17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ए जून

लघुकथा ईगम खालिङ September 2, 2024, 7:11 am
ईगम खालिङ
ईगम खालिङ

ए जून!
यतिन्जेल कहाँ थियौ?
तिमीलाई हेर्न
मन लागिरहेको थियो
तिमीसित कुरा गरी रातहरू कटाउन
मन लागेको थियो
तिमी नआउँदा मेरा रातहरू त्यसै बिते।
ए जून!
भन त—
तिमी यति शान्त किन?
तिमी यति शीतल किन??
तिमी यति आनन्द किन???
ए जून!
भन त—
सुख भन्ने कस्तो हुन्छ?
रातमा डर किन लाग्छ??
फेरि, आँसु किन आउँछ???

त्यति लेखिसकेपछि उसले एउटा चुरोट सल्काउँछ। त्यो चुरोट सक्नेबित्तिकै अर्को सल्काऊ भन्दा उसको नजर त्यही छतको अर्को दिशातिर फर्किएर उभिरहेकी एउटी सुन्दर युवतीसम्म पुगेर टक्क अल्झिन्छ। उसले ओठमा च्यापिसकेको चुरोटलाई निकालेर प्यान्टको गोजीमा हाल्छ।

“माफ गर्नुहोला! मैले तपाईँलाई देख्दै-देखिनँ।” उसले अप्ठ्यारो मान्दै भन्छ। युवतीले जता फर्किएकी थिई त्यतै फर्किएरै भन्छे, “इट्स ओके! मलाई चुरोटको धुवाँसित त्यस्तो समस्या छैन। तपाईँ ढुक्क भएर पिउन सक्नुहुन्छ। म त सधैँ राति केही बेरका निम्ति छतमा आउने गर्छु।” त्यसपछि अलिकति हिच्किच्याउँदै सोध्छ, “तपाईँ यहाँ छतमा चुरोट पिउन आउनुभएको कि रातलाई महसुस गर्न?”

उसले एकपल्ट छत वरिपरिका सून्यता र सुगन्धलाई आफूभित्रबाट महसुस गरेर सुन्ने र सुँघ्ने कोसिस गर्छ र त्यसपछि जूनलाई इशारा गर्दै भन्छ, “हजुर! पूर्णेको जूनसित बात गर्न आएको। तर अब यहाँ दुइटा जून छाएका छन्, र प्रकाश अझै व्यापक भएको छ।” एकछिनपछि शून्यतालाई भङ्ग गर्दै युवती बोल्न थाल्छे, “तपाईँ कवि भूपी शेरचनको भाइ हुनुहुन्छ क्या हो! छतमा कविता लेख्न आउनुभएको जस्तो लाग्यो।”

“हेर्नुहोस् त, त्यो पूर्णिमाको जूनलाई हेरेर तपाईँलाई भावना आउँदैन?” भन्दै उसले गोजीबाट त्यो अघिको चुरोट निकाल्छ।

युवतीले मुसुक्क हाँसेर कुनै एउटा ठट्टा गरे झैँ गरेर भन्छे, “मेरो आकासमा न त जून छ न त पूर्णिमाको रात नै हुन्छ। त्यसैले जूनले मलाई कहिल्यै चित्तभ्रान्तिमा पार्न सक्दैन। तर मलाई भूपी शेरचनको कविता ‘ए जून’ साना कक्षामा हुँदा पढेको अझै पनि कण्ठस्थ याद छ।” त्यसपछि त्यो कविता सुनाउन थाल्छे—

“मेरा जस्तै ए जून
झूटो हो तिम्रो हाँसो पनि
फरक छैन तिम्रो र मेरो
भित्र-भित्र रोएर पनि बाहिरबाट हास्ने बानीमा
फरक यति मात्र छ हामी दुइटाको कहानीमा
तिमी रुन्छौ र तिम्रो आँसु शीत बन्छ
म रुन्छु र मेरो आँसु गीत बन्छ।”

कविता सुनिसकेपछि उसले सलाई निकालेर चुरोट सल्काउँछ र फेरि एकपल्ट आकासको जूनलाई हेर्छ। त्यसपछि त्यस युवतीलाई फेरि एकपल्ट पुलुक्क हेर्छ, र आफैलाई भन्छ, “भूपी शेरचनको भाइ म होइनँ तर तपाईँ चाहिँ नातिनी पक्क हुनुपर्छ।”

छतमा एउटी सानी केटी आएर दिदी आमाले बोलाउँदै छ भनेर उसलाई डोर्‍याउँदै छतबाट तलतिर झार्दा पो उसलाई के भनुँभनुँ हुन्छ। त्यस रातभरि उसको कानमा मात्रै “मेरो आकासमा न त जून छ न त पूर्णिमाको रात नै हुन्छ” को आवाज घरीघरी गुञ्जिरहन्छ। त्यसरी त्यो रात छतमा ईश्वरले ऊसित एउटा गतिलो मजाक रचेको जस्तो लाग्छ।

(नोट: पहिलो कविता ‘ए जून!’ मेरो कविता सङ्ग्रह अनुभूतिका लहरहरू (२०५७) बाट लिइएको हो, र दोस्रो भूपी शेरचनको कविता ‘ए जून’ पत्रिका रूपरेखा (२०१९) बाट लिइएको हो।)

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।