नेपाली साहित्यमा नयाँ नयाँ लेखक, अध्येताको सङ्ख्या दिनानुदिन बढिरहेको छ। नयाँ नयाँ चेतना र स्वर लिएर सर्जकहरू साहित्यमा ओर्लिरहेका छन्। वर्तमान स्थितिमाथि विभिन्न कोण प्रतिकोणबाट निरीक्षण परीक्षण र अनुगमन गरी कृतिहरू लेखिइरहेका छन्। बजारमा नयाँ नयाँ पुस्तक पत्रिका देखा परिरहेका छन्। नेपाली साहित्य अब विश्वव्यापी बनेको छ। नेपाल र भारतबाहेक अमेरिका, म्यान्मा, युरोप, खाडी मुलुक, दक्षिण एशिया आदितिर नेपाली साहित्य लेखिन, देखिन र पढिन थालेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ गरी प्रमुख दुईवटा नेपाली साहित्यिक संस्थाहरू नेपाली साहित्यलाई प्रवर्द्धन गर्न लागि परेका छन्।
नेपाली भाषा र साहित्यको प्रयोग प्रचार-प्रसार, प्रवर्द्धन विकास आदिका क्षेत्रमा पूर्वोत्तर भारतको असमको पनि महत्त्वपूर्ण योगदान रहिआएको छ। असमबाट दिनानुदिन नयाँ नयाँ नेपाली साहित्य लेखकहरूको सङ्ख्या बढिरहेको छ। यहाँको पूर्वदेखि पश्चिमसम्मका जिल्लाका गाउँ र शहरबाट नेपाली लेखकहरूको उपस्थिति पाइन्छ। साहित्यका स्रष्टा र दृष्टा दुवै खाले लेखकहरू बढिरहेका छन्। पुराना लेखकका हाँचमा नयाँ पुस्ताका लेखकहरू पनि थपिइरहेका छन्। असमबाट बाक्लै गरी नयाँ नयाँ नेपाली साहित्यिक पुस्तक प्रकाशित भइरहेका छन्, नयाँ साहित्यिक संस्था संस्था जन्मिइरहेका छन्, गोष्ठी सम्पन्न भइरहेका छन्। असमबाट नेपाली साहित्य समालोचकहरूको कमीलाई पूरा गर्न केही नयाँ पुस्ताका लेखकहरू पनि जुर्मुराएका छन्। असम नेपाली साहित्य सभाले असमेली नेपाली साहित्यको विकासका निम्ति काम गरिरहेको छ। हालसालै स्थापना गरिएको इन्द्रेनी प्रकाशनले भने असमेली नेपाली समालोचना- १, २, ३, गरी हालसम्म तीनखण्डको ग्रन्थमाला र त्रैमासिक इन्द्रेनी पत्रिकाको प्रकाशन गरेर असमेली नेपाली समालोचनालाई ठुलो टेवा दिइरहेको छ। त्यहाँको प्रान्त प्रान्तबाट नेपाली नेपाली साहित्य सर्जक र समीक्षकहरूको सङ्ख्या बढ्दो छ।
असमकी नवगाउँ जिल्लाको कलियाबरकी एक नारी सर्जक उदीयमान भएकी छिन्- कल्पनादेवी आत्रेय। उनको जन्म २६ अप्रेल, १९७८ मा कलियाबर, नौगाउँ जिल्लामा भएको हो। उनका मातापिताको नाम स्व. नीलिमादेवी र श्री नारायण उपाध्याय हो। उनले आफ्नो विद्यालय अध्ययन कालमा असमिय माध्यमबाट अध्ययन गरेकी हुन् भने उच्च माध्यमिक र बी ए पढ्दा प्रमुख भारतीय भाषाका रूपमा हिन्दी पढेकी हुन्। यस हिसाबले हेर्दा उनले औपचारिक रूपमा नेपाली पढ्न पाइनन्। उनी स्थानीय गाउँमा नै एउटा सरकारी विद्यालयमा अध्यापन गर्दछिन्। उनले २०१० मा उनी शैक्षणिक प्रशिक्षण लिएका बेला उनले पाठ्य प्रयोजनका लागि सिर्जना गर्नुपर्दा उनले हिन्दी लेखनबाट शुरू गरेकी थिइन्। यद्यपि उनी आफ्नो भाषा र साहित्यप्रति हुट्हुटी लागेर नेपाली भाषामा लेख्ने निर्णय गरेर लेख्न थालेकी हुन्। हालसम्म उनको निबन्धसङ्ग्रह ‘चेतनाको स्पन्दन’ (२०१९), असमीयबाट हिन्दीमा अनूदित ‘मृगतृष्णा के छन्द’ (कवितासङ्ग्रह, २०२२) प्रकाशित कृति हुन्। उनी आफ्नो पति श्री मेघराज आत्रेयसित आफ्नो दाम्पत्य जीवन बिताउँदै सामाजिक र साहित्यिक सङ्घ-संस्थासित पनि सङ्लग्न रही सेवामा रहेकी छिन्। उनी नेपाली सांस्कृतिक सुरक्षा परिषद्, नेपाली सांस्कृतिक आमा मञ्च, हरिहरधाम मन्दिर समितिकी सक्रिय सदस्य रहेकी छन्। यसबाट हेर्दा उनी नेपाली भाषा साहित्यप्रति माया र आकर्षणले समर्पित रही आफ्नो बलबुताबाट अध्ययन लेखन चिन्तन गरेकी हुन् भन्ने कुरा सिद्ध हुन्छ।
कोरोनाकालदेखि उनी नेपाली साहित्यमा छाएकी हुन्। उनी इन्द्रेनी प्रकाशनसित पनि जडित छिन्। असमेली नेपाली समालोचक खण्ड एक र खण्ड दुई ग्रन्थमा एनका एकेकवटा समीक्षात्मक लेखहरू समावेश छन्। उनका कविता लेखहरू अन्य पत्रिकातिर पनि प्रकाशित हुँदै आएका छन्। उनको एउटा पुस्तक प्रकाशोन्मुख छ- सिर्जना र अभिव्यक्ति। यसमा जम्मा सोह्रवटा लेखहरू रहेका छन्। यसमा रहेका लेखहरू हुन्- ‘हराउँदै गएको संस्कृति र यसको भविष्य’, ‘दसैं’, ‘त्याग र आत्मवलिदानकी जाग्रत प्रतीक सती जयमती’, ‘असमको काव्यिक धरातलमा छन्दविधा र छन्द कविहरू’, ‘तिजपर्व- अध्यात्म र संस्कृति’, ‘अदम्य इच्छाशक्तिको प्रतीक हो दुर्गादत्त गौतमको महीयसी उपन्यास’, ‘मैले देखेका शतायुपुरूष श्री चन्द्रमोहन छेत्री’, ‘भारतीय संस्कृतिमा नारीको स्थान’, ‘आदिकवि भानुभक्त आचार्य र नेपाली भाषा जगतको एकीकरण’, ‘सोलङका दानवीर तथा समाजसेवक दधिराम उपाध्याय’, ‘भारतवर्षको इतिहास लेखनका विभिन्न स्रोतहरू’, ‘पूर्वोत्तर भारतका जनजातीय भाषाहरू’, ‘तारापति उपाध्यायको साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू - एक विहङ्गम दृष्टि’, ‘कवि विद्यापति दाहालको कविता मञ्जरी - एक तात्पर्य चिन्तन’, ‘विष्णु शर्मा नेउपानेको उपन्यास घामछाँया कति घाम कति पानी’, ‘भारतीय नेपाली जाति एक अवलोकन को बुँदागत अध्ययन’।
यसरी हेर्दा यसमा रहेका लेखहरूलाई मूलभूत पाँचवटा विषयगत वर्गीकरण गर्न सकिन्छ- क. व्यक्तित्व परिचय, ख. सृष्टि परिचय, ग. सांस्कृतिक चिन्तन, घ. इतिहास चिन्तन, ङ. नारी चिन्तन। यसमा जयमती, भानुभक्त आचार्य, दधिराम उपाध्याय, चन्द्रमोहन छेत्री आदि जस्ता समाज सेवक र साहित्य सेवकका संक्षिप्त जीवनी र मूल्याङ्कन गरिएको छ। त्यस्तै गरी यसमा तारापति उपाध्यायको साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू, विद्यापति दाहालको कविता मञ्जरी, विष्णु शर्मा नेउपानेको ‘घाम-छाँया’ उपन्यास, दुर्गादत्त गौतमको ‘महीयसी’ उपन्यास, लक्ष्मण अधिकारीको ‘भारतीय नेपाली जाति : एक अवलोकन’ जस्ता कृतिहरूको अध्ययन र मूल्याङ्कन गरिएको पाइन्छ। यी कृतिहरूको मूल स्वरलाई उधिनेर पाठकलाई यी कृतिका निम्ति पाठ्य सुगम बनाइदिएकी छन्। यसमा रहेका सांस्कृतिक चिन्तनपरक लेखहरूमा हराउँदै गएको संस्कृति र यसको भविष्य, दसैं, तीज पर्व अध्यात्म र संस्कृति मुख्य हुन्। इतिहास चिन्तनपरक लेखहरूमा भारतीय इतिहास लेखनका विभिन्न स्रोतहरू, त्याग र आत्मवलिदानकी जाग्रत प्रतीक सती जयमती हुन्। त्यस्तै गरी भारतीय संस्कृतिमा नारीको स्थान, साहित्य संस्कृति एवम् धर्मका केही आराधिका मातृहरू जस्ता लेखमा नारीविषय चिन्तन गरिएको पाइन्छ।
यस पुस्तकमा मुख्य गरी तीनवटा प्रवृत्ति पाउँछौं- १. चिन्तनपरकता, २. समीक्षण, ३. मूल्याङ्कनपरकता।
१. चिन्तनपरकता -
प्रस्तुत पुस्तकमा चिन्तन पक्ष नै सबैभन्दा प्रबल पाइन्छ। चाहे व्यक्तित्व परिचय होस् वा कृतित्व परिचय होस्, लेखिकाभित्रको मनन-चिन्तन गर्ने प्रवृत्तिको प्रमुख भूमिका पाइन्छ। यो पुस्तक लेखनको तयारी गर्दा उनले अध्ययन, मनन, चिन्तन, अन्वेषण, बहस, परिचर्चा आदिको पृष्ठभूमि रहेको हुनुपर्छ। यसलाई विचारप्रधान समीक्षात्मक निबन्धात्मक कृति मान्न सकिन्छ। यसभित्र रहेका जुनसुकै विषयमा लेखिए पनि सांस्कृतिक चिन्तनमा नै गएर टुङ्गिएको पाइन्छ। भारतीयका साथै हाम्रो संस्कृतिको विशेषता, प्रवृत्ति, बदलिँदो स्वरूप, ह्रासोन्मुख परिदृश्यबारे चिन्तित हुँदै भविष्यमा यसको संरक्षण गर्नुपर्ने कुरामा सावधानीसमेत व्यक्त गरेकी छन्। यसमा विशेषगरी जातीय, सांस्कृतिक, धार्मिक, नारी अस्मिता, साहित्यिक, इतिहास, भाषिक आदि कुराहरूमा चिन्तन गरिएको छ। यसमा रहेका प्रायःजसो लेखहरूको मूल नै चिन्तन हो। चाहे हाम्रा दशैं-तिहार, तीज र अन्य सांस्कृतिक पर्व, हाम्रो जीवनशैलीभित्र विद्यमान सांस्कृतिक पक्ष हुन्, चाहे कुनै कृतिभित्र होस्, चाहे कुनै व्यक्तित्वपरक होस्, उनले चिन्तनपक्षलाई नै पक्रेकी छन्। पूर्वोत्तरका विभिन्न जनजातिका भाषिक स्थितिमाथि पनि आफ्नो चिन्तन गरिएको छ।
२. समीक्षण-
कल्पनादेवी आत्रेयभित्र समीक्षणको प्रवृत्ति पनि पाउँछौं। कुनै कृति पढेर त्यसका भावपक्षलाई समात्ने प्रयास गरिएको छ। महीयसी उपन्यास, घामछाँया उपन्यास, कविता-मञ्जरी कविता सङ्ग्रह, असमका छन्दोवादी नेपाली कविहरू, भारतीय नेपाली जाति एक अवलोकन आदि जस्ता कृतिहरूको समीक्षण गरिएको छ। यसमा रहेका समीक्षाहरू कृति पढेर उब्जेका केही पक्षलाई उतारिएका हुनाले प्रभाववादीका रूपमा रहेका छन्। छन्दमा कविता र असमका केही छन्दोबद्ध कविता लेख्ने कविहरूको सर्वेक्षण र अध्ययन गरिएको छ। यसमा पुष्पलाल उपाध्याय, छविलाल उपाध्याय, विद्यापति दाहाल, डा खेमराज नेपाल मुख्य हुन् भने अबका केही नव-पुस्ताका कविहरूले पनि छन्दोबद्ध कविता लेखेका छन्। यसरी नयाँ पुस्ताका कविहरूले पनि छन्दमा कविता लेख्दा यसको भविष्य सुनिश्चित छ भन्ने सङ्केत गर्छ। यद्यपि भाव सम्प्रेषण गर्न केही कविलाई छन्दको नियमको निर्वाह गर्दा कठिनाइ पनि पर्नसक्छ। यो त कवि प्रतिभामाथि पनि निर्भर हुन्छ।
पुस्तकको परिचय दिने क्रममा पुस्तक समीक्षा पनि एउटा हाँगाको रूपमा पाइन्छ। कुनै एउटा पुस्तक पढेर त्यसबाट उब्जेका मानसिक प्रभावलाई समीक्षाका रूपमा लेखिन्छ। पुस्तकका भाव पक्ष, शिल्प पक्ष, अर्थद्यौतन आदिबारे निरूपण हुन्छ। समालोचनाको शुरूवात् मूलतः पुस्तक निरूपणबाट पनि हुन सक्छ। अधिकांश समालोचकहरूले कृति पढेर त्यसका विभिन्न पक्ष केलाउने क्रममा आफ्नो अध्ययनलाई अघि बढाएर लानेगरेको पाइन्छ। यस पुस्तकमा पनि पुस्तक समीक्षा गरिएको पाइन्छ। उदाहरणका रूपमा कवि विद्यापति दाहालको कविता मञ्जरी एक तात्पर्य चिन्तन भन्ने लेखमा केही कविताहरूको तात्पर्य केलाउँदै तिनका विशेषता र पद प्रयोगबारे चर्चा गरिएको छ। त्यस्तै गरी विष्णु शर्मा नेउपानेको उपन्यास घामछाँयाको चर्चा गर्दा विष्णु शर्माको संक्षिप्त परिचय, उपन्यासको सैद्धान्तिक परिचय, घामछायाँ उपन्यासको कथावस्तुबारे प्रकाश पारिएको छ। यद्यपि यहाँ उनले उपन्यासको विपठन भनेकी छन्। कृति पढेर त्यसभित्रको आफ्नो आफ्नो बुझाइ हुन्छ र प्रत्येक पाठकको एकेक पठनलाई विपठन भन्न खोजिएको हो। पठनलाई विपठन भन्ने प्रचलन उत्तरआधुनिक समालोचनामा रहेको पाइन्छ। यहाँ कल्पनादेवीले घामछाँया उपन्यासबारे बुझेका तथ्यहरू प्रस्तुत गरिएको छ। यद्यपि यहाँको समीक्षणलाई उत्तरआधुनिक समालोचनाभित्र राख्न मिल्दैन। समीक्षकले बुझेको, सुझेको कुरालाई अघि ल्याएर त्यसलाई विपठन भनिन् जुन उनको लेखकीय इमानदारिता हो। उसले घामछाँयाबारे प्रस्तुत गरेका तथ्यहरू नै चूडान्त हुन्, यही नै सत्य हो भनेर उनले किटान गरेकी होइनन् तर उनलाई लागेको कुरा यिनै हुन् भन्न खोजेकी हुन्।
३. मूल्याङ्कनपरकता -
यसमा रहेका केही लेखहरूको प्रवृत्ति मूल्याङ्कन रहेको पाइन्छ। चाहे कृति होस् वा कृतिकार वा समाजसेवक, सबैलाई धेरथोर मूल्याङ्कन गर्ने प्रयत्न गरिएको छ। यसमा मूलतः दुई प्रकारका मूल्याङ्कन छन्- कृतिपरक र व्यक्तित्वपरक। यसमा छन्दोबद्ध कविता लेख्ने केही प्रमुख कविहरू, ‘महीयसी’ र ‘घामछाँया’ जस्ता उपन्यास र उपन्यासकारद्वय दुर्गादत्त गौतम र विष्णु शर्मा न्यौपाने तथा भानुभक्त आचार्य, लक्ष्मण अधिकारी र तिनको कृति ‘भारतीय नेपाली जाति एक अवलोकन’, तारापति उपाध्यायको ‘साहित्य संस्क़ति एवम् धर्मका केही आराधिका मातृहरू’, कवि विद्यापति दाहाल र तिनको ‘कविता मञ्जरी’ जस्ता साहित्यिक कृति र कृतिकारको लेखाजोखा र मूल्याङ्कन गरिएको छ। नेपाली कविता क्षेत्रमा विद्यापति दाहालको योगदान स्तुत्य छ। उनको काव्यकारितामाथि अझै धेरै समीक्षा हुनुपर्छ। कल्पनादेवीका विचारमा विद्यापति दाहालको काव्यिक चेतना खोतलेकी छन्।
यसै गरी समाजसेवक चन्द्रमोहन छेत्री, दानवीर दधिराम उपाध्याय, सती जयमती आदिको जीवनीपरक मूल्याङ्कन गरिएको छ। सती जयमतीका इतिहासका कुरा असमका प्रायः सबैलाई थाहा होला तर असमबाहिरका नेपाली पाठकलाई नयाँ र रोचक लाग्दछ। त्यसै गरी पूर्वोत्तरका विभिन्न भाषाहरूको सर्वेक्षण र सूचि पनि असमबाहेक अन्यत्रका पाठकका लागि पनि नयाँ तथ्य लाग्छ। लेखिकाको उद्देश्य नै यसमा भएका प्रायः जम्मै लेखहरूमा नै मूल्याङ्कन गर्नु हो। सर्जकको कलमलाई पाठकलाई चिनाउनु, योगदानको कदर गर्नु, मूल्याङ्कन गर्नु जस्ता महत उद्देश्य निहीत छ।
उपसंहार-
यस पुस्तकमा रहेका सोह्रवटा लेखहरूले आफ्नो आफ्नो महत्त्व, विशेषता, उद्देश्य र चिन्तनलाई अघि बडाएका छन्। यस सङ्ग्रहका आधारमा अध्ययन गर्दा कल्पनादेवीलाई स्रष्टा र दुवै मान्न सकिन्छ। उनी एक समीक्षक र निबन्धकार दुवै व्यक्तित्वले भरिएको पाउन सकिन्छ। उनी एक स्वतञ्त्र लेखिका हुन्। उनलाई नेपाली भाषा साहित्यप्रेमी, एक सचेतक र चिन्तकका पुन सकिन्छ। उनी कुनै एउटा साहित्यिक सिद्धान्त, वाद, प्रणाली र पक्ष आदिका आडमा नरही आफ्नो चेतना, मौलिक विचार र चिन्तन, कर्तव्य, हुटहुटी, अन्वेषण, दृष्टिकोण, वैयक्तिक र सामुहिक चेतना आदिले युक्त भएकी लेखिका हुन्। यसभित्र चिन्तन पक्ष सबैभन्दा प्रबल पाइन्छ भने मूल्याङ्कन, समीक्षण, तथ्यात्मकता, जानकारी पनि पाइन्छन्। कतै गहिरो अध्ययन, कतै तथ्यात्मकता, कतै विश्लेषण, कतै भावुकता आदि गुण र विशेषता पाइन्छ। यसमा सृष्टि पनि छ दृष्टि पनि छ। यसमा निबन्ध पनि छ साथै समीक्षा पनि छ।
कल्पनादेवी आत्रेयको कलम नरोकियोस्, उनको अध्ययन, लेखन, मनन, चिन्तन आदि बढेर एउटी अझै दह्री लेखिकाको रूपमा उन्नति होस्, उनका कलमले त्यहाँका नवीन-प्रवीण सबै खाले लेखकहरू प्रकाशित हुन्, उनको दृष्टिले समाजमा नदेखिएका, नचिनिएका, नबुझिएका, नसुझिएका, वास्ता नगरिएका कुराहरू स्पर्शित भएर प्रज्ज्वलित बनुन्, उनको यो जोस र जाँगर दिनानुदिन बढेर जावोस् भन्ने उनको साहित्यिक उज्ज्वल भविष्यको कामना गर्दछु।