थुप्रै ठाउँ चर्चर चर्किएको ऐनाबाट
बारम्बार आफ्नो संसार झिकेर
तिनीहरु
आफैंलाई आफ्नो परिचय दिन्थे;
आफैँलाइ चर्किएको ऐनामा अड्याएर
अरुलाई पनि दिन्थे आफ्नो परिचय।
उनीहरु
सधैँ विभाजित र विशृंखलित
टाउको, अनुहार र मुख हेर्दा
वाक्क भएर
हराएको स्वरुप फेरी पाउनु पर्छ भन्दै
एउटा सानो सल्लाह गरे
ठुलो मुटु लिएर सानो सल्लाह गरे
अब हामी नया ऐना किन्ने हो,
किन्ने हो एउटा सपाट
नचर्किएको ऐना !
बर्गेन, नर्वे