18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुबो र शीत

कविता लोक सुब्बा May 13, 2024, 4:25 pm
लोक सुब्बा
लोक सुब्बा

क्रमशः उज्यालो निभाएर
रात अँध्यारोको पातलो ओड्नेभित्र लम्पसार सुतिरह्यो,
ऊ भित्र गर्मी उठ्यो
रात उकुस मुकुसमा च्यादरमा पल्टिरह्यो
पल्टिएर अड्किरह्यो।

अँध्यारो गुम्सिएको गर्मी त हो
रातका पसिनाहरु शीतका थोपा भएर
लछ्रप्प भिजाउँछन्
हरिया फाँट र चौरहरु
हरिया हरिया टारहरु ।

शीत आफै गर्मीको चिन्हो पनि त हो
नासो हो रातको।
छुँदा चिसो हुन्छ
धर्तीले छुन्छ, धर्ती कक्रिन्छ।
निलो निलो आकाशपनि चिसिएकै छ
कक्रिएकै छ।

कति रहरलाग्दा छन् शीतका थोपाहरु
दुबोका धारिला धारिला पातहरु माथि ।
टिप
ती त्यसै झर्छन्
झर्नु सिवाय जान्दैनन् ती।
अरु त उसले सिक्नु पनि हुन्न।
टिप
टिप ती शीत
आखिर ती रातको दाइजो न हो।

दुबो धारिला छन् ,
अझ धारिला छन् पात पनि
हरियो छन्
हरियो नै रहन्छ
रातमा सुते पनि।
रातले आँखा मिचेर वबदाईको स्वास छोडेपनि
दुबो हरियो नै छ
हरियो नै रहन्छ
सधैंसधैं।

शीत हरिया पातमाथी टल्किन्छन्
पात कोल्टे परे पछि बेच्छन्
आपनो रुप, आपनो रङ
फ़ुङ्ग उडाएर आफ्ना रङ !
बिहानीका हत्केलाले धरती सुम्स्याउँदा
शीत लोलाउछन् पनि गलेर।

हरित जिन्दगी हो दुबो
उ घाममा पनि जीवन्त छ
जीवन्त छ शीतमा पनि
हरियो छ अँध्यारोमा पनि
सिकेको छैन गल्न उसले।

घाम हाम्फाल्दै धर्ती झर्दा
शीत पग्लिएर जमिन छुन्छ
दुबो मौलाउदै हाँस्छ
फैलिदै नाँच्छ
नाँच्दै फैलिन्छ।

शीत त मात्र दाइजो न हो रातको
उसको आगमन र प्रतिगमनमा पनि
दुबो हरियो नै हुन्छ
हरियो नै रहन्छ,
हरियो नै उभिन्छ।

बर्गेन, नर्वे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।