बाटोमा हिँड्नुको पनि आफ्नै अनुभव हुन्छ । छोटोमा, हिजो हिँडेजस्तो आज हुँदैन । पर्यटनमा निस्कन नसक्नेहरूका लागि यो अनुभवले केही ताजापन दिन्छ । म घरबाट हिँडेको एक घण्टाजति भइसक्यो । मलाई भनिएको थियो आधा किलो मासु लेराऊ । पैसा पकेटमा जति थियो त्यतिले पुग्थ्यो । मासु किन्ने एउटा यस्तै बहाना थियो घरबाट बाहिरिने । घरमा अलि गुम्सेको अनुभव हुन्थ्यो । घर भन्नु एउटा साँघुरो कोठा । कोठा साँघुरो । तरकारी झ्वाइँय पारेको गन्ध रुमलिरहन्थ्यो । तर यी कुराहरू नितान्त परिवारगत थिए । अरूहरूलाई अरुचि हुन सक्थ्यो । सधैँभरि त्यही अभावको कुरा रिपिट गरिरहन्छ । सडकछेउ म पेटीबाटै हिँडिरहेको छु । हीनभावना थिएन । मैले आफ्नो नियति स्वीकार गरिसकेको थिएँ । दलहरूले घोषणापत्रमा अनेक सपना बाँडे पनि म त्यसबाट मुक्त थिएँ । यस्तो लाग्थ्यो, यस मलुकमा केहीकेही हुन सक्तैन । हामी दलहरू र तिनका नेताहरूको अतिचार सहन अभिशप्त त नभनौँ बाध्य थियौँ ।
मेरो विचार सुस्पष्ट र पारदर्शी थियो । केही भावुकताले भित्रभित्रै भिजाएको थियो । तर अकस्मात् सडकबीचबाट एउटा भव्य बाइक कुदेर गयो । अगाडि भर्खर युकेजीमा पुगेको फुच्चेलाई राखेर एउटा बैँसको मानिस गएको थियो । उसले हाँस्दैहाँस्दै फुच्चेलाई बाइक चलाउन सिकाइरहेको थियो । जस्तो देखियो । यति बेरसम्म हीनतामुक्त मलाई त्यस दृश्यले भित्रभित्रै एकाएक हीनता पैदा गरिदियो ।
मेरो पनि सानो छोरो थियो । ठूलो हुँदै गरेको । उसलाई पनि मैले यसरी भव्य बाइकमा राखेर कुदाउन सके ? तर चाहेर केही हुँदो रहेनछ । सकिएन भन्ने हीनता थियो । अहिले मात्र यति रकम छ पकेटमा, दुई सय रुपियाँ मात्र मासु किन्न्लाई बचाएको । तिहार आज मात्रै सकिएको छ । त्यसको पश्चात्ताप छैन । कारण छ । मेरा दिदी र बहिनी दुवै छन् । एउटी पोखरामा र बहिनी अमेरिकामा । बहिनी अमेरिकामा भएपछि म खुसी हुनु पर्ने हो । बहिनी उसकै घरतिरबाट सम्पन्न थिई । उसले लभ पनि गरेकी र मागी बिहेजसो पनि गरेकी । कसैको कसरी बिहे हुन्छ भने कसैको कसरी । जसको जसरी भए पनि यी गौण कुरा थिए तर उसका श्रीमान् पछि डाक्टर भएपछि दुवै अमेरिका गए । अहिले एमडी गर्दै छन् ।
मैले यसमा खुसी मनाउनु पर्ने केही थिएन । बहिनी हो खुसी रहोस्, यस्तो कामना मनमा गरिराख्नु पर्छ । कुण्ठा लिने खण्ड कत्ति छैन । तर एउटा कुरो म सोच्छु, समाजमा विदेशको क्रेज छ । तर म जान सकिनँ । एउटा जागिरमा यहीँ अल्झेको छु । दुईतीनचोटि डिभी पनि भरेँ । क्लिन्टनको पालादेखि पछ्याइरहेको छु ओबामाका पालामा केही आस लागेको थियो । कताकता सुनेको कुरो, ऊ एसियाली मूलको व्यक्ति थियो । र एसियाली गरिबीप्रति सहानुभूति राख्थ्यो । ऊ नभए पनि उसका पुर्खामध्ये कोही थिए एसियाबाट । तर अहिले बाइडेन छ । डिमोक्य्राट हो । अमेरिका जान निधारमा लेखेको छैन भनेपछाडि मैले डिभी भर्न छाडिदिएँ । मलाई लाग्थ्यो मेरो विषयमा त्यहाँको सिआइएले गलत रिपोर्टिङ गरेको छ । त्यति महत्वपूर्ण व्यक्ति त म थिइनँ । तर विदेशका नागरिक भित्र्याउने कुरामा मुलुककै जासुसी संस्थालाई उपयोग गर्ने कुरो जायज थियो । माने यो, यो व्यक्ति विद्रोही टाइपको छ , यसलाई देशभित्र हुलेपछि पहिले विद्रोह र त्यसपछि क्रान्ति हुन सक्छ ।
त्यस्तो केही थिएन । म कहिल्यै विद्रोही स्वभावको भइन । तर एउटा कुरो यो थियो, अहिले कोरोनाको सङ्क्रमणका डरले मास्क लगाएर हिँड्दा मुख ढाकिने र आँखा मात्र देखिने हुन्थ्यो । मास्कले नढाकिएका मेरा आँखामा हेरेर तिनमा केही पढ्ने मानिसहरू मलाई निहुँ खोजुवाकोे वर्गमा राख्थे । यो मेरा आँखाको दोष थिएन । मात्र कति भने मेरा आँखाले जहिले पनि संसारका अप्राप्य वस्तुलाई लोभले हेर्ने गर्थे । त्यही स्थायी भाव भएर आँखामा झल्कन्थ्यो । यस किसिमका आँखा अरूका पनि हुन सक्थे तर मेरा घना आँखीभुइँँले मलाई एक धूर्त व्यक्तिका रूपमा चिनाउँथे होला । ऐनाअगाडि उभिएर मैले यस विषमा धेरै बेर विवेचना गरेको छैन । जस्तो जन्माइन् आमाले त्यही अनुहार र बनोट बोकेर हिँडेको छु । यसमा प्लास्टिक सर्जरी गरेर संशोधन गर्नु जरुरी थिएन । आमालाई पनि यस्तो अनुहार भएको मलाई किन जन्मायौ भनेर दोष दिनु थिएन ।
तर सन्दर्भ अर्को पनि थियो । मलाई कविताका जस्ता दुई पङ्क्ति अति प्रिय थिए । म यो भन्न सक्दिनँ, मैले यी दुई पङ्क्ति आफैँ आविष्कार गरेको हुँ । आविष्कार होइन सिर्जना, यो भ्रम थियो । सिआइएले मेरा यिनै दुई लाइनको कविता कोट–अनकोट गरेर माथि रिपोर्ट पठाएको हुनु पर्छ । ती मेरा लागि अत्यन्त प्रिय दुई पङ्क्ति थिए । तर तिनको मारक क्षमता अत्यन्त दूरगामी छ भन्ने मेरो विचार थियो । यस बेला आणविक युद्धको चर्चा शिखरमा छ । अहिलेको आणविक युद्धले पृथ्वीलाई समूल नष्ट गर्न सक्छ भन्ने मेरो धारणा थियो तर त्यसबारे गहन चिन्तन भएको पाइएन । यता रूसले युक्रेनमाथि गरेको आक्रमणको सन्दर्भमा आणविक युद्ध हुन सक्ने चेतावनी लगातार दिएको दियै छ । युद्धविरोधी म हुँ तर मूलतः म कवि थिइन ।
म वि होइन तर अणुयुद्धभन्दा यता मुलुकको बिग्रँदो अवस्था, विशेषज्ञहरूका मतअनुसार आर्थिक टाट पल्टने र असफलराष्ट्रतिर धकेलिनुको चिन्ताले मलाई विक्षिप्त पार्ने अवस्थासम्म पु¥याउन खोज्थ्यो । त्यसमाथि नेताहरूको भ्रष्टाचारले मलाई आक्राेशित तुल्याउँथ्यो । तर म निरीह थिएँ । यो मेरो मानसिकता अत्यन्त खलबल्याने पृष्ठभूमि हुन् भनेर पहिले नै स्वीकार गरिराख्दा बेस हुन्छ । यसो गर्दा कवि हुनु मात्रको खतराबाट म जोगिन्छु । म भोक्ता नागरिक पनि हुँ । कवि हुँदा कुन कारणले खतरा हुन सक्छ भन्ने लाग्यो भने चौबीसै घण्टा कविताले खेदेजस्तो गरी अशान्त भएर घर र समाजमा बाँचिरहनु पर्ने हुन्छ । अन्ततः कवि हुनुको खतरा मोले पनि यसबाट हातलागी केही हुँदैनथ्यो । यो पनि प्रष्ट होस्, म कविहरूको निन्दा गरिरहेको छैन । तर जे भए पनि मेरा ती दुई पङ्क्ति म मेरा मित्रबाट प्रशंसा बटुल्न र मित्रताको आवरण ओढेका शत्रुहरूलाई तर्साउन प्रयोग गर्थे । यसमा जनसरोकारको आवाज पनि थियो । तर बिना विचार बोलिएका शब्दले पिर्छ भनेको सत्य लाग्थ्यो । ती दुई पङ्क्ति यस्ता थिए—
तिमीहरू सबै नष्ट हुनेछौ
बच्ने छन् म र मेरो कविता !
यस्ता दुई पङ्क्ति कहाँबाट आए त्यो मैले पहिल्याउन सकिन । मलाई लाग्थ्यो यी पङ्क्तिहरू कुनै अर्का कविको हुनुपर्छ । एकाएक पङ्क्तिहरू स्मरणपछि मलाई लाग्यो अब कवि पनि हुनु छैन र लेख्नु पदैैन । यी दुई पङ्क्ति नै पर्याप्त छन्, मेरो भवना व्यक्त गर्न । तर शङ्का त थियो यी दुई पङ्क्ति मेरा हुन् कि होइनन् ? कतै कुनै कविको मुखबाट सुनेर वा पढेर मेरो मस्तिष्कमा टङ्कित भएर बसेका त हुन् ? अब जे होस्, मैले यी दुई पङ्क्ति आफ्नै नाममा दर्ता गराउनु पर्ने छैन । यी विश्वजनीन छन् । यस्तो लाग्यो, यी दुई पङ्क्ति आफ्नो सङ्ग्रहमा समावेश गरेर कवितालाई उच्चता दिने प्रयास गर्न सकिन्छ । तर त्यो बेइमानी हुन सक्थ्यो । तर सबैको भलो हुने अभिव्यक्ति चोररै भए पनि प्रयोग र्दा कल्याणकारी संभावनाको द्योतक हुने छ । मुलुकको राजनीतिमा समावेशिताको बिगबिगी थियो । राजनीति एउटा फोहोरी खेल हो भनिन्थ्यो र मेरा दुई पङ्क्तिःमाथि पनि समावेशतिाका नाममा डर्टी गेम हुन सक्थ्यो । यो सोचेर मैले अनलाइन पत्रिकाहरूको शरण लिन थालेँ । म आफैँ गएर यी दुई पङ्क्ति उनीहरूको अनलाइन पत्रिकाको एक कुनोमा छापिदिनु पर्यो भनेर अनुरोध गरेँ । दुई पङ्क्ति पढेपछि सम्पादन विभागकाले भने— यो छापिन लायक छैन । मैले आश्चय मानेँ । यस्ता सशक्त दुई पङ्क्ति किन छापिन सक्दैनन् ? के यिनले पृथ्वीको तापमानमा अझ वृद्धि गरिदिन सक्छन् ? त्यसो होइन, यी दुई पङ्क्ति हामीलाई यस्तो लाग्छ— कतै अलरेडी पढेका हुन् । नभए सुनेका । म अझ छक्क परेँ, मलाई पनि त्यस्तै लाग्थ्यो । यी दुई पङ्क्ति मैले कतै सुनेको वा पढेको हुँ । यिनले गहिरो प्रभाव पारेको हुनु पर्छ र त यी अहिले रिबाउन्ड भएर मेरो कलममा अवतरित भएका छन् । तर यो स्पष्ट भन्नु भएन । उनीहरूले प्याच्च सोझैँ भन्ने थिए— त्यस्तो लागेको भए किन छपाउने चेष्टामा हुनुहुन्छ ?
प्रत्यक्षमा मैले सोधेँ, किन छापिन सक्तैनन ? उनीहरूले यो कस्तो मूढमति मानिस रहेछ, यी दुई पङ्क्ति जो घर न घाटका जस्ता छन् र तिनको कुनै अगाडिपछाडिका नातागोता छैनन् आवारा जस्ता छन् तिललाई छापौँ भन्दै छ भने यसलाई कसरी सम्झाउने ? भनेर बडो दिक्दार लागेको स्वरमा भने, ‘यसले पत्रिकाको प्रतिष्ठामा वृद्धि गर्दैन । फेरि तपाईं कुनै सिद्ध र प्रसिद्ध कवि पनि होइन जसका दुई पङ्क्ति हामीले तपाईंको जन्मदिन वा स्मृतिदिवसमा छापौँ ।’ प्रष्ट भइसकेको थियो, उनीहरू यी दुई पङ्क्ति छाप्ने सोचमा थिएनन् । म प्रसिद्ध पनि थिइन र सिद्ध कवि पनि थिइन भने मेरो जन्मदिनमा छापिनलाई उनीहरू प्रेरित हुन सक्दैनथे र परलोकवासीको पङ्क्तिमा छु भन्नलाई म सशरीर उनीहरूकै अगाडि उपस्थित थिएँ । मैले ढीठ हुँदै भनेँ— तर यी पङ्क्ति चोरेर छापिन सक्छन् । यसमा उनीहरूले उपेक्षाभाव देखाउँदै भने, त्यसमा हाम्रो सरोकार रहँदैन । यसको अर्थ यो हुन्थ्यो भोलि कसैले मेरा यी दुई पङ्क्ति आफ्ना कवितामा अनधिकृत रूपमा मिसाएर छाप्न पठायो भने उनीहरूले सहर्ष छाप्नेछन् । यसतिरको बहस गर्ने आधार थिएन । उनीहरूले एक किसिमले बाहिर जानोस् र यस्ता लफडा बोकेर नआउनुस् भन्दै मेरो मुखमै ढोका बन्द गरेका थिए । धन्न अङ्ग्रेजीमा गेट आउट भनेनन् ।
यसमा अपमानबोध मैले गरेको थिइन । तर एक किसिमको दयाभाव थियो मनमा— यस्ता पङ्क्तिको प्रकाशन नभएमा साहित्यले हानि बेहोर्ने छ । साहित्यको नयाँ क्षितिज कसरी उघारिने ? साहित्यको विकास कसरी हुने ? विशेष गरेर कविताको । मलाई यस कुरामा एकछिन कतै उभिएर सोच्ने विचार आयो । तर म फाट्टफुट्ट लेख्नु बाहेक साहित्यिककर्म गर्ने व्यक्ति थिइन । कुनै साधनाबिनै एउटा लहडमै ती पङ्क्ति फुरेका हुन् भन्ने लागिरहन्थ्यो । र कविताका पङ्क्ति छाडौँ, म अहिले घरको लागि मासु किन्ने उपक्रममा छु । उसरी मासु किन्नु कुनै तिरष्कारयोग्य काम हो भन्दिन । तर भन्नुस् त दुई सयको मासु किनेर पाँच जनाको परिवारलाई पु¥याउनु भनेको आर्थिक अवनतिको द्योतक हो भन्न त सकिन्छ । अहिले राजनीतिक दलहरू घोषणापत्र जारी गर्ने क्रममा छन् । ती घोषणापत्रमा आर्थिक उन्नति र प्रतिव्यक्ति आय बढाउने कुरा बडो गम्भीरतासाथ लेखिएका छन् तर मुलुकलु भारी बोकेका रिन सम्भँदा कहाली लाग्छ । नेताहरू कहिले सुधारिने हुन् मुलुकको आर्थिक उन्नति हुने हो त्यो अनिश्चित छ । म गरिबी भोग्दै बडो दुखका साथ मासु पसलतिर गइरहेको छु । तिहार सकिएको भोलिपल्ट सडक अलि होलो थियो । होलो सडकमा वाहनहरू निर्बाध तेज गतिमा दौडिने अवसर पाइरहेका थिए । अगिको मानिसले पनि छोरोलाई बाइकको अगाडि राखेर चलाउन सिकाउने अवसर पाइरहेको थियो । मलाई यस कुरामा पनि अवसाद लागिरहेको थियो, मेरो छोरोको हालत के हुने ? मसित बाइक छैन । बिना बाइक मानिस सामाजिक प्रतिष्ठामा एक तह मात्रै होइन धेरै तल पर्छ । बाइक किन्नु जरुरी थियो । कार पछि आउँथ्यो । तर कसरी ?
मासु पसलको अगाडि पुगेपछि मैले सोचेँ— पहिले के भनौँ ? जाहिरै छ, म खसीको मासु किन्ने हैसियतको थिइन । मनभित्र एउटा गनगन चलिरहेको थियो— कति खान्छस् बोइलरको मासु ? तर स्तरले भ्याउँदैनथ्यो भने फेरि यो गनगन केका लागि ? जिन्दगी नै बोइलर भइगाको छ । भने जा भित्र पसेर सोझै भन्— ‘दुई सयको मासु दिनुस् ।’ जति आउँछ आउँछ । आफ्नो आर्थिक असमर्थताप्रति यति मनमनै गनगन किन ? जे छ त्यो त छँदै छ । भोलिकै दिन तँ घरमै खसीच्याङ्रा ढाल्न सक्ने हुनेछस् भन्ने कल्पना गर्न कदापि मिल्दैन । सत्यको बोध गर् ।’ त्यो त हो । यो मेरो आत्मबोध थियो । अन्त्यमा म मन दरो पार्दै मासु पसलभित्र छिरेँ । साथीहरूलाई सम्झेँ र उनीहरूकै लागि समष्टि स्वरमा भनेँ— तिमीहरू नष्ट हुनेछौ, रहनेछौँ म र मेरो बविता । तर मैले आपूmलाई त्यहीँ रोकेँ । बोइलरको मासु किन्नलाई यत्रो विस्फोटक कविताका पङ्क्ति प्रयोग गर्नु अनुचित हुने छ । युक्रेनमा पुटिनले आणविक हतियार प्रयोग गर्ने सम्भावना छ भनेर विश्व नै चिन्तित छ । यता मुलुक अधोगतिमा छ । समाचार पनि थियो, विश्वयुद्धको काउन्टडाउन सुरु भइसकेको छ । तँ यता बोइलरको मासु दुई सयको किन्नलाई त्यस्तो विस्फोटक दुई पङ्क्ति किन प्रयोग गर्न उद्यत छस् ? मनको प्रश्न थियो यो र प्रश्नमै उत्तर पनि निहित थियो । तर कविताको अवसर थिएन । म कवि पनि थिइनँ, मासु पसलमा उभिएर कविता रच्ने । दारु खाँदासम्म कविता फुर्नु सुहाउँछ । तर मासु पसलमा ? मैले कहिले प्रयास गरेँ होला कविता लेख्ने र कवि हुने । तर अफसोस, ती दिन गइसके ।
पसलभित्रको बयान आवश्यक थिएन । ग्राहकका नाममा म र एक जना ठिटो जो डिपफ्रिजमाथि बसेर मोबाइलमा गेम खेलिरहेको थियो, थियौँ । पसलेले मलाई कति चाहियो भनेर सोधेन । के चाहियो भन्नु प्रासङ्गिक हुने थिएन । स्पष्ट भइसकेको हुनुपर्ने थियो, भित्र बोइलर मात्र पाइन्छ । राहत यो थियो, यहाँ जिउँदो बोइलर कुखुरा पाइन्छ भन्ने बोर्ड थिएन । मात्र के लेखेको थिया त्यो अहिले पनि सम्झन सकिन्छ— मलेखु मासु पसल । घर उसको मलेखु हुँदो हो । त्यसले के फरक पथ्र्यो र ? मलेखु होस् कि सिन्धुपालचोक वा सुदूर वा बागमती सबैले जीवन धान्न र धन कमाउन एक न एक व्यवसाय अपनाएकै हुन्छन् । खाडी मुलुकतिर पनि दैनिक पाँच्—छ सय युवा गइरहेकै छन् । उसको साइनबोर्डले ठाउँको सङ्केत गर्छ र राजधानीमा अस्थायी बसोबास गर्ने त्यस भेकका ग्राहकलाई मासु किन्न आउन प्रेरित गर्न सक्छ । मैले पनि बोइलरको मासु पसल गर्ने भए यही लेख्ने थिएँ— मेट्रो मासु पसल । मेट्रो विश्वभरि जता पनि छ भने मैले मेट्रोको नाम प्रयोग गरेकोमा आपत्ति हुन सक्तैनथ्यो ।
त म मासु पसलभित्र छु र यस पसलले यहाँ जिउँदा बोइलर कुखुरा पाइन्छ लेखेको छैन । यो एउटा सुविधाजनक अवस्था थियो, पसलेले सोध्न सक्ने— भन्नुस्, जिउँदो कुखुरा कि तयार मासु ? कुखुरा बेच्ने मेरै भाइजत्रै एक जवान केटो थियो । मेरो भाइ घरमै बसेर विद्यार्थी राजनीति गर्दै क्याम्पस धाइरहेको थियो । अनेक माग राख्दै बेलाबेला क्याम्पसमा तलाबन्दी गर्नमै ऊ व्यस्त थियो । पसलेले भन्यो— मासु ताजै छ । बासी कसैले भनेकै थिएन । मासुको मोलमोलाइ गर्नु थिएन । फिक्स भाउ थियो । किलोको तीन सय अस्सी । भावमा हेरफेर भइरहन्थ्यो । ‘फ्लु लागेका कुखुराको मासु त होइन ?’ ‘अहिले फ्लुको सिजन छैन । यो त के हुन्छ भने पारिबाट उताका कुखरा बिकेनन् भने यता फ्लु छिराइदिन्छन् । जान्नुभएकै छ, विदेशी चलखेल । हाम्रा नेताहरू त उतैको रिमोटबाट परिचालित छन् भन्ने हल्ला छ ।’ (तन्नेरी पढेलेखेको मालुम हुन्थ्यो ।) कुखुरा पालनमा समेत विदेशी हात छ । विश्वास गर्न सकिएन । उतैको जनसंख्यालाई पुग्ने कुखुरा उत्पादन छैन होला, मलाई पक्का ज्ञान थिएन । तर आर्थिक चलखेलका लागि यता नेपालतिर फ्लु छिराइदिएर आर्थिक पूगति अवरुद्ध गर्न सकिन्छ । पसललेले थप्यो— ‘पत्याउनु नपत्याउनु तपाईंको इच्छा । तर म फ्लु लागेको कुखुरा बेच्दिन ।’
मैले भनेँ दुई सय रुपियाँको मासु दिऊँ न त । मैले यसो भनिन मसँग दुई सय रुपियाँ छ त्यत्ति रकमको मासु मिलाएर तौलिदिऊँ त भाइ । ऊ भाइ उमेरकै थियो । उसले मलाई हेरेन । ग्राहक जोकोही पनि हुन सक्थ्यो । अनुहार याद गरेर राख्नु झमेलाको कुरो थियो । मैले यताउता हेरँ, कतै सिसिटिभी क्यामेरा फिट गरेको छ कि ? त्यो रहेनछ । कुखुरा चोरेर भाग्नलाई अवसर थिएन । पछाडि ढोका थिएन । अर्को कारण, उसले सिङ्गै जिउँदो कुखुरा बेच्ने गर्दैनथ्यो । चोरेर भाग्ने प्रयासमा फेला परिहाले उसको हातको चुपी जसलाई ऊ फुर्सतमा उधाइराख्थ्यो त्यसको मारमा पर्न सकिन्थ्यो ।
भाइले, किनभने मैले उसलाई मेरो भाइजत्रो थियो भनिसकेको छु, मासु तौलियो । विद्युतीय तराजुले ठ्याक्कै दुई सयको अङ्क देखायो । भाइ खुसी भयो । यसमा उसको निपुणता देखियो, एकै पटकमा ठ्याक्कै दुई सयको मासु जोख्न तराजुमा राखेँ भनेर । तराजुका अङ्क देखिने ठाउँ मात्र पुछपाछ गरिएको थियो । अन्यत्र ग्रे एरिया थियो । अस्पष्ट । उसले मासु तराजुबाट झिकेर गिँड्न थाल्यो । कसरी गिँड्यो भन्ने विवरण लामो बनाउन सकिन्थ्यो । बोर लागेको समयमा म यो विवरण पनि दिने थिएँ । तर अहिले फुर्सत भए पनि बोर लागिरहेको थिएन । त्यसैले मासु उसले पोको पारेर दिएको हेरिरहेँ । समय खेर फाल्नु थिएन । खल्तीबाट पैसा दिएँ, त्यो त दिनु नै थियो । केटाले पैसा वर्काइफर्काइ हेरेन । चाडबाडको समय नोटहरू नयाँ नै हुने गर्छन् । म पसलबाहिर निस्केँ ।
घर पुग्ने बाटो सोझै थियो । सरासर घरतिर लागेपछि पुगिन्थ्यो । बाटोमा कोही भेट भएनन् । मैले सम्झेँ चिकेन मसला लग्नु पर्ने थियो । त्यसका लागि पैसा छैन । यसतिर सोचलाई क्रियाशील गराइन । घर पुग्नुअगावै एउटा ठाउँमा छोरो साथीहरूसँग गुच्चा खेलिरहेको थियो । उसले गुच्चा ताकेर हान्दै भन्यो—ए है ! तिमीहरू सबै नष्ट हुने छौ, बच्नेछन् त म र मेरा कविता । यति भनेर उसले गुच्चा छाड्यो र उसका साथीहरू पनि हाँसे । केटाकेटीमा पनि नेताहरूको भ्रष्टकर्मबारे बोध थियो । उनीहरूले पनि व्यङग्य गर्थे । मेरो छोराले मबाट यी कविताका पङ्क्तिहरू उत्तराधिकारमा पाएको थियो । ‘ए कतिा नबिगार, तेरा बाउले सुने के भन्लान् ?’ उनीहरूले थपे— ‘हामी किन नष्ट हुने ? तेरो र हाम्रो हैसियत समान छ ।’ केटाहरू समवयी थिए । सबैले रस लिएर कविताका पङ्क्ति दोहोर्याउने गरेका रहेछन् ।. तीमध्ये एउटा केटोले भन्यो, ‘कविताको अगाडि साले होे भन्ने राखेको भए कविता झन् स्वादिलो हुने थियो ।’ छोरोल सोच्दै भन्यो— ‘कवितामा गाली ठीक हुँदैन भन्छन् मेरा बा ।’
एउटा विचार स्फुरणको केटोले मभित्र उत्पन्न गराइदिएको थियो । दुई चकमक ढुङ्गा आपसमा ठोकेर झिल्का उत्पन्न गरेझैँ— कवितामा गाली प्रयोग गरेको भए हुने । त्यो पनि जायजै हुने थियो । र त्यसपछि कविताको पङ्क्ति यस्तो हुने थियो— साले हो ! तिमीहरू सबै नष्ट हुने छौ, बच्नेछन् त म र मेरा कविता । ...
यी पङ्क्तिमाम मैदे अनावश्यक लाग्ने गरी ‘म’ भन्ने शब्द राखेको छु । नष्ट हुनेमध्ये बच्ने म हुन सक्दिनँ ।