१. विषय प्रवेश-
ज्ञानदिलदासको जन्मजयन्तीले २०२ औं वर्ष नाघिसकेको छ। उनको द्विशतकीय जन्मजयन्ती भव्य रूपमा कतै मनाइएको जानकारी छैन। उनी भनुभक्तभन्दा सात वर्षले मात्र कान्छा थिए। नेपाली जगतमा उनको नाम दुई प्रकारले उच्चारण गरिन्छ- एकजना प्रमुख जोसमणि सन्तका रूपमा अनि अर्को नेपाली कविता साहित्यका प्रारम्भिककालिन कविका रूपमा। अहिले आएर नेपाल र सिक्किम भारतमा उनलाई ब्युँताउने प्रयास भइरहेको छ, उनको योगदानको मूल्याङ्कन र पुनर्मूल्याङ्कन गर्ने काम भइरहेको छ। उनको जन्मेको थलो र मृत्यु भएको थलो अब एकाकार भएर
२. ज्ञानदिलदासको जन्मथलोमा साहित्यिक महोत्सव आयोजना-
यस वर्षको २३ र २४ फरवरीमा नेपालको इलाम जिल्लाको फाकफोक गाउँपालिका- ३ को आमचोकमा दुई दिने ज्ञानदिलदास साहित्य महोत्सव आयोजना भयो। फाकफोक गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त महोत्सवको अध्यक्षता ज्ञानदिलदास प्रतिष्ठानका अध्यक्ष गुरूभक्त लामिछाने थिए भने मुख्य अतिथिमा गाउँपालिकाका अध्यक्ष श्री दीपेन्द्र खनाल थिए। अन्य विशिष्ट अतिथिहरूमा दार्जिलिङका डा गोकुल सिन्हा, सिक्किमका गोविन्द शर्मा, प्राज्ञ कोमल निरौला, जोसमणि गुरू परम्पराका गुरूहरू, लामिछाने बन्धु समाजका प्रतिनिधिहरू र अन्य धेरै थिए। यसमा एउटा के कुराको संयोग मिल्यो भने ज्ञानदिलदासको जन्मथलो र उनको मृत्यु थलो दुवै ठाउँका मानिस उनको जन्मथलोमा भेला भएका थिए। कार्यक्रममा दार्जिलिङ, कालिम्पोङ, डुवर्स, सिक्किम गरी जम्मा पैंतिसजनाजति उपस्थि थिए भने नेपालका विभिन्न ठाउँ र स्थानीय जनताको व्यापक सहभागिता उत्साहजनक देखियो। महोत्सवको पहिलो दिन स्थानीय लिम्बू र राईहरूका च्याब्रुङ नाच धाननाच र साकेला नृत्य सम्पन्न भए। सर्वप्रथम ज्ञानदिलदासको अर्धकदको प्रतिमाको अनावरण भयो। जनकलाल शर्माका छोरा डा. सुमन ढकाल, डा गोकुल सिन्हा, गोविन्द शर्मा, दीपेन्द्र खनाल, जोसमनि परम्पराका गुरूजीहरू तकदिलदास, शिवदास, चैतन्य महाराज आदिले सम्बोधन गरे। डा गोकुल सिन्हा, डा सुमन ढकाल, ज्ञानदिलदास प्रतिष्ठानलाई जमीन दान दिने केदारनाथ लामिछाने र स्व. भगीरथा लामिछाने (छोराको हातमा प्रदान) आदिलाई सम्वर्द्धना भयो।
भोलिपल्ट सबैभन्दा पहिले ज्ञानदिलदासले तपस्या गर्नेको चित्रेको गुफाका परिदर्शन गराउने कार्यक्रम भयो। ज्ञानदिलदासको साहित्यिक पक्षबारे डा देवी दुलाल छेत्री र प्रकाश परियारको एकेकवटा कार्यपत्र प्रस्तुत भए। उक्त कार्यपत्रबारे डा राजकुमार छेत्री र अन्य दुईजनाको टिप्पणी पत्र प्रस्तुति थियो। त्यसपछि काव्य गोष्ठीमा तीस चालिस जना कविहरूका कविता प्रस्तुत भए। यस कार्यक्रमका आयोजकहरूमा जोस जाँगर र उत्साह देखिन्थ्यो।
कार्यक्रमको सम्बोधनको क्रममा डा गोकुल सिन्हाको विचार अति नै महत्त्वपूर्ण थियो। उनका अनुसार जोसमनि पन्थको मार्गमा बढी ज्ञानदिलदासमाथि मात्र फोकस हुँदा यसका प्रवर्तक शशिधर, उनको गुरू श्यामदिलदासहरू ओझेल पर्ने सम्भावना हुन्छ। यो सन्त परम्परामा समयअनुसार सही दिशानिर्देशन आवश्यक्ता परेको धारणा व्यक्त गरे। सिक्किमको गोलिङस्थित ज्ञानदिल धाम समितिका अध्यक्ष श्री गोविन्द शर्माले पनि उक्त धाममा ज्ञानदिलदास र जोसमनि परम्पराको उत्थानका निम्ति काम गर्रेन कटिबद्ध रहेको भाव व्यक्त गरे। उनले आफुले सिक्किमबाट ल्याएक ज्ञानदिल धामको समाधिको ठुलो फोटोफ्रेम आयोजक सिमितिलाई भेंट गरेका थिए।
३. सन्त ज्ञानदिल दास एक परिचय
जोसमणि सन्त परम्पराबारे आधिकारिक अध्येता र लेखक जनकलाल शर्माले उनको जन्म फिक्कलमा वि सं १८७८ मा जन्मेका हुन् भनिए तापनि उनी इलामको फाकफोक गाउँपालिकाको आमचोक भन्ने गाउँमा जन्मेका थिए। अझैसम्म पनि आमचोकको लामिछाने गाउँमा उनका सन्तति बसोबास गर्छन्। पाँच दाजुभाइमा उनी श्रीकृष्ण लामिछानेका रूपमा कान्छा भाइ थिए। उनका दाजुका सन्तानहरूका अहिले आठदेखि दस पीँडी कुदिसकेको रहेछ। ज्ञानदिलदासको माइलो छोरा रविदिल दासका कान्छा छोरा भने अहिलेसम्म जिवीतै रहेको थाहा लाग्यो। उनी बाल्यकालदेखि नै धर्मकर्ममा रूचि लिन थालेका थिए। उनी केटौले हुँदा गाउँमा बस्ता धारामा नुहाउँदा पानी नै ठप्प रोकिएको, दुईवटा गुफा तप गर्न पस्ता घर गाउँले हल्ला गरिदिए भनेर त्यहाँदेखि पाँच किमी माथि चित्रे भन्ने ठाउँमा गएर छमहिना तपस्या गरेका थिए। त्यो गुफाको मुनिपट्टि बाघ पनि आएर बस्ने अनि उनी माथिल्लो भागमा निर्धकक तपस्या गर्ने किम्वदन्ती गाउँघर प्रचलित रहेछ। त्यहाँ छ महिना तपस्याका लागि गुफामा रहँदा एकदिन नुहाउन अलिकति धारामा नुहाउन जाँदा कुनै राइनी बजैले देखेको र तल बाहुन गाउँको केटा यता गुफामा बसेको छ भन्ने समाचार सम्पेरषण भएको थियो रे। उनी दार्जिलिङसित जोडिएको इलाम जिल्लामा जन्मेका हुनाले उनको जीवनको अधिकांश भाग दार्जिलिङ र सिक्किममा बितेको थियो। उनले काठमाडौं, रूम्जाटार, दार्जिलिङको रङ्बुल र त्यसमुनिको धोद्रे कमान, सिक्किमको गेलिङमा आफ्नो कुटी बनाएर बसेका थिए। दार्जिलिङ शहरदेखि केही पर अवस्थित रङ्गबुलमा एउटा कुटी बनाएर जोसमनि सम्प्रदायको प्रचार प्रसार गरेका थिए। यसै गरी सिक्किमको गेलिङमा पनि एउटा कुटी बनाएर बसे जहाँ उनको देहावसान भएको थियो। त्यहाँ कुटी बनाएर बस्ता च्याखुङका देवानले उनलाई उठिवास बनाउन अनेक गरे तर पनि ज्ञानदिलदासल अन्तमा सबैको मन जिते। त्यहाँ पनि धेरै चेला बनाए।
४. साहित्यिक क्षेत्रमा ज्ञानदिल दास नाम र काम
ज्ञानदिलदासको विभिन्न कवितामय रागवाणीहरूमा आफ्नो मत, मान्यता र सिद्धान्तलाई अघि सारेका छन्। उनले गम्भीर आध्यात्मिक चिन्तन र परोपकारको भाव व्यक्त गरेका छन्। परोपकारमा पनि सामयिक व्यवस्थामा विद्यमान विकृति र सुझाव व्यक्त गरेका छन्। उनले गद्य र पद्य दुवैका माध्यमले आफ्नो विचार प्रकट गरेका छन्। उनको प्रसिद्ध काव्य भने उदय लहरी हो। यसमा आध्यात्मिक चिन्तनका साथै सामाजिक व्यङ्ग्यको भाव पाइन्छ। आजभन्दा लगभग ड़ेढ दुई सय वर्ष अघिको नेपाली समाज बुझ्नपरे उनको उदयलहरी अध्ययन गर्नुपर्दछ। उदयमा प्रकट गरिएको कतिपय विचार र मान्यता आज पनि उत्तिकै टडकारो पाइन्छ। घुस खाने चलन, आर्थिक शोषण, गरीबको शोषण, सामाजिक अराजकता, असमानतालाई उछितो काडेका थिए। त्यस समयको समाजमा उनको त्यस्तो विचार, मान्यता, दनकले कस्तो प्रतिक्रिया जनाएको थियो होला, उनले कसरी आँट गरेर विरोधको सामना गर्नुपरेको थियो होला, आज आएर आश्चर्य लाग्छ। उनी समाज सुधार र धार्मिक सुधारमा सक्रिय रहँदा गाउँ समाजबाट हटक भए. जेल परे, गाउँबाट निकालाबासमा परे, कति हण्डर कति विरोधको खप्नु परेको थियो।
५. भारतीय भक्ति आन्दोलन र ज्ञानदिलदास-
भारतमा धार्मिक सुधार आन्दोलनलाई भक्ति आन्दोलन कहलिन थालेको हो। यसमा विशेषगरी हिन्दू धर्मका जटिलता, कट्टरता आदिका प्रतिक्रियास्वरूप धार्मिक सुधारको अभियान चलाइको थियो। यद्यपि धार्मिक र सामाजिक सुधार प्राचीनकालदेखि नै हुँदैआइरहेको पाइन्छ। बौद्ध जैन सिख आदि सम्पर्दायहरू पनि यस्तै प्रतिक्रिया र सुधारबाट उत्पत्ति भएका हुन्। मध्ययुगमा उद्भुत भक्ति आन्दोलनका प्रभावले धार्मिक सामाजिक प्रतिक्रियास्वरूप उप्जेका धार्मिक आन्दोलनले हिन्दू धर्म र तत्कालीन भारतीय समाजमा नयाँ चेतना, आयाम दिएका छन्। धर्मलाई अझ बलियो, सहिष्णु, शक्ति, पुष्ट बनाउन मद्दत गरेका छन्। भक्ति आन्दोलनका प्रमुख विशेषताहरूमा सन्तहरूले मूर्तिपूजाको खण्डन गर्नु, हिन्दू मुस्लिम एकतामा जोड दिनु, सबैका ईश्वर एक हुन् भन्ने विश्वासमा जोड दिनु, सन्यास मार्गका बद्ली गृहस्थ जीवनमा नै आचार व्यवहार शुद्धिमार्फत् भक्ति गरी ईश्वरत्व प्राप्ति हुन्छ भन्ने कुरामा बल गर्नु, धर्म जात, जाति, लिङ्ग, वर्ण आदिको भेदभावको खण्डन गरी सबैलाई एकसमान ठान्नु, सर्वसाधारणद्वारा नै यो आन्दोलन चलाइको हुनाले हिन्दू धर्मका कतिपय पक्षलाई सरलीकरण गर्न जोड दिएको, केही कुरीतिहरूलाई हटाउने, बलिप्रथा, सतीप्रथा, बालविवाह, अनमेल विवाहको विरोध, विश्वबन्धुत्व र मानवताको भावनालाई बढी महत्त्व दिनु, बहुदेववादका विरोध गरी एकैश्वरवादको प्रचार गर्नु, धार्मिक अन्दविश्वास र बाह्याडम्बरलाई हटाइ सरल र शुद्ध बनाउने प्रयास, व्यक्तिको चारित्रिक, नैतिक, आस्था आदिको शुद्धतामा बल दिनु आदि रहेका छन्। अलवर (लगभग दोस्रो शताब्दीदेकि आठौं शताब्दीभित्रका) नयनार (लगभग पाँचौंदेखि दशौं शताब्दीभित्रका), आदि शङ्कराचार्य (इश्वी ७८८ देखि ८२० सम्मका), वासव, माधवाचार्य, नामदेव, एकनाथ, सन्त ज्ञानेश्वर, जयदेव, निम्बाकाचार्य, पीपा, पुरन्दर, तुलसीदास, चैतन्य महाप्रभु, मीराबाइ, शङ्करदेव, वल्लभाचार्य, हरिदास, तुकाराम, समर्थ रामदास, त्यागराज, रामकृष्ण परमहंस. स्वामी विवेकानन्द, स्वामी प्रभुपाद आदि प्रमुख हुन्। सोह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीमा भक्ति आन्दोलन निकै प्रभावकारी रह्यो।
सन्त ज्ञानदिल दासले अन्य सन्तहरूका केही धार्मिक सुधारकहरूका ग्रन्थ पढेका थिए। उनीभन्दा पहिले र उनका समयका सन्त कबीर, सन्त निम्बार्क, सन्त प्राणनाथ, सन्त रामानुज, सुरदास, मिराबाईबारे उनलाई केही ज्ञान अवश्य हुनुपर्दछ। उनमा विशेषगरी महाप्रभु चैतन्यको अझै बेसी प्रभाव परेको थियो। ईश्वरीय चेतना, एकेश्वरवाद, सामाजिक चेतना आदिबारे महाप्रभु चैतन्यबाट पनि प्रभावित थिए भनिन्छ। सन्त ज्ञानदिल दासलाई पनि भारतीय इतिहासको भक्ति आन्दोलनभित्र एक धार्मिक सुधारकको नाम जोडनुपर्ने देखिन्छ। अरू सुधारकका सूचीमा उनको नाम पनि जोडेर इतिहास लेख्नुपर्ने आवश्यकता परेको छ। माथि उल्लेखित धार्मिक सुधारकहरूका योगदानभन्दा उनको योगदान पनि कमी छैन। उनले पनि नेपाल र भारत दुवैतिरका समाजमा धार्मिक सामाजिक सुधारको बिगुल फुकेका थिए। उनी पनि आफ्नो समयमा लाञ्छित र प्रताडित भएर पनि डटेर आफ्नो सुधार कार्य छाडेनन्, व्यवहारिक र लिखित रूपमा पनि लागिपरेका थिए।
६. निर्गुण भक्ति धारा र जोसमनि सन्त परम्परा
अध्यात्मवादको एउटा मार्ग हो निर्गुण भक्ति। यसले ब्रह्म एकमात्र शाश्वत् स्वयम्मा परिपूर्ण छन्। उनी निर्विकार र कार्यकारणदेखि भिन्न छन्। उनी बन्धनमुक्त छन्। निर्गुण ब्रह्म अद्वितीय अविभक्त असाधारण छन्। उनी अनादि र अनन्त छन्। यसले एकैश्वरवादको समर्थन गरेर मूर्तिपूजा, बहुदेववाद तथा अवतारवादलाई वहिष्कार गर्दै आफ्नो धारणामा कर्तव्यलीन भई चिन्तन र मन गरी परब्रह्मसँग निकट भाव सम्बन्ध राखेको पाइन्छ। निर्गुण भक्तिका सबैभन्दा मुख्य चिन्तक सन्त कबीर हुन्। त्यसपछि आचार्य शङ्कर, रामानन्द, रबिदास, धरमदास, सुन्दरदास, दादूदयाल, गुरू नानक, आदि हुन्।
जोसमनि मतको मूल अवधारणालाई विचार्दा केही मौलिकपन परिलक्षित हुन्छ। नेपाली समाजको आफ्नो मौलिक उपजको धार्मिक सम्प्रदाय हो जोसमनि। यसले ईश्वर वा ब्रह्मको निर्गुन, निर्विकार, निराकार रूपको उपासना गर्दछ। यसले ईश्वरका विविध नाम र स्वरूपलाई नमानेर एकेश्वरलाई मान्दछ। यसमा सद्गुरूको महिमा, लोकहितको भावना आदि मान्दछ। यसले परम्परागत रूपमा रहेका जातपात र यसको भेदभावको विरोध, मूर्ति पूजाको विरोध, तीर्थयात्राको विरोध, ब्राह्मणवाद र कर्मकाण्डको विरोध गर्दछ। यसले संस्कृतको शास्त्रीय भाषा भन्दा लौकिक रूपमा चलन चल्तीको भाषालाई आफ्नो ग्रन्थमा प्रयोग गरेको छ। वास्तमा भन्नु हो भने नेपालीभाषी प्रवर्तक र आफ्नो मौलिक धार्मिक सम्प्रदाय हो। नेपालका केही स्थान, दार्जिलिङ-कालिम्पोङ, सिक्किम र डुवर्सतिर जोसमनि मतानुयायी धेरै मानिसहरू रहेका छन्।
ज्ञानदिल दासले गद्य र पद्य दुवैबाट आफ्नो मत अघि सारेका छन्। पद्यमा उदयलहरी, रागवाणी र टुङना भजन पाइन्छ भने गद्यमा जेमगीता (यमगीता) पाइन्छ। यमगीतामा पनि समाज र व्यक्तिगत आचार संहिता सुधारको भाव व्यक्त गरिएको छ। यसमा पनि भानुभक्तका झैं नारीका केही आचार व्यवहारको कुरा गरिएको छ।
७. दार्जिलिङ र सिक्किममा ज्ञानदिलदासको आगमन
ज्ञानदिल दासले पूर्वीय नेपाल, दार्जिलिङ र सिक्किमको भूमिमा पदार्पण गरी आफ्नो आध्यात्मिक विचार र जोसममि मतको प्रचार प्रसार गरी प्रभाव पारेका थिए। यद्यपि उनको अघिल्लो भाग नेपालमा बितेको थियो। उनी दार्जिलिङछेउको रङ्गबुल र अझ त्यस मुनिको धोद्रे कमानमा पनि घर गृहस्थी भएर बसेका थिए भन्ने भनाइ छ। उनी आफ्नो जीवनको पछिल्ला पाँच छ जति वर्ष सिक्किम बसेका थिए। उनी इस्वी १८७७ देखि १८८३ सम्म मृत्युपर्यन्त सिक्किममा बिताएका थिए। सिक्किममा आफ्नो पदचिन्ह छोडेका, कुटी बनाएर बसेका, विरोध र समर्थनका चेपारामा पनि सिक्किममा आएर समाज सुधारको भावना छर्ने सन्त थिए। उनले एकतारे बजाउँदै सिक्किम दार्जिलिङका गाउँ गाउँ घर घर घुमेका थिए. समाजमा आध्यात्मिक, धार्मिक, सामाजिक चेतना फैलाउँदै हिँडेका थिए। उनी नेपाली साहित्यका प्रथम चरणका कवि थिए। नेपाली कविता लेखनको मिर्मिरे बिहानको समयमा उनी पनि काव्य लिएर देखा परेका थिए। त्यतिबेलाको चलनचल्तीमा रहेको लोकलय लहरीमा आधारमा उदयलहरी काव्य लेखेका छन्। यो उनको ज्ञानको उदय भएको सङ्केतको अर्थ लाग्छ। यसबाहेक केही भजनमा आधारित रागवाणी, टुङ्ना भजन पनि लेखेका छन्। अझ उनलाई ‘प्रथम भारतीय नेपाली कवि’ उपाधि दिन सकिन्छ।
८. ज्ञानदिलदास र जोसमणि साहित्यमाथि केही अध्ययन कार्यहरू-
सन्त ज्ञानदिलदासबारे नेपाल दार्जिलिङ सिक्किमतिर अध्ययनका केही काम भएका छन्। यस विषयमा सबैभन्दा ठोस काम भने जनकलाल शर्माले गरेका छन्। यद्यपि थालनी भने कोइदासले गरेका हुन्। सिक्किम अघि रहेको छ। सिक्किमका केही अध्येताहरूले ज्ञानदिलदासका विभिन्न पक्षबारे गहन अध्ययन गरेका छन्। सर्वप्रथम कोइदासले शशिधर, प्रेमदिलदास र ज्ञानदिलदासका विभिन्न पक्षबारे लेखेका छन्।
जनकलाल शर्माको जोसमनि सन्त साहित्य सबैभन्दा आधिकारिक ग्रन्थ मानिन्छ। यसमा शर्माले धेरै ठाउँमा क्षेत्रीय सर्वेक्षण, अध्ययन चिन्तन गरी ग्रन्थ तयारी पारेका थिए। यसबाहेक डा. नोबलकिशोर राई र नेत्रमणि दुमी राईको जोसमणि धर्म र दर्शन नामक ग्रन्थ नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंबाट प्रकाशित भएको छ। अहिले आएर सिक्किमका वीरभद्र कार्कीढोलीको अन्वेषण र सम्पादनमा एउटा महत्त्वपूर्ण ग्रन्थ प्रकाशित भएको छ- सन्त ज्ञानदिल दास अध्ययन ग्रन्थ। यो पछिल्लो ग्रन्थमा पनि उनीबारे विभिन्न कोण प्रतिकोणबाट अध्ययन गरिएको हुनसक्छ। उनीबारे धेरै जानकारी पाइन्छ। यसबाहेक प्रायः प्रत्येक नेपाली साहित्येतिहासका पुस्तकहरूमा ज्ञानदिलदास र अन्य सन्त कविहरूको अध्ययन गरिएको पाइन्छ। यीमध्ये केही उल्लेखनीय साहित्येतिहास लेखक अध्येताहरूमा शरदचन्द्र भट्टराई, डा. वासुदेव त्रिपाठी, डा केशवप्रसाद उपाध्याय, गुप्त प्रधान (धूमिल पृष्ठ), डा घनश्याम नेपाल, असित राई, दिवाकर प्रधान, प्रतापचन्द्र प्रधान, डा पुष्प शर्मा, डा गोमादेवी शर्मा आदिले यथोचित अध्ययन, विश्लेषण र मूल्याङ्कन गरेका छन्।
ज्ञानदिल दास र अन्य निर्गुण भक्ति साहित्यको अध्ययन गर्ने क्रममा केही हिन्दी र नेपाली साहित्यमा शोधकार्य भएका छन्। मथुरादत्त पाण्डेयले नेपाली-हिन्दी भक्तिकाव्य का तुलनात्मक अध्ययन’विषयमा शोधकार्य सम्पन्न गरी पुस्तक प्रकाशित गरेका छन्। कालेबुङका यादव सापकोटाले काशी हिन्दू विश्वविद्यालय, वाराणसीको कला संकायअन्तर्गत भारतीय भाषा विभागको नेपाली प्रभागमा नेपाली निर्गुण भक्ति काव्यको विश्लेषणात्मक अध्ययन नाम शीर्षकमा शोधकार्य समाप्त गरी हालैमा विद्यावारिधिका निम्ति प्रस्तुत गरिसकेका छन्। उनीबारे फूटकर रूपमा केही लेख्नेहरूमा मुख्य गरी डा. गोपालप्रसाद दाहाल, डा गोकुल सिन्हा, विमलचन्द्र राई, कमलचन्द्र राई, बाबुलाल प्रधान, डा राजकुमार छेत्री आदिले केही अध्ययन गरेका छन्। ज्ञानदिलदासकै सन्ततिमा बालकृष्ण लामिछानेले उनको काम कुरा दर्शनलाई प्रकाश पार्ने काम गरेका छन्। उनले आफ्नो शोधपत्र ज्ञानदिलदासको दर्शनमाथि प्रकाशित गरेका छन्। उनका केही लेखहरू पन प्रकाशित गरेका छन्।
८. सन्त ज्ञानदिलदासबारे भएका र सम्भावित केही कामकुराहरू-
सिक्किमले ज्ञानदिल दासको महत्त्व बुझेर उनका नाममा केही ठोस काम गरिरहेको छ र अझै गर्न सक्छ, गर्नुपर्ने कर्तव्य बन्दछ। यसैलाई लिएर गत ११ अगस्टमा सिक्किमस्थित जोरथाङदेखि केही पर बैगुनेमा क्लब महिन्द्रामा ज्ञानदिलदासमाथि एउटा विचार विमर्श सभा बसेको थियो। त्यसमा श्री गोविन्द शर्माको सभापतित्व र डा गोकुल सिन्हाको मुख्य आतिथ्यमा वैचारिक मन्थन भए। यसमा सिक्किम, नेपाल, दार्जिलिङ, डुवर्सतिरका विज्ञ र अनुयायीहरूको विचार विमर्श चल्यो। सिक्किम सरकारले ज्ञानदिलहासको गेलिङ धामको पुनर्निर्माण, उन्नति र धार्मिक पर्यटक स्थानको रूपमा रूपान्तरित गर्ने परियोजना गरेको थाह लाग्यो। त्यस सभामा यस पंक्तिका लेखकले केही सुझाव दिएको थियो। त्यसमा निम्न केही ठोस काम गरेर उनलाई अमर बनाउन सकिन्छ, साँचो श्रद्धाञ्जलि दिन सक्दछ। ज्ञानदिलदासबारे सिक्किमले गर्न सक्ने केही कामकुराहरूमा उनले स्थापना गरेको गेलिङधामतिर जाने सडकको नाम सन्त ज्ञानदिल दास मार्ग, उनको पूर्णकदको शालिग, उनको नाममा सन्त ज्ञानदिलदास गुठी, सन्त ज्ञानदिलदास पुरस्कार, उनको नाममा एउटा धार्मिक पुस्तकालय आदि जस्ता स्थापना गरी उनलाई अमर बनाउन सकिन्छ। जोसमनि सन्त गुरू परम्परालाई अघि बढाउनु गुरूकुल वा गुरू प्रशिक्षण केन्द्र पनि सञ्चालन गर्न सकिन्छ।
सन्त ज्ञानदिल दास धेरै वर्ष बसोबास गरेको यस पावन भूमि गेलिङ धाममा एउटा सन्त ज्ञानदिल दास स्मारक अन्तरार्ष्ट्रिय सङ्गोष्ठी सम्पन्न गर्न लागेको छ। यस किसिमको आयोजनाले सिक्किममा पनि पहिलेदेखि नै धार्मिक केन्द्र बनेको थियो, सामाजिक परिवर्तनको चेतनाको प्रादुर्भाव भैसकेको थियो, सामाजिक सुधारको कार्यमा यस्ता सन्त महात्माहरू आएका थिए, यहाँको प्राकृतिक सौन्दर्यले साधु सन्तहरू पनि आकर्षित थिए, सिक्किमले विश्व शान्तिको भावना काम गरिसकेको थियो भन्ने सन्देश विश्वभरि फैलियोस्। ज्ञानदिलदासका समग्र गद्य पद्य कृतिहरूको सम्पूर्ण ग्रन्थ प्रकाशन, उनका कृतित्व र मतबारे अहिलेसम्म फुटकर रूपमा लेखिएका लेखहरूको सङ्गालो प्रकाशन जस्ता कार्य गर्न सकिन्छ।
जे होस्, ज्ञानदिल दासलाई अजर अमर बनाउन भारतबाट सिक्किम सरकार र गेलिङ धाम समिति लागिपरेको छ। नेपालमा पनि आयोजित ज्ञानदिलदास साहित्यिक सम्मेलन २०८० जस्ता पुनित् कार्यक्रमले पनि उनको महत्त्व बढेको छ। नेपाल सरकारले जारी गरेको डाक टिकट, जनकलाल शर्मा र वीरभद्र कार्कीढोलीका जस्ता ग्रन्थ, डा गोकुल सिन्हा, डा. गोपालप्रसाद दाहाल, डा राजकुमार छेत्री, डा. देवी दुलाल छेत्री, बालकृष्ण लामिछाने आदि जस्ता अध्येताहरूको सामूहिक प्रयासले ज्ञानदिलदास युगयुगसम्म बाँच्नेछन्। यी जम्मै स्वागतयोग्य, सह्राहनीय र स्तुत्य कार्य हुन्। अनि आशा गरौं, माथि उल्लेखित सुझावहरू अवश्य नै पूरा भएर हाम्रो विश्व गोर्खाली समाजमा ज्ञानदिलदास अमर रहनेछन्।
कालिम्पोङ, भारत