18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छे जुधाउँदाको मजा

हास्यव्यङ्ग्य चिरञ्जीवी दाहाल May 21, 2024, 11:59 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

अहिले जस्तो छ्यापछ्याप्ती मनोरञ्जनको साधन उपलब्ध नहुँदा उहिले पहाडतिर गोरु जुधाएर मनोरञ्जन लिइन्थ्यो । तराईमा राँगा जुधाउने चलन थियो भने हिमाली भेगमा बस्नेहरूले भेडा र च्याङ्ग्रा जुधाएर मनोरञ्जन लिन्थे । हुनपनि अर्कालाई जुधाएर मनोरञ्जन लिन कम्ति मजा आउँदैन । यति मात्र होइन चालिसको दशकतिर म फिलिपिन्स जाँदा टिकट काटेर “ कक फाइट " नामको भाले जुधाइ पनि हेर्ने अवसर पनि पाएको थिएँ । त्यो “कक फाइट" त झन मनोरञ्जनका लागि मात्र होइन पैसा जित्ने जुवाको रुपमा समेत लिने गरिएको रहेछ । फलानो भालेले जित्छ फलानोले हार्छ भन्दै त्यहाँ लाखौं रुपियाँको जुवा खेलिन्थ्यो । त्यसैले मलाई के लाग्छ भने यस्ता जुधाउने खेलहरू सामान्य खेल हुँदै होइनन् ।
यसरी जुधाउने खेलबाट भरपूर मनोरञ्जन लिने गरिए पनि यस्तो खेल त्यति सुरक्षित भने मानिदैन थियो। हरुवा गोरु भाग्दा र जित्ने गोरुले लखेट्दा अनगिन्ती मान्छेहरू घाइते हुन्थे । कति टुपुक्क सिङ मिलेका रहर लाग्दा गोरुहरू सिङ फुक्लिएर रगत चुहाउँदै ठुटे बनेर फर्कने गर्थे । केही गोरु विपक्षीको सिङको प्रहारबाट घाइते हुँदा त्यही घाउमा औंसा परेर कुहिएर मरेको यिनै आँखाले देख्नुपरेको थियो । हामीले कुनै गोरुको खुट्टा भाँचिएको पनि देख्यौं । कुनै गोरुको पूच्छर चुँडिएको देख्यौं । घटना दुर्घटना जे भए पनि हामीले भने मजाले मनोरञ्जन लिन छोडेनौं । यसरी गोरु जुधाउनुको मुख्य कारण केवल मनोरञ्जन मात्र हुन्थ्यो । गोरु जुधाउँदा जस्तै राँगा र भेडा च्याङग्रा जुधाउँदा पनि आखिर हुने त्यही हो, घाइते र अशक्त । अझै भाले जुधाउँदा त ठाउँको ठाउँ भाले ठहरै भएको पनि देखियो ।
यसरी कसैलाई जुधाएर मनोरञ्जन लिने प्रचलन भने पुरानै हो । जुध्नेहरू घाइते भएपनि, सिङ भाँचिए पनि , पुर्लुक्कै मरे पनि मनोरञ्जन लिनेलाई कुनै आपत्ति हुदैन थियो । गोरुलाई मर्का पर्यो भनेर यसरी पशु र पक्षी जुधाउन कहिले पनि छोडिएन ।
अचेल गोरु जुधाएर मनोरञ्जन लिन सजिलो छैन । गाउँमा बसेर जोरू पाल्न नसक्ने समयमा गोरु पाल्ने कुरा कल्पना पनि गर्न सकिन्न । यसैले केही मान्छेहरूले अचेल पनि मान्छेलाई गोरु र पशुपक्षी जस्तै ठानेर एक आपसमा जुधाएर मनोरञ्जन लिइ रहेकै हुन्छन् ।
वाल्यकालमा यसरी पशुपक्षी जुधाएको हेरेर मनोरञ्जन गर्न पल्किएका हरूलाई सायद अन्य कुनै पनि मनोरञ्जनले धित मर्दैन । यिनलाई जुधेकै हेर्नुपर्छ चाहे त्यो पशुपक्षी जुधाएर होस् वा मान्छे जुधाएर होस् ! त्यसैले यिनीहरू अचेल मान्छे जुधाएर मनोरञ्जन लिने मेलोमा व्यस्त देखिन्छन् । यसको खुलासा अनुसन्धानले त होइन, भरपर्दो अनुमान गरेर गरिएको हो । हुनत हाम्रो देशमा हुने गरेका कतिपय अनुसन्धान पनि अनुमानकै भरमा हुने गरेका छन् !
यसरी मान्छे जुधाउने काम सजिलो भने छैन । जसले पनि मान्छे जुधाउन खोजेर सक्दैन । मान्छे जुधाउन केही सिप र सुत्रहरूको राम्रो ज्ञान हुनुपर्छ । चारचौरास बुझेका, रकमी पाराका, कुटनीतिक कार्यमा पोख्त भएका, छलतन्त्रमा पोख्त भएका,परिआए तत्काल रुन पनि सक्ने र हाँस्न पनि सक्ने खुबी भएका र गोजी दह्रो भएकाहरूले चाहेको बेला मान्छे जुधाउन सक्छन् । मान्छे जुधाउन कहिलेकाहीं केही रकम समेत खर्च गर्नुपर्ने अवस्था पनि आइदिन सक्छ । यसरी मान्छे जुधाएर मनोरञ्जन लिन पल्किएका हरूलाई न दोहोरी गीतले छुन्छ, न टेलिफिल्मले छुन्छ ! न साहित्यले छुन्छ ! यिनले केवल मान्छे जुधेको दृश्य अवलोकन गरेर मात्र स्वाद लिने गर्छन् । यस क्रममा यिनले केही मन मिलेर जोडी बनेका मान्छेहरूको छनौट गर्छन् । जब मान्छेको छनौट हुन्छ, यसपछि आफ्नो कला प्रस्तुत गर्न सुरु गर्छन् । यिनले सबैभन्दा पहिले जुधाउनु पर्नेहरूको भएभरको इतिहास पत्ता लगाउँछन् । घरबार, पढाइ, परिवार , रहनसहन , नातागोता ,खानपान, जन्ममिति सबै बुझेपछि एक अर्काका बीच कुरा लगाउन सुरु गर्छन् । सुरुसुरुमा यिनीहरूका कुरा कसैले नपत्याउन सक्छन् । त्यही कुरा लगातार सुनाइरहे पछि अब दुबै पक्षले नपत्याइ सुखै पाउँदैनन् । जब यी दुई पक्षबीच घमासान जुधाइ सुरुहुन्छ अनि उनीहरू जुधाउने सुत्रधार होइन, केही पनि थाहा नपाए झैँ सामान्य दर्शक जस्तो बनेर मजाले मनोरञ्जन लिन्छन् ।
गोरु जुधाएको बेला गोरु घाइते हुँदा केही फरक नपरे जस्तो दुई जना मान्छे जुधेर भएको क्षतिमा जुधाउनेलाई भने केही पनि फरक पर्दैन । अरुलाई नोक्सान भएपनि उनीहरू भने रमाउँदै मनोरञ्जन लिइरहेका हुन्छन् । जुग जमाना अनुसार आजभोलि मान्छे जुधाउन घर घरमा गएर कसैलाई उकास्नु पनि पर्दैन । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम मार्फत गल लगाएर उचाले पुग्छ । मान्छे जुधाउने रइसहरू यसै प्रविधिको भरपुर उपयोग गरिरहेका हुन्छन् । सायद यो बानी तिनले हतपती त्याग्न सक्दैनन् । आखिर लागेको बानी न हो !
यसरी मनोरञ्जन लिने महान रइसहरू मेरो जस्तै तपाईँको वरिपरि र तपाइँको सङ्गतमा पनि प्रशस्तै हुनुपर्छ । यसो विचार गर्नुस् त ! राम्रोसँग ध्यान दिने हो भने यिनलाई केही लक्ष्यणको भरमा प्रष्टसँग चिन्न सकिन्छ ।
मैले मान्छे जुधाउन खप्पिस एकजना चिनजानका रइस मित्रलाई सोधेँ, “ मान्छे जुधेको दृश्य त टेलिभिजनमा देखाइने रेस्लिङमा पनि देख्न पाइन्छ । त्यस्तै रेस्लिङ हेरेर मनोरञ्जन लिए मिल्दैन ? बेकारमा यसरी जुधाएर मन मिलेका जोडीहरू किन फुटाउने गर्नुहुन्छ ? "
उनले लाजै नमानीकन मुन्टो हल्लाउँदै भने, “ होइन होइन त्यसरी टेलिभिजनमा हेरेर पटक्कै चित्त बुझ्दैन । अर्को कुरा यो त नसा जस्तै रहेछ । बानी लागेपछि पटक्कै छोड्न नसकिने । अनि रेस्लिङमा भाग लिनेहरू न आफ्ना नातेदार हुन्छन् न चिनजानको साथी हुन्छन् ! अनि के को रमाइलो लाग्नु ! असली मनोरञ्जन लिन त असाध्यै मन मिलेका साथी र नजिकका आफन्तहरूलाई जुधाउँदा पो हुन्छ । नपत्याए मैले जस्तै केही मन मिलेका जोडीलाई जुधाएर हेर्नुस् त !

चितवन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।