गान्धी बजारमा अचानक, डुल्दै गरेको मलाई, कसैले पछाडिबाट कठालोमा पक्रेर झल्ट्याङ-झुल्टुङ् पारेपछि मैले पनि पछाडि फर्केर तत्क्षण उसलाई रन्फनिने गरि झापड हाने
अनि मात्रै वस्तु स्थितिमा दृष्टि घुमाउदा थाहा पाएँ
उ त अपरिचित कुनै स्त्री थिइ।
" किन मलाई सासूलाई मानसिक यातना दिने भनेर लेखिस् हँ?- "तलाईँ के थाहा छ म सासूलाई कति माया गर्छु भनेर?" रिसले काम्दै उसले यसो भनेपछि म छक्क परेँ।
" म तपाईँलाई चिन्दै चिन्दिन भने म तपाईँबारे त्यस्तो कुरा कसरी भन्छु होला, अनि किन?"- भन्दै थिएँ, भीड जम्मा भइहाल्यो ।
"भनेको होइन । तैँले त लेखेको पो छ त"
"कुनै कथामा वा कुनै कवितामा?" सोधेँ एउटा लेखक हुनुको हैसियतमा ।
" अँ, मेरो विषयमा फेसबुकमा, ह्वाट्स्एपमा त्यस्तो लेख्ने हो?"-भन्दै मतिर झम्टिएकी उसलाई अहिले भने भीडका केही महिलाले तानेकाले म बाँचे।
" बहिनी! तिमीलाई मैले दोष्याएको होइन । त्यो त कथा पो त"-र अझै भनेँ -"मैले कथा लेखेको हूँ। अब त्यो तिमीसँग, तिम्रो जीवनसँग, तिम्रो प्रवृत्तिसँग त्यो मिल्नु त खालि एउटा संयोग मात्रै हो"।
उ कड्की" थाहा छ मलाई पनि, साहित्य समाजको दर्पण हो। अनि त्यसरी मलाई लेख्ने ?"
अझै पनि म नम्र नै थिएँ र भने- " कि त्यसो भए मेरो त्यो रचनाको पात्र तिमी नै हौ? त्यो नकारात्मक प्रवृत्ति भएका समाजमा अरू छैनन् त? अनि त्यसो भए तिमीले पनि सासूलाई मानसिक यातना दिने गरेकी छौ?" - सोध्दै थिएँ त्यसैबेला महिला अधिकार कर्मी पुलिस समेत लिएर आए।
एउटी नारीलाई थप्पड हानेको अपराधमा मलाई पुलिसले हिरासतमा लिए । मेरो कुरा कसैले नसुन्नु स्वाभाविक नै हो। किनभने मैले एक महिलालाई अचानकै झापड हानेको थिएँ।
थानामा मैले बयान दिएपनि अहिले म हिरासतमा छु। भोलि न्यायालयमा मलाई फेरि आफ्नो सफाइ दिनुपर्ने छ। म अहिले रातको चकमन्नतामा एउटै कुरा न्यायाधीशलाई बिन्ती गर्ने सोचिरहेको छु कि अब कवि/लेखकलाई पनि सरकारले सुरक्षा दिनुपर्नेछ । देशमा साहित्यकार असुरक्षित छन् आफैँले कल्पेका चरित्रहरूबाट।
रिनाक, सिक्किम