“गाँस छोड़्नू साथ नछोड़्नू” भन्ने बूढ़ापाकाको भनाइ हण्ड्रेड पर्सेण्ट स्वीकार गर्दै मैले पनि सखीहरूसि साथ नछोड़्ने कसम खाएकी छु। सखीहरू भनेका अमूल्य सम्पत्ति हो। धन गुमे फेरि कमाउन सकिन्छ तर सखी गुमे त्यस्तो आँत मिल्ने मन मिल्ने सखी पाउनु गाह्रो पर्छ। सखीहरू उत्साह जोशका क्यापसुल हुन्। उनीहरूले जीवनमा सुक्न लागेको जोश उत्साहलाई उकेरा लगाई जीवनमा उठ्ने हौसला दिन्छन्। सखी भनेको आँसुलाई हाँसोमा परिणत गर्ने रामवाण हो।
तर कतिपय सखीहरू भने थाहै नपाई पछि लागेर नजानिँदो पाराले वाधा उत्पन्न गरिरहेका हुन्छन्। खसी किन्नु मान्छे चिन्नु भने झैँ अचेल सखी पनि हेरेर मात्र, बुझेर मात्र बनाउनुपर्ने नितान्तै आवश्यकता देखिन्छ। औँला दिँदा डुड़ुल्नु निल्न तम्सिने सखीहरू मापाकी हुन्छन्। उनीहरूलाई किटी पार्टी, छुट्टीको बेला फारसतिर तिर गएर मद्यपान तथा कुनै बड़े ब़ड़े होटलतिर लगिएन भने यस्ता सखीहरू लामोसमयको निम्ति टाढ़िने गर्छन्। यस्ता सखीहरू ख्वाइञ्जेल वा दिइञ्जेल मात्र खाँटी सखीको अभिनय गरि टोपल्छन्....तर दिनु खाउनु बन्द गरे यस्ता सखी पर...पर पन्छिने गर्छन्।
हेर्दा अत्यन्तै मिलनसार देखिने यी सखीहरू भने भित्र भित्रै जरा काट्ने पनि हुन्छन्। मेरा एकजना सखीले मलाई औधी माया गर्छिन्। मलाई हर हमेसा उत्साह जोश दिइबस्छिन्। मैले लेखेका रचनालाई गाउँका अन्य मानिसहरूमाझ यति जोरले प्रशंसा गरेर मलाई माथि पुऱ्याउँछिन्। मलाई गर्व लाग्छ। मेरी सखीको मप्रतिको यस्तो माया स्नेह देख्दा। मेरो दुःखमा उनी आफन्तभन्दा धेर दुःखी हुन्छिन्। घरमा जे पकायो तुरुन्तै लिएर आउँछिन् अनि मैले पकाएकी कुरो लिएर जान्छिन्। अर्थात् यसो भनुँ, मैले बनाएको कुरा उनको मुखमा परेन भने दिनभरि के नखाको जस्तो अनुभव हुन्छन् भन्ने कुरा मलाई सुनाउँदा मेरी सखीलाई कस्तो माया लागेर आउँछ। तर एकदिन अचम्मको कुरा सुनेँ। मलाई अन्धो सप्रोर्ट गर्ने मेरा यी स्नेही सखी भित्र भित्रै मसित जल्दा रहिछन् भन्ने जान्न पाउँदा रिस होइन भुँड़ी फुटुञ्जेल हाँस्न मन लाग्यो। कुरो के भने, मेरो छेउमा अरुलाई मेरो सिर्जनाबारे यति ठूलो प्रशंसा गर्छिन्, यसले दामी कविता, व्यङ्ग्य लेख्छे नि। परै लेख्नुमा कस्तो छ अन्त। यसलाई उछिन्ने यो गाउँ त के अन्त कतै यो जस्तो छैन। यल्लाई लेख्नु पनि कहाँबाट आएको त्यस्तो? होइन यसको लेखाइमा चाहिँ देवी सरस्वतीको वास भएका हुनुपर्छ। नत्र यस्तो भयङ्कर भयङ्कर कहाँबाट लेख्नु सक्छ हई? खै हामीलाई त लेख्नु भनेपछि अल्छी पो लाग्छ। जति लेख्ने कोशिष गरे पनि एउटा शब्द लेख्नु आए ता के!
सखीको यो प्रशंसा सुन्दा साँच्चै आफूलाई गर्व लाग्छ। एकदिन सुनेँ, मेरो प्रशंसा गर्ने मेरी सखीले एकजनालाई भनिछन्, त्यसले कहाँ लेखेको हो र? लेखिदिने अरु नै कोही छन् नि। अर्काले लेखिदिएर फुटानी देखाउँछे त्यसले।
यो कुरो मेरो कानसम्म आइपुग्यो। तर यस्ता थोत्रे कुरालाई एउटा कानले सुनेर अर्को कानले उड़ाइदिँ। मलाई कुरा सुनाउनेको कुरा एक मनले ठिकै पनि लाग्यो। तर फेरि अर्को मनले भन्यो यिनले व्यर्थमा भनेकी हो। हुन पनि हो कसको कुरा पत्याउनु? कसको नपत्याउनु? तर मेरी सखीले यी कुरा भनेकै हुन् भन्ने कुरो मेरो सिक्स सेन्समा थुरियो। खै! कसलाई बुझ्नु! कसरी बुझ्नु! मान्छेको मनभित्र के छ कसरी बुझ्नु! मेरो मनै मानेन। सखीको घर पुगेँ। मलाई देख्ने बितिक्कै उनले मलाई अँगालोमा बाँधेर म्वाइँ खाइन्। मैले पनि उनलाई बाहुपाशमा कसेँ...म्वाइँ खाइदिएँ। चिया खाएर जाने अनुरोध गरिन्। म मानेकी थिइनँ। तर जबरजस्ती गरेकीले उनीसित झण्डै चार-पाँच घण्टा बिताएँ।
उनैले कुरा निकालिन्। मेरो लेखाइबारे गर्नु सम्म प्रशंसा गरिन्। मलाई केही जस्तो भएन। ती सबै सखीको फोस्रो प्रशंसा हो भन्ने बुझेँ। मैले कुनै रिएक्सन देखाइऩँ। जति जति उनलाई हेर्छु उति उति यी मेरी सखीसित घिन लागेर आउन थाल्यो। यस्ता सखीसित जोगिएकै राम्रो वा टाढ़िएकै राम्रो भनी हिजोआज म तर्किन थालेकी छु।
कतिपय सखीहरू मिलनसार देखिए पनि भित्रभित्रै जरा काटी सबै सामु बदनाम गर्ने सखी नपाइने होइन। यो व्यवहार तपाईमाथि पनि लागु हुन्न भन्न सकिन्न। खासम कतिपय सखीहरू ता आफ्नै आँतकी सखीको उऩ्नति र प्रगति हेर्न सक्दैनन्। आफू पनि केही गर्न सक्दिनन् अरुले गरेकी पनि सहन नसक्ने सखीलाई म धरतीको बोझ अन्नकै भारी मात्र ठान्छु।
सखी सखी भनेर मात्र हुँदैन रहेछ। सखीले भित्रभित्रै जरा खनेर गाउँ-घरमा दुर्नाम गरिहिँड़ेकी देख्दा वा सुन्दा यस्ता सखीलाई पन्छाएको राम्रो भन्ने ज्ञान हासिल गरेकी छु। मेरो अघिल्तिर प्रशंसा अनि मेरो पछिल्तिर मेरै पछि लाग्ने सखी जस्तै तपाईका पनि सखी होलान्...यस्ता सखीबाट दस हात टाढ़ा बसेकै राम्रो।
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)