18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अदृष्य भाइरस

लघुकथा मनिश कुमार शर्मा समित May 21, 2024, 11:57 pm
मनिश कुमार  शर्मा  समित
मनिश कुमार शर्मा समित

"हाम्रो पनि केही दाल गलेन ।"

मानवजातिको विनासको कारकको रूपमा रहेका भाइरसहरूको बैठकको सभापतित्व गरेको कोभिड १९ले हरेस खाँदै भन्यो ।

"हो ! हामी जति सशक्त भए पनि हाम्रो विरुद्ध बनेको खोपले हाम्रो प्रयास निष्फल गरायो ।" सार्सले थप्यो ।

"मलाई त झन उठ्नै नसक्ने गरी लडाए ।" औलोले निरासा व्यक्त गर्यो ।

"अब के गर्ने ? के हाम्रो योजना असफल नै हुने हो त ?" स्क्रब टाईफसले शंका गर्यो ।

"किन हरेस खाएको? हेर म अझ पनि डटी रहेको छु "- डेङ्गुले केही हौसला बढाउन खोज्यो ।

"यो पटक म प्रयास गर्छु ।" अकस्मात् आएको आवाजले उनीहरू सबै आवाज आएतिर फर्के ।

"को हौ तिमी ? सामुन्ने किन आउँदैनौ ?" सबैले एकै स्वरमा प्रश्न गरे ।

"म अदृष्य छु , तर मैले गर्ने कार्यको अनुभव गर्न सक्नुहुन्छ ।" - उसको आवाजमा दृढता थियो ।

केही समयको सरसल्लाहपछि अदृष्य भाइरसलाई जिम्मेवारी सुम्पियो ।

नभन्दै अदृष्य भाइरसले आफ्नो जिम्मेवारी वहन गर्यो । उसलाई बधाई दिन पूनः एक पटक बैठक बस्यो ।

"हैन , तिमीले मानवजातिलाई थला बस्ने गरी नै प्रहार गर्यौ त । के गर्यौ हँ त्यस्तो?" सबैको प्रश्न थियो ।

"तपाईँहरूले भौतिक आक्रमण गर्नु भयो मैले मानसिक ।" हाँस्दै अदृष्य भाइरसले जवाफ दियो ।

उता मानवजाति अवरूद्ध ईन्टरनेटले छटपटी रहेका थिए।

मध्यपुर ठिमी, भक्तपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।