18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्मार्ट ड्याड !

हास्यव्यङ्ग्य गायत्री लम्साल September 8, 2024, 3:31 pm
गायत्री लम्साल
गायत्री लम्साल

स्मार्ट ड्याड भन्नाले म जस्तै सेम माने उस्तै बा, बुवा, बाबालाई मात्र होइन पिता, पिताश्री, ड्याडी, ड्याड र सुगर ड्याड समेतलाई बुझिन्छ । ब्रम्हाजीले श्रृष्टि गर्दा नै यो बा भन्ने कुरोलाई निकै जूरो हालेर पठाइदिएछन् नत्रभने त म जस्ता स्मार्ट ड्याडहरुलाई सामाजिक गनितो, मानितोको खात कसरी लाग्दो हो कुन्नि ? कसैले गर्न नसक्ने कर्म, अनि आफ्नै सन्तान र परिवारलाई सास्ती दिने धर्म गर्दा समेत ठूलो मान्छे हुँदाको सर्म भन्ने कुरो लाग्दै लाग्दैन क्या ।
टिनएज मै तिमीलाई नपाए म त मर्छु भनेर एउटी प्रियसीलाई श्रीमती बनाइहालियो । अनि हजुरहरुलाई थाहा भएकै कुरा हो । आफ्नै श्रीमती भएपछि अरु केही नदिए तापनि सम्भोगको बेला कसैले थाहा नपाइकन सुटुक्क विर्यदान दिएपछि बा भन्ने कुरा झ्याप्पै भइनेरहेछ गाँठे । कुन बेला, कसरी बा भएँ अँ हँ पत्तै भएन । टोलभरिका सबैले बधाई दिदाँ पो अचम्म लाग्यो । पाउने बेलामा उनीेले बर्षौटे छोराछोरी पाइन्, केही नगरिकन आफू बाबा भएकोले होला बाबा हुनुमा मलाई गर्व बोध भएन अनि लागे स्मार्ट ड्याड बन्न ।
म जस्तै स्मार्ट ड्याडहरुलाई त थाहा छ नि है, हाम्रो समाजमा जसरी बाबा सजिलै भइन्छ त्यो भन्दा सजिलो हुनेरहेछ अझै स्मार्ट ड्याड हुनलाई । स्मार्ट ड्याड हुनको लागि सर्वप्रथम त पारिवारिक माया ममतामा अल्झिन हुँदैहुन्न । आफ्नी श्रीमतीलाई, छोराछोरीलाई माया भन्ने कुरो झुक्किएर पनि गर्न हुँदैहुन्न है । बेलैमा भन्देको छु नि मैले । धन्न बेलैमा मैले आफ्नी जन्म दिने आमा बिरामी भएर असरल्ल हुँदा समेत उपचार भन्ने कुरोको वास्तै गरिन । अनि रिस भन्ने कुरो झ्याप्पै उठेको बेला मेरै श्रीमती र सानो छोरोलाई मार्छु भनेर कत्रो धम्की दिएँ ।
अनि स्मार्ट ड्याड हुनलाई चाहिने अर्को कुरो भनेको अदम्य साहस नै हो । हिम्मत, आँट र जाँगर हो । जीवनमा मैले अँ हँ अहिलेसम्म भान्छाकोठामा ग्याँस बाल्ने जस्तो निकृष्ट काम कहिल्यै गरिन । अनि जति खाए पनि, जे खाए पनि कहिल्यै नभरिने उदरदेवलाई आफैले पकाएर खाएको अछुतो होला भनेर त्यस्तो दुष्साहस पनि गरिन । त्यसरी पनि चल्छ त भन्नुहोला ? पिरै नलिनोस्, हाम्रो समाज हो खुट्टा भएपछि जुत्ता कति कति, जहाँ इच्छा त्यहाँ उपाए .......कति छन् कति फरमुला ।
स्मार्ट ड्याड हुनलाई विहे गरेपछि मात्र नभई विहे नहुँदै पनि यही बाटोमा हिड्न सक्नुपर्छ । विहे पछाडि आफ्ना श्रीमतीले बालबच्चा छोडेर काम विशेषले दुई÷चार दिन कतै गए भने पिर लिन हुँदैहुन्न । यसो मेलोमेसो हेरेर बालबच्चालाई आफन्तकोमा भिराउने अनि आफ्नो कोठामा अरुका श्रीमती छिराउने गर्नुपर्छ । यसो गर्दा भात पकाउने झन्जट पनि भएन अनि श्रीमती कहिले आउँछे र आनन्द हुन्छ भनेर शरण पर्नु पनि परेन कसो ?
स्मार्ट ड्याडको लागि अर्को चाहिने कुरो भनेको श्रीमती सबै कुरामा सक्षम हुँदा निकै सजिलो हुन्छ है । त्यति भएपछि छोराछोरी उनैले पाल्छिन्, पढाउँछिन्, घर सम्पत्ति उनैले जोड्छिन्, घरपरिवार र आफन्तजनलाई उनैले मान, सम्मान गर्छिन् यति भएपछि आफुलाई हाइसन्चो । अझ बेलाबेलामा उनीसँग मलाई दश÷बीस हजार पकेट मनी राख्देऊ भन्नुपर्छ । जतिबेला पनि पैसा भन्ने कुरो छैन छैन भन्दै आफूले कमाएको पैसा सबै उनीले थाहा नपाउने गरी अन्तै राखेर अरुसँग रमाइलो गर्नुपर्छ । एकबारको जिन्दगी हो साथी, मिल्ने जतिसँग रमाइलो चाहिँ गर्नुपर्छ है ।
मेरी एकजना साथी छन्, उनी पनि म जस्तै स्मार्ट ड्याडमा पर्छन् । उनले बेलाबेलामा म सँग उनकी श्रीमती निकै बाठी छन् भन्दै तारिफ गर्थे । निकै बाठी रे नि त, एक पटक उसको बच्चा सानो हुँदा एउटा कार्यक्रममा जानुपर्ने भएछ । अनि उसलाई सानो छोरो सहितकी श्रीमतीसँग घुम्दा मज्जा बढी हुने भयो भनेर उसको अर्की प्रेमीकालाई लाने सोचले, श्रीमतीसँग उसलाई पनि लिएर जानुपर्छ जाऊ तिमीले भन भनेछ , बाठी मोरीले गएर भनिछ र सँगै गएछन् । अनि त साथी आफ्नी प्रेमीकासँग कुस्ति खेल्ने उसकी बाठी श्रीमती सानो बच्चा बिरामी भएर त्यही रोग सँग कुस्ति खेलिछन् ।
उसकै अर्को घटना पनि झ्याप्पै याद आयो मलाई । बाठी श्रीमती मास्टर डिग्रीको परीक्षा दिन काठमाडौँ गइछन्, साना छोराछारीलाई छोडेर । उनीहरुको स्मार्ट ड्याडले त छोराछोरीलाई भोलिपल्ट नै गाउँ घरमा पठाएछन् अनि आफुले पढाउने विद्यार्थीलाई केही दिनको लागि श्रीमती बनाएछन् । जब दायाँबायाँ हल्ला हुन थालेपछि परीक्षा दिन गएकी श्रीमतीलाई परीक्षा दिन छोडेर बोलाएछन् र केही दिनकी श्रीमतीलाई बाहिर धपाएछन् । यी र यस्ता घटनाहरु त हामी स्मार्ट ड्याडहरुका साझा विशेषता हुन् । मैले धेरै गरेको छु भनेर गफ छाड्नु पर्दै पर्दैन है । केही मानेमा कोही कमी छैनन् ।
“जस्तो आफू उस्तै च्यापु” भने झैँ मेरा धेरै साथीहरु स्मार्ट ड्याड मै पर्छन् । एक जना साथीकी श्रीमती ऊ भन्दा अग्ली छन् । दुवैले टिनएजमै विहे गरेका हुन् । खै कारण त थाहा भएन पक्कै राम्रै हुनुपर्छ । विहे गरेको करिब पच्चिस वर्ष पछि उनीहरुको डिभर्स भयो । मेरो साथी स्मार्ट ड्याड के कम घर छोडेर सानदार फ्लाट लिएर बस्न थाले । अनि केही महिना पछि नै एउटी छोरीकी आमासँग विहे गरेर धुमधामसँग खशीबोका काटेर गाउँलेहरुलाई सानदार पार्टी दिएँ ।
मन चाहिँ निकै उदार हुन्छ क्या स्मार्ट ड्याडहरुको । यत्ति मात्र कहाँ हो र हजुर ? नयाँ श्रीमतीलाई लिएर आएछन् अनि ब्याच्लर डिग्रीको बोर्ड परीक्षा चल्दै गरेको बाइस वर्षे छोरोलाई कलंकी भेट्न बोलाएछन् अनि श्री एअरलाइन्सले हवाई यात्रीलाई बाँडको एउटा चक्लेट दिँदै भनेछन्, “मैले बिहे गरेँ अब तेरी आमालाई पनि विहे गर्न भन्” वा कत्रो तागत स्मार्ट ड्याडहरुको । ड्याड हुनु यस्तो पो हुनु बाई । अनि स्मार्ट ड्याडको शक्ति अपरम्पार हुन्छ । नयाँ श्रीमतीसँग हनिमुन मनाउन जाँदा बिहे गर्ने उमेर भएकी आफ्नी छोरीलाई फोन गरी गरी करकापमा पारेर मलाई हेप्पी बर्थ डे बाबा भनेर लेख अनि फेसबुकमा पोष्ट गर्न लगाउँछन् ।

तपाइँहरु जतिसुकै मेहनत गर्नुहोस् अँ– हँ स्मार्ट ड्याडहरुजस्तो गतिलो बन्न त ज्यान जाला सक्नुहुन्न । मेरै कुरा गर्दा त एक नम्बरको स्मार्ट ड्याड हुन कति कोसिस गरे अहिले सम्म के– को एक नम्बर हुनु हजुर दश नम्बरमा पनि परेको छैन । त्यही मेरो साथी बरु उसले डिभर्स गर्न भन्दा पहिला बरु उसकी श्रीमतीलाई केही वास्ता गर्थेन अहिले त मायाको पसारो छ बाबै । घरमा उनी नभएको बेलामा जान्छ दायाँबायाँ छिमेकीका श्रीमतीहरुलाई चिया बनाउन पठाएर सानसँग पिउँछ । पढेर बसेका छोरोलाई हिड मसँग यसो फल्नो–फल्नोको घरमा जाम भन्छ । कसैले थाहा नपाउने गरी श्रीमतीको पासपोर्ट चोरेर लान्छ । उनी कति बेला घरमा छिर्छिन, कतिबेला बाहिरिन्छन् .......सबै कुरा बुझ्नलाई गार्ड नै राखेको छ । मैले त भनेको थिएँ भो अब सकिएको काममा चासो राख्नलाई पैसा खर्च नगर भनेर के को मान्नु । स्मार्ट ड्याडमा पनि एक नम्बरमा मै पर्छु भनेर हो भन्छ बा । माया पनि कति गर्न जानेको हो ? नजिकैका पसलमा बसेर मेरो गल्ति केही छैन, मेरी श्रीमती म भन्दा अग्ली भएकी हुनाले .........लेख्न नमिल्ने कुरा उसको अर्कै ब्याइफ्रेण्ड छ त्यही भएर मलाई डिभर्स गरिन् अनि मैले बिहे गरे भन्छ विचराले । डिभर्स भएपछि त यति माया गर्ने साथीले नहुँदै कति माया गर्थे होलान् उनकी श्रीमतीलाई ।
महाशय यी र यस्ता कुराहरु त सबै स्मार्ट ड्याडहरुका कमन विशेषता हुन् । यो सबैभन्दा हर्षको कुरा हो । हाम्रो समाज, हाम्रो सोचाइ, हाम्रो हेराइ, हाम्रो भोगाइ सबै हाम्रा स्मार्ट ड्याडहरुलाई माया गर्ने खालको छ । सम्मान गर्ने खालको छ । स्मार्ट ड्याडहरुले जे गरे पनि ठिक हुन्छ । म लगायत मेरा साथीहरुलाई स्मार्ट ड्याड बनाएको यो समाजले हो, घरपरिवारले हो, अनि आफ्नै श्रीमतीहरुले समेत हो । महाशय सम्बन्ध सकिइसकेपछि, आफूले अर्को विहे गरिसकेपछि पनि पहिलाको श्रीमतीलाई यती धेरै माया गर्ने स्मार्ट ड्याडहरुलाई पुरस्कार स्वरुप लगेर जतनले राख्ने मामाको घर छ कि छैन भन्या ?

चिन्नेवास, स्याङ्जा नेपाल ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।