18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दसैँ चर्चा

विचार नारायण मरासिनी September 19, 2024, 2:31 pm
नारायण मरासिनी
नारायण मरासिनी

सांस्कृतिक दृष्टिमा नेपाल समृद्ध मुलुक हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीहरु रहेका छन् । ती सबैका आआफ्नै किसिमका विशिष्ट संस्कार र संस्कृति रहेका छन् । यस अर्थमा नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा चिनिन्छ । संस्कृतिलाई परिभाषित गर्न जटिल छ । नाचगान, चाडपर्व, रीतिरिवाज आदिलाई मात्र संस्कृति भन्न मिल्दैन । संस्कृति व्यापक विषय हो । मानिसले आफू र समाजलाई जीवन्त एवम् गतिशील तुल्याउनका लागि सिर्जना गरेका भौतिक र मानसिक चिजबीजहरु संस्कृति हुन् । संस्कृति श्रमद्वारा सिर्जित हुन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न अवस्थामा सामाजिक सम्बन्धलाई गति दिन र सामाजिक आवश्यकता पूरा तथा सुदृढ गर्नका लागि अपनाइने क्रियाकलापहरु संस्कार हुन् । संस्कार एवम् संस्कृतिको निर्माण मानिस स्वयंले गरेको हो । संस्कार र संस्कृतिका बिचमा केही समानता भेटिए पनि यी अलग अलग विषय हुन् । संस्कृति मानिसले आफ्नो श्रमद्वारा निर्माण गरेको हुन्छ । समाजलाई व्यवस्थित बनाउन तथा मानिसलाई सभ्य, परिष्कृत र विकसित तुल्याउन संस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ । हामीले मनाउँदै आएका चाडपर्वहरु संस्कृतिका अङ्ग हुन् । समाजमा जबसम्म सांस्कृतिक अस्तित्व रहन्छ तबसम्म मानिसका भौतिक आवश्यकता परिपूर्ति गर्ने सम्बन्धमा संस्कृतिको पुनर्निर्माण हुँदै जान्छ । हाम्रा चाडपर्वहरु समग्र मानवीय चिन्तन र व्यवहारमा प्रकट भएका जीवनपद्धति अन्तर्गतका विशिष्ट पक्ष हुन् । यस लेखमा हिन्दुहरुले मान्दै आएको सांस्कृतिक एवं धार्मिक पर्व दसैंका बारेमा केही चर्चा गरिएको छ ।

हाम्रो नेपाली संस्कृतिको निर्माणमा लामो समयदेखि चल्दै आएका विविध किसिमका सामाजिक तथा धार्मिक संस्कारहरुको उल्लेख्य भूमिका रहेको छ । संस्कृतिका अध्येता किरणका अनुसार नेपालमा बसोबास गर्ने विविध जातजातिका आआफ्नै खालका संस्कारहरु छन् । हिन्दु धर्ममा आधारित प्रचलनमा रहेका मुख्य संस्कारहरुमा जातकर्म, नामकरण, उपनयन, विवाह, अन्त्येष्टि आदि रहेका छन् (किरण, २०६५ः १०७) । हिन्दुहरुका पनि जातअनुसार संस्कार र पर्वहरु फरक फरक पाइन्छन् । चाडपर्वहरु संस्कृतिका अभिन्न अङ्गका रूपमा आएका छन् । यी चाडपर्वहरुको उत्पत्ति पनि मानव सभ्यताको विकाससँगै भएको हो । सुरुमा मानिसको सामाजिक आवश्यकताका उपजका रुपमा चाडपर्वहरु आएका थिए । चाडपर्वहरुको आरम्भ हुनुको उद्देश्य कृषिकर्म, पशुपालन आदिलाई प्रश्रय दिने र आराम–विश्राम तथा मनोरञ्जनको आवश्यकता परिपूर्ति गर्ने एवं सामाजिक सम्बन्धलाई दरिलो बनाउने रहेको पाइन्छ । बिस्तारै सामाजिक सम्बन्धका रुपहरु परिवर्तन हुँदै जाँदा समाज वर्गमा विभक्त भयो । सामन्ती व्यवस्थामा आइपुग्दा चाडपर्वहरुलाई सामाजिक आवश्यकता पूर्ति गर्ने साधन वा माध्यमका रुपमा लिन छोडियो । चाडपर्वहरुलाई समाज सँगको सम्बन्धबाट विच्छेद गरी पौराणिक मिथकहरुसँग जोड्न थालियो । क्रमशः चाडपर्वहरुलाई यस लोकबाट परलोकतिर लगियो । कृषकहरुले मनाउँदै आएका चाडपर्वहरुले क्रमशः विकृत र भद्दा स्वरुप ग्रहण गर्न थाले । धर्मले चाडपर्वहरुलाई जेल्न थाल्यो । बिस्तारै चाडपर्वहरु शासकको स्वार्थ र हितमा प्रयोग हुन थाले अर्थात् शासक र शोषक वर्गले चाडपर्वलाई आफ्नो कल्याणका लागि उपयोग गर्दै लान थाल्यो ।

पाषाण युगमा घुमन्ते शैलीमा बाँचेको मानिस कृषि युगमा प्रवेश गरेपछि स्थिर रुपमा बसोबास गर्न थाल्यो । उसलाई एक्लै बस्न कठिन भयो । क्रमशः समाजको आवश्यकता महसुस भयो । मानिस समूहमा सामाजिक रुपमा बस्न थाल्यो । विभिन्न कृषि कर्महरु गर्दै जाँदा मानिसले संस्कार र संस्कृतिको निर्माण गर्दै आयो र यसै क्रममा दसैंको सुरुवात भएको हो । दसैं पौराणिक आख्यानसँग गाँसिन पुगेको छ । भारतीय भूमिमा बसोबास गर्न थालेपछि नै मानिसले दसैं मनाउने कामको सुरुवात थिए । खेतीपाती र पशुपालनमा श्रम गर्दै जाँदा मानिसलाई थकाइ लाग्नु स्वाभाविक हो । श्रम गरेपछि मानिसलाई आराम र मनोरञ्जन आवश्यक पर्नु पनि स्वाभाविक हो । कृषकहरुले कृषि कर्मबाट सफल भएपछि अर्थात् अनाजका बिरुवाहरु टुसाउन थालेपछि खुसी भएर गहुँ, जौ, मकै जस्ता बिरुवाका जमरा शिरमा लगाएर र आफूले फलाएको धानको चामल दहीमा मुछेर निधारमा लगाएर खुसियाली साथै मनोरञ्जन लिने काम दसैंमार्फत भएको हो । यो विशुद्ध कृषकहरुको चाड हो । यो चाड कृषकहरुको श्रम एवम् कृषि कर्मसँग सम्बन्धित छ । यसरी हेर्दा जमरा, चामलको अक्षता, दही आदि पशुपालन एवम् कृषि कर्मको उपज थियो । कृषकहरुको यही संस्कृतिलाई पछि आएर शासक र शोषक वर्गले देवीदेवताका अनेक किंवदन्ती एवम् मिथकहरु जोड्दै पूर्वजन्म, पुनर्जन्म, भाग्यवाद, अवतार जस्ता धार्मिक जालमा जेलिदिएका हुन् । स्वर्गको आस र नरकको त्रासमा पारेर सामन्तहरुले सोझासीधा किसानहरुलाई राजामहाराजाहरु एवम् ठुलाबडाहरुको आशीर्वाद थाप्न बाध्य पार्न थालेका हुन् ।

पुराणमा उल्लेख गरेअनुसार इन्द्र लगायतका देवताहरु र राक्षसहरुका राजा महिषासुर बिचको युद्धमा देवताहरुको हार भएपछि महिषासुरलाई परास्त गर्न देवताहरुले शक्तिसम्पन्न भगवतीको निर्माण गरेर युद्धका लागि अगाडि सारे । उक्त भगवतीमार्फत् महिषासुरको षडयन्त्रपूर्वक हत्या गयिो । यही खुशीयालीमा देवीको नौ दिनसम्म पूजा गर्ने, बलि दिने, टीका लगाउने चलन चलाइएको हो भन्ने एउटा किंवदन्ती छ । त्यस्तै अर्को अयोध्याका राजकुमार रामकी पत्नी सीतालाई लङ्काको राजा रावणले हरेर लगेपछि रामले नौ दिनसम्म दुर्गा भगवतीको पूजाआजा गरी दसौं दिनका दिन टीका लगाएर विजयका लागि प्रस्थान गरेका र रावणमाथि विजय प्राप्त गरेकाले दशैं मनाउने चलन चलेको भन्ने पनि किंवदन्ती छ । यसरी हेर्दा महिषासुरमाथि दुर्गा भगवतीको विजय र रामले रावणलाई अर्थात् एउटा सामन्त सरदारले अर्को सामन्त सरदारलाई जितेको खुसियालीमा यो चाड मनाइएको हो (चापागाइँ, २०६७: १०८) । एउटा सामन्तले अर्को सामन्तमाथि विजय हासिल गरेपछि मनाउन थालेको भनिए पनि प्रामाणिक रुपमा यसको ऐतिहासिक तिथिमिति सुनिश्चित भने पाइँदैन । यसरी कृषक वा जनताको श्रमलाई नै शक्तिशाली मानेर सम्मान गर्दै रमाउने परम्परालाई छोडेर राम जस्ता शासक वा व्यक्तिको पूजामा यो पर्व रुपान्तरित हुनु श्रमजीवी कृषकहरुका लागि दुःखद हो । आफ्ना अन्नदाताहरुलाई नपुजेर राम वा कुनै शासक विशेषलाई पुज्नु भनेको त श्रमजीवी कृषकहरुप्रतिकै अपमान हो ।

कृषि कार्यलाई प्रोत्साहन र त्यसको सफलताबाट खुशीयाली मनाउन दसैंको सुरुवात भएको थियो । श्रम गरेर थाकेको समयमा विश्राम लिन र अन्न उत्पादन भएपछि खुसीयालीस्वरुप मनोरञ्जन लिनका लागि सुरु भएको दसैंलाई हिन्दुहरुको धार्मिक चाडका रुपमा उपयोग गरी शक्तिपूजामा रुपान्तरण गरियो । शक्ति शासकहरुसँग हुने भएकाले शक्तिको पूजा भन्नु नै शासकहरुको भक्ति हुन थाल्यो र यो शासकभक्तिमा रुपान्तरित भयो । अहिले आएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि हिन्दु धर्मको प्रभुत्व यद्यपि उस्तै छ । हाम्रा राष्ट्रपति, प्रधानमन्त्री जस्ता शासकहरु पशुपतिनाथमा पूजा गर्न जान्छन् तर मस्जिद तथा गुम्बामा गएर प्रार्थना, ध्यान गरेको देखिँदैन । शासकहरुले सबै धर्मावलम्बीहरुलाई समान रुपमा व्यवहार गरेका छैनन् । हिन्दु शासकहरुले अन्य धर्मावलम्बीहरुका चाडपर्वमा विभेद गरेका छन् । उदाहरणका रुपमा हिन्दुहरुको पर्व भनेर दसैंमा सरकारी कार्यालयमा जति दिन बिदा दिइन्छ त्यति नै दिन इद, क्रिसमस, ल्होसारमा दिइँदैन ।

महिषासुर अनार्य गणका प्रमुख मानिन्छन् । नेपाल र भारतका कतिपय स्थानका केही जातजातिले महिषासुरको मूर्ति बनाएर पूजा गर्ने चलन पनि रहेको छ । आफूलाई असुर वंशका ठान्ने केही मानिस पश्चिम बङ्गालको जलपाइगुडी जिल्लास्थित अलिपुर क्षेत्रवरपर माझेरडाबरी चिया बगानमा बसोबास गर्दछन् । तिनीहरुका अनुसार महिषासुर स्वर्ग र पृथ्वी लोकमा सबैभन्दा शक्तिशाली थिए । महिषासुर लामो समयसम्म जीवित रहे भने मानिसले देवीदेवतालाई पूजा गर्न छोड्छन् भन्ने त्रास भएकाले नै उनलाई षड्यन्त्रपूर्वक मारिएको थियो (अधिकारी, २०७३ः १६) । देवताहरुले आर्यइतरका धर्महरुलाई मात्र होइन आर्यभन्दा फरक वर्ण, समुदायका मानिसलाई असुर वा राक्षस भन्दै बदनाम गर्दथे ।

पछिल्लो समयमा आउँदा दसैंमा सामन्ती संस्कार मात्रै नभई उपभोक्तावादी, पूँजीवादी संस्कार समेत जोडिन आइपुगेको छ । मानिसले बलि दिने नाममा लाखौं पशुपन्छीको हत्या गरेका छन् । अक्षता वा टीकाका रुपमा लाखौँ किलो अनाज नष्ट पार्ने काम गरेका छन् । टीका थाप्दै हिँड्ने र दानदक्षिणाको लेनदेन गर्ने संस्कारलाई कुनै हालतमा पनि राम्रो मान्न सकिँदैन । नौ दिनसम्म मन्दिरहरुमा लाग्ने भिड, सम्पन्न वर्गले दसैंको अवसर पारेर देखाउने आडम्बर वा दम्भ आदि समाजलाई गति दिने सूचकहरु होइनन् । विपन्न वर्गमा निराशा, धार्मिक आडम्बर, शासकहरुद्वारा गरिने वर्गीय विभेद आदिका कारण दसैँ बोझिलो बन्दै गएको छ । यो पर्व सर्वसाधारण श्रमजीवीहरुका लागि अरुचिकर र अनावश्यक बन्दै गएको छ ।

द्रविड जातिलाई अपमान गर्ने आर्यहरुले दसैँमा आफूभन्दा ज्येष्ठ वा मान्यजनको हातबाट टीका थाप्छन् । राष्ट्रपति वा प्रधानमन्त्रीको हातबाट टीका लगाउनु अर्थात् उनीहरुकोमा टीका लगाउन जानु भनेको आफूलाई दासको हैसियतमा राखेर मालिकको चाकडी गर्न जानु हो । यो मालिकलाई खुशी पार्ने प्रवृत्ति नै हो । हाम्रै देशमा पहिले पहिले पञ्चायतकालमा राजाको हातको टीका थाप्ने चलन थियो । पहिले नारायणहिटी दरबारमा घन्टौंघन्टासम्म लाग्ने भीड अहिले शीतल निवास र बालुवाटारमा सरेको छ । शाही शासकहरुको परम्परालाई अहिले जननिर्वाचित भनिएका हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीले बोकेका छन् । यसरी हेर्दा सामन्ती शासकहरुको भक्ति र शक्तिको पूजालाई दसैंले आजसम्म पनि प्रोत्साहन गरिरहेको छ । चाकडी गर्नु, शासकको स्तुति गर्नु, शक्तिको पूजा गर्नु भनेको मानिसले आफ्नो स्वाभिमान, न्याय र नैतिकतालाई कमजोर पार्नु हो ।

राज्यद्वारा हिन्दूहरुको एक मात्र महान चाड भन्दै यस समयमा कर्मचारीहरुलाई दसैं मनाउन अतिरिक्त भत्ता दिने गरिएको छ । किसान मजदुरहरुका लागि त्यस्तो कुनै प्रकारको भत्ताको व्यवस्था छैन । राज्यले गरेको यो असमान व्यवहारका कारण वर्गीय विभेद अझ डरलाग्दो बन्न पुगेको छ । खाने चामललाई अक्षता बनाएर मन्दिर, शक्तिपीठ र निधारमा प्रयोग गरिएको छ । यो भनेको अनाजको दुरुपयोग हो । अक्षताका रुपमा प्रयोग गरिएको चामल खान मिल्दैन । दसैंमा कयौं क्वीन्टल चामल अक्षताको रुपमा प्रयोग भएको हुन्छ । मन्दिर, नदी वा धार्मिक पिठहरुमा चढाइने/छरिने चामल/अक्षताका कारण वातावरण पनि फोहोर तथा दुर्गन्धित बन्न पुग्छ । यो सरासर अनाजको दुरुपयोग हो । टीकालाई आडम्बरपूर्ण नभई सरल तरिकाले पनि लगाउन सकिन्छ । चामलकै अक्षताको सट्टामा निधारमा रातो अबिरको उपयोग गर्न पनि सकिन्छ । दसैँका सन्दर्भमा रचनात्मक क्रियाकलापलाई अगाडि बढाउन नसक्नु राज्यको मात्र नभएर हाम्रो पनि विडम्बना हो । शासकहरुको स्वार्थपूर्तिमा रुमलिएको दशैँलाई उनीहरुको पोल्टाबाट जतिसक्दो छिटो निकाल्नु आवश्यक छ ।

नेपालमा प्रचलित हिन्दु चाडपर्वहरु प्रारम्भमा सामाजिक आवश्यकताको परिपूर्तिका लागि खुसियालीका रुपमा मनाइएका थिए । समाज व्यवस्थाको प्रारम्भसँगै प्रचलनमा ल्याइएका भए पनि सामन्तवादको दबदबा बढ्दै गई उनीहरुकै शासनव्यवस्था भएपछि जनताले स्थापना गरेका संस्कार र संस्कृतिलाई शासकहरुले विभिन्न पौराणिक मिथकहरु जोडी धार्मिक लेपन लगाउँदै आफ्नो सत्ता र स्वार्थ अनुकूल बदल्दै गए । कालान्तरमा जनताका चाडपर्व र संस्कृतिहरु पनि शासकका चाडपर्व र संस्कृतिमा रुपान्तरित हुँदै गए । यही क्रममा दसैँ विकृत बन्न पुग्यो । आजको दसैँ जनविरोधी छ, अवैज्ञानिक छ । हजारौं वर्षदेखि परम्पराको रुपमा रहँदै आएकाले यो रुढ संस्कारलाई एकैचोटि पूरै निषेध गर्न त कठिन छ । फेरि सांस्कृतिक रुपान्तरण राजनीतिक रुपान्तरण जस्तो एकैचोटि पनि हुँदैन, यसको रुपान्तरणमा समय त लाग्छ नै । हामीले बिस्तारै परिवर्तन गर्नुपर्छ । दसैँलाई हामीले खर्चिलो र तडकभडक नगरी सामान्य रुपमा पनि मनाउन सक्छौं । आफन्त–इष्टमित्रहरुमा एकापसको भेटघाट, सामूहिक छलफल–अन्तक्र्रिया, रचनात्मक कार्यकलाप, चामलको अक्षताको सट्टा अबिरको टीका, जथाभावी माछामासु र बढी मात्रामा चिल्लो खाद्यपदार्थको सट्टा साधारण खानपान आदिका साथमा दसैँ मनाउनु राम्रो हुन्छ ।

सन्दर्भ सामग्री:
अधिकारी, कृष्णराज (२०७३). ‘हिन्दू चाडपर्व सान्दर्भिकता र रुपान्तरण’. स्रष्टा– ७, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, चितवन शाखा (पृ.११–१६) ।
किरण (२०६५). नेपाली समाज र संस्कृति ः एक सङ्क्षिप्त अध्ययन (दो.सं.). काठमाडौंः विवेक सिर्जनशील प्रा.लि. ।
चापागाइँ, निनु (२०६७). सांस्कृतिक रुपान्तरण. काठमाडौंः खोजी प्रकाशन गृह प्रा.लि. ।

ज्याग्दीखोला, स्याङ्जा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।