त्यो दिन श्रुतीको आठौँ जन्मदिन थियो । बिहानैदेखि घरका सदस्यहरूलाई हतार भए तापनि आफूचाहिँ आरामले सुतिरहेकी बेलामा उसको कानमै कसैले “श्रुती ! श्रुती ! श्रुती !” भन्दै बोलाएको शक्तिशाली आवाज आउँछ ।
श्रुतीले ‘हजुर’ भन्नसाथ बैठक कोठाबाट उसलाई कसैले मधुर आवाजमा जन्मदिनको शुभकामना दिन्छ, “श्रुती ! जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना छ । तिम्रो जीवनमा खुशीको दिन कहिल्यै नसकोस् ।” कहिले नसुनेको आवाज सुनेर ऊ छक्क पर्छे । पलङ्गबाट एक्कासि उठेर ऊ आँखा माड्दै बैठक कोठामा पस्छे अनि एकपल्ट चारैतिर राम्ररी निहाल्छे । तर त्यहाँ कोही पनि नदेखेर ऊ फर्किइरहेको बेला अचानक आवाज आउँछ—“श्रुती ! म यहाँ छु ।”
ऊ झन् छक्क पर्छे कि उसलाई बोलाउने साथै त्यस्तो मीठो स्वरमा जन्मदिनको शुभकामना दिने त त्यो पिपलको बोनसाई बोट पो रहेछ । ऊ के गरु कसलाई सुनाऊ हुन्छे । त्यो बोट फेरि बोल्न थाल्छ, “श्रुती ! मैले आजको दिन पर्खेको सात बर्ष भइसकेको छ । मेरो पीडा कसैले बुझ्न सकेन । म यसरी घरभित्र माटाको थालमा कुच्रिएर बसिरहनु हुँदैन । म यसरी बसिरहे भने तिम्रो परिवारलाई राम्रो हुनेछैन । त्यसैले तिमीले मलाई आज मुक्ति दिनुपर्छ । घरमाथिको मन्दिर परिसरमा तिमीले मलाई तिम्रै हातले पुनर्रोपण गर्नुपर्छ ।” श्रुतीले एकटक लगाएर पिपलको बोनसाई बोटलाई हेरिरहन्छे अनि पिपलको बोनसाई बोटले चाहिँ तपतप आँसु झारिरहन्छ । उनको कलिलो मुटुमा पिपलको बोनसाई बोटप्रति असीम माया पलाएर आउँछ ।
जन्मदिनको केक काटिसकेपछि सबैले श्रुतीलाई जन्मदिनका शुभकामना र कोशिलीहरू दिन थाल्छन्, तर उसले भने आमा-बाबालाई त्यो पिपलको बोनसाई बोट नै जन्मदिनको कोशिलीका रूपमा माग्छे । “छोरी ! तिमीले त्यो माग्नुपर्दैन, त्यो त तिम्रै हो बरु कुनै अरु चीज माग ” भनेर आमा-बाबा दुवैले उसलाई सम्झाउने कोसिस गर्छन् । त्यसपछि श्रुतीले उनीहरूलाई बिहानको त्यो घटना एकैसासमा वृतान्त सुनाउँछे । उसको कुरा सुनेर सबैजना आश्चर्यमा पर्छन् ।
श्रुतीका आमा र बाबाले त्यस पिपलको बोनसाई बोटको इच्छानुरूप त्यसलाई घरमाथिको मन्दिर परिसरमा छोरीकै हातबाट पुनर्रोपण गरिदिने निर्णय लिन्छन् । त्यसपछि सबैजना त्यो पिपलको बोनसाई बोट लिएर माथि मन्दिरमा गई त्यसलाई माटाको थालबाट मुक्त गरेर भुइँमा सारिदिन्छन् । त्यस पिपलको बोटले जस्तो श्रुतीलाई धन्यवाद दिन्छ त्यस्तै बढेर सात बर्षमा जत्रो हुनुपर्थ्यो त्यत्रै बोटमा परिणत हुन्छ । त्यस्तो एउटा अविश्वासनीय दृश्यको साक्षी भएर सबैजना अलमल्ल पर्छन् अनि एउटा अनौठो डरमा ईश्वरको नाम लिँदै त्यहाँबाट फर्किन्छन् ।
जब उनीहरू घर आइपुग्छन् त्यतिबेला सबैजना हेरेका-हेरेकै हुन्छन्—नर्सरीका सारा बोनसाईका बोटहरू बढेर एउटा पटेर जङ्गलमा परिणत भइसकेका रहेछन् । अनि घर पनि भत्किएर भताभुङ्ग भइसकेको रहेछ । त्यस घटनापछि अझैँ पनि मानिसहरू टाढा-टाढाबाट त्यो मन्दिर परिसरको पिपलको बोट हेर्न आइरहन्छन् ।
दार्जिलिङ