दार्जिलिंग निवासी योगिता राई नेपाली साहित्य जगतमा एकजना सशक्त नारी हस्ताक्षर हुन्। योगिता राईको विषयमा मातृका गजमेर भन्नुहुन्छ- दार्जिलिङ्ले भोगेको नाना थरीका पीड़ाहरू छिचोलेर अति सुन्दर सरल अभिव्यक्तिले पाठकको हृदयमा जमेर बस्न सकेकी कवि हुन योगिता राई। उन्को लेखनको एक छुट्टै शैली छ। उन्ले 2019 सनमा समयबोध शिर्षकको काव्य पुस्तकबाट साहित्य जगतमा प्रवेश गरेकी हुन्। अहिलेसम्म उनका तीनवटा कविता पुस्तकहरू प्रकाशित भएका छन्। सन् 2022 मा समय स्वर र 2024 मा प्रिय दुश्मन काव्य पुस्तकहरू प्रकाशमा आएका छन्। योगिता राईलाई सही अर्थमा मानव दरदी कवि मान्न सकिन्छ। उनका कविताले समयका पीडाहरू बोकेका हुन्छन्। उन्ले नारी मनका पीडाहरूको पनि सशक्त आवाज उठाएकी छन्। प्रस्तुत छ उनिसँग गरिएको साहित्यिक कुराकानीका सम्पादित अंशहरू-
वैद्यनाथ उपाध्यायः तपाईँको लेखनको शुरुवात कहिले र कसरी भयो?
योगिता राईः ठ्याक्कै भन्न सक्तिनँ तर नब्बेको दशकमा कहिलेकाँही दैनिक खबर कागजमा आर्टिकल लेख्ने गर्थें। पहिले-पहिले फाटक-फुटुक कविता लेख्ने गर्थें भने 2016 देखि यता निरन्तर लेख्ने कोशिश गरिरहेछु।
वैद्यनाथ उपाध्यायः पहिलो प्रकाशित रचना कुन थियो?
योगिता राईः बेकारी समस्यालाई लिएर एउटा लेख लेखेको सम्झनामा छ त्यसबेलाको दैनिक पत्रिका सुनचरीमा।
वैद्यनाथ उपाध्यायः तँपाईँ मूलतः कुन विधामा लेख्नुहुन्छ र किन?
योगिता राईः कविता लेख्छु। म कवितामा नै रमाउने गर्छु।
वैद्यनाथ उपाध्यायः भारतीय नेपाली लेखनमा नारी लेखिकाहरूको भूमिका बारे के भन्नुहुन्छ?
योगिता राईः भारतेली नेपाली नारी सर्जकहरूका सङ्ख्यात्मक उपस्थिति र उनीहरूका अघिका परिस्थितिसँग उनीहरूले दिएका योगदानको तुलना गर्दा म सन्तोष मान्छु। हाम्रो समाजमा त शुरु शुरुमा नारीहरूलाई कलाका क्षेत्रमा प्रवेश निषेध जस्तै थियो। यस्तो विषम स्थितिमा पनि पहिला-पहिला भारतेली नेपाली साहित्यले नारी सर्जकहरूका राम्रै हात पाएको थियो। अहिले यो हात अझ बलियो भएर गएको छ। हिजोका र आजका नारी सर्जकहरूले साहित्यका सबै विधामा कलम चलाएका पाउँछौं। गुणात्मक र सङ्ख्यात्मक उपस्थिति सन्तोषजनक छ।
वैद्यनाथ उपाध्यायः दैनिक समय व्यवस्थापना कसरी गर्नुहुन्छ?
योगिता राईः म समयलाई अधिक महत्व दिने गर्छु। घरका दैनिक कार्यहरूसँगै सामाजिक र साहित्यिक कार्यक्रमका लागि आफ्नो निम्ति मिलाएर समय राख्ने गर्छु।
वैद्यनाथ उपाध्यायः तँपाईँले कुनै लेखक वा लेखिकाहरूलाई आदर्श मान्नुभएको छ कि? मान्नुभएको छ भने किन?
योगिता राईः धेरैलाई आदर्श मानेकी छु। कस-कसको नाम लिऊँ।
वैद्यनाथ उपाध्यायः तँपाईँ किन लेख्नुहुन्छ?
योगिता राईः आफुले देखेका र मनमा लागेका कुरालाई अभिव्यक्त गर्नु पाउँदा सन्तुष्टि अनुभूत गर्ने गर्छु। अन्य लेखकका लेखहरू पढ्ने गरेर पनि होला लेख्ने जोश चल्छ।
वैद्यनाथ उपाध्यायः आफैंलाई एक लेखिकाको रूपमा कत्तिको सफल मान्नुहुन्छ?
योगिता राईः कत्ति अप्ठ्यारो प्रश्न गर्नुभयो। सफलताको मापन के होला? एकजना लेखक/लेखिकाले आफैंलाई सफल भएको छु भन्ठान्नु पनि अहम् प्रदर्शन गर्नु नै हो भन्ने लाग्छ। त्यस्तोमा म पर्दिनँ। लेखक/लेखिकाका सफलता त उनिहरूका कृतिबाट समाज कति लाभान्वित बन्नेछ भन्ने कुरामा निर्भर रहने हो। लोकप्रियता पनि लेखक/लेखिकाको सफलताको मापन होइन भन्ने लाग्छ अहिलेका समयमा। कविता लेखनको सिक्ने क्रममा छु। अझै धेरै सिक्नु छ।
वैद्यनाथ उपाध्यायः लेखकहरूमा चरित्रको स्थान कस्तो हुनुपर्छ भन्ने ठान्नुहुन्छ?
योगिता राईः पहिला त लेखक मान्छे हुनुपर्दछ।
वैद्यनाथ उपाध्यायः दार्जिलिङ्को साहित्यिक लेखनको आकलन कसरी गर्नुहुन्छ?
योगिता राईः कुनै पनि स्थानमा साहित्य लेखनको गति, स्तर सक्रियतामा आरोह-अवरोह देखिरहने कुरा हो भन्ने मलाई लाग्छ। सधैँभरि लेखनको ग्राफ उकालै मात्र खोज्नु पनि हुन्न। लेखनलाई समय काल र परिस्थितिले प्रभाव पारेको हुन्छ। दार्जिलिङ्को सङ्घर्ष उसै पनि कष्टप्रद छ। यस्तो सकसपूर्ण स्थितिमा पनि दार्जिलिङ्को साहित्यिक स्थिति सधैँजस्तो सक्रिय र गतिशील नै छ। प्रविधि र मनोरञ्जनका अन्य साधनहरूका सहज उपलब्धताले संसारभर साहित्यिक सिर्जनामा न्युनता देखिरहेका समयमा यसको असर दार्जिलिङ्मा पनि देखिनु स्वाभाविकै हो। तथापि अग्रज र अनुजहरूका साहित्यिक सक्रियता दार्जिलिङ्मा उल्लेखनीय नै मान्नुपर्छ। हो, साठी देखि अस्सीको दशकमा दार्जिलिङ्ले सिङ्गो नेपाली वाङ्मयमा बिताएको स्वर्णकाल रहेको छ। अहिलेको भन्दा तर जति साहित्यिक लेखन, संरक्षण र विस्तारका कार्य भइरहेका छन्, महत्वपूर्ण नै मान्नुपर्छ।
वैद्यनाथ उपाध्यायः तँपाईँको लेखनमा घर परिवारको के कस्तो सहयोग रहने गरेको छ?
योगिता राईः सहयोग छ।
वैद्यनाथ उपाध्यायः मान्छेको जीवनमा आध्यत्मिकताको कस्तो स्थान हुनुपर्छ भन्ने ठान्नुहुन्छ?
योगिता राईः सर्वप्रथम त आफैंलाई बुझ्नु अति आवश्यक छ। बाँकी आ-आफ्ना आस्था र विश्वासका कुरा हुन।
वैद्यनाथ उपाध्यायः नया लेखकहरूलाई तँपाईँको के सन्देश छ?
योगिता राईः आफैं पनि नवोदित लेखक हूँ। तरै पनि सबैलाई अध्ययन गर्नुपर्ने आग्रह राख्दछु।