरु जोडिएर फूल्ने सयपत्रीसँगै
गुलाव, लालुपाते र पारिजातपनि
सिमेन्टेड भित्ता फुटाएरै फूल्न खोज्दैछन् ।।
०
यहाँ बजारले फूलको महत्व बुझेपछि
धतुरो र पलासका फूलहरुपनि विक्न थालेका छन्
यही मौकामा फूलको दलाली गर्ने ठेकेदारहरु
नेतालाई ठूलो मालाको हार उपहार दिएर
विकासको बहार ल्याउने नाममा
निमुखा फूलथुँथाहरुलाई छुरा धस्न आतुर छन् ।
अँ हँ सजिलो छैन फूललाई सहरमा जोगिन
तर, अनेक विकल्प खोजेर संघर्ष गर्दै
बजारका हजारीया हुलसँग जोगिन
गुलाफको बगैचा पनि ‘रोज गार्डेन’ बनेर
सान, मान र दामसँगै नाम फेर्दैछ
०
संघीयताले सिँचेको माटोमा समान अनपातले हुर्किएका
रङ्गी चङ्गी फूलहरु फूल्नुहुन्न भन्नेहरुको भिड बढेको छ
कठिन छ यहाँ जोगिएर फुल्न
ठूलो अभिलासा बोकेका साना कोपिलाहरुलाई,
फूलहरुको चाहना नै स्वतन्त्र भएर स्वरङ्गमा फूल्ने हो
तर यहाँ फूललाई पनि छेपाराको जस्तै रंग फेर्न जरैदेखि दवाव छ
कसैको दवावमै फर्टिलाइज गर्नुछ भमराले पनि
कोपिलामै बलात्कार गर्न उद्दत छन् तिनै काला भमराहरु ।।
०
कलमीका नाममा जति काटेपनि
गोडमेल भन्दै जति बाँधेपनि
घाम–पानीले पालो पालो चुटे पनि
आँधी–बतासले च्याती च्याती लुछे पनि
बजारमा जरा गाडेर जुर्मुराउँदैछ फूल ।
जमानाका जञ्जीरहरू तोडेर क्रमश सप्रिँदैछ
सहरमा छाडा साँढेहरूका आँखा छल्दै हुर्किदैछ
अब फूलमा पनि क्रान्तिविज हुर्किएको छ
फूल्नु छ बजारमै, फैलिनु र फक्रिनु छ सहरमै ।।
दमक, झापा ।