सिक्किमको राजधानी गान्तोकपारि देखिने राङ्कामा 6 अप्रेल 2007-मा स्थापना गरिएको थियो ‘अभियान परिवार’। नेपाली साहित्यको क्षेत्रमा गाउँघरका भाइ-बहिनीहरूलाई पनि प्रेरित गरौं, साहित्य लेखनप्रति जागरुक गराऔँ भन्ने मूल उद्देश्य रहेको थियो ‘अभियान परिवार’-को। स्थापनाकालमा ‘अभियान परिवार’ भनिएको यो संस्थालाई मूलतः साहित्य क्षेत्रमा काम गरिरहेको हुनाले सितम्बर 2012 देखि ‘अभियान साहित्य समिति’ नाम दिइएको थियो।
‘‘राङ्का वरिपरिका नवोदित साहित्यकारहरूलाई मञ्च दिन सकौँ र उनीहरूका रचनाहरू पनि प्रकाशित हुन सकुन्’’ भन्ने समितिको ध्येय रहेको थियो। पृष्ठभूमिका कुराहरू यति नै हुन्, जसलाई यो कलमकार अर्जुन चामलिङ ‘यावा’सँगै इम्मानुएल राई ‘गिफ्ट’ र कुबेर भट्टराई ‘आभास’-को संयुक्त पहलको प्रतिफल मानिँदै आएका छौँ। हामी तीन संस्थापकको नाम अर्जुन, कुबेर र इम्मानुएलको पहिलो तीन वर्ण मिलाएर यसै संस्थाका संरक्षक अथवा साहित्य एवं समाजसेवी श्री मोहन दुङ्मालीले ‘अकुइ’ नाम दिनुभएको छ। यो कुरा सम्भवतः 2014-को भाषा दिवसको हो।
‘अभियान साहित्य समितिले अहिलेसम्म के-कति काम गर्न सक्यो? यसको जवाबमा जुलाई 2017 सम्मका कार्य गतिविधिहरूलाई दस्तावेजीकरण गरिसकिएको छ। त्यसपछिका पनि धेरै कामहरूलाई लिखितरूपमा राखिएका छन्, तर जुलाई 2017 सम्मका कुराहरू मात्र ‘अभियान’-को पाँचौँ अङ्कमा समावेश छन्। यद्यपि, केही कुराहरू यहाँ राख्ने प्रयास गरिरहेको छु।
सन् 2007 भन्दा अघिबाटै राङ्का भेगबाट एउटा साहित्यिक पत्रिका निकाल्न जरुरी छ भन्ने हामीलाई आभास भएको हो। साहित्यले नजिक्याएपछि मसँग विशेष इम्मानुएल गिफ्टले सल्लाह गरिरहनु हुन्थ्यो। कुबेरजी पनि हामीसित नजिकमा रहेका साहित्यप्रेमी। उमेर मिल्दोजुल्दो भएर पनि होला, हाम्रो विचार पनि मिलेको थियो। त्यसैले सल्लाह गर्यौं, अब हामीले सानोरूपमा काम थाल्नुपर्छ। अनि त स्थापना भयो ‘अभियान परिवार’। यसका लागि अनौपचारिक रूपमा धेरैपटक सभाहरू भए पनि सभालाई मैले नै पहिलोपटक लिखितरूप 6 अप्रेल 2007-को दिन मात्र दिएको थिएँ। त्यसैले अभियानको प्रवेशविन्दु मान्यौं हामीले 6 अप्रेललाई। त्यसैवर्ष सितम्बरमा हामी तीनैजनाको सम्पादनमा प्रकाशित गऱ्यौं पहिलो ‘अभियान’ पत्रिका। यद्यपि, पत्रिका प्रकाशन गर्ने कुनै समिति वा प्रकाशक नभएपछि हामीले सहयोगका लागि आ-आफ्ना श्रीमतीहरू (श्रीमती सारिका राई, श्रीमती तिलारूपा भट्टराई र श्रीमती लेमित लेप्चा)-लाई पनि साथमा लियौं। त्यसैले पत्रिका प्रकाशन गर्ने हाम्रो समूहलाई ‘अभियान परिवार’ नाम दिएका थियौँ। अन्तमा ‘युद्ध, आत्मबोध र परिधि’-का श्री सर्जक उमेश राईसँग सम्पर्कमा आयौँ। उहाँकै संरक्षकत्वमा रहेको ‘शिकारु मञ्च’-लाई प्रकाशक बनायौँ। ‘शिकारु मञ्च’ त्रयमाशिक साहित्यिक पत्रिका राङ्काबाट अघिबाटै प्रकाशनमा आइरहेको थियो, जसको सहसम्पादक म स्वयं थिएँ। पत्रिका प्रकाशित गर्ने हाम्रो जोश थियो, अनुभव थिएन। काम गर्न चाहान्थ्यौँ, जानेका थिएनौँ। त्यो समय मेरो एकै वचनमा लगनथाङ, स्यारी निवासी चित्रकार श्री बुद्धिकुमार सुब्बाले निशुक्लरूपमा पत्रिकाको सुन्दर आवरण बनाइदिनुभएको थियो।
सितम्बर 2007-मा पहिलो ‘अभियान’ साहित्यिक पत्रिका प्रकाशन गरिएको थियो, जसमा राङ्का वरीपरीका नवोदित र अग्रज साहित्यकारहरूसँगै वरिष्ठ साहित्यकार श्री कालुसिंह रनपहेँली, डा. इन्द्रवीर सिंह यादव ‘कविल’, बाल साहित्यकार श्री भीम प्रधान (बाल साहित्य अकादमीद्वारा पुरस्कृत भइसक्नु भएको छ), श्री टीका ढुङ्गेल, स्व. कमला आशु आदिका रचनाहरू पनि समावेश गर्न सकेका थियौँ। पहिलो पत्रिका केवल 66 पृष्ठमा प्रकाशित गऱ्यौँ।
त्यसरी नै दिसम्बर 2009-मा आएर ‘अभियान’-को दोस्रो अङ्क प्रकाशित गर्न सक्यौँ, जसमा वरिष्ठ साहित्यकार श्री अर्जुन पीयूषलाई हामीले सल्लाहकार सम्पादकका रूपमा पायौँ। यस अङ्कमा हामीले गाउँघरका नवोदितहरूसँगै सिक्किमेली तथा भारतीय नेपाली साहित्य जगतका सिद्धहस्त ब्यक्तित्वहरूलाई पनि जोड़न सक्यौँ। जस्तै- श्री भीम दाहाल (साहित्य अकादमी पुरस्कारले विभुषित), पद्मश्रीद्वारा सम्मानित श्री सानु लामा, श्री विजयकुमार सुब्बा, श्री पारसमणि शम, श्री युवा बराल ‘अनन्त’, श्री शंकरदेव ढकाल (बाल साहित्य अकादमी पुरस्कारले विभुषित), श्री अमर बानियाँ ‘लोहोर’, सुश्री अप्सरा दाहाल, श्री तारा दास, श्री चक्रपाणि भट्टराई, श्री समीरण छेत्री ‘प्रियदर्शी’ (गैरिगाउँकी चमेली कतासङ्ग्रहका लागि साहित्य अकादमी पुरस्कारले विभुषित), श्री कालुसिंह रनपहेली, श्री मोहन ठकुरी, श्री मन प्रसाद सुब्बा, डा. राजेन्द्र भण्डारी, श्री मनोज बोगटी, श्री वीरभद्र कार्कीढोली, श्री प्रकाश भट्टराई, श्री प्रवीण खालिङ, श्री कर्ण विरह, श्री भूपेन्द्र सुब्बा, श्री कृबु संयमी, श्री कृष्ण पी. ठटाल, श्री चुनिलाल घिमिरे, श्री प्रद्युम्न श्रेष्ठ, श्री सुकराज दियाली लगायत धेरैका रचनाहरू राख्नसक्यौँ। यस अङ्कमा 127 पृष्ठमा 76 जनाका रचनाहरू राख्न सकियो, जसमा 14 वटा कथा, 47 वटा कविता, 13 वटा लेख, निबन्ध तथा समीक्षा, एउटा व्यक्तित्व र एउटा नाटक समावेश छन्।
त्यसपछि, अगस्त 2012-मा भाषा मान्यता दिवसको अवसरमा ‘अभियान’-को तेस्रो अङ्क ‘कथा विशेषाङ्क’-को रूपमा प्रकाशित गरियो। यस अङ्कमा पनि सिक्किम तथा भारतीय नेपाली साहित्यका शीर्षस्थ कथाकारहरूदेखि राङ्का भेगबाट केही कथाहरू समावेश गर्न सकियो भने कथा विशेषाङ्क हुँदाहुँदै पनि रहेका खाली पृष्ठहरूमा भाषा दिवस 2010-को अवसरमा आयोजिक विद्यार्थी तथा खुल्ला कविता प्रतियोगिताका 12 जनाका रचनालाई समितिले दिएको वचनअनुसार राखिएका छन्। यसमा 37 जना कथाकारको परिचयसँगै कथा प्रकाशित छन् भने पारसमणि शमको ‘समकालीन सिक्किमेली कथा: सर्वेक्षणात्मक अध्ययन’ शीर्षकमा विशेष लेख प्रकाशित छ, जो साहित्यका विद्यार्थीहरूका लागि लाभदायक रहेको हाम्रो ठम्याइ छ।
चौथो ‘अभियान’ पत्रिका सानो रूपमा प्रकाशित छ, अप्रेल 2015-मा। यसपटक पूर्णरूपमा राङ्काकै सिर्जनाहरूमा सीमित 32 पृष्ठमा रहेको पाँचौँ अङ्कमा राङ्का भेगमा शिक्षाको जग बसाल्ने व्यक्तित्व स्व. शङ्खामान राई (कोर्टबाउ) र राङ्का उच्चमाध्यमिक विद्यालयको ऐतिहासिक लेख समावेश छ। यसैले सानै भए पनि यो अङ्कको आफ्नै विशेषता छ भन्ने हामीलाई लागेको छ।
अगस्त 2017-मा पाँचौं अङ्क निकाल्न सक्यौँ। यसपटक कुनै साहित्यिक रचनाहरू यहाँ राखिएन। अघिल्ला चार अङ्कभन्दा छुट्टैरूपमा प्रकाशित पाँचौँ ‘अभियान’-मा अहिलेसम्म समितिद्वारा गरिएका कामकुरोलाई दस्तावेजीकरण गर्ने सोचले हामीसित उपलब्ध दस्तावेजहरू राखिएका छन्। अभियानलाई प्राप्त पत्रहरू, पूर्व प्रकाशित पत्रिकाका समीक्षाहरू, अभियान शुरु गर्दादेखि कार्यक्रम आयोजन गरिँदाका हरहिसाब, विभिन्न समाचार पत्रहरूमा प्रकाशित समाचारहरू अनि सम्झनाका केही तस्वीरहरू यहाँ राखिएका छन् भने अतिथिहरूबाट प्राप्त सन्देशहरू पनि रहेका छन्। यसबाहेक तीन संस्थापकका कुराहरू पनि राखिएका छन्। सम्भवतः कुनै संस्थाले गरेका कार्यगतिविधिहरूको दस्तावेजलाई पुस्तकाकारमा प्रकाशित पाँचौँ अभियान सिक्किमकै पहिलो हुनसक्छ, जसलाई ‘दशकीय दस्तावेज’ नाम दिइएको छ।
हाम्रो कामलाई सबैले मनपराइदिए। त्यसैले अभियानमा साथीहरू जोड़िँदै गए। अहिले उसो त 70 भन्दा धेरै संदस्य रहेका छन्। यद्यपि, सबैजनाको सक्रीयताको भने अभाव खट्किरहेको अवस्था हाम्रो मात्रै संस्थामा होइनहोला भन्ने लाग्छ। जे भएपनि अभियान जारी छ। त्यसैमा हामी सन्तुष्ट छौँ।
सन् 2007-मा स्थापित भएर 2012-को अगस्तसम्म ‘अभियान् परिवार’ भनेर चिनिएको हाम्रो संस्थाको नाम सन् 2012-को सितम्बरदेखि ‘अभियान साहित्य समिति’ भयो। नाम जसो भए पनि संस्थाले गर्ने काम भनेको अन्ततः साहित्य क्षेत्रमै थियो। त्यसैले समय-समयमा साहित्यिक पत्रिका प्रकाशित गर्दै आइरहेको यो समितिले विभिन्न कार्यक्रमहरू पनि आयोजन गर्दै आइरहेकै छ। आफ्नो स्थपनाकालदेखि नै साहित्यिक कार्यक्रमहरू विशेष कविगोष्टी आयोजन गरिहहेको थियो। समितेले सन् 2009 देखि नेपाली भाषा मान्यता दिवस आयोजन गर्न थाल्यो, जो आजपर्यन्त सञ्चालित छ।
भाषा दिवसकै अवसरमा सन् 2013 देखि राङ्का भेगका साहित्यकार अथवा समाजसेवक कोही एकजनालाई प्रत्येक वर्ष सम्मान जनाउने अनि एक या दुईजनालाई अभिनन्दन जनाउन थालियो। पहिलोपटक समितिले साहित्यकार एवं समाजसेवक श्री मोहन दुङ्मालीलाई सम्मान जनाएको थियो भने प्रा. रुद्र पौड्याल र श्री चक्रपाणि भट्टराईलाई अभिनन्दन जनाएको थियो। सन् 2014-मा समाजसेवक तथा 31 वर्षसम्मा पञ्चायत रहेका 89 वर्षीय श्री धनपति पाण्डेलाई सम्मान जनाइएको थियो भने वरिष्ठ साहित्यकार श्री कालुसिंह रनपहेंली अभिनन्दित हुनुभएको थियो। यसरी नै 2015-मा गीतकार, कवयित्री एवं नाटककार श्रीमती मिनु खड्कालाई साहित्य सेवा सम्मान प्रदान गरिएको थियो भने 2016-मा कारणवस सम्मान स्थगित गर्नु पऱ्यो।
यसरी नै सन् 2017–मा धजे निवासी श्री कैलाश राईलाई ‘समाज सेवा सम्मान’, सन् 2018-मा पूर्वपञ्चायतद्वय साम्तोङ निवासी श्री सोनम नर्बु भोटिया र मलङ्थाङ निवासी श्री बुद्धिमान राई समाज सेवा सम्मान अनि सन् 2019-मा साहित्य सेवा सम्मानद्वारा अभियानका संस्थापक अध्यक्ष श्री इम्मानुएल गिफ्टलाई अलङ्कृत गरिएको थियो। यसबीच सन् 2020 र 2021-मा कोभिड-19–को महामारीका कारण कार्यक्रम स्थागित गरिएको थियो। त्यसपछि पुनः सन् 2022-मा धजे निवासी श्री विष्णुलाल छेत्रीलाई समाजसेवा सम्मान अनि सन् 2023-मा परबिङ निवासी श्री मोहन प्रसाद गौतमलाई साहित्य सेवा सम्मान प्रदान गरिएको थियो भने सामा-सिबिक निवासी सुश्री आकृति शर्मा (राङ्का उच्चमाध्यमिक विद्यालयकी छात्रा)-लाई अभिनन्दन जनाइएको थियो।
प्रत्येक भाषा दिवसको अवसरमा समितिले सामा-सिभिकदेखि लुइङसम्मका प्राथमिक, निम्न माध्यमिक, माध्यमिकर उच्चमाध्यमिक तहका सबै स्कूलका विद्यार्थीवर्गलाई समेटेर कविता प्रतियोगिता पनि आयोजन गर्ने गरिएको छ। यसका साथै खुल्ला कविता प्रतियोगिता पनि आयोजन गरिँदै आएको छ भने प्रथम, दोस्रो, तेस्रो विजेता अनि एकजनालाई शान्तवना पुरस्कारसँगै प्रतियोगि सबैलाई प्रमाण-पत्र प्रदान गर्दै आइरहेको छ। स्मरणीय कुरा त के छ भने, भाषा दिवसको उपलक्ष्यमा आयोजित कविता प्रतियोगितामा भाग लिने विद्यार्थीहरूको सूचि एकवर्ष त 105 नाघेको थियो, जसले गर्दा कविता प्रतियोगितालाई भाषा दिवसभन्दा दुई दिनअघि नै आयोजन गर्न परेको थियो।
अभियान साहित्य समितिद्वारा निरन्तररूपमा सञ्चालन गर्दै आइरहेको अर्को ब्यानर कार्यक्रम हो ‘साहित्य मञ्च’। विद्यार्थी, युवा, प्रौढ़ सबैलाई समावेश गर्दै अघिबाटै सामयिकरूपमा कार्यक्रम आयोजन गर्दै आइरहेको भए पनि 22 अप्रेल 2012 देखि ‘साहित्य मञ्च’ भनी त्रयमासिक साहित्यिक गोष्ठी राख्न शुरु गरियो। यद्यपि, समय र परिस्थितिअनुसार कहिले सामयिक, कहिले त्रयमासिक त कहिले मासिक भिन्नाभिन्नै रूप दिने प्रयास गरिँदै आएका हौँ। वर्तमानमा यसलाई मासिक रूप दिँदै प्रत्येक महिनाको चौथो आइतवार कार्यक्रम आयोजन गर्ने र एकजना युवा कवि/कवयित्रीलाई प्रोत्साहनस्वरूप अभिनन्दन जनाउन शुरु गरिएको थियो। यद्यपि, 2023 देखिको हाम्रो यो पहलमा अहिलेघरि निरन्तरता दिन नसकिरहेको अवस्था छ।
यसबाहेक सन् 2016-मा श्रीमती लाक्पाडोमा भोटिया र श्री युवा बराललाई स्मृति चिन्ह प्रदान गरिएको थियो। यसरी नै साहित्य मञ्चको अवसर पारेर विभिन्न पुरस्कार-सम्मान प्राप्त गरेवापद सन् 2016-मा समितिका सदस्यहरू अर्जुन यावा, मोहन ढकाल, टिका पाण्डे र जीविका अश्रुलाई अभ्यर्थना जनाइएको थियो भने भाषा दिवसको अवसरमा श्री डीआर थापा र श्री रूपेश शर्मा (2017)-लाई सम्मानस्वरूप स्मृति चिन्ह प्रदान गरिएको थियो।
सन् 2007 देखि शुरु भएको ‘अभियान’-को कार्यक्रमलाई केवल राङ्का धजेमा सीमित नराखेर विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसित संयुक्तरूपमा विभिन्न स्थानमा पनि आयोजन गरिँदै आइरहेका छौँ। लुइङ, थामिडाँड़ा, परबिङ, बरबिङ, लिम्दुङ, सामा, धजे आदि स्थानमा कार्यक्रम आयोजन गरिए। एनवाइके गान्तोकसित धेरैवटा कार्यक्रमहरू सहायोजन गरिए। खेतका आलीहरूमासम्म कार्यक्रम गरियो। यो मञ्चद्वारा यस भेगका धेरै नवोदितलाई प्लेटफर्म दिइयो भन्दा दुईमत नहोला। अभियान साहित्य समितिले आफ्ना सदस्यहरूलाई लिएर पूर्व सिक्किमको रिनाकसम्म पुगेर स्थानीय ‘प्रतिभा मञ्च’-सँग संयुक्तरूपमा कार्यक्रम आयोजन गरियो।
पहिले अभियानको कार्यालय थिएन, पछिबाट लिम्दुङ निवासी भाषा तथा साहित्यलाई माया गर्ने व्यक्तित्व समाजसेवक श्री मोहन दुङ्मालीले 2014 देखि कार्यालयको निम्ति एउटा कोठा दिनुभयो, जहाँ आजसम्म हाम्रो कार्यालय सञ्चालित छ। यसरी नै समितिलाई साथ सहयोग दिँदै लुइङ-राङ्का टेरोटेरियलका जिल्ला पञ्चायत सदस्य श्री राजु राईले रिनाक-आरिटारको साहित्यिक यात्राको निम्ति प्रायोजन गरिदिनु भएको थियो भने अर्का जिल्ला पञ्चायत सदस्य श्री सूर्यकुमार राईले 50 पटा प्लास्टिक चौकी र डस्टबीन जिल्ला पञ्चायत कोषबाट उपलब्ध गराउनु भएको थियो। यसरी नै यसै टेरोटेरियलका जिल्ला पञ्चायत सदस्य श्री तीर्थबहादुर छेत्रीले ध्वनी प्रसारण यन्त्र (पूरा सेट) उपलब्ध गराइदिनु भएको छ।
सन् 2007-मा नेपाली साहित्य परिषद भवन, गान्तोकमा पहिलो अभियान पत्रिका लोकार्पण कार्यक्रम आयोजिन गरिएको थियो। सो कार्यक्रम प्रतिभा मिलन, गान्तोकसँगको संयुक्त आयोजन रहेको थियो। सन् 2013-मा भाषा दिवसको अवसरमा निकुरा बुङ्छेनद्वारा सम्पादित-प्रकाशित बाल पत्रिका ‘बढ्दो पाइला’-को लोकार्पण अभियान साहित्य समितिले नै गरेको थियो। यसबाहेक इम्मानुएल गिफ्टको कथा सङ्ग्रह ‘आरोह-अवरोह’-को प्रकाशन गर्ने अवसरलाई समितिले गुमाएन। यसरी नै सन् 2016-को 25 सितम्बरमा राङ्का धजे निवासी वरिष्ठ नागरिक श्री टङ्कनाथ पाण्डेलाई उनको 95औं जन्मोत्सवको अवसरमा सम्मान जनाइएको थियो, जो अहिले हामीबिच हुनुहुन्न। अभियानको 29औं ‘साहित्य़ मञ्च’-मा सन् 2016-मा नेपालका वरिष्ठ गजलकार श्री पुष्प अधिकारी ‘अञ्जली’ र श्रीमती इन्दिरा अधिकारीसम्मको उपस्थितिले हामी धेरै गर्वानुभव गरिरहेका छौँ। यसरी नै 2024-मा अर्जुन चामलिभ ‘यावा’-को यात्रा संस्मरण ‘अनुभूति’-को लोकार्पण पनि गर्न सक्यो।
अभियान साहित्य समिति स्थापनाको 18 वर्ष टेकिसकेको छ। यो संस्थाले यहाँसम्म आइपुग्दा ठूलो काम केही गर्न सक्यो सकेन, त्यो हामी भन्न सक्दैनौँ। यद्यपि, अभियान साहित्य समिति भारत र नेपालसम्मका धेरै स्थान र धेरै साहित्यकारहरूसम्म परिचित हुन सकेको छ। ‘अभियान’-ले राङ्का र सिक्किमलाई केही हदसम्म चिनाउने काम गरेको छ भन्ने हामीलाई लागेको हो। अबको, चुनोती भनेको अभियानले के काम गर्ने, कस्तो काम गर्ने, कसरी काम गर्ने? भन्ने नै हो। त्यो भन्दा ठूलो चुनौती अहिलेको विकसित बन्दो भर्चुअल समाज र सामाजिक सञ्जालको प्रतिस्पर्धाबीच यो संस्थालाई कसरी निरन्तरता दिने? भन्ने हो। आशा गरौँ साहित्यलाई माया गर्नेहरू जन्मिरहने छन्, साहित्य बाँचिरहने छ अनि अभियान साहित्य समितिले पनि अझ पाइला चाल्न छोड़िहाल्ने छैन।
(अध्यक्ष : अभियान साहित्य समिति, राङ्का)