18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्वतन्त्र धुँवाको मुस्लो

कविता शिलु शर्मा May 23, 2024, 6:57 pm
शिलु शर्मा
शिलु शर्मा

सदियौंदेखि उँडिरह्यो धुँवाको मुस्लो
चिया पसल गुन्जाएमान छ,
पुरुष ध्वनिबाट,
त्यही समय उस गरि गुज्रिरह्यो
चुलोभित्र जकडिएकी नारीको
वेदनाको मुस्लो ,
उडिरह्यो उसैगरी एक मुठ्ठी खुइय
थाकेको सुस्केरा र गुन्जियो चौघराको छानो
जुठो भाँडाको ध्वनिबाट ।।

आज पनि तल्ला घरे माइला दाइको
चिया दोकान भरिएको छ,
पुरुष गफहरुबाट,
बेला बेला घन्किन्छ,
राजनितिक, नेतृत्व र समानताको कुराले
एक चुस्की चिया सँगै,
उब्जिन्छन हाँसोका फोहोराहरु ।।

ठिक उसै बेला,
एउटि विवस महिलाका
कान गुन्जिएका छन्,
कुकरका सिठ्ठी, बच्चा रोएको
आवाज र घरका अपजसे पात्रहरुले
जिब्रोको स्वाद फेर्न लगाएका कर्कसहरुबाट,
समानता पिसिएको छ,
सिलौटोको अचार बनेर,
राज्यको नेतृत्व गलेको छ,
कुकर भित्र हरियो तरकारी
परीवर्तन भए जसरी,
जहाँ केबल चपाउनकै लागि,
तरकारी उब्जाइन्छन्,
केलाइन्छ्न् र पखालेर उसिनिन्छन,
अधिकारका एजेन्डाहरु,
हर साँझ, हर बिहान र हर दिवामा पेटको
आगो शान्त पार्न ।।

अर्को दिन पल्ला गाउकी तामाङनी भाउजूको
चिया दोकान पनि भरीएको छन्
कोहि चिसो चिया माग्न समेत आँटेका छन्
आँगनीमा चारो टिप्दै गरेको ठूलो भाले
खान आउने सल्लाह हुँदै छ,
ठिक उसै बेला ज्वरोले थलिएकी
नारी एक भारी दायित्वलाई
बहन गर्दै छे,
डाडु पन्यौ र कचौरिहरुसँग मीत लगाउदै,
पस्किनु छ भरे थाकेर आउने पति र
बच्चाहरुलाई तातो खाना,
जस भित्र नचाहेर नि लुक्ने छन्
पातलो आँसु, दाल भित्र ,
शरिरको कम्पन र दर्द लुकाउनु
पर्नेछ झुठो मुस्कानसँग।।

शताब्दी भयो,
नारीले नचाहेर अझै बढि नपाएर,
त्यो चिया दोकानमा पाइला नपरेको,
अब एक थान थकाइ मार्न
नारीले चियाउनु पर्नेछ माइलीको
चिया पसल,
जहाँ पिउनु छ मीठो चियासँग,
पितृ सत्ताका एकलौटी नियमहरु,
घर भित्र मात्र पिल्साउन
लगाइएका संस्कारका ताल्चाहरु,
आफ्नै परिश्रमको चाबीले खोल्नुछ,
एक चुस्की स्व-आर्जनको चियासँगै ।।

चिया पसलकी साउनीको
हाँसोसँगै भुल्नुछ,
अनगिन्ती चोटहरु,
बाटोमा लागेका ठेसहरु,
अनायासै सकिएको
उमेरका रहरहरु,
पठाउनु छ मन नपर्ने
कालो चुरोटका धुँवाहरु
चिया पसल बाहिर,
र पिउनु छ आनन्दको सास
चित्त्तसम्मको शान्तिको निमित्त,
स्वतन्त्रता, शान्ती र खुसिको मसला
मिसिएको एक कप चिया पिएर
श्वास फेर्नुछ,
कर्तव्यको नामबाट बाँधिएका
चौघेरा बाहिरका अनन्त आकाशको
हावा तानेर अन्तर्मन भित्रबाट ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।