18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उजाड विवरण

कथा नन्दलाल आचार्य July 11, 2024, 12:03 am
नन्दलाल आचार्य
नन्दलाल आचार्य

“हजुर, जे होस्, यहीँ केही गरौँला ! चाँडै फर्कनुहोस् !” एकपटक अमेरिकाले मनको उहापोह पोख्तै फोनवार्तामा भनेकी थिई, “हजुरबिना म यहाँ पानी बाहिरको माछो भएकी छु । हरेक रात आँसुले सिरानी भिजाउँछु ।”
धन सुखका लागि हो, मनमा अमनचयन छैन भने त्यो धनको काम छैन भन्ने मत राख्थी । हरेक दिन परपर हिँड्दै गरेका मान्छेमा मेरै आकृति भेटेको कुरा गर्थी । भन्थी, “आँखा मिच्दै नियालेर हेर्दा पुरुषको आकृतिमा अर्कै मान्छे पाउँछु । हुस्सिँदा आफ्नै गालामा फ्याट्ट हान्छु र चित्त बुझाउने असफल प्रयत्न गरिरहन्छु ।”
उसको कुरा सकिन्नथ्यो । एकोहोरो अतिशयोक्तिपूर्ण कुराहरू बरबराइरहन्थी । म नै निर्दयी मन बनाएर झपार्न खोज्थेँ । ऊ फोनमै सुक्कसुक्क गरेर रुन थाल्दथी । उसको रुवाइमा म कृतिमता पाउँदिनथेँ । मेरो मन पनि पग्लन्थ्यो । उसप्रति सहानुभूति जाग्न थाल्थ्यो ।
“लाटी, बेकारमा किन चिन्ता लिन्छ्यौ ? बेलाबेलामा गफ गरेकै छु । हालखबर आदानप्रदान भएकै छ । कमाएको पैसो सबै पठाएकै छु । त्यसमाथि तिमीलाई साथीका रूपमा छोरो अजयलाई छाडिदिएकै छु ।” म सम्झाउँदै थप्थेँ, “तिम्रै लागि भनेर उसलाई बोर्डस् गरिदिइनँ । मन बुझाउने आधार नगुमोस् भनेर छाडिदिएको छु । घरमा बस्ने रहर नभएको हैन, ऋणले घरबास उठ्न थाल्यो र पो विदेश भासिएको हुँ ।”
मेरा कुराले उसको चित्त बुझ्दैनथ्यो । बोली सुन्न पाए पनि मुहार हेर्न पाइनँ भन्ने गुनासो हुन्थ्यो । खर्च नगरी धर नहुने काममा मात्रै खर्च गरेर अरू सबै रुपियाँ बैँकमा मुद्दती खातामा राखेको कुरा सुनाउँथी । छोरालाई ट्युशन पढाउन कसलाई लगाउनू, बिग्रिन लाग्यो भन्थी । घरव्यवहारका सारा खबरहरू एकपछि अर्को गर्दै सुनाउँदै जान्थी । भनौँ मेरा सामु समस्याको पहाड ठड्याएर मात्र रुक्थी ।
+++
मेरै सल्लाहले तल्लाघरे रामपुकार बौवा अजयलाई पढाउन घरमा आउन थाल्यो । ऊ गाउँकै पढेलेखेको ठिटो थियो । विहानबेलुका घरघर गएर बच्चाहरूलाई पढाउँथ्यो । दिउँसो नजिकैको महावीर मावि हनुमाननगरमा निजीस्रोत–शिक्षकको रूपमा काम गथ्र्यो । ऊ सबैको प्यारो थियो । सबैले ‘बौवा’ भन्थे । म भने नामसहित उच्चारण गरेर भन्थेँ– रामपुकार बौवा ।
अजयले पनि दिनप्रतिदिन प्रगति गर्दै गएको खबरले मेरो मन तृप्त भयो । अझ फोनमा अघाउँजी कुरा गर्न पाइनँ भन्ने अमेरिकाको गुनासोलाई सम्बोधन गर्न महंगो सामसुङ मोवाइल पठाइदिएँ । त्यही मोवाइलले रामपुकारले आमाछोराको फोटो खिचेर फेसबुकमा हालेछ । धेरै दिनपछि देखेर हो कि किन हो, फोटामा आमाछोरा ज्यादै सुन्दर थिए । राम्रो क्यामेरा भएको मोवाइलले नराम्रा अनुहार भएका मान्छेलाई पनि राम्रै देखाउँछ भनेको सुनेको थिएँ । त्यस्तै हो कि भन्ने शंका लाग्यो ।
“ए बौवा, भाउजूलाई फेसबुक, म्यासेन्जर, भाइबर चलाउन सिकाइदेऊ है ! तिमी छोराका मात्रै हैन, आमाका पनि गुरु बन, ल !” मैले हाँस्तै फोनमा रामपुकारसँग भनेको थिएँ, “एक पटक म्यासेन्जरबाट भिडियो कल गरेर भाउजूलाई देखाई देऊ न ! त्यसपछि ऊ आफैँ जान्न र बुझ्न खोज्ली ।”
नभन्दै उसले कुरा गरायो । अमेरिका साँच्चैकी सुन्दर स्त्री लाग्थी । मेरो मनले त ठम्यायो– ऊ ठ्याक्कै रानी मुखर्जी भइछ ! अजय पनि राजकुमारभन्दा कम्ताको लागेन । घरपरिवारका अन्य कुराहरू पनि हेर्ने मौका पाइयो । करेसाबारी सागपात र लतिलहराले ढाकिएको थियो । खेतबारीमा मकै हलक्क बढेका थिए । गोठमा गाईभैँसी, बाख्रापाठा सप्रेका देखिन्थे । आफू नहुँदा पनि पत्नीले सारा तारतम्य मिलाएको देख्ता मन पुलकित भयो ।
“अमेरिका, तिमीले त जादु नै गरिछ्यौ, सबै कुरा सिस्टमेटिक देखेँ ।” मैले खुशीका शब्द ओकलेथेँ, “म नभए पनि तिमीले परिवारको जहाज डुब्न नदिने रहिछ्यौ । अब भने म ढुक्कले रहन पाउने भएँ ।”
“धेरै खुशी नहुनुस् ! सबै कुरा आँखाले देखेको र मनले सम्झेजस्तो हुन्न ।” उसले भनेकी थिई, “हरेक कुरामा शंका गर्ने ठाउँ छ । सीताजस्ती पतिव्रता नारीमाथि त शंका गरियो । यो कलियुग त शंकैंशंकाले बनेको छ । यहाँ त आफैंँमाथि आफैँले शंका गर्नुपरेको छ ।”
उसको दार्शनिक सोच सुनेर र अनुहारका गम्भीर भाव पढेर मेरो मन फतक्क गल्यो । जाँगर हराएर गयो । किन त्यस्तो भनेकी भनेर प्रश्न सोध्ने हिम्मत पनि भएन । साँच्चै अब आफैँमाथि अविश्वासी नजरले हेर्ने दिन आयो त ? निकैबेर मन त्यसैमा गडिरह्यो ।
+++
वर्षेनी आएको त्रियुगा र सप्तकोशीको भेलले खेतमा बालुवाको पहाड ठड्याइदिन्थ्यो । खाँडो नदी घरभित्रै पस्थ्यो । मावलीमा भएको सात कठ्ठा खेत पनि बलान नदीको चपेटामा प¥यो । खेतबारीमा केही पनि उब्जन छाड्यो । हिउँदमा त बालुवाकै राशमा भए पनि आरामले रात काटिन्थ्यो । वर्षायाम लागेपछि भने त्यही कटेरो पनि छाडेर सरकारी स्कूलतिर रात कटाउन जानुपथ्र्यो ।
अधियाँबटिया गर्दागर्दा हैरान भइन्थ्यो । वर्षभरि खानलाउन नै पुग्दैनथ्यो । साहूकहाँ ऋण काढ्यो । चर्को व्याज तिर्दातिर्दा ढाड सेकिन्थ्यो । बरू यसै भएन, उसै भएन भनेर रामी मडरकहाँ घरखेत बन्धकीमा राखी विदेश पसेको हुँ ।
सप्तरीको भारदह क्षेत्रमा जन्मिहुर्की गरेको भए पनि कतारको जस्तो तातो वाफ र गर्मी कहिल्यै खाएको थिइनँ । सप्तकोशीको पानीलाई स्पर्श गर्दै आएको हावाले आँत शितल पाथ्र्यो । बेलुकी पख हिमालको चिसो सिधै आँगनमा आइपुगेको अनुभूति हुन्थ्यो ।
सानो छँदा आमाबाबुको काख र साथ कहिल्यै छाडिएन । अलिक ठूलो भएपछि साथीहरूसँग लागेर कहिले राजविराज, कहिले कञ्चनपुर त कहिले भारदह पुगेर हिन्दी सिनेमा हेरिन्थ्यो । अलिक ठूलो भएपछि भने सामान किन्न कुनौली र वीरपुर बजार पुगिन्थ्यो ।
मधेस आन्दोलनको दौडानमा ५÷६ महिना देश ठप्प हुँदा समान किन्न र बैँकबाट भारु निकाल्न बाइकमा दरभंगा–समस्तीपुरसम्म पुगेको थिएँ । त्यसबेला डिजेल र पेट्रोलको व्यापार गरेर मनग्यै कमाइयो । तरकारी ओसारेर पनि खानलाउन पुग्थ्यो । हामीजस्ता निर्धाले बाँच्ने आधार भेटेका थियौँ । यद्यपि दुःख पाउने धेरै थिए । पूरै मुलुक रोएको थियो ।
हडताल टुट्नासाथ असहज स्थिति हटेर गयो । हाम्रो रोजीरोटी पनि गुम्यो । र, घरपरित्याग नगरी स्वास्नी–छोरो पाल्न नसकिने अवस्था आयो । त्यसैले मन उत्तै छाडेर शरीर मात्र लिएर यता आएको हुँ । छोरो आँखामा नाचिरहेको छ । मनले अमेरिकाको कोमल मुस्कान सुम्सुम्याइरहेको छ । साँझ–विहान चौकका पाटीपौवा र चिया–पान पसलहरूमा गफिने गाउँले मित्रहरूको ख्याल ठट्टा कानमै गुन्जिरहेको छ ।
मोबाइलको घन्टी बज्नासाथ मेरो तन्द्रा भंग भयो ।
अमेरिकाको अडियो कल रहेछ । मन उत्साहित भयो । झटपट ओके बटममा औँला पुगिहाले ।
“हेलो अमेरिका !”
“हजुर, कुशलमंगल हुनुहुन्छ नि !”
“मलाई ता ठीक छ, छोरालाई कस्तो छ ? घर–व्यवहार कस्तो छ ? गाउँघरको नयाँ–नौलो के छ ?”
“सबै ठीकै छ ।” उसले थोरैमा सबैको उत्तर दिने हिसाबले भनेकी थिई, “कतै कुनै नौलो परिवर्तन भएको मेरा आँखाले देखेकी छैन । पहिलेझैँ अहिले पनि गाउँघर चलिरहेछ ।”
“अनि अरू खास केही भन्नु छ कि ?” मैले फोन काट्ने मनसायले भनेथेँ, “ड्युटीमा जाने बेला भयो । तयारी गर्नुपर्ने छ । जे छ चाँडो भन ।”
“भन्छु, भन्छु । एक्कैछिन समय दिनुस् । तर...” उसले अक्मकाउँदै भनेकी थिई, “तपाईंसँग सल्लाहै नगरी छोरालाई विराटनगरमा बोर्डस् गरिदिएँ । यहाँ भविष्य बिग्रिने भयो । खर्च त धेरै लाग्यो ।”
“धन्दा नमान, जसो गर्दा उत्तम हुन्छ उसै गर !” मैले पूर्ण अधिकार दिएको आभाष दिलाउँदै भनेको थिएँ, “तिमीले राम्रो बाहेक अर्थोक काम गर्न जानेकी छैनौ । राम्रो गर्न मलाई अग्रिम सोधिराख्न पर्दैन । मात्र यसो गरेँ, उसो गर्दिनुस् भनिदिए पुग्छ ।”
मेरा कुराले ऊ निक्कै खुशी भएकी थिई । मलाई पनि उसको आनन्द आफ्नै आनन्द लागेको थियो । हुन पनि सारा दुःख आमाछोराकै लागि गरेको थिएँ । छोराकी आमाको नरम र मधुर बोलीमा विश्वास नगर्ने कुरै आएन ।
फोनवार्ताको अन्त्यतिर भनेकी थिई, “बैँकमा राखेको पैसा उठाएर रिन तिरेँ । व्याज कत्ति तिर्नु भनेर । बोर्डस् गर्दा फेरि रिन लाग्यो । चाँडै पैसा पठाइदिनू ।”
“हुन्छ, हुन्छ ! धन्दा नमान । म हप्तादिन भित्रमा साथीभाइसँग रिनपान गरेर दुई लाख पठाउँछु । सबै कुरा व्यवस्थित गर ।” सर्वस्विकार्य भावमा मैले पनि भनेथेँ, “र, अर्को पटक भिडियो कल गरेर घरबार देखाऊ । गाउँघर घुमाऊ, हुन्छ ?”
यस्तै यस्तै कुरा गरेथेँ त्यसबेला ।
तीन दिनमै रुपियाँ पठाएर भिडियो कल गरेँ । उसले शृङ्गारपटार गरेकी थिई । पहिलाकी भन्दा अझ सुन्दर लाग्थी । मलाई उसको मुहार हेरिरहूँ, उसैसँग वातचित गरिरहूँ लाग्यो । यद्यपि मनको कुरा मात्र थियो । व्यवहारले त्यसो गर्न अनुमति दिँदैनथ्यो ।
मैले टिपाएको नम्बर टिपी । र, मोबाइल काट्न हतार गर्न थाली । मैले घरबार देखाउन भनँे, उसले झर्को मानी ।
उसले सुन्दर मुहार कुच्याउँदै भनी, “के देखाउनू ! मरिमरी काम ग¥यो । वर्षायामको भेलले बालुवा थुपारिदिन्छ । तपाईंको अंश यस्तै छ । छोराको चिन्ता गर्दागर्दै र खेत समाल्दा समाल्दै करेसाबारी नाङ्गै छ ।”
गाह्रो मानिमानीकन उसले करेबारी घुमाई । सागपात, लतिलहराले ढाकिने बारीमा राजकुमार बनियाका खच्चडहरू पगाहा लगाएको देखेँ । आँगन छेउछाउ पनि बढारकँुढार नगरेको निर्जन ठाउँजस्तो देखेँ ।
खेततिर समेत मोवाइलको क्यामेरा सोझ्याउन लगाएँ । बालिनाली हुने ठाउँमा लगाएको थियो । मन राख्ने ठाउँ भेट्टाएँ । खेतमा काम गर्दागर्दा करेसाबारी समाल्न भ्याइन होला भनेर चित्त बुझाउने प्रयत्न गरेँ ।
तापनि सोधेँ, “धानखेत त ठीकै लाग्यो । करेसाबारी र घरआँगनको दुर्दशा देख्दा आँखा रसाएर आए । के भन्छ्यौ, अमेरिका ?”
“के भन्नू मैले ! मर्दले गर्ने काम गरेकी छु । आइमाईले गर्ने काम छाडेकी छु । दुइटै काम एउटैले गर्न सकिएन ।” उसले झिँजो मान्दै थपेकी थिई, “धन्दा नमान्नुस् । पैसो चाहिँ पठाउँदै गर्नुस् । म यहाँ सबै कुरो सिस्टममा राख्तै जान्छु । सानातिना कुरामा किचकिच नगर्नु के !”
उसले राख्छु पनि नभनी मोवाइल राखिदिई । म सोचमा परेँ– शृङ्गारमा चासो नराख्ने मान्छे, त्यता लहसिन थालिछे । चाँडो घर फर्किनुस् भनेर हर्दम जिद्दी गरिरहने बानीलाई फेरेर चाँडो पैसा पठाउनुस् भन्ने भइछे । केही नगरी एकै क्षण नबस्ने बानीलाई आर्यघाट पु¥याएर घरआँगन नै मान्छेबिनाको जस्तो पारिछे । घण्टौँ रसिला कुरा गरेर नथाक्ने अमेरिका चाँडै फोन काट्ने भइछे । अझ बोल्न पनि पैसा परेजस्तो कन्जुस्याइँ गर्दी रहिछे ।
मेरो मनमा शंकाको आगो दन्कन थाल्दछ । बल्छ, बल्छ । र, आफैँ सेलाएर जान्छ । गाउँका अरू कसैसँग बोलबाल गर्न सम्पर्क सूत्र नै थाहा थिएन । सबै आ–आफ्नै धुनमा थिए । सोझासीधा गाउँलेहरूलाई अरूको सोझीखोजी गरेर समाचार देशविदेश पु¥याउने फुर्सद पनि थिएन । ज्ञान पनि भएन । दुई–चार अक्षर पढेको म त कसैको चासो राख्तिनँ ।
सोच्छु, जे भए पनि अमेरिका अजयकी आमा हो । आमाले छोराको भविष्यमाथि प्रश्न चिन्ह लगाउन सक्तैनन् । म निर्दोष मान्छेमाथि बिनाकारण बज्रपात बर्साउन सक्तैनन् । आजसम्म मैले कसैको बिगार गरेको छ्रैन, तसर्थ कसैले पनि मेरो बिगार गर्न सक्तैन ।
+++
अनायास मित्र जनकका कुरामा गएर मन अडिन पुग्छ ।
“भाउजू कस्ती स्वभावकी छिन्, कुन्नि ! हेक्का राख्तै गर मित्र ! नत्र बेघर बनौला ।” उसले खबरदारीको स्वर समेत निकाल्न भ्याएको थियो, “विदेशमा पति कमाउने, पत्नी स्वदेशमै मस्तीमा उडाउने ! यस्तो हालतमा नेपाल÷भारतका कैयौँ युवाहरू परेका छन् । त्यसैले विश्वासलाई पनि अविश्वासी नजरले हेर्न सक्नुपर्छ ।”
मैले जवाफमा भनेथेँ, “के भन्छौ हौ, मित्र ! बरू खोजिमेली गर्दै जाँदा सति सावित्री र जानकी माताको पतिव्रतामा प्रश्न चिन्ह लगाउन सकिएला । मेरी अमेरिकाको निश्चल आदर्श प्रेममा प्रश्न राख्ने ठाउँ नै छैन ।”
“एक त हाम्रो सामाजिक सांस्कृतिक परम्पराले पतिलाई नै परमेश्वर मान्नुपर्छ भन्ने संस्कार सारा स्त्री जातिलाई दिएको छ, अर्कातिर केवल एक पत्नी हुनुपर्छ भनेर पुरुषहरूलाई पाठ पढाएको छ ।” मैले समाजका आदर्शहरू ओकल्दै भनेको थिएँ, “मेरी अमेरिका शिक्षित छे, सुसंस्कृत छे, मलाई नै पाठ सिकाउँछे, मैले कसरी शंका गर्नू ?”
“अन्धो नबन हौ, मित्र । विश्वासमै अविश्वासले जन्म लिन्छ । अविश्वासभित्र विश्वासको बीज अङ्कुराउन सक्दैन ।” मेरा कुरा काट्दै उसले पनि भनेथ्यो, “एक पटकको विश्वास, समय वित्दै जाँदा अविश्वासमा परिणत हुन सक्छ । तसर्थ सुझबुझ राखेर काम गर्नु नै बुद्धिमानी हुन्छ ।”
त्यसबेला मलाई उसका कुरा बिझाएका थिए । पतिपत्नी बीचको गाढा सम्बन्धलाई भत्काउन जताततै मानिसहरू सक्रिय हँुदा रहेछन् भनेर म रिसाएको पनि थिएँ । उसका हरेक शब्दले मलाई नै गिज्याएजस्तै लाग्थ्यो ।
निकै दिनसम्म ऊसँग मन खोलेर कुरा गरिनँ ।
+++
मैले घर आइपुग्ने तिथिमिति अमेरिकालाई बताएको थिएँ । उसले पनि बाटोखर्च राखेर कमाए जति सबै पैसा पठाइदिन आग्रह गरेकी थिई ।
“बाटोमा हराउन सक्छ, चोरिन सक्छ, पसिनाको कमाइ कसैले ठग्न सक्छन् । बरू मकहाँ पठाए, काममा आउँथ्यो । आज भए पनि भोलि भए पनि मकहाँ नै आउने त हो नि !” उसको कथन थियो, “चाँडो आए, साहूलाई बुझाउन हुन्थ्यो, व्याज पनि कट्थ्यो । जरिवानाबाट पनि बँचिन्थ्यो ।”
उसको नम्रपनमा मोहनी थियो । उसकै कुरामा लागेर मैले सबै पैसा पठाएको थिएँ । विश्वास पनि कसरी नगर्नु र ! धर्मपत्नीलाई अविश्वासले हेरेर कसलाई विश्वासी नजरले हेर्नु र ?
अझ ऊ केही पैसा उबारेर विराटनगरमा घडेरी जोड्ने कुरा गर्थी । म पनि मख्ख परेको थिएँ– जे सोच्छे मेरी अमेरिका छोराकै हितका लागि सोच्छे । भविष्यप्रति यत्ति संवेदनशील मान्छेमाथि म बेक्कारमा शंका गरिहिँड्छु । म आफैँ नालायक छु र अरूलाई पनि त्यस्तै देख्छु ।
+++
नभन्दै भनेकै दिन गाउँ पुगेँ । परैबाट घर ठिङ्ग उभिएको देखेँ । अमेरिकाको चालचुल देखिनँ । पाइला अघि बढाउँदै गएँ । आँगनभरि झार उम्रिएको पाएँ । कलुवा मरिकका सुँगुर पसेर जुठेल्ना र करेसाबारी खनखान पारेको भेटेँ । छिमेकी शौकत मियाँका कुखुराहरू घरको छहारीमा शितल तापिरहेको देखेँ । छक्क पर्दै भ¥याङ नजिकैको बेञ्चमा झोलाभ्याम्टा बिसाएँ ।
माथितिर हेरेको भ¥याङ माकुराको जालोले पुरिएको थियो । भ¥याङको शिरमा घोप्टे लगाइएको थियो । वरपर सुनसान थियो । गुहालीतिर नजर लगाएँ । चारपाँच महिना अघि गोब्रयाएको गोबर सुकिसकेको थियो । बाख्राको टाट्नामा सिउरेको घाँस सुकेर घँसेटा मात्र झुण्डिएको थियो । घरभित्र मुसाका बच्चाहरू च्याँच्याँ र चुँचुँ गरिरहेका थिए । मानौँ, ती भोकाएका हुँदा हुन्, आमाले दूध चुसाउन ढिलो गरेकी हुँदी हो ।
वरपर हेरेको बनरभुलावाली मौसी मेलाबाट आइरहेको देखेँ । उनी मेरी आमालाई ‘दिदी’ भन्थिन् । उनको माइत बनरझुला भन्ने ठाउँमा थियो । गाउँलेहरू ‘बनरझुलावाली’ भनेर बोलाउँथे । म भने उनलाई ‘बनरभुलावाली मौसी’ भन्थेँ । मलाई देखेर उनी आइन् ।
“हैन ए मौसी ! हिजै मात्र कुरा गरेकी अमेरिका आज त घरमा देख्दिनँ त !”
“खूब कुरा ग¥यौ तिमीले ! अमेरिकाले घर छाडेको दुई महिना वितिसक्यो । खेतीपाती त्यागेको वर्षदिन भइसक्यो । वस्तुभाउ र बाख्रापाठा बेचेको ६÷७ महिना वितिसक्यो ।”
“विराटनगरको अरनिको स्कूलमा छोरालाई बोर्डस् गरिदिएकी छु भन्थी त ! यत्तिविघ्न उपद्रो मच्चाएर कहाँ गइछे मोरी !” मैले मनको पोको खोल्दै भनेथेँ, “मेरो निर्दोष आँसुले त्यसलाई पिरोल्ने छ ।”
“सबै झुट हो । तिमीसँग ठाडै झुटो बोलिछे ।”
“अनि साँचो चाहिँ के हो त !” मैले मन समाल्दै सोधेथेँ, “मेरो विश्वासको हत्या गर्ने हिम्मत नहुनुपर्ने हो ।”
“घर त खोलेर हेर, अनि थाहा पाउँछौ ।”
भ¥याङ उक्लेर माथि चढ्न लाग्दा मुखैभरि माकुराको जालो लाग्यो । पन्छाउँदै अघि बढेँ । दैलोमा चुकुलमात्र लगाएको थियो । खोलेर हेरेको त, घर ह्वाङ्गै थियो । खाटमा थोत्रे कपडा थुप्रेका थिए । मकैका घोगाले भरिएका तीनवटा बोरा ठडिएका थिए । अलिक महंगो भाँडावर्तन केही थिएन । धानको भकारीतिर चियाएको मुसाका दर्जन जति बच्चा मात्र यता र उता दगुरेको देखिए । धानको एक दानो पनि थिएन ।
+++
म पुर्पुरोमा हात लगाएर धुलाम्मे सिकुवामा थ्याच्चै बसेँ । भित्रैदेखि मन मरेर आयो । आँखासामु छोराको निर्दाेष मुहार नाच्न आइपुग्यो । मित्र जनकको वाणी सम्झन पुगेँ । उसका शब्दशब्दले मलाई नै खबरदारी गरेका रहेछ भन्ने थाहा पाएर भुतुक्क भएँ । हरेक कुरामा विश्वास गरिहाल्ने आफ्नो बेहोसी बानीलाई धिकारेँ ।
तल फलेकमा बसेकी मौसी भन्दै गइन्– छोरालाई मामाघरमा लगेर सरकारी स्कूल हाल्देको वर्षदिन वित्यो । भएको जग्गाजमिन सुधभरनामा आशाराम चौधरी, हरेराम यादव र तल्लाघरे अर्याल बाजेलाई दिएकी छे । के–कतिमा दिई उही जानोस् । मडर साहूको रिन त के व्याज पनि तिरेकी छैन । खाली रामपुकारसँगसँगै रहन्थी । हामी जहिले पनि उसलाई यही सिकुवामा भेट्थ्यौँ । कहिलेभित्र जिस्किरहेको आवाज सुनिन्थ्यो, कहिले सिकुवामै हात हालाहाल समेत गर्थे । बानीबेहोरा पूरै परिवर्तन भएको थियो ।
“त्यो कता गई ? अहिले कहाँ छे ?” म सत्य कुरा छिटो जान्न खोज्छु, “नहिच्किचाईकन र अप्ठ्यारो नमानीकन बताउनुस् । मेरो जीवन उजाड भएको विवरण एक–एक सुनाउनुस् ।”
“के सुनाउनू, त्यसले घर छाडिछे । त्यसै दिनदेखि गाउँबाट रामपुकार पनि बेपत्ता छ । गाउँलेहरू त दुबैले मिलेर रतुवालाई थाङ्नामै सुताए भन्छन् । दैवै जानून् ।” उठ्दै मौसी बोलिन्, “जे भयो, भइ गयो । हाम्राकहाँ आऊ । अरू छिमेकीसँग पनि कुरा बुझ ।”
उनी गइन् । म कतै पनि जान सकिनँ । कसैसँग थप कुरा बुझ्ने सहास पनि रहेन । मानिसहरू आए । आ–आफ्नो सुझबुझ अनुसारका कुरा सुनाए । कसैले यता जाऔँ भने । कसैले उता घुमौँ भने । म भने चुपचाप रित्तो घर रुङेर बसिरहेँ, बसिरहेँ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।