ठुलो जीउडाल, बोलीमा गाम्भीर्य, उमेरअवस्थाले प्रौढ, उसको गुरूको पहिचान यही थियो । जीउडाल, विद्वता र वैचारिक अडानलाई हृदयंगम गर्दै ऊ आफ्ना गुरुप्रति असीम श्रद्धा प्रकट गर्दथ्यो । गुरुका प्रत्येक शब्दलाई ऊ मन्त्र सम्झन्थ्यो । गुरुवाणी सुन्न हरदम लालयित हुन्थ्यो । जीवन र जगतको ऐतिहासिकताका बारेमा उसले गुरुबाट धेरै कुरा सिकेको थियो । कुनै पनि वस्तुतथ्यलाई द्वन्द्वात्मक कोणबाट विश्लेषण गर्ने गुरुको प्रवचन कलाबाट पनि ऊ प्रभावित थियो । जीवनसत्यलाई बोध गर्नका लागि ऊ कहिलेकाहीँ गुरुको आश्रममा पुग्ने गर्थ्यो । खँदिला तर्कहरु सुन्न पाउँदा मक्ख पर्दै गुरूको अनुहारमा पुलुक्क हेर्थ्यो । उहाँका गालाभरि उम्रिएका सेता दारी देख्दा उन्नाइसौं शताब्दीका महान् विचारक कार्ल मार्क्सलाई सम्झँदै गौरवको महसुस गर्थ्यो ।
जातले ब्राह्मण भए पनि उसका गुरु जातभात मान्दैनथे । यही प्रगतिशीलताकै कारण ऊ गुरुको अनुयायी बनेको थियो । ऊ पनि गुरुकै सजातीय थियो । ब्राह्मणहरुले जनै धारण गर्ने र अन्य अधिकांश जातिले नगर्ने प्रचलन भएकाले जनै भिरेकै कारण ब्राह्मणहरुले आफूलाई महान् ठान्छन् फलस्वरुप जातीय विभेद सिर्जना हुन्छ त्यसैले जातीय समानताका लागि ब्राह्मणहरुले जनै धारण नगर्नु नै बेस भन्दै गुरु स्वयंले जनै फालेको कुरा सुनाएपछि ऊ आफ्ना गुरुप्रति नतमस्तक भयो । गुरुको क्रान्तिकारितालाई उच्च सम्मान गर्दै उसले पनि व्रतबन्ध नै नगरीकन बिहे गर्यो । गुरुकै भौतिकवादी व्यवहारलाई शिरोधार्य गर्दै शताब्दीऔंदेखि चलिआएका पूजाआजा तथा चाडपर्वहरु मान्न छाडिदियो ।
गुरुकको संगतबाट ऊ टाढिन चाहँदैनथ्यो त्यसैले थोरै समयको फुर्सद पाए पनि गुरूको आश्रममा पुगिहाल्थ्यो । एउटा समय जुन वर्षामासको थियो, त्यही समयमा व्यावहारिक सत्यबोधका लागि ऊ गुरुआश्रममा पुग्यो । गुरुको मुखारविन्दबाट उसले जीवन र जगत्का यथार्थबारे धेरै कुरा बुझ्यो । त्यस दिन ऊ अलि बढी समय आश्रममा बस्यो । गुरु सेतो गन्जी र खैरो लुँगीको पहिरनमा थिए । गुरुको काँधमा उसले पहेँलो रङ्गको डोरो देख्यो । डोरो अधिकांश ब्राह्मणहरुले लगाउने औसत आकारभन्दा केही मोटै थियो । उसले त्यो देखेको नदेख्यै गर्यो । आफ्ना श्रद्धेय गुरुसामु मुख खोलेर केही भन्न सकेन । केही बोलेर गुरुको स्वाभिमानमा चोट पुर्याउन पनि चाहेन तर मनमनै भने सोध्यो उसले, "गुरु ! यी सिद्धान्तहरु व्यवहारमा लागू गर्नका लागि बनाइएका हुन् कि भाषणका लागि मात्र ?"
ज्याग्दीखोला, स्याङ्जा, हाल : पोखरा- १७