18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एम२? =मिडियाम्यान कि मिडिया मर्डरर?

हास्यव्यङ्ग्य नगिता राई लेप्चा June 29, 2024, 4:04 pm
नगिता राई लेप्चा
नगिता राई लेप्चा

सञ्चारमाध्यमले लाख गुणा उन्नति र प्रगति गर्न थालेपछि यता अङ्ग्रेजी शब्द ‘मिडिया (MEDIA) हिजोआज संसारभरिकै मानिसले मिडिया भन्ने के कुरो हो बुझ्न थालेका छन्। टाढ़ा किन जानु (?) हामी स्कूल कलेज पढ़्दा ‘प्रेस (PRESS)’ मात्रै सुन्थ्यौं..प्रेस भन्नाले रिपोर्टर भन्ने बुझ्दथ्यौं। पछि पछि मिडिया शब्द सुन्न थालेका हौं। यो मिडिया शब्द ल्याटिन भाषाको ‘मिडियम’ शब्दबाट आएको हो।

सञ्चार माध्यम टेलिभिजन, रेडियो तथा समाचारसित सम्बन्धित सञ्चारकर्मीलाई मिडियाम्यान भनिन्छ। यसकारण वैद्युतिक सञ्चार (ELECTRONIC MEDIA) र मुद्रण सञ्चार (PRINT MEDIA) मा काम गर्ने कर्मचारीले आफूलाई सञ्चारकर्मी नभनेर मिडियाम्यान भन्न नै गर्व ठान्छन्। हुन पनि सञ्चारकर्मीको ठाउँमा मिडिया भन्दा वा भनिदिँदा त्यसले गतिलै मान्छे ठानिन्छ। जतिसुकै गतिला, ठूला सञ्चारकर्मी किन नहोस् म चाहिँ मिडियाम्यान नै भन्ने गर्छु। चिठी बाँढ़्नेलाई पोष्टम्यान, ठूला ठूला बिल्डिङको तल बसी बिल्डिङ रुङ्नेलाई वाचम्यान भनिन्छ भने खबर सङ्ग्रह गरी पाठक श्रोतासम्म पुऱ्याउनेलाई मिडियाम्यान नै भन्नुपर्छ।
मेरो विचारमा, मैले देखे र बुझे अनुसार कुनै पनि मिडियमाम्यानलाई म बुद्धिमान, सरल, सोझा, सबैलाई समान रुपले हेर्ने, आफूलाई मनपर्नेको खबर ठूलठूलो अक्षरमा सके गतिलो फोटो आफ्नो समाचार पत्र वा आफ्नो पोर्टलमा हाल्ने वा आफूलाई रुचेको सामान्य चानचुने दिनेको लामो कभरेज गरिदिने घटिया मान्छे खाँटी मिडियाम्यान हुँदै होइनन् भन्ने मेरो सोँच छ। हुनसक्छ म गल्ती पनि हुन सक्छु। तर जे नै भन्नुहोस् हजूर! मैले ता यस्ता पक्षपाती गर्ने, आफूलाई मन नपरेको न्यूज आफ्नो पोर्टलमा अपलोड नगर्ने पक्षपाते मिडियाम्यान आफ्नै आँखा अघि देखेको छु। मेरा अनेकन् मिडियाम्यानसित परिचय छ। म जुनै पुनि कार्यक्रममा उपस्थित हुन्छु उनीहरूले मेरो न्यूज कभर गर्नु मात्र होइनन् मेरो व्यक्तिगत बाइट समेत लिन्छन्। मेरो समाचार आएको कुनै पनि पोर्टलको मेरो गाउँ घर मात्र होइन, मेरो कार्यालय र मेरा अनेकन् साथीहरूलाई ती पोर्टल वा च्यानेलको प्रचार प्रसार मात्र होइन उनीहरूको यू ट्यूब समेत लाइक गरेर टिआरपी बढ़ाउने प्रयास गरिदिन्छु। तर मलाई उनीहरूको पोर्टल वा च्यानेलमा मलाई उछिट्याउने जस्तो गतिलो पोर्टल वा च्यानेललाई हेर्दै नहेर्ने लबी समेत गर्छु। अरे...मेरो पनि हात छ नि , मेरो पनि सोस्र र फोर्स छ नि यार। कतिपय मिडियाम्यान त पक्षपाती कसैलाई काखा र पाखा गरेको मैले प्रोमिस होला मैले देखेको छैन। तर एकाध मिडियाम्यान त यस्तो च्याँठिएका हुन्छन् मेरै घरको अघिल्तिरका खोलामा उँधो बगाएर उँभो खोज्ने खाल्का हुन्छन्।

सहर बजारको कुरा त छोड़िदिउँ यार! आफ्नै गाउँमा पनि कसैले नचिनेका पुङ् न पुच्छरका तर आफ्नो ढ्याङरो आफै ठट्टाउने दुइ कौड़ीका, हावामै आफ्नो फुर्केपनको भरमा पोपुलर हुन खोज्ने मिडियाम्यानले आफ्नै नजिकका, अलिक हुनेखानेको खबर आफ्नो समाचार पत्रमा वा च्यानेलमा प्रसार गर्छन् भने आफूलाई मननपर्नेको फोटो झिलिक्क मात्र खिँचे जस्तो गरी वा तिनका क्यामेरा म्यानलाई यसको भिडियो नगर् भनी आँखाले इशारा गर्ने मिडियाम्यान मेरो नजरमा मिडियाम्यान हुँदै होइनन् मिडिया मर्डरर (समाचार हत्याकारी) हुन्। यस्ता मिडियाम्यान बाहिर देख्दा शान्त, सोझा, विद्वान, गम्भीर र न्यूज प्रति निष्ठावान देखिए पनि मेरो विचारमा यिनी डेफिनेटली विचार, सोँचाइमा शकुनीलाई फ्लो गर्ने एक नम्बरका मिडिया मर्डरर हुन्।

भन्नु उसो होइन, हाम्रो सञ्चार जगतमा तर निष्पक्ष इमान्दार तथा मिडियाम्यान पनि छन्। उनीहरूलाई यो व्यङ्ग्यकारको स्यालुट। तर सम्पन्न उच्च ओहोदाका व्यक्तिलाई मात्र आफ्नो न्यूज कभरेजमा ध्यान दिने तर साधारण मानिसको राम्रै, दिनुपर्ने लायकको समाचारलाई ध्यानै नदिने मिडियम्यान चै रियल्ली मिडिया मर्डरर हुन्। आफूलाई मन नपर्नेको न्यूज बिरालोले गुहु लुकाए जस्तो लुकाउने वा छिपाउने वा साधारण मानिसलाई ध्यानै नदिएर के हुन्छ हजूर! ट्यालेण्ट हुनेहरू जसरी पनि पोपुलरको शिखरमा पुग्छ नै भन्ने मेरो दृढ़ विश्वास छ। प्रतिभाशाली कसैलाई पनि कुनै मिडिया र घटिया मिडियाम्यानको आवश्यकता पर्दैन जस्तो लाग्छ मलाई। मिडिया मर्डररले जतिनै तपाई वा मेरो न्यूज छिपाउन वा इग्नोर गर्ने कोशिष गरे पनि प्रतिभाशालीहरू एकदिन न एकदिन माथि पुग्छ नै। ढिलो होला ठिकै छ नो हर्री। भनिन्छ नि ढिलो होस् छोरो होस्। ढिलै भए पनि छोरोकै आशामा बसुँला यस्ता थोत्रे मिडिया मर्डररको आशा कसले गऱ्यो होइन र हजूर! यस्ता थोत्रे (मेरो नजरमा घटिया) मिडिया मर्डररले जति नै प्रतिभालाई इग्नोर गरे पनि हत्केलाले घाम छेक्न सक्दैन।

म त मेरो कुल देवतालाई रात दिन विन्ति गर्छु. हे कुल देवता! भविष्यमा सञ्चार हत्याकारी (मिडिया मर्डरर) जस्ता कुलाङ्गार मिडियाम्यान गोर्खे आमाको कोखमा नजन्मिउन्।

बाईचान्स बाई मिस्टेक, यस्ता कुलाङ्गार मिडियामर्डरर गाउँ घरमा कसैको कोखमाजन्मिइहालेको खण्डमा निम्न फर्मुला प्रत्येकको घरको भित्ता भित्ता, गाउँ, टोल, मोड़ गल्ली गल्लीमा टाँस्नैपर्छ। नत्र मिडियामर्डररले सञ्चार माध्यमलाई पातकी आइमाई जस्तो बनाउन बेर लाउँदैन। बी केयरफुल।
एम२? =मिडियाम्यान कि मिडिया मर्डरर?


खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।