18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘होहाहोला’ नियात्रासङ्ग्रहमा एक नजर

कृति/समीक्षा डा. शैलजा पोखरेल July 16, 2024, 6:26 pm
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

१. विषय प्रवेश:

‘होहाहोला’ निबन्धकार कृष्णमुरारी ढुङ्गेलद्वारा लिखित नियात्रा सङ्ग्रह हो । बेग्ला बेग्लै शीर्षकमा समावेश भएपनि एकअर्काका पूरक नियात्राहरू समेटिएको प्रस्तुत सङ्ग्रह युरोप भ्रमणमा आधारित छ । नेपाली कला जगतमा परिचित पुराना कलाकार ढुङ्गेलको साहित्यिक लेखनले उनी भित्रको ससक्त कलाकारिता धेरै समयपछि फेरि नेपालीमाझ चिनाउन जमर्को स्वरुप यो यात्रा साहित्य देखिन्छ । यात्रालाई विषयवस्तु बनाएर रचना भएको ‘होहाहोला’लाई उनको एउटा उत्कृष्ट रचनाका रूपमा लिन सकिन्छ । प्रस्तुत नियात्रा सन २०१९ को अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर १४ तारिखसम्मको अमेरिकादेखि बेलायत, फ्रान्स, स्विजरल्यान्ड, इटालीका अनेक स्थानहरू र वरपसका स-साना राज्यहरूको भ्रमणमा आधारित छ । प्रस्तुत नियात्रा सङ्ग्रह ‘होहाहोला’ मा अमेरिकाबाट युरोप भ्रमणमा हिँडेका दुई जोडी प्रमुख पात्रहरु छन् । आरामरहीन र गतिशील पन्द्रदिने यात्रा र त्यहाँ देखिएका दृश्य र घटनाको तुलनात्मक वर्णनको समीक्षा यस अध्ययनमा समावेश भएको छ ।

२. परिचय:
‘होहाहोला’ नियात्रामा नियात्राकार ढुङ्गेल र उनका साथी श्रीमान्-श्रीमतीका दुई जोडी युरोपका अनेक स्थानको भ्रमणमा जादाँको यात्राको वर्णन समेटिएको छ । प्रस्तुत यात्रा सङ्ग्रहमा नियात्राकारले देखे-भोगेका घटना, बाटामा भेटिएका पात्रहरुसँग साटिएको आफ्नोपन, तिता मिठा कुराकानी, घटना र पुगेका स्थानका दृश्यहरूको प्रस्तुति बढो मनोरञ्जक तवरले समेटिएको छ ।
यात्रा गर्ने र वसोवास सार्ने वा कुशल जीवन यापनका लागि सजिलो खोजेर एक ठाउँबाट अर्को ठाउँमा जाने परम्परा मानव उत्पत्ति जत्तिकै पुरानो होला । किनभने हामी हाम्रा र हामीले जानेका सबै मान्छेका पुर्खाको इतिहास खोज्दा हाम्रा पुस्ता कहाँबाट, कसरी, कहिले, कहाँ कहाँ हुँदै आए भन्ने कुराको इतिहास अलि लामै देख्न सक्छौँ (पोखरेल, २०१९) । त्यसैले यात्रा मानव जीवनको महत्वपूर्ण पाटो नै भएको बुझिन्छ । नेपाली भनेर देशका नामले चिनिए तापनि यो जाति अहिले संसारको अनेक भागमा छरिएर बसको पाइन्छ । नेपालीहरूको यो अवस्था यात्राकै प्रतिफल हो । पहिले पहिले मानिस राम्रो जीवन र खानाका लागि एक ठाउँबाट अर्को ठाउँ गए र त्यही बसोवास गर्न थाले । तिनका सन्तती त्यसैगरी अर्को ठाउँ पुगे । त्यही क्रममा नेपालीहरू पनि पश्चिम नेपालबाट भित्रिएर पूर्वतिर लागेको अनि दर्शनार्थ अनेक मठ मन्दिर जाने र त्यहाँका नाली बेलीको विस्तार गर्ने चलन पुरानै हो । जब मान्छे सभ्य हुन थाल्यो र धर्म, संस्कृति बुझ्न थाल्यो; तब तीर्थ यात्राका लागि पनि हिँड्न थाल्यो । त्यसक्रममा नेपालीहरू भारतका वनारस वा अन्य तीर्थस्थल नजिक पुगेर बसोवास गर्न थाले ।
समयसँगै यात्राको प्रयोजन फरक पर्न थाल्यो । त्यही क्रममा घुम्न वा छुट्टी मनाउने उद्देश्यले नेपालीहरू देश विदेश घुम्ने परम्पराको पनि सुरु भयो । तर, यो परम्परा सुरु भएको त्यति धेरै समय भने भएको देखिँदैन । समयसँगै यात्रा गर्ने र यात्राको विवरण लेख्ने परम्पराको विकास भयो । निबन्धात्मक शैली (चालिसे, २०७७) मा कहाँ जाने, कसरी पुग्ने, कति समय लाग्ने, त्यहाँको मौसम कहिले कस्तो छ जस्ता विवरणको सत्य तथ्य जानकारी दिँदै ती स्थानमा पुग्दा भेटिका मानिस, तिनको रहनसहन आदिको विवरण आत्मपरक रूपमा प्रस्तुत गरिने नियात्रा वा यात्रा साहित्य विधा नेपाली साहित्यमा पनि देखियो । तिनै यात्रा साहित्यमा स्थान, उद्देश्य र प्रस्तुतीकरणको शैलीमा आएको परिवर्तनले यात्रा साहित्य पनि आधुनिक युगमा प्रवेश गर्यो (प्रधान, २०५५)। वर्तमान समयमा आई पुग्दा नेपाली साहित्यमा यात्रा साहित्य अनेकौँ रचना प्रकाशित भई सकेका छन् (छाङ्छा, २०७७) । स्वदेशका अनेक स्थानहरू र विदेश भ्रमणलाई नै केन्द्रमा राखेर रचना भएका यात्रा साहित्य मध्ये पनि युरोप भ्रमणको वृत्तान्त प्रस्तुत गर्दै रचना भएका अनेकौँ यात्रा साहित्य नेपाली भाषामा रचना भएका छन् । लैनसिँह वाङ्देल, विजय चालिसे, मदनमणि दीक्षित, केदार संकेत, ईल्या भट्टराई, इश्वरी प्रसाद मानन्धर लगायतका यात्रा साहित्यकारहरूले युरोपका अनेक स्थानहरूको भ्रमण वृत्तान्त प्रस्तुत गरेका छन् ।
तिनै नामहरूमा कृष्णमुरारी ढुङ्गेलको ‘होहाहोला’ २०७८ सालमा युरोप भ्रमणको यात्रा वृत्तान्त लिएर थपिएको छ । संसारमा अझ भनौँ युरोप त्यो पनि इटालीमा कोरोनाको महामारी सुरु हुनुभन्दा ४ महिनाजति अगाडि भएको त्यो यात्राको विवरण प्रस्तुत गरिएको यस यात्रासाहित्यमा समावेश भएको समयलाई पुरै समेट्ता १५ दिन पुग्छ । सन २०१९ को अगस्ट ३१ तारिख शनिवारका दिन अमेरिकाको डेनभर, कोलोराडोबाट सुरु भएको युरोप यात्रा त्यही वर्ष सेप्टेम्बर १४ शुक्रवारका दिनको फ्लाइ अमेरिका पुगेर समाप्‍त भएको छ । प्रस्तुत यात्रा वृत्तान्तमा नेपालीलाई युरोपको बेलायत र नेपालको दृश्यगत समानताका स्थानहरूको वर्णन गर्दै, फ्रान्सको पेरिसदेखि स्विजरल्यान्ड, इटालीका अनेक स्थानहरू र वरपसका स-साना राज्यहरूको भ्रमण प्याकेजमा गएर फर्केसम्मको जानकारी दिने काम भएको छ ।
प्रस्तुत यात्रा साहित्यमा केही तत्त्वगत विशेषताहरूको खोजी गर्दा यसका निम्न गुण र दोष भेटिन्छन्:

३. शीर्षक :
युरोप भ्रमणका अनेक पक्षहरू समेटेर लेखिएकोको कृष्णमुरारी ढुङ्गेलको प्रस्तुत नियात्रा सङ्ग्रहको शीर्षकले नै पाठकको मनमा कौतुहलता जगाउने काम पर्याप्त गरेको छ । सर्वसाधारणले सजिलै अर्थ लगाउन नसक्ने ‘होहाहोला’ को अर्थ खोज्दा ‘अनावश्यक हल्ला’ वा ‘लहै लहै’ भन्ने अर्थमा आउने कुनै शब्द होला कि भन्ने अड्कल काट्तै यो यात्रा वृत्तान्त मैले पढेँ । सुरूमा लेखकका प्रसङ्ग र भूमिका हेरेर पाठ पढ्दा त्यही भूमिका वा लेखकको विचारबाट आफू प्रेरित भई उनीहरूको दिन खोजेको ज्ञान अनुसार आफू अघि बढिन्छ र यसले स्वतन्त्र पाठक हुने मौका खोसिदिन्छ भन्ने सोचले सोझै प्रस्तुत यात्रा कृति पढ्दा ११० पृष्ठसम्म पुग्दा पनि शीर्षकको अर्थ भेटिँदैन । पृष्ठ १११/२ मा इटालीको फ्लोरेन्स राज्यमा पुगेर त्यहाँको दृश्यावलोकन गरेपश्चात् मात्र पाठकलाई शीर्षकको अर्थ खुलाउने कामले ढुङ्गेलको यात्रा वृत्तान्त बढो मनोरञ्जक हुन पुगेको छ । फ्लोरेन्सको यात्रा सकिएपछि बस चढ्ने बेलामा पानी किनेर ल्याउन जाँदा गाइड ‘रोबर्टा’ ले त्यहाँको स्थानीय भाषामा ‘क’ लाई ‘ह’ भनिन्छ भन्ने रोचक जानकारी दिएअनुसार ढुङ्गेललाई ‘होहाहोला’ शब्दको निर्माण गर्ने रहर चल्छ । यात्राको रमाइलोमा एउटा खुड्किलो थप्ने हिसाबले लेखकलाई पानी किन्ने पसलमा स्थानीय भाषामा ‘क’ ध्वनि आउने शब्दको सामान खोज्दा ‘कोकाकोला’ को संझना आउँछ । ढुङ्गेल र उनका साथी वा मोहनदाइ मिलेर ‘कोकाकोला’ लाई ‘होहाहोला’ भनेरै किन्छन् । लेखक र उनका साथीलाई युरोप भ्रमणमा भएको रमाइलोको ‘बोनस’ मा भेटिएको रमाइलो घटनाबाट शीर्षक निर्माण भएको छ ।
शीर्षक मात्र हेर्दा यसको अर्थ नबुझिने देखेपछि पाठकले शीर्षकको अर्थ खोज्न पनि यात्रा वृत्तान्त पढ्छ भन्ने मेरो ठहर छ किनभने पाठकले पनि ‘कोकाकोला’ को प्यासलाई ‘होहाहोला’ ले बुझाएर मनोरञ्जन दिन यो शीर्षक ‘होहाहोला’ उपयोगी छ ।

४. जानकारीमूलक
यात्रा साहित्य जानकारीमूलक हुन जरुरी मानिन्छ (नेपाल, २०७८) । नियात्रा नामले पनि चिनिने यस कृतिमा लेखकले आफू हिँडेका स्थानहरू, त्यहाँको भौगोलिक र सामाजिक वातावरणका बारेमा आगामी यात्रुहरूका लागि उपयोगी हुने सामग्रीहरू आवास, रेस्टुरेन्टलगायत यावात कुराहरूको जानकारी दिन्छन् । यात्रा साहित्य अन्य यात्रीहरूलाई जानकारी उपलब्ध गराउने उद्धेश्यले लेखिएको एक किसमको गाइड बुक पनि हो । कृष्णमुरारी ढुङ्गेलको ‘होहाहोला’मा युरोपका बेलायत भई फ्रान्स र त्यहाँबाट चाहिँ प्याकेज टुर लिएर युरोपका स्विजरल्यान्ड, इटाली आदि देश भ्रमणमा जान सकिन्छ र त्यहाँ जाने पर्यटकले के खान सहज पर्छ र त्यसका लागि कुन स्थानबाट कति समय खर्चेर कुन दिशामा हिँड्नु पर्छ अनि त्यहाँको खाना के कसरी खान सकिन्छ र त्यो खानाको स्वाद कस्तो हुन्छ भन्ने कुराको संपूर्ण जानकारी पाइन्छ ।
बेलायतमा घुमेका अनेक स्थानहरू र त्यहाँका दृश्यहरूलाई काठमाडौँमा देखिने अनेक दृश्यद्वारा प्रस्ट्याउँदै उनीहरूको यात्रा फ्रान्सतर्फ अगाडि बढेको छ । त्यही क्रममा ढुङ्गेलले सन् १९९४ को नोभेम्बरमा निर्माण भएको बेलायत र फ्रान्स जोड्ने समुद्र मुनि-मुनि चल्ने सुपरफास्ट ट्रेनको जानकारी दिएका छन् । त्यो सुपरफास्ट युरो स्टार ट्रेन चढ्ने बेला अनलाइन टिकट बुक गर्दा भएको सानो गल्तीको प्रसङ्ग पनि आगामी यात्रुलाई कामलाग्ने नै छ । यात्रामा सामेल सरिता नामक पात्रको नाम हुनुपर्ने ठाउँमा उनकी छोरी कृतिको कम्प्युटरबाट टिकट बुक गरेका बेला कृति हुन पुगेको प्रसङ्ग र त्यसको जानकारी सम्बन्धित स्थानमा पहिले नै गराएकाले ट्रेन चढ्दा कुनै दुख भोग्नु नपरेको प्रसङ्ग ल्याएर नियात्राकारले यात्रा गर्ने बेला हुनसक्ने त्यस किसिमका समस्यालाई हल गर्ने ठाउँ समेत प्रस्तुत गरेका छन् ।
फ्रान्सको पेरिस र काठमाडौँको हावापानी उस्तै छ भन्ने ज्ञान दिएर नेपाली पाठकलाई सेप्टेम्बर महिनामा त्यहाँ जानु पर्दाको तयारीलाई काम दिन्छ । त्यहाँ शौचालय जानु पर्दाको अप्ठ्यारो अनि त्यसको समाधानको उपाय समेतको जानकारी निबन्धकारले यहाँ दिएका छन् । आइफिल टावर वरपरको शौचालय जान नपाइने समस्या लगभग नियात्रामा उल्लिखित स्थानमा सबैतिर उस्तै देखिन्छ । शौचालय जानुपर्दा मात्र पनि होटलमा पैसा तिरेर सामान किन्नु पर्ने अनि मात्र शौचालय जान पाइने बाध्यता पनि यात्रीका लागि जानकारीमूलक नै छ ।
फ्रान्सबाट हिँड्नका लागि तयार परेर बसेका बेला भेट भएका अस्ट्रेलियन लेखक ‘गेरी टेलिङ’ र उनकी श्रीमतीसँगको भेट भएको र बसमा सँगै हिँड्ने उनीहरूको सुटकेसमाथि भएको हाते ब्याग, चस्मा (सन ग्लास) र उनको टोपी (ह्याट) बसेकै ठाउँ नजिकबाट हराएको प्रसङ्गबाट फ्रान्समा हुने चोरीको जानकारी पाइन्छ र यो पनि भविष्यका यात्रुलाई लाभदायक छ । लगभग त्यस्तै चोरी र ठगीको अवस्था इटालीको यात्रामा जताततै भेटिन सक्छ भन्ने सम्भावना पनि रहेको भएकाले त्यसबाट सचेत रहनु पर्ने ज्ञान पनि यहाँ छ ।
आइफिल टावर सम्बन्धी जानकारी पनि सामान्य ज्ञान बढाउन चाहने पाठकका लागि महत्वपूर्ण छ । “संसारकै आठौँ आश्चर्यमध्ये फ्रान्सको Eiffel Tower (आइफिल टावर) पनि हो । सन् १८८१ मा फ्रान्सका सिभिल इन्जिनियर Gustave Eiffel (गुस्ताभ आइफिल) ले १०६३ फिट अग्लो उक्त टावर बनाउन प्रस्ताव गर्दा शुरुमा उनलाई पत्याएका थिएनन् तर आज संसारलाई फ्रान्सको मेकानिकल पावर पनि त्यसैले प्रदर्शन गरेको छ । आइफिल टावरलाई आइरन लेडी पनि भनिन्छ (प. ५०)”। यो ज्ञान नेपाली विद्यार्थी र त्यहाँ घुम्न जाने यात्रीहरूका लागि महत्वपूर्ण र उपयोगी हुनसक्छ ।
ढुङ्गेल र उनका साथीहरूको यात्रा फ्रान्सको आइफिल टावरको नजिकैबाट बसमा सुरु भयो । भ्रमण प्याकेज लिएर त्यही प्याकेजमा गाभिएका स्थानहरू जान उनीहरू फ्रान्सबाट स्विजरल्यान्डको लुसर्ने र त्यहाँबाट क्रमस: इटालीको मिलान, भेनिस, रोम, संसारको सबैभन्दा सानो देश भ्याटिकन सिटी, फ्लोरेन्स आदि स्थानहरूमा उनी पुगेका छन् । त्यही यात्रामा जाँदा बाङ्गिएको पिसा टावर“…..त्यसलाई परिक्रमा गर्नका लागि प्रतिव्यक्ति ३५:०० डलर हामीले बुझाइसकेका थियौँ (पृ. ११३)” हेर्न बढी तिर्नु पर्नेजस्ता साना साना कुराको जानकारीका साथै त्यहाँको प्राकृतिक सुन्दरता र विकासको वर्णन गर्दै नेपालमा त्यस्तो स्थान कसरी विकास गर्नुपर्छ भन्ने कुराको उदाहरण समेत ढुङ्गेलले दिएका छन् । लुकेको देश भनेर मोनाको नामक देशलाई चिनाउँदै किन त्यसलाई लुकेको देश भनेको भन्ने कारण पनि दिएका छन्, जुन नेपाली पाठकका लागि जानकारीमूलक नै छ ।
निबन्धकारको भ्रमण फ्रान्सको पेरिसमा नै पुगेर नौ दिनमा सकिएको छ । प्रस्तुत नियात्रामा त्यो नौ दिन र अमेरिकादेखि बेलायत, बेलायतदेखि फ्रान्स अनि फ्रान्सबाट अमेरिकासम्मको चर्चा गरिए तापनि यात्राको विशेष आकर्षणमा तिनै नौ दिन छन् र ती दिनहरूको संपूर्ण जानकारी ‘होहाहोला’ मा पाइन्छ ।
यस यात्रा वृत्तान्तमा लेखकले उल्लेख गरेका निश्चित स्थानहरूमा कहाँबाट कसरी पुगिन्छ, कतिदिन लाग्छ, बसमा बसका के कस्ता स्टाफहरू हुन्छन्, तिनको व्यवहार कस्तो हुन्छ, उनीहरूले के केको जिम्मा लिन्छन्, भिँडभाँडमा र कुनै विशेष स्थानहरूमा आफ्ना यात्रीका लागि के कस्तो व्यवस्था गरेका हुन्छन्, कुन ठाउँबाट कुन ठाउँसम्म पुग्न कति समय लाग्छ, पुगेका ठाउँमा विदेशी पर्यटकहरूको आकर्षणका लागि के कस्ता महत्वपूर्ण स्थान, खाना, होटल, साथी लगायत त्यहाँका सामाजिक चालचलन र भाषामा हुने फरक र आफ्नोपन जस्ता मसिना र आवश्यक संपूर्ण कुराको जानकारी समेटिएको छ ।
नेपाली पाठकसँग चिरपरिचित इटालीका प्राचीन चित्रकार लियोनार्दो दा भिन्ची र उनले कोरेको ‘मोनालिसा’ को तस्बिर रहेको फ्रान्सको लुभरे म्युजिमको जानकारी र महत्व बुझाउँदै लेखकले लुभरे म्युजियममा भएको ‘मोनालिसा’ को तस्बिर चोरीको कथा अनि उक्त तस्बिरलाई लिएर फ्रान्स र इटालीका जनताको तर्क वितर्कको प्रस्तुति पनि नेपाली पाठकलाई जानकारीमूलक छ । संसारका साना दुईवटा देशहरू ‘भ्याटिकन सिटी’ र ‘मोनाको’ को जानकारी पनि नेपाली पाठकको सामान्य ज्ञान बढाउन महत्वपूर्ण देखिन्छ । समग्रमा हेर्दा ‘होहाहोला’ यात्रा गर्न चाहने, विशेषगरी युरोप भ्रमण गर्न चाहने पाठकका लागि र सामान्य ज्ञान जान्न खोज्ने पाठकका लागि जानकारीमूलक देखिन्छ ।
यहाँ पेरिसमा पुगेका यात्रुहरूले कुन स्थान आफूले भ्रमण गर्न चाहेको हो त्यस अनुसारको भ्रमण प्याकेज पाइने सम्भावनालाई पनि औल्याइएको छ । उक्त यात्रा साहित्य पढेर नेपाली पाठकले नियात्राकारको पछिल्लो स्थाई बसोवास गर्ने अमेरिकाको डेनभरदेखि बेलायत र फ्रान्सबाट फर्केर अमेरिका पुग्नेबाहेकको सम्पूर्ण जानकारी लिँदा युरोप भ्रमण सहज हुने देखिन्छ ।

५. व्यक्तित्वको झलक
यात्रा साहित्यमा लेखकहरू आफ्नो कृतिका नायक हुन्छन् (नेपाल, २०७८) र उनीहरूले आफ्नो यात्रामा देखेका, सुनेका, भोगेका र महसुस गरेका कुराहरूलाई उपमाका रूपमा लिँदै सत्य तथ्यमा आधारित भएर यात्राको विवरण प्रस्तुत गर्छन् । त्यसैले यात्रा साहित्यमा व्यक्तिगत प्रतिबिम्व प्रस्तुत हुनु स्वाभाविक हो । लेखकलाई नयाँ वातावरणमा पुग्दा के कस्तो अनुभव भयो वा उनीहरूले के कस्तो अनुभूति गरे भन्ने कुरा लेखकको नितान्त आफ्नो अनुभव हो । उनीहरुले त्यसमा आफ्ना विचारहरू, भावनाहरू र दार्शनिक अन्तरदृष्टि प्रस्तुत गर्छन् । यात्रीले उसको यात्रा क्रममा देखे भेटेका कुरा संपूर्ण रूपले उसको आफ्नो विचार हो र उसले त्यसको वर्णन गर्दा पाठकले बुझ्ने गरी आफूले पहिले देखे भेटेका प्रसङ्गसँग जोडेर प्रस्तुत गर्छ । प्रस्तुत नियात्रामा लेखकको दुई किसिमको व्यक्तित्व झल्केको छ ।

१. मिलनसार व्यक्तित्व: नियात्राका लेखक बेलायतमा जाँदा भेटिएका नेपालीहरू र उनीहरूले नियात्राकार र साथीहरूलाई गरेको अतिथिको स्वागत र त्यहाँ बस्ताको समयमा भेटेका बेग्ला बेग्लै नेपालीहरू (प्रमोद र मनिषा, बसन्तजंग राय क्षेत्री, विनोद र सबिना) सँगका सौहार्दपूर्ण सम्बन्ध जस्ता पक्षहरू लेखकका आफ्ना सम्बन्धहरू हुन् र त्यहाँको अनुभव उनको व्यक्तिगत हो । फ्रान्सको ओपरा हाउस अगाडि नेपाली गीत गाउँदाको भाव र गीत गाइसकेपछि दर्शकको तालीले गौरवान्वित भएका ढुङ्गेल त्यही सुनेर नेपाली गीत गाउने मान्छे खोज्दै कुदेर त्यहाँ बस्ने नेपाली जोडी त्यस ठाउँमा आई पुग्नु र ढुङ्गेललाई पहिले टिभीमा देखेको कुरा जोड्नुले पनि लेखककै कलाकार व्यक्तित्वको परिचय दिएको छ । उनको कलामा नै उनी सबैका प्रिय बन्न सक्ने खुवी पनि देखिएको छ । युरोपमा पुग्दा लेखकले भेटेका साथीमध्ये क्यानडाका भारतीय जोडीले क्यानडाको आफ्नो घरमा दिएको निम्तो र उनीहरूले छुट्टिने बेलामा बगाएको आँसुले छिमेकी मुलुकका नागरिकहरू भारतीयहरु पनि अरुभन्दा बढी आफ्नो लाग्छन् भन्ने सन्देश प्रस्तुत गरेको छ । त्यस क्षणको निबन्धकारको अनुभवले नेपाली र भारतीय जनताहरूको सामाजिक आत्मीयता प्रस्तुत भएको छ । ती जोडीसँग नौ दिनमा आँसुको साइनो गास्न पुग्नुले ढुङ्गेलको व्यक्तित्वको परिचय दिएको छ ।
मलकित सिँहले मोहनदाइसँग अँगालो हालेर बडे भैया भन्दै बलिन्द्र आँसु खसालेर घुँक्क-घुँक्क रुन थाले । एता बुढी सूरजित कौर पनि अनुभाउजू र सरिताको हात समातेर रुन थालिन् । म पनि आँखाभरि आँसु पारेर स्तब्ध भएँ (पृ.१३५) ।
यात्रामा धेरै जना भेटिन्छन् तर यस्तो सम्बन्ध सबैसँग बस्न सक्तैन भन्ने कुरा पनि त्यतिबेला बसका अन्य यात्रुसँग छुट्टिने क्रममा देखिएको छ । यी सबै घटनाले ढुङ्गेलको कलाकार व्यक्तित्वसँगै उनमा घमण्ड नभएर उनको मिलनसार व्यक्तित्वका कारण उनका परिचित सबैले उनलाई मन पराउएको, नजिक हुँन खोजेको र आफ्ना घर वा डेरामा अतिथि बनाउने चाहना गरेको भन्ने कुरा प्रस्तुत घटनाहरूले देखाएका छन् ।

२. देशप्रेमको भाव: नियात्राकार अमेरिकाबाट युरोप घुम्न गएका छन् तर लेखकको देशप्रेम उनलाई नेपाल अर्थात् जन्मभूमिसँको लगाव बसोबास गरेको अमेरिकाको भन्दा बढी छ भन्ने कुरा प्रस्तुत नियात्रामा देखिन्छ । उनले युरोपका प्राचीन सहरहरू र त्यहाँको कुशल व्यवस्थापन र विकाससँग नेपाललाई जोड्दै गरेको स्थान वर्णनका क्रममा उनको देशप्रेमको भाव जताततै देख्न सकिन्छ । नेपालीलाई मातृभूमिप्रतिको मोह, जहाँ बसेपनि नेपालको चिन्ता बढी नै हुन्छ भन्ने कुरा ढुङ्गेलले यात्राको चित्र प्रस्तुत गर्दै देखाएका छन् ।
मोहनदाइले भन्नुभो वास्तवमा नबिगारेको हो भने पहिले काठमाडौँ पेरिसभन्दा कम होइन रैछ (पृ. १३७)” । “मैले मोहनदाइलाई सोधेँ, कति टनेल हगि दाइ ? नेपालमा पनि यस्तै भैदिए कत्ति हुन्थ्यो (पृ. ११७)।
नेपाल छोडेर अमेरिका बसेको धेरै भइसक्‍ता पनि आफ्नो मनको भित्री भागमा नेपालको मोह र चिन्ता उत्तिकै भएको र नेपालप्रति देशप्रेमको भाव उस्तै नै हुने रहेछ भन्ने कुरा संसारमा नेपाल भौगोलिक परिस्थितसँग मिल्ने अर्को देश स्विजरल्यान्ड जाने क्रममा देखिन्छ । जन्मेको देशको चिन्ता र त्यहाँको बिग्रदोँ राजनीति र त्यसको सुधारको चाहना ढुङ्ग्रेलमा भरपुर देख्न सकिन्छ ।
हाम्रो नेपाललाई २०४६ सालको आन्दोलनपछाडि कोही नेताहरूले सिंगापुर बनाइदिन्छु भने, कसैले स्विजरल्यान्ड बनाइदिन्छु भने तर सबैले हावा गफ दिएर जनतालाई जिल खुवाए । देशलाई उद्योगविहीन पारेर नेपाली युवाहरूलाई विदेशिन बाध्य बनाए; आफूले घुस खाए, गर्नेलाई पनि गर्न र टिक्न दिएनन् । पञ्चायतले देश र जनतालाई खत्तम पार्‍यो, जनताको अधिकार खोस्यो भन्नेहरूले, तीस वर्ष कालो शासन फासिष्ट तानाहशाही पञ्चायती व्यवस्था भन्नेहरूले; हामी जनवादी हौँ भन्नेहरू सबै भएर शासन चलाएको ठ्याक्कै तीसै वर्ष भएछ । के खुत्याए ? तीस वर्षभित्र केही थाहा भएन । झन् झन् बिग्रिँदो अवस्थामा देखिन्छ देश । नेपालजस्तो भूपरिवेष्ठित र करिब करिब नेपालजस्तै भनेर चिनिने तर विश्वमा नाम कमाएको धनी र विकसित देश स्विट्जरल्याम्डको लुसर्नेसम्म हामी.. (पृ. ६७) ।
यहाँ त केही गोटा गन्ती उदाहरणहरू मात्र बटुलिएका छन्, ढुङ्गेलको देशप्रेमको भाव प्रस्तुत नियात्रामा जताततै अनगिन्ति देख्न सकिन्छ ।

६. लेखन शैली
लेखन शैलीले कुनै पनि साहित्यिक लेखनलाई जीवन्त बनाउँने र लेखकको लेखन कलाको प्रदर्शन गर्ने काम गर्छ । शैलीले नै रचनालाई रोचक बनाउने कि वस्तुगत बनाउने भन्ने कुराको भूमिका निर्वाह गरेको हुन्छ । लेखन शैलीभित्र हामी यात्राको वर्णन गर्दा प्रयोग भएको भाषा र प्रस्तुतीकरणको शिल्पलाई राख्छौँ । निबन्धकारले उठाएका विषयवस्तु अरुले पनि उठाएको हुनसक्छ । तर, निश्चित लेखको शैलीले उसको लेखनलाई अरुभन्दा छुट्टै र विशेष किसिमले चिनाउँछ । त्यही युरोपको भ्रमण, नेपाली नियात्राको आधुनिकताको सुरुआतमा नै आई सकेको हो तर, त्यही युरोपलाई लेखकहरूको कस्तो दृष्टिकोणबाट हेरे, कुन समयमा हेरे, कसरी हेरे र हेरेदेखेका कुरा कसरी पाठक सामु प्रस्तुत गरे भन्ने कुरा उसको लेखन शैलीभित्र पर्छ ।
यात्रामा भेटिएका हिन्दी सिनेमाकी नायिका हेमामालिनी जस्ती मरियम, बहु प्रतिभाशाली केन्जो र रोबर्टाका साथै अन्य सहयात्रीको वर्णन गर्दा, “…इन्डोनेसियाको निकै धनाढ्य व्यक्ति रहेछ त्यो । नाम चाहिँ …….की, अनुहारचाहिँ अत्यन्त राम्री । नाक अलि अलि नजानिँदो थेप्चो तर मोटी घ्याप्ची । केटोचाहिँ हाम्रो चलचित्र ‘नौडाँडापारि’ को दुईमध्ये एक निर्माता विमल शेरचनजस्तै देखिने (पृ. ११६)” बिम्बले इन्डोनेसियाका मानिसको रुपको चित्रण पाठकले बुझ्ने हिसाबले गरिएको छ । साथै ढुङ्गेलले न्युजिल्यान्डका आदिवासी ‘मौरी’ जातिका अमेरिकन जोडी, क्यानडा निवासी भारतीय बुढाबुढीको जोडीको परिचय दिँदा पनि नयाँ नौलो प्रस्तुतिमा ध्यान पुर्याएका छन् ।
फ्रान्सको आइफिल टावरको वर्णन गर्दा लेखक यसरी गर्छन्, “अनेक रूप रूपाय विष्णवे प्रभु विष्णवे भनेझैँ, त्यो बत्तीको चमकले आइफिल टावरको स्वरूपमा फेरि परिवर्तन आयो । शिरमा स्वर्णकलशको श्रीपेच धारण गरेकी रानीझैँ देखिन थाल्यो । चारैतिर बत्तीहरू पिलिक-पिलिक गरिरहेको अवस्थाको मुस्कुराहटले अभिभूत देखिन्थ्यो” । ढुङ्गेलको यो वर्णन वा प्रस्तुतिमा कवितात्मक शैली देखिन्छ । एउटा फलामको आइफिल टावरलाई भगवान विष्णुको अनेक रूपसँग दाँज्नु र टावरमा बलेको बत्तीले रूप परिवर्तन गर्दा दन्ते कथाकी पात्र सुनको कलश भएको श्रीपेज धारण गरेकी रानीसँग तुलना गर्नुले कवि भावनामा निर्लिप्त बहेर आइफिल टावरको सुन्दरताको चित्र कोर्न पुगेका छन् । उनको कवितात्मक शैलीको यो एउटा उदाहरण हो ।
नियात्राकारले स्थानको वर्णन गर्दा आफू जन्मेहुर्केको नेपाल र नेपाली भाषाका पाठकले बुझ्ने नेपालकका दृश्यहरूलाई उपमा बनाई युरोप र बेलायतका स्थानहरूको वर्णन गरेका छन्, “हर्सग्राउन्ड परेडबाट हामी हिँड्दै जाँदा गेटको दायाँबायाँ मूर्तिसरह रातो पोसाकमा क्यापसहितका, संगिनसहितका सैनिक र पुरानो ढोका सेतो चुनले पोतेको गेटको गारोले मलाई सिँहदरबारभित्रको घोडा सैनिक घोडाको तबेला र सैनिक क्यान्टिन याद आयो (३०) ।” यसरी वर्णन गर्दा नेपाली पाठकले बेलायतको ‘हर्सग्राउन्ड’ को दृश्य सहजै कोर्न सक्छन् ।
साँस्कृतिक परम्परा पनि ‘होहाहोला’ मा आएको छ । फ्रान्समा छत नभएको गाडीमा चडेर ‘मेसी मेसी’ भन्दै हात हल्लाउँदै हिँड्ने नयाँ दुलाहा दुलही र तिनीहरूको प्रत्योत्तरमा चोक र बाटामा भएका मानिसले पनि ‘मेसी मेसी’ भन्दै हात हल्लाएर उनीहरूको मेसी मेसीको उत्तर दिने चलन अनौठो रहेछ । पेरिसमा बिहे गरेपछि त्यसरी कारमा ‘मेसी मेसी’ भन्दै परिक्रमा गर्ने चलन (पृ. ६२) नेपालीकालागि नयाँ कुरो हो ।
त्यसै गरी ओपेरा हाउसअगाडि गीत गाएर बस्ने युवकले नेपाली अनुहार देखेर उनीहरूलाई भारतीय भन्ने सोच्तै उनीहरूलाई प्रभावित पार्न हिन्दी गाउछन् भन्ने कुरो पनि अनौँठो छ । त्यस्ता दृश्य देखिने ठाउँमा नियात्राकारले पैसा माग्न बसेको त्यो युवाको माइक मागेर ‘यस्तो पनि हुँदो रैछ…’ भन्ने नेपाली गीत गुञ्जाउँदा आफू कलाकार भए त्यहाँ नेपाली हुनुको भाव पोख्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ (पृ. ६३) ।
स्विजरल्न्डमा नियात्राकार अलि भावुक देखिन्छन् । उनलाई देश नेपालको संझना अलि बढी भएको महसुस हुन्छ । यसलाई व्यक्त गर्ने उदाहरण यस्ता छन्, “ फर्किएर हाइवे देखिने गरी हामीले तस्वीर खिच्यौँ र परसम्म देखिने खेती र गाई वस्तुहरू अनि हरियाली सफा सुग्घर र व्यवस्थापनले हामीलाई औधी लोभ्यायो । आफ्नो मातृभूमिका बारेमा केही कुरा गर्‍यौँ (पृ. ७१)” र “स्विटजरल्न्डको लुसर्ने शहर र नेपालको पोखराको लेकसाइड तुलना गर्न रहर लाग्यो मलाई । उस्तै त के हुन्थ्यो र ? किनभने फेवातालको धमिलो फोहोर पानी अनि त्यहाँको कञ्चन सफा पानी र ठूला-ठूला जहाज चलाइएको तैपनि तुलनात्मक रूपमा करिब करिब दाँज्न मिल्ने (पृ. ७३)”, “मलाई स्विटजरल्यान्डको दूध नेपालमा भर्खर दोएर कुँडेमा तताएको गाईको दुधकै जस्तो स्वाद र मीठो लाग्यो (पृ. ७७)” । यी तुलनाहरू हेर्दा नियात्राकार स्विजरल्यान्ड र नेपाल उस्तै नै छ तर नेपालको अव्यवस्थाले नेपाललाई तुलनात्मक रूपमा फोहोरी र स्विजरल्यान्डको राम्रो व्यवस्थाले स्विजरल्यान्डलाई तुलनात्मक रुपमा सफा, सुग्घर बनाएको भन्ने ठहर गर्दछन् ।

नेपाली सामजमा चलेका कथनहरूले उनको लेखन शैलीलाई मिठास प्रदान गरेका छन् । “.. इटालीलाई ‘बाइ बाइ इटाली’ भन्दै । नमरी बाँचे कालले साँचे समय र भाग्यले जुराए फेरि फर्किएर घुम्न आउँला । हाम्रा ती शब्द र आवाजहरू दाइनेतिरका साना हरियो थुम्का थुम्की पहाड सुन्दर बस्तीहरूमा कोशौँकोश परसम्म गुन्जिँदै हावामा तरंगित हुँदै जाँदै थियो । देब्रेतिरका विपरित समुन्द्रको नीलो तरंगित छालहरूले च्याप्प समातेर धेरै परसम्म संगीत भरेर लाँदै थियो (पृ. १२२)” । चित्रात्मक शैलीद्वारा प्रस्तुत गरिएको स्थान, घटना वा पात्रको वर्णनले पाठक त्यही दृश्य कोर्न थाल्छ जसलाई लेखकले प्रस्तुत गर्न खोज्छ । उपमा दिएर यात्राका स्थानहरू र त्यहाँको घटनाको वर्णन गर्ने लेखन शैलीले पाठक र लेखकलाई चित्रात्मक रूपले बाँधेरै राख्छ । प्रस्तुत यात्रा वृत्तान्तमा लेखकको यही चित्रात्मक शैली विशेष देखिन्छ र यसैले नियात्रालाई अरुभन्दा फरक बनाएको छ । “वहाँले हाम्रो कोठाको झ्याल खोल्नु भो । होटल थियो हाम्रो नेपालको जुद्धसडकको क्रिस्टल होटलजस्तै” ।
पेरिसको दृश्य, “मोहनदाइले भन्नुभो वास्तवमा नबिगारेको हो भने पहिले काठमाडौँ पेरिसभन्दा कम होइन रैछ । पेरिसभन्दा कम भनेको नारायणहिटी राजदरवार मात्र हो । वहाँले भन्नुभो भर्सायल प्यालेस हेरेर नारायण हिटी प्यालेस त छाप्रो जस्तो (पृ. १३७)” नियात्राकारको यो बिम्बले नेपाली पाठकको मन मस्तिस्टकमा फ्रान्सको भर्सायल प्यालेसको विशालताको चित्र कोर्न सहज बनाएको महसुस हुन्छ ।
जिनोवाको पिसा टावर वरपरको दृश्य, “यहाँ पनि पब्लिक यातायातलाई प्रवेशनिशेध गरिएकाले सरकारले तोकिएको ठाउँमा पब्लिक यातातात पार्क गरेर त्यहाँबाट सानो तर खुल्ला हाम्रो नेपालको भृकुटी मण्डपमा चल्ने बालरेलजस्तो लिकमा होइन डिब्बैडिब्बा जोडेर गाडीले नै तान्ने । त्यसमा हालेर लैजाँदो रहेछ पर्यटकहरूलाई । त्यो पनि टावरसम्म होइन । …… दशमिनेट हिँडेपछि बल्ल …. पुगिँदो रैछ । ….बाटामा …. गिफ्टशपहरू रेष्टुराँहरू टन्न रहेछन् । ती पसलहरू मलाई कस्तो लाग्यो भने हाम्रो शिवरात्रिमा पशुपतिमा पहिलेको भुवनेश्वरी…गौशाला प्रहरीचौकीसम्म मदिसेहरूले राख्ने पसल जस्तै (पृ. ११३)” यसरी वर्णन गर्छन् । केही वर्ष अगाडि पशुपति वरिपरि नवीकरण गर्नु अघिको शिवरात्रिको मेला देख्ने र भृकुटी मण्डपको रेल देख्ने पाठकलाई यो बिम्बले पिसा टावरको दृश्य छर्लङ्ग हुन्छ ।
सामाजिक बिम्ब “स्कुले केटाकेटीलाई टाउको गन्दै बसमा हालेझैँ गरी हामीलाई पनि मरियमले बसभित्र छिराइन्” (५५) र “आलु र इन्डियन संसारका जहाँ पनि पाइन्छ भन्ने उखान आइफिल टावरमा पनि चरितार्थ भयो (पृ. १३८)” प्रयोग गरेर यात्राका दृश्य प्रस्तुत गर्ने शैलीले नेपाली पाठकलाई आनन्दित तुल्याउँछ ।
रोचक प्रसङ्गको चित्रण कलाकार भैसकेका नियात्राकारले सिनेमाको चित्रझैँ प्रस्तुत गरेका छन्, “बस होटलको मेन गेटबाट बाहिरिन लाग्यो । मोहनदाइले हात उठाएर ‘एस्क्युज मि, आइ लस्ट माइ पास्पोर्ट’ भनेर कराउनुभयो । बस रोकियो । हामी आत्तियौँ । लौ मारेन अब पासपोर्ट हरायो, कसरी फर्किने, मेरो दिमागले अब टिकट सार्नेदेखिलिएर पेरिसमा गएर एम्बेसीमा ट्राभल डकुमेन्ट बनाउनुपर्ने भन्ने यावत कुराहरू सोच्न थाल्यो । केन्जो, म र मोहनदाइ गएर होटलको रिसेप्सनिस्टसँग कुरा गर्न थाल्यौँ । साँचो मागेर पुन: सबैमा चेक गर्न गयौँ । कतै छैन । त्यसपछि ब्रेकफास्ट खाएको ठाउँमा खोजियो तर पास्पोर्ट छैन ।………सबै सिँहजीलगायतका बसका अन्यहरू पनि सिटमुन्तिरदेखि लिएर सबैरिर चेक गर्न थाले । अन्त्यमा …हराएको नर्क्यौल गरियो ।…… अन्त्यमा सरिताले भाउजुको ब्याग पुन: चेक गर्न थाली ब्यागको बाहिर पट्टि खल्तिमा पासपोर्ट फेला पर्यो (पृ. ७८-९)” । पाठकले यस्तो दृश्यको वर्णन पढ्दा बसको सिटमुनि यात्रीसँगै मनको आँखा घुमाउन थाल्छ ।
भ्रमणमा भेटिएकी मरियम नामक फ्रान्सेली सहचालक (गाइड) लाई हिन्दी सिनेमाकी नायिकासँग तुलना गरेका छन् । उसको सुन्दरतालाई रमाइलोसँग यसरी प्रस्तुत गरेका छन्, “मोटी भएपनि कति राम्री हगी ? हिस्सी परेकी, फेरि गालामा मुसुक्क हाँस्ता डिम्पल हेर्नुस् मोरीको’ भन्नुभयो दाइले (पृ. ५४)” ।
ढुङ्गेलका भाषामा ‘फोसा (पृ. ४७)’ जस्ता पुरानो काठमाडौँको नेपालीमा प्रयोग हुने मौलिक शब्दको उपस्थिति पनि पाइन्छ ।

७. भाषिक त्रुटि :
प्रस्तुत यात्रा साहित्यमा केही भाषिक त्रुटि पनि देखिन्छन् । तीमध्ये केही यस्ता छन्:
‘जर्मनी’ देशको नाम हो र ‘जर्मन’ त्यहाँको भाषा नाम हो र जनतालाई पनि ‘जर्मन’ भनिन्छ । यहाँ “मलाई लाग्दथ्यो गोरा छाला भएपछि, चाहे जर्मनी हुन्, चाहे बेलायती हुन्, चाहे फ्रेन्च सबैलाई म अमेरिकन भन्ने ठान्थेँ” (पृ. १५) भन्ने वाक्यमा बेलायतका नागरिकलाई ‘बेलायती’ भनेझैँ “जर्मनी’ शब्दको प्रयोग भएको छ । यही पृष्ठमा “बुढाबुढीले जर्मनी लैजान्छु समेत भनेका थिए” भन्ने वाक्यमा फेरि त्यही जर्मनी शब्द देशको नाममा पनि प्रयोग भएको छ । यी दुई प्रयोगले ‘जर्मनी’ शब्दको प्रयोगमा भाषिक त्रुटि भएको देखिन्छ ।
कतिपय स्थानमा क्रियाविशेषण मात्रले पनि वाक्य पुरा भएको छ भने कतै क्रियापद छुट्ने समस्या पनि यहाँ भेटिन्छ । ढुङ्गेलको नियात्रामा यस्ता केही भाषिक त्रुटि पनि पाइन्छन् । “अलिकति अगाडि तन्किएर म बाहिरको दृश्यमा मग्न थिएँ । फूलभित्र माहुरी लट्ठिएझैँ (पृ. ११७)”। “त्यही मौकामा मैले उसलाई प्रश्न गरेँ, ‘भोलि बिहानको हाम्रो ब्रेकफास्टको व्यवस्था के छ ? उसले ब्रेकफास्ट इन्क्लुडेट छैन तिमीहरूको (प. ४५)” । “ट्याक्सी ड्राइभरलाई……..दिइसकेका थियौँ । बुक गर्दाखेरीनै (पृ. १४१)” । यहाँ ‘बुक गर्दाखेरीनै’
आधुनिक नेपालीमा देखिएको भाषिक अतिशुद्धीकरणको समस्या पनि यहाँ देखिन्छ । पानी, रक्सी वा अन्य कुनै पेय पदार्थसँग ‘खानु’ क्रियापदको प्रयोग शुद्ध नेपालीमा हुन्छ । तर, आधुनिक नेपालीमा त्यसको वेवास्ता गर्दै अङ्ग्रेजीको ‘ड्रिङ्क’ (drink) शब्द र हिन्दीको ‘पिया’ शब्दको अनुवाद गरी नेपालीमा पेय पदार्थलाई ‘खानु’ क्रियापदको सट्टा ‘पिउनु’ क्रियापदको प्रयोग गरिन्छ । यहाँ नियात्राकारले पनि त्यसै गरेका छन् “चिसो पानी दुई बोतल किनेर पियौँ” (पृ. १३९) ।

८. निष्कर्ष :
आकर्षक शैली, हास्य कलाले युक्त लेखन, शीर्षकमा नौलोपन, नेपालीसँग परिचित नेपालका विशेषगरी राजधानीका स्थानहरुसँग तुलनात्मक दृश्यका साथ गरिएको प्रस्तुति ‘होहाहोला’ यात्रा साहित्यको विशेष गुण हो । आधुनिक नियात्रामा सरल र सहज प्रस्तुतिले युक्त यस नियात्रालाई नेपाली साहित्यको अमूल्य प्राप्ति मान्न सकिन्छ । नेपाली पाठकलाई नै केन्दित गरी ‘होहाहोला’ यात्रा निबन्ध नेपाली भाषामा लेखिएको छ । भाषा प्रयोगमा एकछत्त नेपाली नभए पनि नेपाली भाषाका आधुनिक पाठकका लागि यो सहज बोधगम्य छ तर नेपालीका एकभाषी वक्ताका लागि भने यहाँ भएको भाषिक मिश्रणले पाठ सहज बोधगम्य नहुन सक्छ । यस किसिमको भाषिक मिश्रणले आधुनिक लेखनको परिचय दिने भए पनि सोझा पाठक भने कतै अर्थको अभावमा अल्मलिन त सक्तैन भन्ने अवस्था देखिन्छ । त्यसैले यस कृतिमा देखिएका सामान्य भाषिक त्रुटिलाई आगामी संस्करणमा मसिनो गरी हेर्दा कृति सुनमा सुगन्ध हुन्थ्यो भन्ने मेरो निष्कर्ष छ ।


सन्दर्भ सामग्री
चालिसे, विदुर (२०७७). नियात्रामा नौलो आयाम, रत्न पुस्तक भण्डार , काठमाडौँ
जय छाङ्छा (२०७७). नियात्रा विधाका विशेषता, खुलामञ्च, देशको आवाज २०८० कार्तिक २० सोमबार | 2023 November 06, https://khulamancha.com/news/529
नेपाल, देवी (२०७८) नियात्रा के हो र कसरी लेखिन्छ?, Khoj Online,२०८० कार्तिक २० सोमबार | 2023 November 06, https://www.khojonline.com
पोखरेल, बालकृष्ण (२०१९). नेपाली भाषाको कथा, जगदम्बा प्रकाशन, ललितपुर
प्रधान, भिक्टर (२०५५). यात्रा साहित्य, (सं. बराल, र्इश्वर र अन्य) नेपाली साहित्य कोश नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।