17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जन्मदिनपछि

कविता लक्ष्मण थापा June 8, 2024, 12:24 am
लक्ष्मण थापा
लक्ष्मण थापा

जीवनको एकवर्ष आयू घटाउँने तिथिलाई
हामी जन्मदिन भनि ख़ुशीयाली मनाउँछौं
शुभकामना दिन्छौं
शुभकामनाहरु लिन्छौं
र बितिसकेको वर्ष भूलेर उत्सव मनाउँछौं

आफ्नो पुस्तक पट्याएर
पराई पुस्तकको पाना पल्टाउँछौं
र बलिरहेको मैनबत्ती फुकेर निभाइदिन्छौं

दीर्घायुको कामना गर्दै
मुलायम रसिलो केक काट्छौं
र जरामा विषालु केही मलखाद हाल्छौं

फेरी अर्को दिनबाट
तनबाट छुट्दै गैरहेका कोषहरु
घट्दा न्युरोनहरु सम्झँदै दिक्क मान्छौं

अब हामीलाई अझै मेहनत गर्नुछ
किनभने कपालको सेतो बढेको छ
र चेहराका चाउरी पनि लुकाउँनु जो छ

अरुले नपत्याए पनि
जन्मदिनपछि
उमेरका केही वर्ष पत्याउँने गरी ढाकछोप गर्नु पनि छ

जन्मदिनपछि
उमेरको रेखा छोट्टिंदै जान्छ
र चेहरामा तनावको रेखा लम्बिदै जान्छन्

जन्म
दिन
पछि !

ब्रिजबन, अष्ट्रेलिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।