मञ्चबाट ओर्लनासाथ मन्त्रीको हात एक वृद्धले च्याप्प समाए । भरिभराउ कार्यक्रमस्थललाई वृद्धको आवाजले तान्यो ।
मन्त्रीसँग भेंटनेहरुले आ–आफ्नो माग राख्दै थिए । युवाहरु सेल्फीको मौका खोजिरहेका थिए ।
वृद्धले हातै नछाडेपछि उनको कथा सुन्न मन्त्री तयार भए । मन्त्रीले सोधे–‘कि चाही बाबा ।’ के चाहियो भनेर मन्त्रीको बोली झर्नासाथ वरिपरि झुम्मिएका कार्यकर्ताहरुले पनि पालैपालो सोध्न थाले । ‘के चाहियो भन्नुस ।’
वृद्धको आँखा आँसुले भरियो । गोजीबाट पाँच सयका नोट झिक्दै मन्त्रीका पिएले सोधे– ‘छाक टार्न रासन चाहिएको हो ?’ जान्ने भएर अर्को टोपल्यो– ‘जाडो बढेकाले सिरक चाहिएको होला !’
सबै जना अडकल गर्दै थिए– ‘घरवास, स्वास्थ्योपचार, सन्ततीको लागि शिक्षा वा जागिर चाहिएको होला ।’
आशाले आएको बृद्ध भन्दै थिए, ‘बडो मुश्किलले यहाँसम्म आइपुगेँ । मन्त्रीज्यूसम्म आउन दुई घण्टा लाग्यो । म पैसा, कपडा र जागिर माग्न आएको होइन ।
‘तब कि चाहीं छोटमे जल्दीएँ कहुँ ।’ मन्त्रीले छोटोमा चाँडै भन के चाहियो भनेपछि वृद्धको कुराले त्यहाँ सन्नाटा छाएको थियो । भिंड भावुक बनेको थियो ।
कृषि क्रान्ति गर्ने, कृषिको हब बनाउने, समृद्धि ल्याउने सपना बाँडेका मन्त्री असिनपसिन भए । मिथ्या बकवास गर्ने व्यक्तिझैँ बृद्धका प्रश्नले निरुत्तर भएका मन्त्रीले अन्ततः गाडीमा छिरेर कालो सिसा लगाए ।
उनको मनमस्तिष्कमा भने वृद्धको बोलीले ढ्याङरो ठोकिरहेको थियो– ‘मेरो एउटै माग छ –‘बाली लाउन नपाउँदा भोकमरी हुने भयो, एक बोरा मल मिलाइदिनु पर्यो सरकार ।’
राजविराज–६, सप्तरी नेपाल