एक्काइसौं शताब्दीको यो युगमा मानव समाजलाई सचेतना प्रदान गर्ने, महातत्त्वको नाम हो ‘साहित्य’। साहित्यले विभिन्न भाषाका विविध ज्ञान-विज्ञानका अलौकिक काम गर्दै आएको छ। साहित्य छ र नै विश्वभरिका मानिसहरूका अस्तित्व, अस्मिता इतिहासको बोध गराउने, जान्ने, बताउने, जगाउने, जागृत गराउने, उत्साह भर्ने जस्ता कार्यहरू गर्दै आएको छ।
साहित्यले शतप्रतिशत मानिसको कल्याण गर्छ भन्न पनि सकिँदैन। साहित्यले शोषक-शोषितबाट उन्मुक्ति हुने निर्देशन गर्दछ। साहित्यले अन्याय, अत्याचारमाथि प्रत्यक्ष व्यङ्ग्यबाण एवं अप्रत्यक्षरूपले प्रहार गर्ने गर्छ। व्यक्तिगत, सामाजिक, आञ्चलिक, राष्ट्रीय साथै अन्तर्राष्ट्रीय स्तरमा उन्नति अवनति इत्यादिलाई ऐतिहासिक आधारमा प्रस्टाएका पस्केका हुन्छन्। एक शिशु बालककालदेखि प्रौढ़-प्रौढ़सम्मकालाई अतीत, वर्तमान र भविष्यलाई सूर्यको किरण झैं साहित्यले पहाड़, कन्दरा, कुनाकुनासम्म प्रकाश पार्दै आएको छ, अनि पारिनै रहेछन्... अनन्त अनन्तसम्मलाई...।
त्यसै गरी हाम्रा समाजका एकजना मूर्धन्य व्यक्तित्वको नाम लिनुपर्दा श्री युवराज काफ्लेज्यूको नाम नलिई सकिन्न। श्री काफ्लेले भारतको पञ्चमुखी पशुपतिनाथ शिव पाञ्चाय मन्दिर र गोर्खा सामुदायिक भवन, मतिगड़ा (सिलगढ़ी) – को प्रबन्धक संस्थान मतिगड़ा गोर्खा कल्याण सङ्घका पहिलो सक्रिय अध्यक्ष, वतमान सल्लाहकार, भारतीय गोर्खा परिसङ्घका संस्थापक सदस्य, रविरत्न ढुङ्गाना महाविद्यालय प्रबन्धक समितिका संस्थापक सचिव र अवैतनिक संस्थापक शिक्षक अनि यसको परिचालक संस्थान सिलगढ़ी गोर्खा डेभलपमेन्ट वेलफेयर सोसाइटी र दार्जीलिङ सिक्सटी प्लस एसोसिएशन, सिलगढ़ीका पहिलो कार्यकारी अध्यक्ष अनि कार्यकारी सदस्य रहेक एकाग्रताका साथ सेवाकार्य पुऱ्याइरहेका छन्।
यस्ता शिक्षाविद, इतिहासकार, पत्रकार हाम्रो समाजका महारथीको –
जन्म – २१ अप्रेल १९४६
माता-पिताको नाम – स्व. मेनुका देवी काफ्ले र स्व डिल्लीराम काफ्ले
शैक्षिक योग्यता – बी.ए. अनर्स, एम.ए. (नेपाली), बी.एड. कोविद, भाषा रत्न (हिन्दी), साहित्य अलङ्कार (नेपाली)
जन्म स्थान – सिलगढ़ी, जिल्ला – दार्जीलिङ, पश्चिम बंगाल, राज्य – भारत।
स्थायी ठेगाना – हालको र साविकको समेत – काफ्ले निवास, रूपनारायण सिंह नगर, तुम्बाजोत, पोस्ट मतिगड़ा, सिलगढ़ी, पिन – ७३४०१०, जिल्ला – दार्जीलिङ।
उनका प्रकाशित कृतिहरू –
(क) फ्याँकिएको कसिङ्गर (कथा संग्रह)
(ख) देव-उक्ला (पूर्णाङ्की नाटक)
(ग) ध्वनि-प्रतिध्वनि (निबन्ध संग्रह)
(घ) भाव तरङ्ग (कविता संग्रह)
यसरी श्री काफ्लेले आफ्ना बहुमूल्य कृतिहरू दिएर आफ्नो पहाड़को माटो, अस्तित्व, अस्मिता र चिन्हारी चिनाउन कविता, कथा, निबन्ध, नाटकहरू लेखेर नेपाली साहित्यको गोरेटोमा आफ्नो जीवनलाई समर्पण गरिरहेका छन्। उनी बहुप्रतिभाशाली व्यक्तित्वहरूमध्ये एक ध्रुव तारा नै हुन् भन्नुमा दुइमत नहोला। यसरी हाम्रा अग्रज श्री काफ्लेले दिएका साँचो शिक्षा, दीक्षा, ज्ञान-विज्ञान, जोश-जाँगर र साहित्यको विकाश, श्रीवृद्धि, संरक्षण इत्यादिलाई मूल्याङ्कन अनि अविस्मरणीय गुणगान जाहेर गर्नु हाम्रो कर्तव्य हो।
साहित्य भनेको मानिसको जीवनको बिम्ब हो। जीवनलाई छर्लङ्ग्याउन नै साहित्यकारको भूमिका रहेको हुन्छ। हाम्रो सौभाग्य हो, हामीले समय (दैनिक), हाम्रो प्रजाशक्ति (दैनिक), आजका सिक्किम (दैनिक), आजभोलि (दैनिक), सुनचरी (दैनिक), हिमालय दर्पण (दैनिक) पत्रहरू पाएका छौं। यी पत्रहरू जनमानसका प्रतिनिधिहरू हुन्। यिनै पत्रहरूले नै समाजलाई अगुवाइ गर्ने गर्छन् र हामी यिनीहरूकै पछि लाग्छौं, लाग्नु पनि पर्छ। आफू पनि कुनै एक दैनिकलाई आत्मसात गरे बापत साहित्यकार र साहित्यमा आजको स्थितिबारे दुइचार लहर लेख्ने इच्छा जागृत हुँदछ।
श्री काफ्लेको (कथा संग्रह) ‘फ्याँकिएको कसिङ्गर’-मा सरसर्ती हेर्नु हो भने, एक साधारण ज्यामीको उत्पीड़न, उसको स्थिति बोध गर्दै आफ्नो कलाकारिताको माध्यमद्वारा सौन्दर्य थपी साहित्यको प्रतिनिधि निर्माण गरेको पाइन्छ। नेपाली भाषा-साहित्यका उनी यस्ता विभूति हुन् जसलाई पाएर कुनै पनि भाषाको साहित्यले गर्व बोध गर्न सक्छ। उनको कलाकारिता, अभिनय, सरलता यी महान् साहित्यकारको जीवनवृत्त समाजको लागि अनुकरणीय छ। उनको विचार परिवर्तनशील हुँदा हुँदै पनि कहिल्यै पनि संकीर्णताले छोएको अनुभव भएन। बरु उनको विचार निरन्तर समाजप्रति सचेष्टा औ विकाशतर्फ अग्रसर भएको पाइन्छ। यसैबाट साहित्य औ समाजप्रति रहेको उनको इमानदारी स्पष्ट झल्किन्छ।
‘साहित्यकार वा कलाकार स्वभावले नै प्रगतिशील हुन्छ।’ वर्तमान सन्दर्भमा काफ्लेको यही वाक्य प्रासङ्गिक बन्नु गएको देखिन्छ। विभिन्न समयका संघ-संस्थानतिर संलग्नता रहेर पनि काफ्लेले आफ्नो उमेर सँगसँगै लेखन कार्यलाई स्थगित राखेनन्। उनको योग्य सम्पादनमा प्रकाशित पत्रिकाहरूले अनेकौं कवि, कथाकार, निबन्धकार, व्यङ्ग्यकार, आख्यानकार र साहित्यिक प्रतिभाहरूले जन्म लिइरहेका छन्।
युवराज काफ्ले जातिले एक नेपाली चिन्तनशील मान्छे।
युवराज काफ्ले पेशाले एक कुशल शिक्षक मान्छे।
युवराज काफ्ले रुचिले एक अध्ययनशील साहित्यिक मान्छे।
युवराज काफ्ले सम्बन्धले एक सर्वप्रिय संवेदनशील मान्छे।
युवराज काफ्ले व्यवहारले मिलनसार, मिठा-मसिना खानपिन रूचाउने मान्छे, फोटोग्राफीमा सोख राख्ने मान्छे।
यस्ता शिक्षाविद, पत्रकार, हाम्रो समाजको जिउँदो जाग्दो महारथी, बहुप्रतिभाशाली व्यक्तित्वमा शत् शत् नमनको साथमा उहाँको सुस्वास्थ्यको कामना राख्दछु।
नागरी फार्म चियाबारी