18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ग्रेटबुक !

हास्यव्यङ्ग्य गायत्री लम्साल July 20, 2024, 3:33 pm
गायत्री लम्साल
गायत्री लम्साल

पाना कम फर्काउने भएर होला आफूलाई त अनुहार पुस्तिकामा नै चित्त बुझेको थियो एक जना दाजुले यो त कहाँ अनुहार पुस्तिका मात्रै हो र ? यो त महाबुक हो, ग्रेटबुक हो भन्नु भो । यसो विचार गर्दा कुरा हो नै रहेछ । भन्नलाई हामी फेसबुक भन्छौ“, तर यो त गेस बुक पनि रहेछ । यो चलाउने मान्छे कस्तो हो, सजिलै गेस गर्न सकिन्छ , यो लेस बुक पनि हो, यसले पुस्तक किन्ने पढ्ने बानीलाई पूरै लेस गराइ सकेको छ । यो फ्रेस बुक पनि हो, यसले जति ताजा समाचार दिने अर्को कुन साधन छ ? यसमा के छन, सबथोक छ । समाचार छ, कथा छ,कविता छ, मुक्तक, गजल छ । भूगोल, खगोल, अन्तरराष्ट्रिय, राष्ट्रिय, गाउँस्तरीय, घरपरिवारदेखि ओछ्यानस्तरीय सूचना, समाचार, घटना सबै सबै यसैमा छ । त्यसैले ती दाजुको कुरालाई तथास्तु भन्दै यसको न्वारान ग्रेटबुक नै गरियो । बिहानै आँखा खोल्नुभन्दा पहिला खोलिने दर्पण हो यो । केटाकेटीदेखि बूढाबुढीसम्म सबैलाई अनौठो प्रेम गरेको छ यसले । भोक लागोस् कि निद्रा, बिरामी हुनु परोस् कि हरामी जस्तोसुकै अवस्थामा एउटा असल मित्रको काम गर्छ यो आधुनिक पुस्तिकाले । पूर्वीय र पश्चिमा संस्कृतिको साथमा निकै आधुनिक नयाँ–नयाँ संस्कार र आचारसंहिता फल्ने गर्छ सबैको नेत्रप्रिय ग्रेटबुकमा ।

हेर्नलाई अनि पढ्नलाई निकै सजिलो हुन्छ यो पुस्तक । स्कूल, कलेज, विद्यालय, विश्वविद्यालय आदि कही“ जानु पर्दै–पर्दैन । जे, जहाँ, जसरी, जहिले, जसको पनि पढ्न मिल्छ यो । एउटा हातले खाना बनाउँदै अर्को हातमा पढिन्छ यो । एउटा हातले आची धुँदै अर्को हातले अध्ययन गरिन्छ यसलाई यत्तिमात्र कहाँ हो र हजुर, बिरामी भएको बेलामा पनि एउटा हातले अक्सिजनको सिलिन्डर समाएर अर्को हातमा यही अजम्बरी पुस्तिका समाउने गरिन्छ ।

कस्तो राम्रो साइतमा जन्मेको रहेछ यो ग्रेट ग्रन्थ । उसको बाबु भने पनि आमा भने पनि तपाईँहरुले पक्कै चिन्नुभएको छ उसलाई जुकरवर्ग भन्छन् क्यारे । मोरोले पुर्पूरोमा लेखेरै ल्याएको रहेछ नत्र भने त्यति सानो अनुहार पुस्तिकालाई जन्माउँदैमा सारा विश्वका अरबौँ मानिसहरुले यसैलाई गोजीमा राख्छन्, हातमा राख्छन्, मन, मुटु र मस्तिष्कमा राख्छन् । अझै खोज्दै र सोध्दै जाने हो भने त सोध्नै नमिल्ने र भन्नै नहुने ठाउँमा पनि राख्छन् वाई । एकछिन साथमा भएन भने मान्छेहरु हिरिक–हिरिक हुन्छन् ।

धरमोधर्म यस मानेमा हामीले ढाँट्न जानिएको छैन । यस पुस्तकलाई एक पटक पढेपछि नरुचाउने कोही फेला पर्दैन । अरु विषयका पुस्तक जस्तो सबैलाई पढ–पढ भन्नै पर्दैन । न त क्लास जानुपर्छ, न त ट्युसन नै । एक पटक यसो आखाँ जुधेपछि सबैलाई सटासट । घोकाउन, रटाउन केही गर्न पर्दैन । सबै बुकहरु मध्ये उत्कृष्ट बुक हो यो ग्रेटबुक । अरु बुक जस्तो पढेर सकिने बुक होइन यो । यो त पढेर कहिल्यै नसकिने, लेखेर कहिल्यै नसकिने ग्रेटबुक हो । त्यसैले यसलाई उत्कृष्ट बुक मानिएको हो । उत्कृष्टमा छानिएको हो । मेरी बास्सै यसका रुप, गुण र विशेषता त कति छन् कति । न त गन्न सकिन्छ, न त भन्न सकिन्छ ।

आजभोलि कार्यस्थलमा राम्रो मनशायले अन्य महिलाहरुलाई हेरियो भने पनि महिला हिँसा गर्नेमा परिन्छ कि भन्ने कत्रो टेन्सन हुन्छ । यो बुकमा भने राम्रा–राम्रा अनुहारहरु मज्जाले हेर्दा हुन्छ । महिलाले पुरूषको, पुरूषले महिलाको । हेर्ने मात्र होइन हजुर छुने, मुसार्ने, चिमोट्ने, चिथोर्ने, म्वाइँ खाने, नडराइकन आइ लभ यू भन्ने जे गर्दा पनि हुन्छ । कसैका पिताजीको केही जोेर चल्दैन ।

यस बुक पढ्ने लत बसेपछि भोक लाग्दैन, निद्रा लाग्दैन, अल्छी लाग्दैन, डर लाग्दैन । हजुरहरुलाई कत्तिको थाहा छ कुन्नि सबै लाग्ने कुराहरु लाग्न छोडेपछि अरुको मात्र होइन हजुर आप्mनो पनि भर लाग्दैन । तपाईँ हामी भुक्तभोगी छौ“, गे्रटबुकमा मानिसहरुको मात्र होइन, सबै कुराको अनुहार स्पष्ट हुन्छ । खानेकुराको, लाउने कुराको, आउने कुराको, धाउने कुराको, पाउने कुराको आदि धेरै सबै कुराको । धेरै खुराकहरुले पुष्ट भएको हुन्छ यो ग्रेटबुक । यस पुस्तिकामा हाजिर हुन थालेपछि कोही पनि कहिल्यै गयल हुन जान्दै–जान्दैनन् । जस्तोसुकै कठिन परिस्थितिमा पनि लाजै नमानी हाजिर हुन्छन् ।

यस पुस्तिकामा बिना लगानी, बिना मेहनत अर्गानिक खानेकुराहरु प्रचुर मात्रामा उत्पादन हुन्छ । विषादीमुक्त र भिटामिनयुक्त फलपूmलहरु बिरामी हुने आफन्तीहरुलाई फटाफट पठाइन्छ, त्यो पनि एक÷दुई किलो मात्र होइन । राम्रा–राम्रा दामी टोकरीभरि । बर्थ डे केक मात्र होइन, डेथ डे केक पनि सजाउन मिल्छ सजिलै । हाम्रा संस्कारका जन्म, विवाह र मृत्युका कर्म मात्र होइन यस पुस्तिकामा त निकै धेरै कर्महरु अटाउन सकिन्छ । धेरै कुराहरु अटाउने भएकोले यसको मोह सबैमा पढ्नु स्वभाविक हो ।

हाम्रा पर्वहरु नै कति अटाउँछन्, अलिकति सुनाइहालौँ । एक वर्षको एकापाली आउने वर्थ डे, महिनाको एक पटक आउने वर्थ डे, हप्ताको एक पटक आउने वर्थ डे पर्व । त्यसैगरी भू.पू. ब्वाइ फ्रेन्ड र गर्ल फ्रेन्डसँग डेटिङ डे पर्व, आफ्नै श्रीमतीसँग भेटिङ डे पर्व । लुतो फाल्ने पर्व, दारू खाने पर्व, आरु खाने पर्व । छोटो कपडा लाउने पर्व, लामो कपडा लाउने पर्व । जुस खाने पर्व, भुस खाने पर्व, घुस खाने पर्व .....कति छन् कति पर्व ।

बाबु–आमाले कहिल्यै नदेखेका सन्तानहरु र सन्तानहरुले कहिल्यै नदेखेका बाबु–आमाहरुबीच बा औँशी, आमा औँशी र सन्ताने पूर्णिमामा चिनचान र भलाकुसारी मात्र होइन, पुस्तिकाभित्र निकै महङ्गा–महङ्गा गिफ्ट आइटमहरुको फलाकुसारी हुन्छ । खाइनसक्नु र पाइनसक्नु हुन्छ सन्तानले बाबा–आमालाई दिने उपहार । पुस्तिकामा पानाभरि श्यामश्वेतमा होइन रङ्गीन, आधा पेजमा, पुरा पेजमा । बर्षौँ दिनको बासी भए तापनि पटक्कै बसाउँदैन । यो विशेषता विशेष गरी यही ग्रेटबुकभित्र फल्ने र भर्ने खानेकुराहरुको हकमा मात्र हो है ।

आधुनिक पुस्तिकामा राख्ने र छाम्ने कुराहरु अमूल्य नै हुन्छन् । हरेक कुराको मूल्य वृद्धिसँगै यसमा चोट लाग्ने र खोट लाग्ने कुराहरुमा निकै वृद्धि भएको छ । असर जे–जस्तो भए तापनि बृद्धि हुने कुरा निकै राम्रो हो । वृद्धि भएको कुरा हाम्रो हो । कुराको मूल्यवृद्धि यसरी हुने गर्दछ । कुनै मानिस बिरामी भएर हस्पिटलमा छ । उसको मृत्युको खबर उसको उपचार गर्ने डाक्टरले घोषणा गर्नुभन्दा पहिला यस बुकमा प्रकाशित हुन्छ । पोहोर साल क्या त, एकजना अग्रीम स्वर्गीय घोषित बिरामीले म मरिसकेको छैन है, रिप लेख्न हतार नगर्नुस् भन्ने कमेन्ट पोस्ट गरेर भोलिपल्ट मात्रै मरेको भन्ने समाचार आएको थियो । ग्रेटबुकको कमाल यस्तोसम्म छ । पक्कै पनि आप्mनो मृत्युको खबर आपूmले पोष्ट गर्न नमिल्ने भएर होला सबैले अरुको मृत्युको खबर यस पुस्तिकामा राख्न हतारिन्छन्, सकिनसकी हस्पिटलको बेडदेखि आर्यघाटसम्मका फोटा पोष्ट गर्न लतारिन्छन् ।

जुकर भाइले न्वारन गर्दा नाम राम्रै जुराएका हुन् यसको फेसबुक । यस पुस्तिकामा प्रकाशित हुने अनुहारहरु सबै राम्रा हुन्छन्, सबै चाम्रा हुन्छन्, सबै हाम्रा हुन्छन् । चौबिसै घण्टा यस पुस्तिकामा हेरेको अनुहारलाई पुस्तिकाभन्दा बाहिर भेट्दा एउटालाई पनि चिनिँदैन । वास्तविक रुपभन्दा सय गुणा राम्रो पार्न सक्ने अचम्मको खुबी भएर होला यसको नाम अनुहार पुस्तिका रहेको । नत्रभने त हातगोडा पुस्तिका, पेट पुस्तिका, मेरुदण्ड पुस्तिका आदि जे राखे पनि हुन्थ्यो होला है ।

जे–जस्तोसुकै कुरा हाल्न, गुन्दु्रक खाँदे झै खाद्न मिल्ने पुस्तिका हो यो । आँखा चिम्म हुँदासम्म यो पुस्तिका खोल्न सकिन्छ । एक अर्कासँग अरु कसैले थाहा नपाउने गरी लेखेर बोल्न सकिन्छ । डर, त्रास र चिन्ता केही मान्नुपर्दैन । जे मनलाग्छ त्यही पोष्ट गरे हुन्छ । बुद्धि, विवेकमा बिर्को लगाएर पोष्ट गर्दा पनि राम्रो अन्र्तराष्ट्रिय गोल हान्न सफल भइन्छ यस पुस्तिकामा । बिरामी भएर औषधी खान नसक्नेले पनि यस पुस्तिकामा भने खतरनाक पोष्ट हान्नसक्छ । उमेर, रुपरङ्ग सबै उडे तापनि यस पुस्तिकाप्रतिको मोह भने झन् प्रगाढ बन्दै जान्छ । आखिर आपूmसँग आप्mनो निजी अनुहार पुस्तिका छ भने अन्य कसैको वास्ता नै गर्न पर्दैन । यौवनको लतमा होस् कि बुढ्यौलीको तलतलमा एक्लै हुँदा कसैको डर नमानी, कसैको भर नमानी सजिलै हितैषी साथी बनाउने सबैको साझा थलो भनेको नै यही अनुहार पुस्तिका माने ग्रेटबुक त हो ।

हजुरहरुलाई थाहा छ कि छैन कुन्नि ? सानो मानिसले ठूला मानिसहरुसँगसँगै फोटो खिचेर आपूm पनि ठूलो बन्ने धन्दा गर्न मिल्ने बुक यही हो । ठूलो मान्छेसँग सेल्फी खिचेर यस बुकमा राखेपछि सानो मान्छेको पनि भाउ महङ्गो हुन्छ, दाउ गह्रुङ्गो हुन्छ । आखिर मूल्य वृद्धिलाई सबैभन्दा उत्कृष्ट मान्न सकिने वृद्धि भनेको मानिसको मूल्य वृद्धि नै त हो । यस मानेमा यो ग्रेटबुकले अचम्मकै रोल खेलेको छ । सबै मानिसहरु उठेको, चुठेको, सुतेको सबैले हेर्न मिल्ने पुस्तिका भनेको यही पुस्तिका हो । नास्तिक भनेर कही“ कसैलाई आस्था नगर्नेहरुले, कसैलाई नढोग्नेहरुले सजिलै यस पुस्तिकालाई आस्था गर्छन्, ढोग्छन्, पुज्छन् । यसैको माध्यमबाट कतिजना लद्दुहरु लेखक भैसके । कतिजना कालिदास, महाकवि, राष्ट्रकवि हुँदै अन्तरराष्ट्रिय कविको छविमा पुरस्कार पड्काइसके । कतिजना हेर्दाहेर्दै सेलिब्रेटी भए ।

यस बुकको महिमा लेखेर, देखेर कही“ कसैले सक्दैन । हेरेर, पढेर, छामेर कहिल्यै नसकिने यस ग्रेटबुकको गुणगान गाउन ग्रेटबुकका लेखक स्वयं जुकरे भाइले त नसक्लान्, हामी भारेभुरे पाठकले के सक्नु ! प्राचिन कालमा लेखिएका अठार पुराण बाहेक अहिलेसम्म अन्य पुराण लेखिएको छैन । सायद पुराण लेख्न योग्य कुरा नपाएकोले हुनसक्छ । अब हामीले ढुक्क भए हुन्छ उन्नाइसौँ पुराणको रुपमा ग्रेटबुकलाई अवसर दिइयो भने पक्कै अनादर हुने छैन । यो एक भीमकाय पुराण बन्नेछ– फेसबुक पुराण उर्फ ग्रेटबुक पुराण ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।