विषयपरिचय
युङफ्राउ कृष्ण बजगाईँको ग्रिसबाट सुरु गरी स्विजरल्यान्डमा अन्त्य गरिएको नियात्रा हो । बजगाईँले परदेशमा बसेर नेपाली भाषा र साहित्यलाई उचाइमा पुर्याउने काम गरिरहेको देखिन्छ । युरेसियाको स्पर्श, भाया साक्रा, दाइबुचु र उमिहोतारु नियात्रा प्रकाशन गरेका बजगाईँ युङफ्राउ पाँचौ नियात्रासङ्ग्रह हो । खास उद्देश्यका साथ विशेष स्थानको भ्रमणका क्रममा प्राप्त अनुभव, अनुभूति साथै निजी विचारलाई नियात्रामा प्रस्तुत गरिन्छ । कलात्मक भाषाका माध्यमबाट ऐतिहासिक महत्वका स्थानका महत्वपूर्ण भनाइ, सन्दर्भ आदिलाई बजगाईँका नियात्रामा उठान गरिएको हुन्छ । बेलायतलाई कर्मभूमि बनाए पनि हरपल स्वदेशको स्मरण गर्नु उनका लेखनगत प्रवृत्ति हुन् जुन प्रवृत्ति नियात्रामा समेत देख्न सकिन्छ । विदेशका विभिन्न स्थलको भ्रमण गर्नु र त्यस क्रममा नेपाल सम्झनु यस युङफ्राउ नियात्राको पनि विशेषता रहेको छ ।
युङफ्राउ नियात्रामा ग्रिसका विभिन्न सन्दर्भ, एथेन्सको महत्व, सुकरात र उनको साहित्यप्रति रुचि, प्लेटोको गुरुभक्तिका साथै आर्थिक, धार्मिक, सांस्कृतिक, भौगोलिक, खेलकुद, समाजवाद, पर्यटन, कला आदि विविध पक्षलाई सदृश्य रूपमा चित्रण गरिएको छ । यी विविध सन्दर्भको अनुभूतिका क्रममा गरिएको स्वेदशको सम्झना, गौरव र चिन्ता यस कृतिको महŒवपूर्ण पक्ष हो । प्रस्तुत अध्ययनमा नियात्राभित्र वर्णित ग्रिसदेखि स्विजरल्यान्डसम्मको यात्रा साथै बेलायतको यात्रा अनुभूतिका क्रममा स्मरणमा आएका नेपालका राजनीति, धर्म, विकृति, राष्ट्रिय गौरव र समृद्धिको चाहनालाई विश्लेषण गरिएको छ ।
राष्ट्रिय गौरवको अनुभूति
प्रस्तुत कृतिमा परदेशको भ्रमणका क्रममा नेपाली राष्ट्र र राष्ट्रियताप्रति गरिएको गौरवका अनुभूतिलाई कलात्मक रूपमा चित्रण गरिएको छ । एथेन्सको यात्रामा रहेका बेला नियात्राकार छब्बिस सय वर्ष पुरानो स्टेडियममा उभिएर आधुनिक ओलम्पिक खेल सुरु भएको स्टेडियम, त्यस वरपरका सडकको अवलोकन गर्छन् । सन् २००४ मा सोही स्टेडियममा भएको ओलम्पिक खेलमा नेपालले पनि सहभागिता जनाएकामा गर्वको अनुभूति गर्दछन् । खेल र खेलाडिका लागि नेपाल सरकारले कुनै लगानी नगरेको अवस्थामा पदक नजिते पनि नेपालको झन्डा फहराउँदै मार्च पास गर्नुलाई ठुलो उपलब्धि नियात्राकारले मानेका छन् ।
परदेशमा जाँदा नेपालको राष्ट्रिय पहिचानको खोजी गर्ने र त्यसमा गरिने गौरवको अनुभूति स्विजरल्यान्डको यात्रामा पनि गरिएको छ । संयुक्त राष्ट्रसङ्घको कम्पाउन्डभित्र फहराइरहेका झन्डामा नियात्राकार त्रिकोण आकारको नेपाली झन्डा खोज्छन् । सजिलै झन्डा नदेख्दा दुःखी बनेका लेखक अलि पर फरफराइरहेको नेपाली झन्डा देख्दा एकाएक गर्वको अनुभूति गर्दै विदेशमा मातृभूमि सम्झिने र गर्व गर्ने चीज भनेको झन्डा, भाषा, साहित्य, संस्कृति र नेपाली जाति हुन् भन्ने विचार व्यक्त गर्दछन् ।
नियात्रामा राष्ट्रिय प्रतीकको मात्र गौरव नगरी विदेशमा कतैकतै नेपाली रेस्टुरेण्ट देख्दा पनि लेखक प्रफुल्ल हुन्छन् । उनी विदेशी भूमिमा हिउँ खेल्दा नेपालका हिमाल सम्झन पुग्छन् । हातमा स्विजरल्यान्डको झन्डा उचालेर हिमालमा फोटो खिच्दा गमक्क परेका नियात्राकार नेपालको झन्डा स्विजरल्यान्डको हिमालमा फहराउने कल्पना गर्छन् । नेपालमा पनि सगरमाथा लगायत अग्ला हिमालमा पोस्ट बक्स राखी पर्यटकलाई आकर्षण गर्न सकिने उपायसमेत बताउँछन् । नियात्राकारको शरीर स्विजरल्यान्डमा भए पनि मन नेपाली भूमिमा अवस्थित हिमालमा आरोहण गरिरहेको देख्न सकिन्छ । त्यस्तै फिफाको हेडक्वाटर जुरिचमा पुग्दा लेखकलाई नेपाली खेलाडिप्रति गौरव जाग्छ । नियात्राकार संसारभरका फिफा सदस्य राष्ट्रहरूको जर्सी प्रदर्शन गरिएको स्थानमा पुगेर नेपाली जर्सीको खोजी गर्छन् । नेपाल पनि फिफाको सदस्य राष्ट्र भएको र भएकाले रातो जर्सीमा चन्द्र सूर्य भएको झन्डा र नेपाल लेखेको देखेर हर्षित हुन्छन् साथै फिफाा फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्व कप जितोस् भन्ने कामना गर्दछन् । उनी पोर्चुगल पुग्दा नेपाली वीर जातिमाथि गौरव गर्छन् ।
स्वदेशको चिन्ता र सुधारको चाहना
ग्रिसको एथेन्सको यात्रा गर्ने क्रममा नियात्राकारले प्राचीन देवी देवतामाथिको आस्था देख्छन् र नेपालको अवस्था स्मरण गर्छन् । त्यहाँ पुरातन संस्कृति, आस्थालाई जोगाएकामा गर्व गर्दै नेपालमा धर्मनिरपेक्षता अपनाइएको र क्रिस्चियन धर्मको वृद्धि भएको वर्तमान अवस्था चित्रण गर्दै एक्रोपोलिसमा एक बिहान शीर्षकको नियात्रामा यस्तै गतिले नेपाल पनि क्रिस्चियन देश त बन्दैन भन्ने चिन्ता व्यक्त गरिएको छ । नियात्रामा पशुपतिनाथ चर्चमा परिणत हुने हो कि ? त्यसो भएमा आस्थाका धरोहर शिव कहाँ जालान् भन्ने प्रश्नमार्फत आप्mनो धर्म संस्कृति र आस्थाप्रति चिन्ता व्यक्त गरिएको छ । त्यस्तै एथेन्सको पहिलो थिएटरमा नाटक हेर्ने क्रममा निबन्धकार नेपाली नाटक र नेपाली थिएटर सम्झन्छन् । त्यस्तो प्राचीन थिएटरमा सत्र हजार दर्शक अट्ने क्षमता रहेको थाहा पाउँदा निबन्धकार अचम्म मान्छन् र नेपालमा त्यति दर्शक अट्ने थिएटर नभएकामा हामी धेरै वर्ष पछाडि छौँ भन्ने चिन्ता ग्रिसमा वाइनका देवता खोज्दा नियात्रामा प्रकट गर्दछन् । यसका साथै ओडियन अफ हेरोड एटिकसमा कार्यक्रम गर्न पाउनु स्थापित हुनु हो भन्दै त्यस कार्यक्रममा नेपाली कलाकारले साङ्गीतिक प्रस्तुति दिएको समेत कल्पना यस नियात्रामा गरिएको छ ।
प्रस्तुत नियात्रा कृतिमा एथेन्समा पुरातन अवशेषलाई बचाउँदै आधुनिकता अपनाइएको उल्लेख गर्दै एथेन्सवासी सरसफाइमा सचेत रहेको बताउँदै नेपालमा भने अहिले पनि स्वास्थ्य र सरसफाइका सामान्य कुरामा पनि सरकारले रेडियो, टेलिभिजनका माध्यमबाट करोडौँ खर्च गर्नुपरेको अवस्था चित्रण गरिएको छ । यस नियात्रामा हामी अन्य मुलुकभन्दा धेरै पछाडि परेकामा चिन्तासमेत व्यक्त गरिएको छ । यस नियात्रामा केवल नेपालका विकृतिमाथि चिन्ता व्यक्त नगरी एथेन्समा देखिएका विकृतिलाई नेपालसँग जोडिएको पनि पाइन्छ । बेलायतका महान कवि बायरनका नाममा होटलको नाम राखिएको देख्दा नियात्राकारलाई मन पर्दैन र उनी नेपालका महान कवि देवकोटा सम्झन पुग्छन् । उनले काठमाडौँको डिल्लीबजारमा अवस्थित महाकवि देवकोटाको म्युजियमअगाडि कसैले देवकोटा होटल वा देवकोटा सेकुवा पसल खोले मनमा कस्तो प्रभाव पर्दो हो भन्दै चुँदी रम्घामा आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा कसैले उनकै नामको चियापसल खोल्दा अनुमति दिने र खोल्नेलाई अरूले के भन्लान् भन्ने डर एथेन्समा देवताका छिमेकी शीर्षकको नियात्रामा अभिव्यञ्जित छ । त्यहाँका गिप्mट पसल, होटल, कपडाको दोकान देख्दा काठमाडौँको ठमेलको स्मरण गर्दै ग्रिसमा पर्यटक आकर्षणका लागि गरिएका अनेक प्रयत्न उल्लेख गर्दै प्राचीन सामानको उपयोगबाट पनि पर्यटक तान्न सकिने रहेछ र नेपालले पनि यस्तै सिक्नुपर्ने कुराको प्रस्तुतिसमेत सोही नियात्रामा गरिएको छ ।
प्राचीन पुस्तकालय हेड्रियनको अवलोकन गर्ने क्रममा नियात्राकार सो लाइब्रेरी अहिले पनि सञ्चालनमा रहेको भए नेपाली पुस्तक पनि पाइन्थे कि भन्ने कल्पना गर्छन् । रोमन र ग्रिसवासीहरू शिक्षा, अध्ययन र अनुसन्धानका क्षेत्रमा अगाडि रहेको उल्लेख गर्दै नेपालको अवस्था सम्झन्छन् । उनले नेपालमा अहिले पनि सरकारी स्तरको राम्रो पुस्तकालय नभएको, गाउँपालिका र नगरपालिकामा सार्वजनिक पुस्तकालय नभएकामा चिन्ता व्यक्त गर्दै हामी शिक्षाका क्षेत्रमा एथेन्सभन्दा दुई हजार वर्षपछाडि रहेको अनुभूतिसमेत व्यक्त गरेका छन् ।
यस नियात्रामा नेपालको पर्यावरण तथा वायु शुद्धीकरणमासमेत चिन्ता व्यक्त गरिएको छ । वर्तमानका मानिसको भाग्य स्वच्छ वायु लिन पाउनु हो र कतिपय मानिस त्यही स्वछ वायुका निम्ति प्रकृतिको समित जान्छन् भन्ने तथ्य उल्लेख गर्दै यहाँ नेपालको हिमाली क्षेत्रमा पनि शुद्ध वायु पाइने, त्यही शुद्ध हावामा स्वास फेर्न, हिमाल पहाड हेर्न पर्यटक नेपाल आउने पर्यटकीय विकाससँगै पर्यावरणीय चेतना खस्कँदै गएकामा चिन्ता व्यक्त गरिएको छ । पर्यटकले जताततै छोडेका फोहोरका डङ्गुरले त्यहाँको वातावरण प्रदूषित भएको, यसबाट विदेशी पर्यटकमा नकारात्मक सन्देश पुगेको हुँदै समयमै योजना बनाएर सरकारले फोहोर व्यवस्थापन गरे हुन्थ्यो भन्ने अपेक्षा नियात्रामा गरिएको छ ।
नेपालमा प्राकृतिक सौन्दर्यका अनेक पक्षहरू रहेका छन् । कविले तिनलाई कविताका बिम्बका रूपमा प्रयोग गर्दै आएको पनि पाइन्छ । तर ती झरना, खोला आदिका बारेमा प्रचार प्रसार नभएको, त्यहाँ पुग्ने गोरेटो, बाटो र खाने होटल नभएकामा चिन्ता व्यक्त गर्दै नियात्रामा नेपाल सरकार र निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवद्र्धन गर्ने योजना ल्याउन आवश्यक भएको भावसमेत व्यक्त गरिएको छ । स्विजरल्यान्डका स्वच्छ नदी र त्यसप्रति पर्यटक आकर्षित भएको देख्दा लेखक बागमती नदी सम्झन्छन् । पवित्र बागमतीको प्रदूषण कहिले हट्ला भन्ने चिन्ता व्यक्त गरेका छन् ।
प्राकृतिक सुन्दरताको स्मरण
ग्रिसमा सुकरातलाई थुनुवा बनाएका जेलमा जाने क्रममा उकालो चढ्दा त्यहाँ सल्लाका रुख र हरियाली देख्दा नेपालको प्रकृतिको स्मरण गरिएको कुरा सुकरातलाई थुनेको जेलमा चिहाउँदा शीर्षकको नियात्रामा गरिएको छ । परदेशी भए पनि आफूलाई घरदेशको सम्झनाले सताइरहने अभिव्यक्तिसमेत नियात्रामा गरिएको छ ।
जेनेभामा भाँचिएको कुर्सी र रोएको मन शीर्षकको नियात्रामा स्विजरल्यान्डको प्राकृतिक सौन्दर्य पानका क्रममा नेपालको प्रकृति स्मरणमा आएको विषय प्रस्तुत छ । त्यहाँका सुन्दर पहाड, खेती गरिने फाँट, बजार, साना गाउँ र साना सहर देख्दा नियात्राकर नेपाल सम्झन्छन् । उनले नेपाललाई एसियाको स्विजरल्यान्ड भनिए पनि यी दुईबिच धेरै भिन्नता रहेको, प्रकृतिको बनोट भिन्न भएको, दुवै पहाडी क्षेत्र भए पनि नेपालमा बाटो नपुगेको, स्विजरल्यान्डका हिमाल र पहाडमा रेल दौडिएको तर नेपालमा त्यसो नभएको तर नेपालको प्रकृतिमा आफ्नै खालको सौन्दर्य रहेको भाव यस नियात्रामा आएको छ । त्यस्तै जेनेभामा तालको अवलोकन गर्ने क्रममा पोखराको फेवातालको स्मरणसमेत नियात्रामा गरिएको छ ।
निष्कर्ष
प्रस्तुत युङफ्राउ नियात्रासङ्गहमा विभिन्न शीर्षक दिई ग्रिसदेखि स्विजरल्यान्डसम्मको यात्राका अनुभूति समेटिएको पाइन्छ । यस यात्रा वृतान्तमा यात्राका क्रममा अनुभूत गरेका स्वदेशको प्रेम, गौरव, चिन्ता, नेपाली प्रकृतिलाई डायस्पोरिक शैलीमा प्रस्तुत गरिएको छ । परदेशको यात्रा गर्दै जाँदा बेलाबेलामा घरदेश सम्झनु र सामाजिक, राजनीतिक, मानवीय विकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै चिन्ताको भाव देखाउनु कृतिको सबल पक्ष हो । यात्रा गरिएका स्थानका प्राचीनता, आधुनिकता, कला, संस्कृति, साहित्य, प्रकृतिको चित्रण गर्दै नेपाली कला साहित्य तथा प्रकृतिको स्मरण यस कृतिभित्र गरिएको छ । यहाँ अविकास, अव्यवस्थाको चित्रण गर्दै नेपाली भाषा, संस्कृति, कला र पर्यटनको संरक्षण गर्नुपर्ने, पर्यापर्यटनमा जोड दिनुपर्नेजस्ता विचारसमेत अभिव्यञ्जित छन् । यसरी पाश्चात्य संस्कृतिको जन्मभूमि ग्रिक, आधुनिक विकासले उचाइमा पुगेको स्विजरल्यान्ड, खेलकुदका स्टेडियम, साहित्यको विकास र भग्नावशेष स्थलको अवलोकन गर्दै नेपाल सम्झिएकाले यो कृति परदेशको यात्रा र घरदेशको सम्झनाका पक्षबाट सफल रहेको मान्न सकिन्छ ।