परिचयाङ्कन –
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्धकारको रुपमा अर्जुन निरौला असम (पानीभण्डार, विश्वनाथ निवासी) को नाम उच्चारण नगर्नु हो भने गतिलो अन्याय हुन्छ । अर्जुन निरौला असम भेकका सशक्त व्यङ्ग्यकार हुन् ।
पिता नन्दलाल निरौला र माता पवित्रा निरौलाको कोखबाट भूमिष्ठ भएका अर्जुन निरौला हास्यव्यङ्ग्य निबन्ध लेख्नुका साथै नेपाली, असमिया र हिन्दी भाषामा कविता, निबन्ध, हास्य-व्यङ्ग्य लेखी आफ्नो छुट्टै प्रतिभा मुठ्याउन सफल बहुभाषी साहित्यकार हुन् । यिनका नेपाली, असमिया र हिन्दी भाषामा कविता, निबन्ध, हास्य-व्यंङ्ग्यहरू विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएको पाइन्छ । यिनका प्रकाशित कृतिहरू यस प्रकारका छन् –
१) हजुरबाको अनुहार र पेन्सन (कविता, नेपाली २०१६)
२) चित्रगुप्तको गुप्तचित्र (व्यङ्ग्यनिबन्ध सङ्ग्रग्रह, नेपाली २०१७)
३) अल एबाउट फेल्टु (हास्यव्यङ्ग्य रचना सङ्ग्रह, असमिया, २०२१)
निजी मौलिक कृतिहरू बाहेक पनि बहुप्रतिभाशाली स्रष्टा एवम् द्रष्टा अर्जुन निरौलाले विभिन्न पत्र-पत्रिका, स्मारिका तथा अभिनन्दन ग्रन्थ समेत सम्पादन गरेका छन् । ती निम्नलिखित छन् –
स्मारिका- 'मीत' (असम-नेपाल साहित्यिक मितेरी समारोह, २०१३); स्मारिका- 'कलश' (राष्ट्र जागरण एवं संस्कृति संगम- २०१५, बहुभाषिक); 'लोकाञ्जली' (सहयोगी सम्पादक, डा० लोकनाथ शर्मा स्मृतिग्रन्थ, २०१७); 'गजल यात्रा' (असमका वर्तमान नेपाली गजलहरूको सङ्कलन- २०१९), उमाटुमनि (स्मारिका,असम नेपाली साहित्य सभाको पन्ध्रौँ त्रैवार्षिक अधिवेशन, २०२१), चन्द्र कुमार शर्मा रचनावली, २०२१, 'इन्द्रेनीका रङ' (कविता सङ्कलन, २०२३) आदि आदि।
अर्जुन निरौलाको व्यङ्ग्य निबन्ध सङ्ग्रह ‘चित्रगुप्तको गुप्तचित्र’
भारतीय नेपाली हास्यव्यङ्ग्य फाँटलाई टेसिलो, गहकिलो, महकिलो पार्दै पाठकलाई गुटुमुटु पार्दै चिरिक्क चिरिक्क चिमोटनमा व्य़ङ्ग्यकार अर्जुनलाई खप्पिस देखिन्छ । नेपाली, असमिया र हिन्दी भाषामा समान रुपले कविता, निबन्ध, हास्य-व्यङ्ग्यका सर्जक अर्जुन निरौलाले रोचक तथा घोचक एक बिटो व्यङ्ग्य निबन्ध सङ्ग्रह हो ‘चित्रगुप्तको गुप्तचित्र’ (२०१७) नेपालीमा अनि । सन् २०२१मा असमिया भाषामा एक बिटो हास्यव्यङ्ग्य रचना ‘अल एबाउट फेल्टु’ दिइसकेका छन् ।
‘चित्रगुप्तको गुप्तचित्र’ (व्यङ्ग्यनिबन्ध सङ्ग्रह)मा मोठ २९ व्यङ्ग्यनिबन्धहरू सङ्कलित छन् । यी व्यङ्ग्यनिबन्ध मार्फत् व्यङ्ग्यकार अर्जुन निरौलाले आफ्नो बल-बुता तथा सीपले भ्याइञ्जेल नेपाली समाजको विद्रूप, विच्छृङ्खला, असङ्गति-विसङ्गति, विकृतिमाथि खेल-ठट्टा गर्दै व्यङ्ग्यवाण चलाएको पाइन्छ । सबैभन्दा धेर ठुङमार्दो कुरो ता के भने, यस सङ्ग्रहमा सङ्कलित २९ वटै व्यङ्ग्यनिबन्धहरू लामा पट्यारलाग्दा छैनन्, एकै बसाइँमा पढ़्न सकिन्छ । कुनै कुनै व्यङ्ग्यनिबन्धहरू ता एकै पृष्ठमा सिद्ध्याएका छन् । सङ्ग्रहमा परेको पहिलो व्यङ्ग्यनिबन्ध ‘दिन भरि भुक्छ, रातपरे लुक्छ’मा व्यङ्ग्यनिबन्धकारले झुक्किनेहरू र झुक्याउऩेहरूको मनोवृतिमाथ बेजोड़ व्यङ्ग्य गरेका छन् । यहाँ झुक्याउनेहरू बग्रेल्तै छन् यसैले झुक्किएर हुर्केकाले मरिञ्जेल आफू बसेको समाजमा झुक्किनैपर्छ ठानी ठिटौले उमेरदेखि झुक्किने अभ्यास्र गराएका स्वीकार्दै झुक्कान अभ्यास् गर्नुपरेको यथार्थ तथ्यलाई राखेका छन् भन्ने व्यङ्ग्यकारको तर्क देखिन्छ । सामाजिक तौरमा मात्र होइन तर राजनीतिमा समेत झुक्किनु परेको कुरा उकेल्दै राजनीतिबाट पनि झुक्केका कुरा स्पष्ट गरेका छन् । चिटफण्ड, सहारा, रोजभेली, घ-घरमा आउने बाबाजीहरू समेतले झुक्याएको कुरा गरेर झुक्काउनेहरू प्रति गतिलो चड़कन लाएका छन् व्यङ्ग्यकारले । तर सबैलाई झुक्याउन सकिँदैन र सबै झुक्किँदैन भन्ने पनि व्यङ्ग्यकारले लाखेस गरेका छन् ।
छोटो तर टड़कारो व्यङ्ग्यनिबन्ध हो ‘व्याधि एक, विधि अनेक’ । यसमा असममा गोर्खाहरूप्रति गरिएको लाञ्छनाप्रति व्यङ्ग्यवाण चलाएको पाइन्छ । ‘खिचड़ी – द ग्रेट फूड’ व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले हाम्रो समाज व्यवस्था नै खिचड़ी भएको छ भनी व्यङ्ग्यको झटारो हानेका छन् । संवादात्मक ढाँचामा लेखिएको व्यङ्ग्य निबन्ध ‘चित्रगुप्तको गुप्तचित्र’मा र यमराज र चित्रगुप्तको गोप्य कुरामा वर्तमान राजनीति नेताहरूको हुलिया प्रस्तुत गरिएको छ । नरकमा जस्तै स्वर्गमा पनि राजनीति चल्छ र कामदेवलाई केही साल निलनम्बित गर्ने कुरालाई हामी बसेको समाजको घिनलाग्दो राजनीति ठँसठँस् गन्हाउँछ । समष्टिमा भन्नुपर्दा ‘चित्रगुप्तको गुप्तचित्र’मा चित्रगुप्तलाई च्याँखे थापेर व्यङ्ग्यकारले वर्तमान राजनीतिज्ञे चित्रगुप्तहरूको चरित्र उदाङ्गो पारेको देखिन्छ । वर्तमानमा पनि चित्रगुप्तहरू प्रशस्तै छन् भन्ने व्यङ्ग्यकारको सङ्केत देखिन्छ । ‘मिष्टर लेट’- मा व्यङ्ग्य प्रहार गर्दै भारतवर्ष नै लेट भएर सबै यहाँ बिल्लीबाँठ भएको हो भन्ने व्यङ्ग्यकारको दाबी देखिन्छ । ‘तेरा बाउ मेरा बाउ माछा मार्न गए’ व्यङ्ग्य निबन्धमा ६ वटा रसिला, मिठाइला र टेसिला व्यङ्ग्य उखानहरू, मुनामदन झ्याउरे खण्डकाव्यबाट एउटा र हरिभक्त कटुवालको कविताबाट एउटा अंशलाई शीर्षक बनाई व्यङ्य लेखिएको पाइऩ्छ । यस व्यङ्य निबन्धलाई ढुक्कैले लघु व्यङ्ग्य भन्न सकिन्छ । लघु व्यङ्ग्यमा व्यङ्ग्यकारले माछावाला बाउहरू शोषक, हेपाई मनोवृत्तिमाथि प्रहार गरिनुका साथै छोटा-छोटा व्यङ्ग्यमा लाटासिधा जनताले भोग्नु परेको शोषक हण्टर उदाङ्गो पारेका छन् । ‘के को खोजी ?’मा रामायणको प्रसङ्ग झिक्दै व्यङ्ग्यकारले यहाँ प्रत्येक क्रममा खोजीको सिलसिला जारी छ बिहे गर्नको निम्ति केटी खोज्दासम्मको प्रसङ्ग उठाई मान्छेको खोजी गर्ने प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । संवादात्मक ढाँचामा लेखिएको व्यङ्ग्य ‘तेरो रोग तँई भोग’ मा राजनैतिक नेता, कुर्सीमै टाँसरहन दिलोज्यान दिन कुर्सीमै टाँस्सिरहने कुर्सीभोगी हाकिम वा नेता, नेताहरूको भाषणद्वन्द्व, पैसापछि दुगुर्ने, मोबाइलमा बात मार्नमै मस्त र व्यस्त हुने, लोकप्रियताले मातिने, पुत्रत्यागले ग्रस्त भएका समाजका व्यक्तित्वहरूको रोग र तिनको विश्लेषण गरिएको पाइन्छ । यसमा व्यङ्ग्यकारको व्याङ्ग्यशस्त्रले कति ठहरै पर्दा हुन् कोनि ।
‘आ-आफ्नो किस्मत हर्क न विस्मात’ व्यङ्ग्यनिबन्ध नाकको करामतिको चर्चा ग्रदै नाकको महिमा गाउँदै नाकलाई हरेस नखाने आश्वासन दिएका छन् । व्यङ्ग्य निबन्धमा ‘भित्री दसैं-मा वर्षेनी आउँने दसैंको महिमा गाउँदै दसैंमा हुने विकृतिमाथि टड़कारो व्यङ्ग्य पाइन्छ । अन्तरवार्तात्मक ढाँचामा लेखिएको व्यङ्ग्य ‘उचाल्यो जुरुक्क, कान्छो फुरुक्क’मा सोझा जनतामाथि विभिन्न प्रकार हुने हेपाइ, शोषणमाथि प्रहार गरिएको पाइन्छ । ‘नाइटो कला’मा यहाँ मान्छेले आफ्नो दुनो सोझ्याउन विभिन्न प्रकारले नाटक गर्ने गर्दछन् । अनि यो नाइटो कला हेर्नमै व्यङ्ग्यकार निस्केको कुराले आजको समाजको यथार्थ चित्रण गरेको पाइऩ्छ । ‘आफ्नो दुनो’मा दुनो सोझ्याउने चलाक, धूर्तहरूलाई गतिलो चड़कन लाएका छन् व्यङ्ग्यकारले । ‘छेड़्का’मा भारतवर्षको वर्तमान समाज व्यवस्थामा देखा परेको भ्रष्टचार र दूर्नीतिमाथि गतिलो प्रहार गरिएको पाइन्छ । ‘ओखती’ व्यङ्ग्यनिबन्धमा नाट्य सम्मान नपाएकामा गुनासो गरिरहने एकजना नाट्यसाहित्यका जण्डा व्यक्तित्व थला परेको अवस्थामा नाट्यविभूति प्रदान गर्ने कुरा गर्दा तङ्ग्रिन्छन् । आजको साहित्यिक परिवेशमा पुरस्कार, सम्मानभोगी, पुरस्कारकै निम्ति मरिमेट्ने, तथाकथित साहित्यकारहरूलाई गतिलो चड़कन लाएका छन् ।
सङ्ग्रहको अर्को व्यङ्ग्यनिबन्ध ‘वाह रे इङ्गलिश’मा आजको यो डिजिटल युगमा हामीले बोल्ने तौरतरिकामाप्रति पनि व्यङ्ग्यकारको टड़कारो आक्रोश देखिन्छ । उनी प्याच्चै भन्छन्, “उपरोक्त दुइसय भन्दा अधिक शब्दको कथन गोर्खेले अंग्रेजी बोलेको कि अंग्रेजले नेपाली बोले हो छुट्ट्याउन गाह्रो छ ।” हाम्रो निजी शब्दभण्डारमा भक्कुचुर नेपाली शब्दहरू हुँदा हुँदै पनि तिनलाई निमिट्यान्नै पारी बातैपिच्छे अङ्ग्रेजी शब्द प्रयोग गरी बोल्नेहरू प्रति व्यह्ग्यकारको टड़कारो विरोध मात्र होइन दुःख मनाउ पनि देखिन्छ । पुछारमा उनी भन्छन्, “वाहरे अंग्रेज ! छोड़ेर त गएऊ, तर स्वाघीनता दिवस होइन, इन्डेपेन्डेस दिएर गएऊ ।” हाम्रो स्थिति दुःखलाग्दो छ । निकट भविष्यमा यसरी नेपाली शब्दको ठाउँमा अग्रेजीको धाक देखाउने हाम्राहरूले नेपाली शब्दको दाह संस्कार गर्नेनै छन् भन्ने कुरामा शङ्का ग्रने ठाँवै छैन ।
‘पत्र-चरित्र’मा पत्र-पत्रिकाको दूर्दशा बखानिएको छ । आजका पत्र-पत्रिका समाजको अभिन्न अङ्ग बने पनि ती बाँदरको पूच्छर झैँ काम नलाग्ने भएका छन् भन्ने व्यङ्ग्यकारको घोंचाइ छ । पत्र-पत्रिका अकालमै मरेकामा पनि व्यङ्ग्यकारको दुःख मनाउ देखिन्छ । पत्र-पत्रिका मर्ने रोगबाट जोगाउन डाक्टर लगाउनु पर्ने व्यङ्क्यकारकोसुझाव देखिन्छ । जो अत्यन्तै सठिक र स्वीकार्य छ ।
संवादात्मक व्यङ्ग्यनिबन्ध ‘लङ्कामा सुन छ, उतै गए हुन्छ’ सामाजिक, राजनीतिक निबन्ध हो । यस व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले गुरु र खोतलरामको संवादलाई मोबाइलको निहुँ गरी रामायण-महाभारतको प्रसङ्ग झिक्तै रामायण अहिलेसम्म पनि आउट़डेटेड छैन भन्ने कुरा मार्फत् दिल्ली र दिसपुरमाथि कटाक्ष गरेका छन् । अहिले पनि यो देशमा कैकयी, धृतराष्ट्रजस्ताहरू छन् भन्दै रामायणमा रावणले मातासीताजीलाई अपहरण गरेका थिए, आजको दिनमा पनि आजका वर्तमान सीताले लङ्काको सुवर्ण-ज्वेलेरी देखेर आधुनिक रावणलाई फँसाएका कुरा निर्विवाद सत्य छ । यस व्यङ्ग्यमा युग अनुसार परिवर्तन हुन्छ भन्ने युक्तिसङ्गत तर्क राखेको पाइऩ्छ । उबेला रावणले सन्यासीको भेष लिएर सीतालाई छक्याएर अपहरण गरेका थिए भने हिजोआज सन्यासीहरू रावणको भेषमा रँड़ाको लाउँछन् । रामयाणमा जे जति घटनाहरू भए अहिले पनि सोही अनुरुप घटनाहरू भइनै रहेका छन् भन्ने कुरो व्यङग्यमार्फत् वर्तमान उच्छृङ्खलता र विशृङ्खलतामाथि ठुङमार्दो पाराले कटाक्ष गरिएको छ ।
‘मरेका मनको भार’ वर्तमान साहित्यिक वातारवरणमाथि लेखिएको व्यङ्ग्यनिबन्ध हो । पुस्तक नपढ़िदिनुका साथै ठूला बड़ा साहित्यकारहरूले भुसुना वा नवोदित तथा उदीयमान साहित्यकारको कृतिमाथि शुभकामना लेख्न नरुचाउनेप्रति तीव्र व्यङ्ग्यवाण ओतप्रोत छ यस व्यङ्ग्यनिबन्धमा । साहित्यमा केन्द्रित यस व्यङ्ग्यनिबन्धमा साहित्य गुटबाजीले जरा फैलाउँदै गएको र वास्तविक भाइचारा, प्रतिभाको कदर गर्ने प्रवृत्ति कचल्टिँदै गएको नाङ्गो यथार्थ प्रस्तुत गरिएको छ । ‘
लघु व्यङ्ग्यनिबन्ध ‘सपनाको मलामी’ व्यङ्ग्यनिबन्धले सामान्य गणितको समाधानबाट थपिएका समस्याले खलबली मच्चिँदै कसो कसो गरी समस्या देशको विरोधी दलकहाँ पुगेपछि समस्या सदनसम्म पुगी प्रधानमन्त्रीको पदत्यागसम्मको दावी उठ्छ । यहाँ सामान्य कुरालाई आफू आफू बसी समाधान गर्न सकिने समस्यालाई राजनीतिककरण गरी त्यसलाई जटिल बनाउने अनि सामान्य कुरालाई मुद्दा बनाई हुँड़ीबिड़ी मच्चाउने निकृष्ट प्रवृत्तिमाथि गतिलो चढ़कन लाएको पाइऩ्छ । वर्तमान राजनीतिक समाजको यथार्थ चित्रण पाइऩ्छ यस व्यङ्ग्यनिबन्धमा । आजका राजनैतिक नेताहरूले जनतालाई भाषणको भरमा कसरी बोरामा सुताउँछन् भन्ने विषय तथा आफ्नो दुनो सोझ्याउने नेतृत्वका वैयक्तिक डम्फू ठटाइ प्रति तीव्र व्यङ्ग्यनिबन्ध हो ‘नेताले ताने’ ।
निबन्धमा हातले लात खानुपर्ने स्थिति सिर्जना भएको निस्कर्ष निकालिएको छ । ‘भलादमीको जात थर’ ले देवकोटाको ‘भलादमी’ निबन्ध स्मरण गर्दै बेहिसाब भलादमीहरूको फेहरिस्त प्रस्तुत गरिएको पाइन्छ भने ‘सित्तैंका ढाड़ेहरू’ ले ढाड़े नै अहिले साँढे भएर हाम्रो सुन्दर कोठेबारी माडिरहेको वस्तुतथ्य हाम्रै अगाड़ि राखिदिएका छन् ।
व्यङ्ग्यनिबन्धमा असम भेकका प्रायः युवाहरूले ठूल्ठूला शहरतिर ताकेको विषयममाथि टङ़्कारो व्यङ्ग्य हो ‘खुच्चिङ पऱ्यो जङ्गले, आफ्नै ढङ्गले’ । असम जङ्गलै जङ्गलको देश हो...आफ्नो घर-आँगनदेखि गतिलै कमाउने लोभमा बाहिरिएका युवाहरूलाई असमको फारसमै पैसा फल्छ भन्ने कुरा यस व्यङ्ग्यनिबन्धले उकेलेको पाइऩ्छ । आफ्नै घर-आँगन त्यागी ठूल्ठूला शहरतिर पस्ने लोभिने युवाहरूलाई आफ्नै घर-आँगनमै ल्याएर मातृभूमिको रक्षा गर्ने आह्वान पनि देखिन्छ यस ‘खुच्चिङ पऱ्यो जङ्गले, आफ्नै ढङ्गले’ व्यङ्ग्यनिबन्ध मा ।
‘बेलामा हेला गऱ्यो डल्लामा फेला पऱ्यो’ व्यङ्ग्यनिबन्धको केन्द्रमा अन्तरवार्तात्मक ढाँचामा व्यक्तिगत कुरा गर्ने निहुँमा समाजमा देखा परेका मान्छेको प्रवृत्ति, होलाकि भनी छोरोलाई बिहे गरिदियो...बुहारी घरमै बस्छिन् कि भन्यो...तर छोरोले बुहारीलाई आफूसँगै लगेको यथार्थ घटनालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका छन् । यस्तो घटना हरदर नेपाली वा गोर्खाहरूको घरमा भइरहने साबिक घटनाहरू हुन् । मान्छेको विचित्र मनस्तत्वमाथि पनि यसरी ट्वाकसिङ हानेका छन् व्यङ्ग्यकारले “...अक्षेर मजले ठम्याउन सक्न छोड़ेँ भनेर चै सजिलै भन्छ, तर अलिक साह्रो गरी बोले मात्रै सुन्छु भन्न चै गाह्रो मान्छ । अन्धो छु भन्नु चैं खुकुलो, बहिरो छु भन्न चैं लाजमर्नु ।” यस्ता उरेण्ठेउलो प्रवृत्ति प्रत्यके समाजमा भइरहने कुरा हुन् । व्यङ्ग्यकारको व्यङ्ग्यमा यथार्थता देखिन्छ । यो वर्तमान समाजको विद्रूप यथार्थ हो । ‘बेलामा हेला गऱ्यो डल्लामा फेला पऱ्यो’ व्यङ्ग्यनिबन्धमा यिनै यथार्थमाथि गतिलो चड़कन लाउन खोजिएको छ ।
यस व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले गुरु र खोतलरामलाई विशेष व्यङ्ग्यका नेपथ्य पात्रका रुपमा प्रयोग गरेको पाइन्छ । यिनै पात्रद्वारा समाजमा भएको सामाजिक विऋङ्खलता, राजनैतिक उदण्डतामाथि सोँड़्क्याउनुसम्म सोँड़डक्याएको पाइन्छ । ‘खोतलरामको गैड़ो प्रकल्प’ व्यङ्ग्यनिबन्धमा कुरा गहिरो छ सुझावात्मक छ ।
‘गोजीको खोजी’ व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकारले डाक्टरहरूको पैसा असुल्ने प्रवृत्तिकासाथै आफू डाक्टर भएको ठाउँमा अन्य डाक्टरलाई ढिम्किनै नदिने यथार्थ कुरा प्रस्ततु गरेका छन् ।
‘आमाको नाङ्लो, बच्चालाई गाड़ा’ व्यङ्ग्यनिबन्धमा समाजमा भइरहने विविध विषयमाथि व्यङ्ग्य गरेको पाइन्छ । हामीमाझ एकता हुँदै नभएको अनि यही कुराबारे सबैले गुनासो गर्ने गरेको, कम्प्यूटरले पत्रिकाको ठाउँ ओगटन नसक्ने कुरा, कुनै कुरामा पनि मान्छे सन्तुष्टि नहुने कुरा, बेलायती कुकुरले भुस्याहा कुकुर स्वतन्त्र भएको देखेर आफ्नै भाग्यलाई सरापेको कुरा, फेरि भुस्याहाले कारभित्र मेमसाहेबको काखमा बेलायती कुकुर बसेको देखेर भूस्याहा दुर्भाग्यलाई धिक्कारेको कुरा, अविवाहितले विवाहितलाई ईर्ष्यालु नजरले अनि विवाहित पुरुषले अविवाहित ठेट्नेलाई ईर्ष्यालु नजरले हेरेको कुरा, देश चलाउने नेतालाई ठप्पा हानेका कुरा अनि देश जोगाउऩ सीमामा तातो गोली खानेको कुरा, देशले हामीलाई मन पराए हामी फौजी हुने कुरा अनि हामीले देशलाई मन परायौं भने शहीद बनिने कुरालाई मिठाइलो अनि टेसिलो प्रकारले व्यङ्ग्यमाला बनाई प्रहार गरेको पाइन्छ यस ‘आमाको नाङ्लो, बच्चालाई गाड़ा’ व्यङ्ग्यनिबन्धमा । कति ठुङमार्दो यथार्थ व्यङ्ग्य प्रहार, “हामीलाई देशले मन परायो भने हामी फौजी बनिन्छौं, देशलाई हामीले मन परायौं भने शहीद बनिन्छौं ।” एउटा यथार्थकासाथै टड़कारो व्यङ्ग्यको ज्वलन्त नमूना ।
मुखमाथि अनेकन् घतपर्दा उखानहरू प्रयोग गरी लेखिएको ‘मुख बन्द राखे दांत जोगिन्छ’ व्यङ्ग्यनिबन्धमा मुखका विभिन्न क्रियाकलापबारे विस्तृत नालीबेली लाएको देखिन्छ । खाने, बोल्ने, लगाउने, फोर्ने जम्मै मुख नै हो । मुख चले दाँत उछिट्टिन्छ, मुख बन्द राखे दाँत सुरक्षित हुन्छ । नेताको मुखलाई पनि गतिलो चड़कन लाएका छन् व्यङ्ग्यकारले, ‘इलेक्सन अघिको मुधु बर्षाउने नेताको ‘श्रीमुख’ जितेपछि ‘छिमुख’हुन्छ’-मा । अर्को कटाक्ष, ‘पाँच साल मुख बायो हावामात्रै खायो ।’ कति ठूलो व्यङ्ग्यवाण ।
मुखपछि व्यङ्ग्यकार फूलको प्रसङ्ग झिक्दै आरम्भमा फूलको प्रशंसा पछि ‘क्वाटर हाफको काममा ‘फुल’ नै चाहिन्छ‘’ भनी हाम्रो जिन्दगी फुलमै रल्लिरहेको छ भन्ने व्यङ्ग्य हानेका छन् । फेरि उनी भन्छन्, “....बाठाहरूले ‘फूल’ (Fool) हरूलाई लट्याएर नै हाउसफुल हुने गर्छन् ।” हाम्रो यथार्थ चरित्रलाई फूलको माध्यमबाट व्यङ्ग्याशस्त्र चलाउने व्यङ्ग्यकार अर्जुन निरौलाको चमत्कारिता स्वीकारनै पर्ने हुन्छ । आरम्भमा मुखको बेलिबिस्तार, त्यसपछि फूलको कुरा अनि फेरि ‘मार’ (मार्नु)का कुराहरू । आँखै माऱ्योको सट्टा आँखाको हत्या गऱ्यो भन्ने व्यङ्ग्यकारको आह्वान देखिनुका साथै मार्नुका धेरै कुराहरू मिठाइलो पाराले व्यङ्गयको ढालले प्रस्तुत गर्नमा व्यङ्ग्यकारलाई खप्पिस देखिन्छ । यस व्यङ्ग्यनिबन्धमा गरिएको व्यङ्ग्यमा व्यङ्ग्यकारले आफू वरिपरि हुने क्रियाकलापमाथि व्यङ्ग्यवाण चलाएका छन् ।
अन्तरवार्ताको निहुँमै व्यह्ग्यकारका प्रिय पात्र गुरुबा र खोतलरामहरूलाई अघि सारी सामाजिक व्यङ्ग्यको उत्कृष्ट नमूना हो ‘अनिकाले मोरो कनिकाले टार्छ’ । यस व्यङ्ग्यनिबन्धमा व्यङ्ग्यकार अर्जुन निरौलाले हाम्रो जाति जुनै जस्तो कुरामा पनि सन्तोक मान्ने जाति हो भन्ने कुरो स्पष्ट रुपले देखाउन कुनै कञ्जुस्याइँ गरेका देखिँदैन । छिमेकीलाई आपद् विपद् पर्दा टार्ने जातिमाथि प्रहार छ यस व्यङ्ग्यनिबन्धमा । नेपाली भाषाको विकृति रुप “हादसामा ले याददाश्त खोएका छन्’ । उर्दू हो कि नेपाली आफै केलाऊ । यसको अब वजह ढुँढ़नु ? कि खामोश बैठनु ? हिजोआज लेखिने भाषामा हिन्दी, उर्दू अङ्ग्रेजीको मिश्रणप्रति व्यङ्ग्यकारले गतिलो पाराले चढकन लाएका छन् । ” यस व्यङ्ग्यनिबन्धमा हाम्रो जातिको प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको पाइऩ्छ । व्यङ्ग्यकारभित्र गजब र अजब व्यङ्ग्य-विद्रोहको भण्डार रहेको देखिन्छ ।
सङ्ग्रहको अन्तिम व्यङ्ग्यनिबन्ध ‘टोली ठूलो, बोली ठूलो, झोली दुलो’मा ओलम्पिक खेलमा भारतको स्थिति डाँवाडोल भएको अवस्थामाथि तीव्र प्रहार गरिएको छ । भारतले ओलम्पिक खेलमा भनेजस्तो मेडल हात नपारेकोमा पनि व्यङ्ग्यकारको आक्रोश देखिन्छ - “भारततिरचै एउटै मेडल पनि चिप्लियोस् भन्ने कसमनै खाएको छ क्यारे आलिम्पिक कमेटीले । लुडु-क्यारम-तीनपत्तीको कम्पिटिसन त राख्तै राखेनन् । सिरीखुरी सबै सबै गोल्ड यतै आउने थिएन त ? परस्कार पनि सुन-चाँदी नराखेर फर्ष्ट प्राइजमा रायल स्टेगको ‘फूल’, सेकण्ड प्राइजमा ‘हाफ’ र थर्डमा ‘क्वाटर’ राखि हेरुन त । अनि हेरौंला कसले उछिन्छ हामीलाई । सए मीटरको दौड़को टार्गेटमा मन्त्रीको रित्तो कुर्सी राखी दिउन न त । रेफरीको सिटी पनि बजिसक्न नभ्याई हाम्राहरू पुगिसकेका हुने थिए । आउँदो पाली माग राख्नु पर्छ ।” टड़कारो व्यङ्ग्य । हाम्रो भारतीय खेलकूदको मरञ्च्याँसे अवस्थालाई उदाङ्गो पार्दै मुख्य इभण्टभन्दा पनि लुडु-क्यारम-तीनपत्तीको कम्पिटिसनमा भारतले उछिन्नु सक्छ अनि पुरस्कारमा पनि मद-मदिराका साथै सय मीटरको दौड़मा मन्त्रीको रित्तो कुर्सी राखीदिए रेफरीको सिटी नबजिकनै भारतले रेकर्ड कायम गर्नेछ भनी व्यङ्ग्य गर्नु लरतरो व्यङ्ग्यकारको वशको कुरा होइन ।
व्यङ्ग्यकार निरौलाका प्रमुख विशेषता
निरन्तर हास्यव्यङ्ग्य निबन्ध लेखेर वा कितापसमेत प्रकाशित गरेर व्यङ्ग्यकार अर्जुन निरौलाले असमेली नेबाली हास्यव्यङ्ग्य निबन्ध साहित्यलाई थाक्रो लाउनु मात्र होइन सिङ्गो भारतीय हास्यव्यङ्ग्य नेपाली निबन्ध साहित्यको संरक्षण संवर्द्धन गर्ने काममा कीर्तिमान नै कायम गरेका छन् । भारतीय हास्यव्यङ्ग्य नेपाली निबन्ध फाँटमा हास्यव्यङ्ग्य निबन्धको कद पुड़्को नै देखिन्छ । यस होचाइँलाई अग्लो पार्ने निरौलाको प्रयास हकीको देखिन्छ । यिनको व्यङ्ग्यमा शिष्ट, सभ्य, सौम्य प्रस्तुतिका साथै ठुङमार्दो तार्किक प्रस्तुतिले यिनको व्यङ्ग्यकारितामा निखार आएको छ । हास्यव्यङ्ग्य निबन्धलाई मात्रै आफ्नो लेखकीय आदर्श मानेर निरन्तर कलम चलाउने व्यङ्ग्यकार निरौलाको व्यङ्ग्य प्रहार, सरल, मिठाइलो, टेसिलो, गहकिलो, महकिलो भाषाले पनि व्यङ्ग्यमा एक प्रकारको स्वाद पाइन्छ । सबैभन्दा ठुङमार्दो कुरो ता के छ भने, यिनका प्रत्येक व्यङ्ग्यमा उखान तुक्का लगायत लोकोक्तिहरूको प्रयोगले व्यङ्ग्य जीवन्त प्रखर र तिक्षर भएको कुरा नस्वीकारी धर पाइँदैन । उखान तुक्काबाटै शीर्षक राखेकाले पनि यिनका व्य़ङ्ग्यहरूका शीर्षकले नै पाठकवर्गलाई मक्ख नपारी छोड़्दैन र उखान तुक्का सम्बन्धित शीर्षकले नै व्यङ्ग्य नपढ़ी छोड़्न सकिन्न । यिनको व्यङ्ग्य लेखनको ढाँचा, शैली अहिलेसम्म देखा परेका भारतीय नेपाली व्यङ्ग्यकारहरूका व्यङ्ग्यभन्दा बेग्लै देखिन्छ । शीर्षक लगायत वाक्यैपछि व्यङ्ग्यात्मक शैलीमा उखान तुक्का तथा लोकोक्ति प्रयोग गर्नु यिनको विशेषता देखिन्छ । अर्जुन निरौलाका यस सङ्कलित व्यङ्ग्यनिबन्धहरूको सङ्क्षिप्त मूल्याङ्कन गर्दै बूँदागत आधारमा यिनका व्यङ्ग्यनिबन्धहरूका प्रवृत्ति एवम् वैशिष्ट्यहरूमाथि सामान्य रुपमा मूल्याङ्कन गरिन्छ ।
विषयवस्तु चयन –
हास्यव्यङ्ग्य निबन्ध लेखनमा आफूलाई पूर्णरुपले समर्पित गरेर मूलतः हास्यव्यङ्ग्य निबन्ध सिर्जना गर्ने अर्जुन निरौलाले आफ्नो लेखनको विषयवस्तु आफ्नै वरिपरिका परिवेश सिकसिकलाग्दो अवस्था, शिक्षा व्यवस्थाको खेलाँचीपन, एऩआरसीको झ्याउला, भारतमा जनसङ्ख्या बढ़ाउने योजना, चन्दा दिने लिनेको जबरजस्तीपन, पत्र-पत्रिकाको बिग्रिँदो अवस्था, नेपाली भाषाको विकृति प्रयोग, दुनो सोझ्याउने प्रवृत्ति आदि विषय नै यिनका व्यङ्ग्यनिबन्धका विषयवस्तु देखिन्छन् । यहाँको विसङ्गति र विकृतिको यथार्थ चित्रण गर्दै ती विसङ्गति र विकृति निमिट्यान्नै पारी स्वच्छ समाज, स्वच्छ देश निर्माणको सन्देश पनि दिएको पाइऩ्छ । विसङ्गति र विकृतिले सामाजिक, शैक्षिक, सांस्कृतिक तथा राजनीतिक जीवनलाई धूलोपिठो पारेका विषय उठान गरी विभिन्न प्रश्नहरू मार्फत् यिनका व्यङ्ग्यनिबन्धमा जानेका, बुझेका, भक्कु अनुभव बटुलेका पात्र गुरुबा र खोतलरामजस्ता हास्यपात्र सिर्जना गरी पाठकलाई व्यङ्ग्यको सिर्कनु लाउँदै मनोरञ्जन प्रस्तुत गरी विषयवस्तुलाई उचित ठाउँमा प्रस्तुत गर्नु यिनको खूबी देखिन्छ । व्यङ्ग्यकार अर्जुन निरौलाका व्यङ्ग्यनिबन्धहरूको केन्द्रिय विषयवस्तुहरू निर्क्यौल गर्दा, यिनका व्यङ्ग्यनिबन्धहरूमा शैक्षिक, साहित्यिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, प्रशासनिक, मानवीय तथा वैयक्तिक विसङ्गति, विकृति र विद्रूपता रहेको पाइन्छ । समाजमा वा देशमा भइरहने विङ्गतिले यिनका व्यङ्ग्यलाई तिक्खर र टड़कारो बनाएको छ । यिनले आफ्ना व्यङ्ग्यनिबन्धमा प्रयोग गरेका विसङ्गतिलाई कहिले उखान-तुक्का ता कहिले लोकोकोक्तिलाई ढाल बनाई, कहिले ठुङमार्दो अन्यान्य उदाहरण प्रस्तुत गर्दै हास्यको बाईपङ्खी घोड़ामा चढ़ी व्यङ्ग्यवाण बर्साउनमा व्यङ्ग्यकार निरौला सिपालु देखिन्छन् । यिनका व्यङ्ग्यनिबन्धका विषयवस्तुहरूमा विषयगत विविधता देखिन्छन् । यिनका व्यङ्ग्यनिबन्धको विषयवस्तु गाउँ-घर, समाजमा मात्र होइन राष्ट्रिय तथा अन्तरराष्ट्रिय विसङ्गति, खेलाँचीपन उदाङ्गो पारिएको देखिन्छ । व्यङ्ग्यकार निरौलाको विषयवस्तुको एउटा सवल पक्ष यो पनि हो ।
संरचनात्मक ढाँचा
विषय छनौटपछि त्यसलाई जीवन्त, मिठाइलो, टेसिलो, गहकिलो, महकिलो तथा ठुङमार्दो संरचनामार्फत व्यङ्ग्य सिर्जना गर्नामा व्यङ्ग्यकार निरौलालाई अब्बल देखिन्छ । यिनका व्यङ्ग्य सिर्जनामा वहुविध संरचनागत ढाँचा पाऩ्छ । यस सङ्ग्रहमा सङ्कलित केही व्यङ्ग्यनिबन्धहरू अन्तरवार्तात्मक रुपमा भएकाले जिज्ञासु पात्रद्वारा गरिएको व्यङ्ग्यात्मक प्रश्नहरूमा व्यङ्ग्यात्मक संरचना बान्किलो देखिएको छ । खोतलरामको काम खोतल्नु मात्र हो । विभिन्न कुरा खोतली गुरुजीको मुखबाट व्यङ्ग्यात्मक वाण वमन गर्न लाउनु पनि व्यङ्ग्यकारको व्यङ्ग्य सिर्जनाको खूबी हो । खोतलराम जस्ता स्वाभाव भएकाहरू तपाई मेरो गाउँ-घरमा छैन भन्न सकिन्न । व्यङ्ग्यनिबन्धको संरचनालाई सचेतनतापूर्वक निर्वाह गरेको र आत्मसात गरेको पाइएकोले निबन्धमा साँच्चै नै ज्यान आएको छ । सङ्ग्रहमा सङ्कलित २९ वटै व्यङ्ग्यनिबन्धहरू लामा छैनन्...छोटा छोटा छन् । कुनै पनि व्यङ्ग्यनिबन्ध पढ्न पट्यारलाग्दा र दिक्कलाग्दा छैनन् । एकै खेपको बसाइमा पढ़िसिद्ध्याउन सकिन्छ । यिनका व्यङ्ग्यनिबन्धहरूमा अनावश्यक वा सिकसिकलाग्दो गन्थन पाइँदैन ।
भाषाशैली
सरल भाषामा लेखिएका छन् यी व्यङ्ग्यहरू । वाक्य रचनामा कुनै प्रकारको जटिलता देखिन्न । कुरा यति हो, कहीँ कहीँ असममा बोलिने शब्दहरू पनि व्यङ्ग्यनिबन्धमा प्रयोग गरेको पाइऩ्छ । प्रायःजस्तो अङ्ग्रेजी शब्द प्रयोग गरिएको देखिए पनि वाक्य गठनमा कुनै वाधा पुऱ्याएको वा अड़चन आएको देखिँदैन । नेपाली जनजिब्रोमा भिजेका उखानतुक्का तथा लोकोक्तिहरू प्रसङ्ग अऩुसार वाक्यैपिछे प्रयोग गरिएकोले व्यङ्ग्यनिबन्ध टेसिलो तर्कसङ्गत देखिन्छन् ।
भाषाशैलीलाई निबन्धका प्रमुख तत्वमध्ये एउटा तत्त्व मानिन्छ । व्यङ्ग्यकार अर्जुन निरौला असम भेकका चर्चित प्रतिष्ठित व्यङ्ग्यकार हुन् । असमकै सहित्यकार भएका नाताले यिनको लेखनमा ठेट झर्रा शब्द प्रयोगका साथै असममा बोलिने शब्दहरू नै प्रायः प्रयोग गरेको पाइन्छ । व्यङ्ग्यनिबन्धहरूमा प्रचलित सँगसँगै आफैले निर्माण गरेका उखानतुक्का लगायत लोकोक्तिको प्रयोग गरेर यिनले व्यङ्ग्यनिबन्धहरूलाई लोभलाग्दो बनाएका छन् । ठाउँठाउँमा असमी, अङ्ग्रेजी, हिन्दी, फारसी तथा उर्दू शब्दहरू प्रयोग गरेको हुँदा यस सङ्ग्रहमा सङ्कलित व्यङ्ग्यनिबन्धहरू टेसिलो, गहकिलो, महकिलो भएको छ ।
यिनको भाषा प्रयोगमा केही विचलन देखिए पनि भाषिक विचलनकै कारणले हास्यव्यङ्गय जोरदार भएको पाइन्छ ।
यस व्यङ्ग्यनिबन्ध सङ्कलनमा प्रयोग गरिएका अङ्ग्रेजी शब्दहरू, उखानतुक्का गाउँ खाने कथा लोकोक्ति, क्रिया विशेषण, ठेट झर्रा शब्द. कथ्य शब्द (भाषा) हरू -
अङ्ग्रेजी शब्दहरू –
कमन पिपल, प्र्याक्टिस, मर्टन, ट्रेनिङ्ग, प्रुफ, रेजिस्टेन्स, रिटर्न, लकेट-, स्क्रिप्ट, चिटफण्ड, रोजभेली, टेम्परचर, नन रेसिडेन्सियल सिटिजेन, अप्सेनल इऩ्डियन, माष्टर, होमवर्क, Too many cooks spoil the broth, Flavour, ग्रेट फूड, एलोपेथिक, क्याप्सल, होमिओपेथिक, राइट द एजुकेशन, पावर, डक्टर, हाईपावर, बोर्ड, लेन्स, एबिसिडि, फुडवेल्यु, मम-पापा, ड्याडी-मम्मी, आऩ्टी, लाइट, कोट, पेऩ्ट, द ग्रेट कुक, चान्स, आइडिया, कुकिङ मेथोड, म्यानेजिङ कमिटी, टयलेट, सेयर, एनि प्रोब्लेम ब्यालेन्सड, रेस्पन्सिबल, होपलेस, डाटा कलेक्सन, मेन्टेन, एजेन्ट, आइसिस, एऩडिएफ, मर्सिडीज, बेंक, एक्सिलेटर, आइडिया, सुपरहिट, फर्मूला, सस्पेन्ड, डेडबोडी, इनोसेन्ट पिपल, पोलाईट, हाउ स्याड, कम्पनी, एडल्टस ओनली, टाइप, सिमेन्ट, इञ्जिनियर, न्यूटन, लाष्ट क्वेशन, मिस्टर द लेट, स्लो, लेट, लेटेष्ट, एऩ्ड्रोइड मोबाइल, फेसबुक, ह्वाट्सएप, रिजल्ट, फर्ष्ट, बृटिस, आउटडेटेड, अपरेशन, लिप्साफिलिस, भाइरस, क्याश, मनिमोनिया, डायग्नोसिस, टेलि, एन्टि, पोलेरिया, क्रनिकेल, पोलिचाइल्डिया डिजीज, टार्गेट, स्पेयर पार्टस, डिस्कोभरी, जियोग्रफी च्यानेल, क्यामेरा, टुरिष्ट, आइडिया, युरिनल, टयलेट, कलेज, सिष्टेम, टाइमपास, बोनस, फिनिशिंग लाइन, रेफारी, गोल्ड म्याडेल, सिल्वर, ब्रोञ्ज, रेकार्ड, हाइटेक, मोबाइल, रिलायन्स, एटरटेल, बी एस एन एल, एयरसेल, मेट्रिक, पकेट, एलजेब्रा, ग्राफ, बुक, टाउऩ, बस, ट्र्क, कार, सिटिजेन, डकुमेन्ट, नाइलन, हेप्पी निउ इयर, म्युजियम, भ्यालेन्टाइन डे, हेन्ड वाशिङ, रियलटी शो, क्यारेक्टर, फ्लेट, प्रडाक्ट, ट्यागलाइऩ, क्रिकेट, फिक्सड, बोलिङ, साइड बिजनेस, डाम्रे (डाम्रा – कृप्र), ट्रेजेडी, इभिनिङवाक्, थिएटर, लिस्ट, सेक्रेटेरी, रिपेयरिंग, स्कीम, अफिसर, ट्रान्सफर, डाक्टर, एन्टिबायोटिक, बेड, बोडी, टेष्ट, सुगर, बरेऩ्डा, ब्लेक एण्ड ह्वाइट, नोकिया मोबाइल, इङ्गलिश्, ब्याटरी, चार्ज, कस रिसिव, स्वीच अफ, चार्जर, ब्याग, पइन्ट, टेबल फ्यान, कनेक्शन, थेङ्क गड, प्रोब्लेम, इजिली, सोल्ब, वेइट, बोरिङ्, टाइम पास, मेगाजीन, आर्टिकेल, माइण्ड, सबजेक्ट, पल्ट, लङजर्नि, कन्टिनिङ ब्याकअप, माष्ट, लाइट चार्ज, अनकम्पलीट.टेन्शन, फर्चनेटली, फ्रेश, न्युजपेपर, पेज, न्युज, लाइन, सेभेन्थ , फ्यान, डिस्कानेक्ट, लाकिली, फोल्ड, इजी, कर्नार, स्ट्राइक, टीनेजर, प्रेशर, थर्ड फ्लोर, जम्प, फ्रेक्चर, स्टुडेन्ट, लाइफ, स्ट्रेस, टाइम, स्टडी, स्कूल, होमवर्क, ट्युशन, टिचर, लेशन, रिपिट, ह्वेयर इज द विल, देयर इज ए वे, आडिया, कम्प्लिट, एनएल, एकजाम, प्रपारेशन, फेमेली, रिलेशन, सोसिएल, फिलिङ्स, जीरो. मेटर, माइण्ड, हर्ट, इन्डपेन्डस डे, हेडलाइन, जेन्टलम्यान, टाइमपास, एचआइभी, सीट, च्याटिङ, डिक्सनेरी, रिपोर्टर, चीटर, प्लाषिटक, पोलिथिन, कैरीबेग, सेल्फी, च्यानेल, रिङ्गटोन, भाइब्रेसन, ल्यापटप, आउटडेटेड, फिटिङ, कन्सेप्ट, किड्न्याप, ज्वेलारी, रिजर्ट, बोल्ड, गोल्ड, क्यारेक्टर, सेम, कन्सेप्ट, टुथपेष्ट, ब्रश, ट्यूब, नन-फर्मेल, सर्ट, ज्याकेट, जिप (चेइन), sin, cos, log, इन्टरभिउ, अंकल, लेडीज, सेलुन, आर्किमिडिस, कम्पनी, केमिष्ट, रेडियोलोजिस्ट, पर्स, वालेट, एक्सरे, एम आर आई, सि टी स्केन, सोनोग्राफ्री, ट्यालेन्टेड, एसी कार, डिसेन्ट्री, कन्स्टिपेसन, कम्पलसरि, इलेक्सन, ष्टाइल, पेटीकोट, प्रफेसन, रिमोट कन्ट्रोलर, साइकल, प्याडेल पम्प, टिउब्, पंक्चर, स्टोन-फ्री, ओम्पिक, बक्सिङ, जर्सी, इण्डिया, कमेटी, लुडु, क्यारम, कम्पिटिसन, प्राइज, रायल स्टेग, सेकण्ड, हाफ, थर्ड, क्वार्टर, मीटर, रेफरी, सिटी, ब्लुटुथ, ट्रान्सफर, गलब्लाडर, स्टेन. स्पेयर पार्टस, बाउऩ्ड्री वालआदि ।
व्यङ्ग्यकारले भक्कुचूर अङ्ग्रेजी शब्दहरू आफ्ना व्यङ्ग्यनिबन्धहरूमा प्रयोग गरे पनि तिनै शब्दहरूले व्यङ्ग्यले झर्झराउँदो बनाएको छ ।
उखानतुक्का गाउँ खाने कथा लोकोक्ति –
दिन भरि भुक्छ, रातपरे लुक्छ, फुटेको खप्पर, अभागीको सलाइको कान्छो काँटी पनि ओस्सिएको हुन्छ, अगुल्टोले हानेको कुकुर बिजुली चम्किँदा नि तर्सिन्छ, भुक्ने कुकुरले टोक्तैन, ढिँड़े दलको लिँड़े बल, माछो माछो भ्यागुता, गेरुवा देख्तै छेरुवा, हिलो कोट्याउँदा कोट्याउँदै पिलो कोट्याउन, ढिलो होस् छोरो होस्, नाच्नलाई मात छैन, टोक्नलाई दाँत छैन, भुँड़ेसकालमा चूक निल्छ, बुढ़ेसकालमा थूक निल्छ, टोक्ने कुकुर बइबोक्नु, भुँड़ीमा चौध सुइ बोक्नु, तिलेले बिराउँछ, खिलेलाई तिराउँछ, ढिलो होस् छोरो होस्, मेरा बाउ तेरा बाउ माछा मार्न गए, माछो माछो भ्यागुतो, आए आँप गए झटारो, नमच्चिने पिङका सये झट्का, लङ्कामा सुन छ कान मेरो बुच्चै, भ्यागुतो पुराण श्रवण, साँड़ेको जुधाई बाछाको मिचाई, राजाको गोजी, भरियालाई खोजी, घोंच्नु अघि सोंच्नुपर्छ, आ-आफ्नो किस्मत हर्क न विस्मात्, बाठाले पेल्छ, लाटाले झेल्छ, जसो जसो साहेब, तसो तसो बहादुर, पोहोर मरिन् सासु, ऐले आए आँसु, बटुका भरि मासु, उचाल्यो जुरुक्क, कान्छो फुरुक्क, कट्टु बिग्रिए पछि मात्र लोटा खोज्न थाल्छौं, जे फल्छ, त्यै चल्छ, मेरो गोजी, मेरो राजी तँलाई के को खोजी ?, उचाल्यो जुरुक्क, कान्छो फुरुक्क, ओखती त तितो-टर्रो हुन्छ, सुताहा गोरुले पनि बजारमा फुर्के नाउँ पाउँछ, कुटेजसो र रोएजसो, कुरामा कुरा चल्छ, छुरामा छुरा, प्रजाले यातना भोग्छ, राजाले प्रजालाई भोग्छ, दुनो सोझ्याउनु, लुकेर खाने सुकेर मर्छ रे, छिटो मान्छेले बिटो पार्छ, बरु नाङ्गो हुन्छ, बाङ्गो हुँदैन, साना मान्छेलाई सँधै दाउरो काँचो हुन्छ, बाल्न खाँचो हुन्छ, आफ्नो जीउ, आर्काको घिउ, दुनो सोझ्याउनु, माटाको पनि तिर्छ, बाटाको पनि तिर्छ, तात्तिएर गयो भने आत्तिएर आउनुपर्छ, लाशले पनि आश गर्छ, लाटो एक बल्डाङ लड़्दा बाठो जीन बल्डाङ लड़ेकै छ, अँध्यारोमा तीर चलाउनु र खीर चलाउनु पर्दैन, शब्दको गोली मुखले हानो, जसलाई लागो त्यसैले जानो, विरेधी (विरोधी)लाई छेड़्का नहानी थपड़ी पड़्किँदैनन्, सिल्लीलाई सबै ठाउँ दिल्ली, माओलो गाउँमा भानिज आयो, जहाँ पाक्यो उँही खायो, जस्तो बुद्धि, त्यस्तै शुद्धि, लंकामा सुन छु, घर बसी रुन्छ, बुद्धि जाने शुद्धि हुन्छ, लङ्कामा सुन छ , उतै गए हुन्छ, हुनुमानजीले पर्वत बोक्नु, पुर्पुरामा हात राख्नु, पुरानो भनेको पुरानै हो, भाग्येमा भएको काँहि जाँदैन, भाग्ये बाहिरको कसैले पाउँदैन, घाँटीको साङ्गलोलाई गहना सम्झिनु, खुच्चिङ पऱ्यो जङ्गले, आफ्नै ढङ्गले, वनमा धन छ, जस्को फन् (आर्ट) छ उसैले गन्छ, आँट गर्नेले ठाँट गर्छ, पापैको भए पनि धन भनेको लक्ष्मी हो, वनदेवता र धनदेवता सँगसँगै वस्ता रैछन्, बेलामा हेला गऱ्यो डल्लामा फेला पऱ्यो, जब समय अम्किन्छ, अनि कान्छो चम्किन्छ, बुढ़ेसकालमा मान्छेको उपनाम बढ़्छन्, बाँस न बाँसुरी, बुहारीले अण्डो फुटाउँदा नकच्चरी, छोरीले फुटाउँदा कठैबरी ! हाम्रो जात र कान उस्तै, घोंचो बोकेर होंचो खोज्नु, भालुलाई पुराण र आलुलाई कुरान, आमाको नाङ्लो, बच्चालाई गाड़ा, मुखमा बुजो, मुखमा रारा बगलमा..., मुखमा माड़ छैन..., खाने मुखलाई...., हात्तीका मुखमा जीरो, मुख चिलाउनु, मुख बङ्ग्याउनु, मुख फोर्नु, मुखले बोल्छ मुटुमा पोल्छ, मुक बन्द राखे दाँत जोगिन्छ, काना खाने मुख, दुख पाउने पेट, पाँजच साल मुख बायो हावा मात्रै खायो, ष्टाइल मार्नु, बात मार्नु, बुर्कुसी मार्नु, अऩिकाले मोरो कनिकाले टार्छ, एक्लो मान्छेसँग त हिजाज बाँदर पनि डराउँदैन, ठिहीमा दाउराको फोहोर कहाँ देखिन्छ ?, कटरका कोया छउँञ्जेल झुत्रा कसले देख्छ ?, सग्ला चामल छाउञ्जेल कनिकाको के मोल ? अँध्यारामा सबै रङ एकम त हुन्छन्, सम्पद कालमा हुरुक्क, विपद् कालमा लुरुक्क, पस्किएको अन्न्लाई हेला गर्नु हुँदैन, गैँड़ाको छाला घोंचेर घोंचिने भए त, बोली ठूलो, झोली दुलो, आँखा टट्याउनु आदि ।
क्रिया विशेषण –
क्वाप्पै, भुसुक्कै, टुप्लुकिन्छन्, छक्क, झनक्क, अँट्ठाउने, रुङ्दा रुङ्दै, झल्याँस-झल्याँस, पुल्यात्तै चिप्लाएर, छक्क, भक्क, ट्याक-टुक, टुप्लुक टुप्लुक, कोपरा-कोपरी, चिथोरा-चिथोरी, स्याउँस्याउँती, प्वाँक-प्वाँक, टिँट-टिँट, गर्ल्याम, खस्याक्-खुसुक्, खुस्रुक-खास्राक, पल्याक-पुलुक्, अगड़ङ-बगड़ङ, टाँस्सिएको-टाँस्सिएकै, हक्काँ-हक्काँ, साँक्साँक, सुँक्सुँक, टुक्र्क्क, ट्याप्प, सिनिक्क, ह्वाँ-ह्वाँ, मुसुमुसु, खल्यात्-खुलुत्, हिटिक्-हिटिक्, चहक्-महक, झिलिक्क मिलिक्क, ह्वास-ह्वास, कड़्याङ-कुड़ुङ, लुखुर-लुखुर, निफन्-नाफन् आदि ।
ठेट झर्रा शब्द-
भक्कु, ओखतिमूलो, चकम, आङ, भुत्रो, लिँड़े, डिङ्गुर, च्याँखे, लेठो, गजब, वर्सेनि, डुक्रिँदै, हक्काँ, उफ्रिई उफ्रिई, खसखस्, फल्यात्तै, अगरु, तुर्क्याउँदा, सरक्क, हाच्छयौं, त्यान्द्रो, मुड़्की, धुइँपताल, हुति, हतपत्त, डम्म, थेच्चारिने, खुच्चिङ, खुत्रुक्कै, ठेट्ने आदि ।
कथ्य शब्द (भाषा) –
तिनसए, गज्जप्, अम्किएको, एकै छिन्, छाप्छाप्ति, उप्पर, गज्ज्ब, पछेउरी, गुल्टिन्छन्, गरेउ, आच्छा, मर्त्येलोक, अच्छा, बुज्जकी, भा’छ, गरिरा’को जग्गा,दज पुरेतबा, त्यीनै,गर्दा रै छौ, रैछ, एताउति, रैछन्, कुन्नि, ओर्तिर, भैगो, हुइन्छ, यत्रा, अक्काश, होनि, थिये, पस्या छन्, पीटो, सत्येयुग, बित्थामा, भन्थेउ, बुझेउ, सुन्दिई, फाइनेल. गजधम्म, एसो, मनुस्से, बालख काल, च्यापत्ति, जसोपो, भन्द्या छु, बाउ, बोल्दाखेरी, अक्षेर, अम्किन आदि । निपात – बाब्बारे आदि ।
शैली
व्यङ्ग्यकारले आत्मपर र वस्तुपरक शैली प्रयोग गरेर व्यङ्ग्यनिबन्धलाई बान्किलो बनाएका छन् । व्यङ्ग्यनिबन्ध लेखनमा विशेष भाषिक युक्ति र शैलीको प्रमुख भूमिका रहेको हुन्छ । यिनै भाषिक युक्ति र शैलीगत आधारमा व्यङ्ग्यको सिस्नुपानीले समाजका तथाकथित मुखुण्डोघारीहरूलाई छेप्नुसम्म छेपेर व्य़ङ्ग्यलाई चटकदार बनाएका छन् ।
वैचारिक धरातल-
समाज, गाउँ-घर, शैक्षिक प्रतिष्ठान, सङ्ग-संस्था, राजनीति, सामाजिक, सांस्कृतिक तथा साहित्यक क्षेत्रमा देखा विसङ्गतिहरू गिद्द आँखाले हेरिरहने व्यङ्ग्यकार हुन्छन् । ती व्यङ्ग्यकारहरूको सूचीमा व्यङ्ग्यकार अर्जुन निरौलाको नाउँ ढुक्कै राख्दा कुनै टुटा प्रदैन । व्यङ्ग्यकारहरू नकराकत्मक विषयहरूमाथि आँखा डुलाउँछन् । जुन व्यङ्ग्यकारको दृष्टि नकरात्मकतर्फ गएको हुँदैन तिनले व्यङ्ग्य सिर्जना गर्न सक्दैन । व्यङ्ग्यकारहरू लोलोपोतो र जदौ हजूरी गर्न चाहँदैनन् । आफूले देखेका भोगेका र अनुभव गरेका विषय वा मुद्दालाई आफ्नो व्यङ्ग्यमा निर्भिक रूपमा, हाकाहाकी रुपमा प्रकट गर्नमा व्यङ्ग्यकार निरौलालाई खप्पिस देखिन्छ । व्यह्ग्यकारहरू भित्र खुसामदी गर्ने प्रवृत्ति ठ्याम्मै हुँदैन । यिनी सोझै व्यङ्गयमार्फत् समाजलाई मार्गगर्शन गर्न चाहने व्यङ्ग्यकार हुन् । यिनका व्यङ्ग्यहरूमा कल्पना. भावना चुत्ति खेलाइ पटक्कै पाइँदैन । भएकै वा भइरहेको घटनालाई चटक्कै टिपी व्य़ङ्ग्यको सिर्कनुले सोड़्क्याउँनु सम्मे सोड़क्याउँनु नै यिनका व्यङ्ग्य निबन्ध लेखनको वैचारिक धरातल हो । आफू बसेका समाजका अन्तर कुन्तरको फेदसम्मै पुगी अमिल्दा असङ्गति-विसङ्गति, बिब्ल्याँटा, उल्टापाल्टा र विद्रूपतालाई हण्टर लाउँदै त्यस्ता कुराहरू फेरि फेरि समाजमा नदोहिउन् भन्ने सन्देश दिन व्यङ्ग्यकार निरौला आफ्ना व्यङ्ग्यनिबन्धहरूमा हुटहुटिएको देखिन्छ ।
उद्देश्य
प्रत्येक व्य़ङ्ग्यकारका निबन्धमा हिङ नभए पनि हिङकै टालोका रुपमा पनि उद्देश्य रहेको पाइऩ्छ । यस सन्दर्भमा व्यङ्ग्यकार अर्जुन निरौला ठय्म्मै चुकेका देखिन्न । यिनका २९ वटै व्यङ्ग्यनिबन्धहरू साङ्गोपाङ्ग अध्यय मनन गर्दा, यिनले सामाजिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक यतिसम्म कि खेलजगत, मानवीय कमजोरी आदि विविध क्षेत्रका असङ्गतिलाई उदाङ्गो पार्दै विसङ्गतिमाथि घोचपेच/कटाक्षका माध्यमबाट त्यस दिशातर्फ सजग हुने उद्देश्य राखेका पाइन्छ ।
पुछारमा,
भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटलाई थाक्रो लाउन अहर्निश हुटहुटिरहने व्यङ्ग्यकार अर्जुन निरौलाको व्यङ्ग्यनिबन्धहरूमा हास्यव्यङ्ग्यको सैद्धान्तिक लक्ष्मणरेखाभित्रै रही व्यङ्यसाधन गरेका देखिन्छ । व्यङ्ग्यकार अर्जुन निरौला स्रष्टा र द्रष्टा भएका नाताले आफ्ना व्यङ्ग्य लेखनमा समाजमा देखा परेका बिब्ल्याँटाहरूमा सब्ल्याँटाहरू, अनैतिकता, विसङ्गति, असङ्गति, उच्छृङ्खल प्रवृत्तिमाथि विरोध प्रदर्शन गर्न ठ्याम्मै कञ्जुस्याइँ गरेको पाइँदैन । यिनका व्यङ्ग्यमा शिष्ट, सभ्य र टेसिला हास्य र टड़कारो व्यङ्ग्य छप्छप्ती पाइन्छ । समाजमा देखा परेका अमिल्दा, कटमिरा, डाँवाडोल, भद्रगोल, भाँड़भैलो रड़ीको मच्चाएको स्थितिलाई चिरिक् चिरिक् चिमोट्दै धृतराष्ट्र समाजको पट्टी खोली स्वस्थ, निर्मल समाज निर्माण गर्न हुटहुटिएको देखिन्छ । सैद्धान्तिक अवधारणामा आधारित रहेका यिनका व्यङ्ग्यनिबन्धहरूमा हास्य र व्यङ्ग्य दुवै तत्त्व समाविष्ट भएका छन् ।
सङ्ग्रहमा सङ्कलित २९ वटै व्यङ्ग्यहरू विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएको पाइन्छ । प्राय व्यङ्ग्यको शीर्षकमा उखानहरू प्रयोग हुनुमा पनि व्यङ्ग्य जोरदार मात्र होइन टेसिलो रसिलो मिठाइलो भएको छ । व्यङ्ग्यकार अर्जुन निरौलाको ‘चित्रगुप्तको गुप्तचित्र’ व्यङ्ग्य सङ्कलनमा सङ्कलित व्यङ्ग्यनिबन्धहरूमा हामीले भोगिरहेको विसङ्गत राजनीतिक, सामाजिक स्थितिको बिब्ल्याँटो चर्तीकलामाथि चढ़्कन लगाएको छ । हाम्रो गाउँ-घर, समाज मात्र होइन देशभित्र नै भइरहेको उत्पातमाथि गतिलो पाराले व्यङ्ग्य प्रहार भएको छ ।
भारतीय नेपाली हास्यव्यङ्ग्यको फाँटमा हास्यव्यङ्ग्य साहित्य भनेजस्तो मौलिन सकेको छैन । भारतमा व्यङ्ग्य लेख्ने व्यङ्ग्यकारहरू औँलामै गन्न सकिनेछन् । विशेष तथाकथित विद्वान साहित्यकारले हास्यव्यङ्ग्य साहित्यलाई हल्का, फुल्का मानेर तिनको परवाह नै नगरेकाले पनि धेरै व्यङ्ग्यकारहरू यस दिशादेखि पन्छिएको देखिन्छ । भारतीय नेपाली हास्यव्यङ्ग्य फाँटको यस्तो कहालिलाग्दो अवस्थामा व्यङ्ग्यकार अर्जुन निरौलाले निरन्तर व्यङ्ग्य लेख्नाका साथै हास्यव्यह्ग्य कृति प्रदान गरेर बिर्सिनै नसकिने गुण लाएका छन् । यसको निम्ति व्यङ्ग्यकार अर्जुनजीकन भक्कु शुभेच्छा ।
हास्यव्यङ्ग्य फाँटमा यिनको कलम निरन्तर चलिरहोस्....अनि आउँदा दिनमा यिनका गहकिलो, महकिलो र टेसिलो हास्यव्यङ्ग्य कृतिहरूको अपेक्षामा ।
सिलिगुड़ी भारत