17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पवित्रा रेग्मी (अधिकारी) को साहित्यिक कर्मः एउटा विमर्श

कृति/समीक्षा डा.राजकुमार छेत्री May 3, 2024, 3:27 pm
डा.राजकुमार छेत्री
डा.राजकुमार छेत्री

पवित्रा रेग्मी (अधिकारी)-दार्जिलिङे नेपाली समाज र साहित्यको निम्ति त्यति अपरिचित र सुन्दै नसुनिएको नाम भने अवश्य होइन। पवित्रा रेग्मी अधिकारी हुन अघिदेखि नै नेपाली साहित्यमा केही लेख्नुहुन्थ्यो, पछि रामलाल अधिकारीसित वैवाहिक जीवनमा गाँसिएपछि त उहाँको साहित्यिक लेखनले अझ तीब्र गतिपथ समात्यो। पवित्रा रेग्मीकै नाममा नारी विषयक केही लेख-निबन्धहरू दैनिक र सामयिक पत्रिकादितिर पढेको हुँ मैले, तर उहाँसित मेरो व्यक्तिगत परिचय भने त्यसबेला थिएन। व्यक्तिगत परिचय त सन् १९९३ सालपछि नै भएको हो, त्यसबेलासम्म उहाँ सुश्री पवित्रा रेग्मीबाट श्रीमती पवित्रा रेग्मी अधिकारी बनिसक्नु भएको थियो।

सन् १९९३ सालको अप्रेल महिनातिरको कुरो, खरसाङ कलेज, नेपाली विभागले समकालीन भारतीय नेपाली कविताका प्रवृत्ति विषयमा एकदिन राष्ट्रीय स्तरको साहित्य सेमिनार आयोजन गरिने भएको थियो। दार्जिलिङ सरकारी महाविद्यालय, नेपाली विभाग र विशेषगरी प्रा. रामलाल अधिकारी सरलाई एकजना टिप्पणीकारको रूपमा निम्तो गर्नका निम्ति दार्जिलिङ सरकारी कलेज पुग्न सेमिनार आयोजन समितिले मलाई अभिभारा दिएको थियो। त्यसबेला म सेमिनार आयोजन समितिको संयोजक भएको हुनाले मेरो कमजोर काँधमा एउटा गह्रौं जिम्मेवारी पनि छँदै थियो। आफ्नो जिम्मेवारी पालन गर्न सेमिनारमा निम्तो गर्न र रामलाल सरलाई टिप्पणीकारको रूपमा भूमिका निर्वाह गरिदिने भन्ने दुईवटा बेग्लाबेग्लै निवेदन पत्र बोकेर खरसाङबाट दार्जिलिङ आएँ। प्रा. रामलाल अधिकारी सरलाई खोज्दै दार्जिलिङ सरकारी महाविद्यालयको नेपाली विभागमा प्रवेश गरें। सौभाग्यले प्रा. अधिकारी सरसित भेट भयो, सर त्यस दिन बाहिर कतै कुनै कार्यक्रममा जानका निम्ति निस्कन लाग्नु भएको रहेछ। मैले आफु खरसाङ कलेजबाट आएको र आउनुको उद्धेश्यहरू संक्षेपमा बताएपछि सरले स्विकृति जनाउँदै सेमिनारमा अनर्सका विद्यार्थीसमेत लिएर आउने प्रतिश्रुति दिनुभयो। यसै समय सरकै कार्याकक्षमा एकजना भद्र महिला श्रीमति पवित्रा रेग्मीसित पनि मेरो परिचय गराइ दिनुभयो। त्यसैदिन थाहा भयो उहाँ रामलाल अधिकारी सरकी दोस्रो श्रीमती हुनुहुँदो रहेछ। यसरी दा.स.म.को नेपाली विभागमा नै पवित्रा रेग्मी अधिकारीज्यूसित मेरो पहिलो औपचारिक परिचय भएको हो।

उत्तर बङ्गाल विश्वविद्यालयमा एम. ए. पढ्न झरेपछि र पछि एम. फिल र पिएच. डि. शोधकार्यमा संलग्न भएपछि त रामलाल अधिकारी र उनको परिवारसित सम्बन्ध अझ गहिरियो र भेटघाट पनि निकै बाक्लियो। अधिकारी सरको सुपुत्र राजीव लोचन र म एम. ए. प्रथम वर्षमा छ महिनाजति सँगै पढेर त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय, काठमाडौं गएका थिए। रामलाल सर र परिवारको आत्मीयता र आफ्नोत्व उहाँहरूको मृत्युपर्यन्त रहिरह्यो। रामलाल सर र पवित्रा गुरुआमा (दिदी)-सित उहाँहरूको निजी गाडीमा चढेर नेपाललगायत सिलगढी-दार्जिलिङमा आयोजित धेरैवटा साहित्यिक कार्यक्रमहरूमा सहभागी बनेको छु। थुप्रैपल्ट पारिवारिक चिया-चमेना पार्टीहरूमा आमन्त्रित र सहभागी बनेको छु। यसैले होला परिवारकै सदस्यै सरह मैले पनि अधिकारी परिवारबाट माया र सद्‍भाव पाएको छु।

प्राप्त जानकारी अनुसार पवित्रा रेग्मीको जन्म कचहरी क्षेत्र, दार्जिलिङमा भएको हो। नेपाली साहित्यमा स्नातकोत्तर स्तरसम्म अध्ययन गर्नुभइ दार्जिलिङ कचहरीमा कार्यरत् हुनुहुन्थ्यो। प्रायः पन्ध्र वर्षजति आर्य- प्रातः उच्च विद्यालयमा अंसकालीन शिक्षिकाको रूपमा शिक्षण कार्य गर्नुभएकी रेग्मीले प्रायः अठार महिनाजति नेपाली विभाग, दार्जिलिङ सरकारी महाविद्यालयमा पनि अवैतनिक रूपमा शिक्षण कार्य गर्नु भएकै हो। नाट्य लेखन र अभिनयमा अत्याधिक अभिरूचि भएकाले सन् १९७० सालदेखि नै दार्जिलिङमा मञ्चन भएका विभिन्न नाटकहरूमा आफ्नो अभिनय प्रस्तुत गर्दै यसै अवसरमा सर्व भारतीय स्तरको नाटक प्रतियोगिता ईलाहाबादमा समेत नाट्य अभिनय गर्नु भएको पनि जानकारी पाइन्छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, भारतीय नेपाली नारी साहित्यिक मञ्च-वसुधा तथा कलाकार सङ्गठन, दार्जिलिङका आजीवन र सक्रिय सदस्य रहनु भएकी रेग्मीले आकाशवाणी खरसाङ केन्द्रबाट सन् अस्सीको दशकदेखि विभिन्न समसामयिक विषयमा रेडियो वार्ता दिँदै आउनु भएको हो। हालसम्ममा उहाँका दुईवटा सिङ्गो साहित्यिक कृति र एउटा सम्पादिक कृति गरी जम्मा तीनवटा गहकिला कृतिहरू प्रकाशनमा आइसकेका छन्।

पवित्रा अधिकारीज्यूसित परिचय भएदेखि नै म उहाँलाई गुरुआमा भनेर सम्बोधन गर्ने गर्थें । तर पवित्रा गुरुआमा भने ‘दिदी भनेर बोलाउनु होस् न, भाइ’ भनेर भनिरहनु हुन्थ्यो। ‘गुरुआमा’ भन्दै आएकोले मलाई भने साइनो (सम्बोधन) बदली गरी ‘दिदी’ भन्न मुखै लाग्दैनथ्यो। पछि म पनि दार्जिलिङ सरकारी महाविद्यालयमा रामलाल सरकै सहकर्मी हुन आइपुगेपछि भने घरमा भेट्दा ‘दिदी’ र विभाग वा कार्यालयमा चाँही ‘गुरुआमा’ भनेर सम्बोधन गर्ने गर्थें म। दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर कक्षा सञ्चालनमा आएदेखि नै रामलाल सरले मलाई पनि नेपाली विभागमा ल्याउन सकिए अर्थात् तान्न सकिए, स्नातकोत्तर नेपाली विभागको सम्बद्धर्न र विकास हुने थियो र काम गर्न पनि सजिलो हुने थियो, भन्ने जस्तो किसिमको धारणा राख्नु भएको कुरा सरको देहवसानपछि पवित्रा दिदीबाट मैले धेरैपल्ट सुनेको हुँ । अतः म दार्जिलिङ सरकारी महाविद्यालयको नेपाली विभागमा पूर्णकालिक प्राध्यापकको रूपमा आवोस् भन्ने सरको चाहना थिएछ। यसमा सरको पारिवारिक स्वार्थ पनि लुकेको कुरो, पछि पवित्रा गुरुआमा र अरू केही सज्जनबाट पनि सुनें र बुझें। तर रामलाल सरले चाहदैँमा र सरको भान्सा घरको टेबलमा कुरा गर्दैमा यो सब सम्भव हुने कुरो थिएन नै। दार्जिलिङ सरकारी महाविद्यालयमा नियुक्त हुनका निम्ति पश्चिम बङ्गाल लोक सेवा आयोगले निर्धारित गरेको अन्तर्वार्ता उत्तीर्ण गरेर मात्र आउन सम्भव थियो र छ ।

रामलाल सरले दार्जिलिङ सरकारी महाविद्यालयको स्नातकोत्तर नेपाली विभागमा प्राध्यापकका रूपमा हेर्न चाहनु भएको त्यो साँचो चाहना, कामना र आशीर्वादले पनि काम गरेको हो वा मलाई यहाँको दाना-पानी खानु लेखिएकाले हो, अनन्तः सन् २००४ देखि यसै महाविद्यालयको नेपाली विभागमा स्थायी नेपाली विषयको गुरुबाबु हुन आइपुगें। अचम्मको संयोग के पनि परेको रहेछ भने, म जन्मेकै साल अधिकारी सर दार्जिलिङ सरकारी महाविद्यालयमा गुरुबाबु बन्न आइपुग्नु भएको रहेछ भने अधिकारी सर देहवसान भएको साल र महिना पश्चिम बङ्गाल लोक सेवा आयोग (WBPSC)-को अन्तर्वार्ता उत्तीर्ण गरी नियुक्ति पाएर स्थायी प्राध्यापकको रूपमा स्नातकोत्तर नेपाली विभागमा प्रवेश गरें। रामलाल सरले सिलगढीको कृष्णमाया हाई स्कूल छोडेर दार्जिलिङ सरकारी महाविद्यालय आउनु भएको थियो भने म पनि रामलाल सरले जस्तै सिलगढी उत्तरबङ्ग विश्वविद्यालय र युजीसी शोध-छात्रावृत्ति छोडेर दार्जिलिङ सरकारी महाविद्यालयमा गुरुबाबु हुन आइपुगें। अधिकारी सरलाई मैले पछ्याउँदै आएको हो या त संयोग त्यस्तै परेको हो, म आज त्यसै भन्न सक्तिनँ। अधिकारी सरले बाडुली, दियालो, पाइन्स एण्ड क्यामेलियाजको सम्पादन गर्नुभयो भने कालान्तरमा मैले पनि यी तीनै पत्रिकाको सम्पादन गर्ने अवसर पाएँ, पाएको छु।

सन् २००१ साल जनवरी-फरवरी महिनातिरैको कुरो हो यो, रामलाल अधिकारी सरको निसंस्मरण सङ्ग्रहलाई वर्ष २००० सालको निमित्त साहित्य अकादमी पुरस्कार प्रदान गरिने समाचार सुनचरी दैनिकमा पढिएको थियो। एकदिन अपराह्नतिर पवित्रा रेग्मी दिदीले उहाँहरूको अप्पर बागडोगरास्थित बागडोगरा लजमा डाक्नु भयो। मलाई पनि सरलाई भेटेरै अग्रीम बधाई दिनु पनि थियो, यसैले म उहाँहरूको निवास बागडोगरा लज गएँ। रामलाल सरसित निकै लामो समय बिताउने, साहित्यिक र शैक्षिक विषयमा विचार-विमर्श गर्ने पनि मलाई सुनौलो अवसर जुर्‍यो। यसैबेला अधिकारी सरले आफ्ना केही नयाँ-पुराना कृतिहरू र पवित्रा दिदीले पनि आफ्नो पहिलो प्रकाशित कृति नारी अवधारणाको एकप्रति मलाई उपहार स्वरूप प्रदान गर्नु भएको हो। यसै अवसरमा पवित्रा गुरुआमाले अधिकारी सरको साहित्यिक योगदान र अकादमी पुरस्कारबारे पुस्तक तयार गर्ने योजना रहेको कुरो गर्नु भयो र मबाट सक्दो सहयोगको अपेक्षा राख्नु भयो। मोटामोटी रूपमा त्यसैबेला सन् १९७७ देखि सन् २००० सालसम्मका साहित्य अकादमी पुरस्कारले पुरस्कृत दुई दर्जन कृतिहरूको एउटा गहकिलो समीक्षात्मक सङ्ग्रह बनाउने योजना तयार भएको हो। यस भेटपछि पवित्रा दिदीले म बाहेक अरू केही साथीहरूलाई पनि यस परियोजनाबारे भन्नु भएको मलाई जानकारी छ। यसै कामको लागि पछि पनि दुई-तीनचोटी जति डाक्नुभो तर यस योजनाको निम्ति दिदीले सोंचे र चाहे जस्तै मैले समय दिन सकिनँ। मेरो एम.फिल र पिएच. डि. शोधकार्य एकैसाथ चलिरहेकोले चाहेभन्दा म निकै व्यस्त थिएँ त्यसबेला। एम.फिल शोधप्रबन्धको अन्तिम टङ्कन चलिरहेको थियो भने पिएच.डि. शोधप्रबन्धको पहिलो खेस्रा यसै वर्षभित्रमा मैले मेरो शोध-निर्देशकलाई बुझाइसक्नु पर्ने विभागीय ताकेता पनि आइरहेको थियो। यसैले मैले चाहेरै पनि दिदीको योजनामा सतप्रतिशत सक्रिय रहन र सहयोगको हात बढाउन सकिनँ। अरू एक-दुई साथीहरू भने ज्यान दिएरै लागिपरे, उनीहरूसित प्रशस्त समय र उत्साह दुवै थियो, जो मसित थिएन। म आफ्नै धुनमा, आफ्नै काममा निरन्तर एकोहोर लाटाजस्तो लागेको थिएछु।

दार्जिलिङस्थित रूपनारायण सिन्हा छात्रावास र बागडोगरास्थित बागडोगरा लजको भान्सामा पाकेको तातो-चिसो धेरैपल्ट खाएको छु। अनेकपल्ट पारिवारिक चिया-चमेला र भेलाहरूमा आमन्त्रित बनी सहभागी बनेको छु। सयौं किलोमिटर सरको कार र मोटर साइकलमा कुदेको छु। अनेकन प्रश्नहरू रामलाल सरलाई सोधेर वाक्क बनाएको छु भने अनेकौं प्रश्नहरूको उत्तर ठीकसित दिएर श्याबासी पनि कमाएको छु। दार्जिलिङ सरकारी महाविद्यालयमा रामलाल सर र पवित्रा दिदीसित मैले पनि एक ढेड वर्षजति सहकर्मी भएर काम गर्ने मौका पाएको छु। उहाँ सन् २००४ र २००५को सुरुको केही समय स्नातकोत्तर नेपाली विभागमा अवैतनिक अंशकालिक प्राध्यापकको रूपमा कार्यरत् हुनुहुन्थ्यो। शिक्षण कार्यमा उहाँको औधी रूचि थियो, यसैले त भ्याइ-नभ्याइ भए पनि स्नातक तहका विद्यार्थीलाई कक्षा लिन पुग्नुहुन्थ्यो। हाम्रो कक्षाहरू पनि मागी मागी लिनुहुन्थ्यो तर शिक्षण कार्यमा भने उहाँलाई कसैबाट एक कप्टेरो जस थिएन।

आज यतिका वर्षपछि पवित्रा रेग्मीबारे केही कुरा लेख्ने सम्बन्धमा भारतीय नेपाली नारी साहित्यिक मञ्च वसुधाको पक्षमा वसुधा पत्रिकाको दोस्रो अङ्कको निम्ति आदरणीय दिदी श्रीमती विन्द्या सुब्बा र डा. साङ्‍मू लेप्चाज्यूबाट अनुरोध पत्र आउँदा उहाँका कृतिहरू फेरि एकचोटी खोजी गरी अध्ययन-मनन गर्ने कोशिश गरियो। हालसम्म प्रकाशित उहाँका तीनवटा साहित्यिक कृतिहरूमध्ये नारी-अवधारणा भने कति खोज्दा पनि पाइएन। लेखिकाबाटै उपहारस्वरूप पाएको किताब पनि खोजेको बेला प्राप्त गर्न सकिएन। यसैले यस लेखमा उहाँद्वारा सम्पादित कृति साहित्य अकादमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य र भारतीय साहित्यका निर्माता रामलाल अधिकारी (मनोग्राफ)-बारे सङ्क्षेपमा प्रकाश पार्ने कोशिश गरेको छु।

सन् २००१ को दिसम्बर महिनातिर कै कुरो हुनुपर्छ, पवित्रा दिदीबाट आफूले थालेको योजना साहित्य अकादमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य शीर्षकमा पुस्तक तयार हुन लागेकाले त्यस पुस्तकको निम्ति सन् १९८६ सालको निम्ति साहित्य अकादमी पुरस्कारले विभूषित शरद् छेत्रीकृत चक्रव्यूह कथा सङ्ग्रहबारे एउटा गहकिलो समालोचनात्मक लेख लेख्नका निम्ति मलाई आदेशपरक अनुरोध गर्नुभयो। एक सप्तहापछि आफुले सके र भ्याए जति अध्ययन गरी शरद् छेत्रीको कथाकारिता चक्रव्यूहः कथासङ्ग्रहको सन्दर्भमा शीर्षकमा एउटा समालोचना लेखेर पवित्रा दिदीलाई सुम्पिएँ। अन्तिम चरणमै भए पनि एउटा लेख लेखेर दिदीले लिनुभएको गुरु गम्भीर परियोजनामा सहभागी बन्न सकेकोमा आफैलाई धन्य ठानें। अतः पवित्रा रेग्मी (अधिकारी)-द्वारा सम्पादित यस ग्रन्थमा सन् १९७७ सालमा साहित्य अकादेमी पुरस्कार प्राप्त कृति नेपाली उपन्यासका आधारहरूदेखि लिएर सन् २००१ सालका निम्ति पुरस्कृत कृति आहात अनुभूतिसम्म जम्मा पच्चीसवटा कृतिबारे समीक्षात्मक विश्लेषण र मूल्याङ्कन गरिएको छ। यस परियोजनामा पवित्रा रेग्मीका अतिरिक्त गोपालप्रसाद भट्टराई, लक्खीदेवी सुन्दास, जस योञ्जन प्यासी, कृष्णचन्द्रसिंह प्रधान, मोहन पी. दाहाल, सुजातारानी राई, ईश्वर बराल, मणिप्रसाद राई, राजकुमार छेत्री, राजकुमारी दाहाल, जीवन नाम्दुङ, ललिता राई अहमद, भीमकान्त उपाध्याय, गौतम विश्वास, इन्द्रबहादुर राई, कमला सांकृत्यायन, दिवाकर प्रधान, सञ्जय बान्तवा, आनन्द खडका, नवीन पौड्याल, शरद छेत्रीका गहकिला र प्राज्ञिक तहका समालोचनामूलक अध्ययन पत्रहरू समाविष्ठ रहेका छन्।

यस सम्पादित कृतिमा पवित्रा रेग्मी दिदीका मत्स्येन्द्र प्रधानकृत नीलकण्ठ र मणिप्रसाद राईकृत वीर जातिका अमर कहानी कृतिबारेका दुईवटा समालोचना सङ्गृहीत छन्। यसका साथै पवित्रा रेग्मीले आफ्ना ‘भाषा आन्दोलनको सङ्क्षिप्त इतिहास’ र ‘साहित्य अकादमी र नेपाली भाषा’ शीर्षकका दुईवटा सर्वेक्षणात्मक प्रकृतिका लेखहरू पनि समावेश गर्नु भएको छ। नीलकण्ठः एक सङ्क्षिप्त अध्ययन शीर्षक लेखमा उपन्यासकार मत्स्येन्द्र प्रधानको औपन्यासिक लेखनशिल्प तथा नीलकण्ठको औपन्यासिक वस्तु र पात्र-विधानबारे निकै गम्भीर विमर्ष प्रस्तुत गरिएको छ। विवेच्य नीलकण्ठ उपन्यासको विविध पक्षको विश्लेषण गर्दै मूल्याङ्कनमा एक ठाउँ यसरी लेख्नु हुन्छ- ‘नीलकण्ठ उपन्यासको नामकरण नै प्रतीकात्मक छ। पौराणिक कथा(आख्यान) अनुसार समुद्रमन्थन गर्दा समुद्रका गर्वबाट निस्केको हलाहल विषलाई शिवजीले आफ्नो कण्ठमा राखेका थिए। त्यो हलाहल विष उनले निले भने उनी आफै भष्म हुने उगेलेर बाहिर फाले संसार भष्म हुने, त्यसैले यो विष शिवजीले आफ्नै कण्ठमा राखेका हुन्। त्यहीं कण्ठमा राखेको विषले गर्दा शिवजीको घाँटीमा निलो डाम बसेको कारण नै उनलाई नीलकण्ठ पनि भनिन्छ भन्ने विश्वास छ। उपन्यासको शीर्षकले भालुको कम्पट भन्ने अर्थ पनि बोकेको छ। तसर्थ शीर्षक उपन्यासको सन्दर्भमा एकदमै सार्थक रहेको छ।... नीलकण्ठ महदेवलाई प्रतीक बनाएर प्रत्येक मानिसले नै जीवनमा नीलकण्ठले झैं एउटा न एउटा अवस्था भोग्नुपर्छ भन्ने निर्देश गरेको छ।’

साहित्य अकादमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य सम्पादित कृतिको प्रकाशकीयमा यस कृतिको प्रयोजनबारे सङ्क्षिप्तमा प्रकाश पार्दै मूल्याङ्कपरक टिप्पणी यस प्रकार लेखिएको छ- ‘ नेपाली साहित्यमा, विशेषतः भारतेली नेपाली साहित्यमा कुनै पनि कृतिको प्रकाशनपछि यथोचित मूल्याङ्कन भइनहाल्नु साह्रै दुःखदायी कुरो हो। थोरै कृतिहरूका समीक्षा-समालोचना भएका पाइए तापनि तीमध्ये अधिकत्तर समीक्षा-समालोचनाको अर्थ निर्वाह गर्न नसक्ने खाल्का, कृतिका सतही विश्लेषण जस्ता छन्। के कुरो चाहिँ स्वीकार गर्नु पर्छ भने-कुनै पनि कृतिको नाममा पुरस्कारको घोषणा भएपछि चाहिँ हिउँदमा परेको एक झर्को पानी जस्तो चर्चा हुन्छ उक्त कृतिको सन्दर्भमा हाम्रो समाजमा। के रहेछ हँ? – भनेर आफुसित नहुनेहरू पुस्तक पसलतिर पुरस्कृत कृति खोज्छन्, हुनेहरू दराजभित्रको लहरबाट झिक्छन्। हुनै पर्ने अभिनन्दन समारोहहरूको आयोजना हुन्छन्, गर्नै पर्ने कृतिकारको प्रशंसा पनि गर्छन् पत्र-पत्रिकाहरू तर कृतिको उचित मूल्याङ्कन अझ पनि हुँदैन।

साहित्य अकादमीद्वारा पुरस्कृत सम्पूर्ण कृतिहरू बजारमा उपलब्ध हुन नसक्ने स्थितिमा र ती सबै कृतिहरूको अध्ययन-मनन गर्ने समयाभावका कारणले पनि राजाहाँसले झैं दूध र पानीको मिश्रणबाट सारतत्त्व मात्र लिए झैं ती कृतिहरू सम्बन्धी साहित्यका गम्भीर अध्येताहरूले कखरा ज्ञान प्राप्त गर्ने नै छन् भन्ने हाम्रो विश्वास छ।... सम्पादक श्रीमति पवित्रा रेग्मी (अधिकारी)-ले आफ्नो श्रम अनि समय खर्चेर तयार पार्नु भएको यो पुस्तक विशेष साहित्यका विद्यार्थी र शोधकर्त्ताको निम्ति महत्वपूर्ण र उपयोगी हुने नै छ।’

१८ जुलाई २००५ मा रामलाल सरको देहान्त भएपछि कृष्ण प्रधानको सम्पादनमा रामलाल अधिकारी स्मृतिग्रन्थ निस्किने भनेर नेपाल-भारत सबैतिर सबैसित पत्राचार भयो। पटक-पटक पत्राचार भइरह्यो। मैले पनि निकै दिन खटेर रामलाल अधिकारीको कथाशिल्प, प्रवृतिगत वैशिष्ठ्यबारे एउटा लामै समालोचनात्मक लेख लेखेर सम्पादक कृष्ण प्रधानलाई प्रेषण गरें। पवित्रा दिदीले पनि पटक-पटक अनुरोध गर्नुभएकोले अरूका लेखहरू पनि खोजखाज गरी, कतिलाई लेख्न लगाएर सात-आठवटा जति लेखहरू सम्पादक महोदयलाई प्रेषित गरें। हिजो पुरानो फाइल पल्टाउँदा सम्पादक कृष्ण प्रधानले रामलाल अधिकारी स्मृतिग्रन्थको निम्ति लेखको आग्रह गरी पठाउनु भएको एउटा चिट्ठीमा लेखिएको मिति हेर्दा आज लगभग १८ वर्ष पुग्नै लागेछ। तर स्मृतिग्रन्थ प्रकाशनमा आयो कि आएन, मलाई भने केही थाहा भएन। मेरो एउटा राम्रो समालोचना त्यसै गुमनाम भयो भनेर थकथकी लागिरहेछ। हुन त यस्तो रोग सबैतिर नै व्यप्त छ, म जस्तै अरूले पनि धेरथोर यस्तो स्थिति भोगेकै होलान्। लेख हराउनेहरूको हुलमा म मात्र एक्लो कहाँ छु र भनेर सन्तोष गरेर ढुक्कसँग बसेको छु। अधिकारीको कथाशिल्पबारे लेखिएको लेख हराएपछि त केही राम्रा मान्छेहरूले पनि मलाई अन्याय गरे, दोहन गरे भन्ने पछिसम्म लागिरह्यो र आज पनि लागिरहन्छ।

सन् २००६ तिरको कुरो, एकदिन पवित्रा रेग्मी दिदीले एउटा मोटो कागजको बिटो देखाउँदै, आफूले एउटा खण्डकाव्य लेखिसिद्याएको र त्यस प्रकाशोन्मुख खण्डकाव्यको भूमिका लेख्न भनेर मलाई अनुरोध गर्नुभयो। म त यो प्रस्ताव सुनेर हच्किएँ र आफ्नो असमर्थता व्यक्त गरें। खण्डकाव्यको शीर्षक के थियो सोध्ने, पाण्डुलिपि हेर्ने, पढ्ने पनि त्यसबेला सुद्धि आएनछ। केही दिनपछि डा. योञ्जन प्यासी सरलाई भूमिका लेखाइ माग्न भेट्न गएको कुरो पवित्रा दिदीबाटै जानकारी पाएँ तर उक्त खण्डकाव्य र त्यसको भूमिकाबारे हालमा कहीँ कतैबाट केही जानकारी छैन। हालमा रामलाल सरको छोरो राजीवलोचन सरकारी कलेजमै अशिक्षण कर्मचारीका रूपमा सेवारत् छन्, उनलाई भेटेको बेला उक्त स्मृतिग्रन्थ र खण्डकाव्यबारे प्रश्न गर्दा आफूलाई केही जानकारी नभएको प्रत्युत्तर पाएको छु।

साहित्य अकादमीले भारतीय साहित्यका निर्माता श्रृङ्खलाअन्तर्गत उहाँकै श्रीमान रामलाल अधिकारीबारे विनिबन्ध (मनोग्राफ) तयार पार्ने सौभाग्य पाएको कुरो पनि कुनै दिन कुनै भेटमा जानकारी गराउनु भएको पनि हिजै जस्तो लाग्छ। उक्त मनोग्राफ पनि सन् २०११ सालमै साहित्य अकादमीको सौजन्यमा प्रकाशित भयो। यस विनिबन्धमा रामलाल अधिकारीका जीवनी र सामाजिक व्यक्तित्वका विविध पाटाहरूका अतिरिक्त कवि व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, कथाकार व्यक्तित्व, नाटक-एकाङ्कीकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व, समालोचक तथा सम्पादक व्यक्तित्व साथै शिक्षाविद्को रूपमा सङ्क्षिप्तमा भए पनि आधिकारिक रूपमा प्रकाश पारिएको छ।

प्रस्तुत कृतिमा कवि रामलाल अधिकारीका चियाबारी (सन् १९६५), जिजीविषा (सन् १९९३), लिलाममा छन् मेरा कविता (सन् २०००), मा निषाद (सन् २००३) आदि कविता सङ्ग्रहबारे सङ्क्षेपमा भए पनि गहकिलो अध्ययन-विश्लेषण गरिएको छ। कथाकारको रूपमा उनको आफै जन्मिनेहरू (सन् १९६९), थमिनी कान्छी (सन् १९७९), लालगेडी र आँखाहरू (सन् १९९७) शीर्षक कथाकृतिबारे यथोचित प्रकाश पारिएको छ। एकाङ्कीकारको रूपमा टीका पनि व्यापार पनि (सन् १९७१) र शंखघोष (सन् १९८९)-मा सङ्गृहीत नेपाल भ्रमण, पतिया, इलाम, सूर्य-नारायण, अनिकाल, निरास साहित्यकार, गाउँ सुधार समिति सभा, भारतीय नेपालीः एक जनगणना, जिन्दाबाद मुर्दाबाद.., विश्व-सुन्दरी, अनि समय अडिन्छ, मान्छे मर्छ, अर्द्धसिल्ली देवकटा, अन्तर्वार्ता, सर्वे भद्राणी पश्यन्तु, म भात खान्नँ, अभियुक्त रमेशदास, अपशब्द, सिन्केधूप र शंखध्वनि शीर्षक एकाङ्कीहरूबारे खाइलग्दो विमर्श प्रस्तुत गरिएको छ। सोहीक्रममा निबन्धकारको रूपमा भोकाएको कुकुर के भन्छ? (सन् १९६२), रविसप्तमी (सन् १९७३), अलौटा र ठेटना (सन् १९७७), निसंस्मरण (सन् १९९५), विदित-अविदित (सन् १९९८), भैरवको भूत (सन् २००२) प्रभृति निबन्धात्मक कृतिहरूबारे अति सङ्क्षेपमा तर गहकिलो ढङ्गमा अध्ययन र विमर्ष प्रस्तुत गरिएको छ।

एवमरीतले शिक्षाविद्‍को रूपमा चिनाउदैँ अधिकारीलिखित नेपाली भाषा शिक्षण पद्धति (सन् १९७५ ) तथा सम्पादकको रूपमा उभ्याउँदै रामलाल अधिकारी सम्पादित केही नेपाली कविता (सन्१९८५), संचयिता (काव्यानुवाद, सन्१९८६), नेपाली निबन्ध यात्रा (सन्१९७५), नेपाली एकाङ्की यात्रा (सन्१९७७), रसिक रचनावली (सन्१९८२), भारतीय नेपाली कथा यात्रा (सन्१९८८) का साथसाथै दार्जिलिङ सरकारी महाविद्यालय अर्द्धशताब्दी यात्रा, दियालो (नेपाली साहित्य सम्मेलन,दार्जिलिङ) र बाडुली (सिलगढी देवकोटा सङ्घ, सिलगढी)-आदि गहकिला कृतिहरूको सङ्कलन तथा सम्पादन कलाबारे सविस्तार चर्चा गरिएको छ। यसको अतिरिक्त उनलाई एकजना भरलाग्दो समालोचकको रूपमा उभ्याउँदै उनको अन्तिम साहित्यिक कृति विषय परिक्रमा (सन् २००५) को लेखन-प्रकाशन सन्दर्भमा पवित्रा रेग्मी (अधिकारी)-ज्यू यस्तो लेख्नुहुन्छ- ‘आफ्नो साहित्यिक यात्रा सन् १९५८ देखि आरम्भ गरेर सन् २००५ सम्म लगातार आफ्नो बहुमूल्य समय, यौवन, उमेर र जागरलाई नेपाली साहित्यको निःस्वार्थ सेवामा सपर्पित गर्ने रामलाल अधिकारी एकजना अथक साहित्यिक रत्न हुन्। उनी कवि, कथाकार, एकाङ्कीकार, उपन्यासकार, निबन्धकार, सम्पादक तथा शिक्षाविद्। समष्टिमा भन्नुपर्दा रामलाल अधिकारी नेपाली साहित्यको भण्डारलाई समृद्धि बनाउन आफ्ना मूल्यवान समय खर्चिएका छन्। स्वीकार्नुपर्छ, उनी एकजना कुशल समालोचक-आलोचक पनि हुन्। विभिन्न पत्र-पत्रिकामा उनका आलोचनात्मक, समालोचनात्मक लेखहरू प्रकाशित भइसकेका छन्। प्रायः सैंतालिस-अडतालिस(४७-४८) वर्षको साहित्यिक यात्राको अन्तिम यात्रामा तथा मृत्युशय्यामा प्रकाशित रामलाल अधिकारीको जीवनकालको अन्तिम पुस्तक जो निर्माण प्रकाशनमा प्रकाशित विषय परिक्रमा हो, जसको प्रकाशित रूप अधिकारीले पल्टाएर हेर्नसम्म नपाई उनको जीवन परिक्रमा नै शेष भएको थियो।’

यस पुस्तकको आमुखमा श्रीमती पवित्रा रेग्मी अधिकारीज्यूले यसप्रकार आफ्नो विचार र योजना प्रकट गर्नु भएको छ- ‘अकादमीको निर्देशमा सिमित पृष्ठमा बिनिबन्ध तयार पार्नु परेकोले उनका कृतिमाथि इच्छा हुँदैहुँदै पनि विस्तृत रूपमा आलोचना गर्न सकेकी छैन। निकट भविष्यमा मेरा पतिदेवका सम्पूर्ण कृतिहरूमाथि विशद् आलोचनात्मक ग्रन्थ नै तयार पार्ने योजना हातमा लिएकी छु। यस विनिबन्धमा भएका कमी कमजोरीहरू निर्देश गर्नु बएको खण्डमा सो सहर्ष स्वीकार गरी आगामी संस्करणमा सो सच्चाउने वचन दिँदछु।’

पवित्रा रेग्मी (अधिकारी)-ज्यूले नेपाली साहित्यमा उस्तो पगितो र माइलखुट्टी राख्न सक्ने किसिमको कुनै ठोस् काम नगरेको भए पनि आफ्नो बुताले भ्याएसम्म उहाँले आफ्नो नेपाली भाषा, साहित्य र समाजलाई योगदान पुर्‍याउनु भएकै छ। धेरथोर सबैसित सहयोग र सद्‍भाव राख्नु भएकै हो। साहित्य अकादमी अनि पच्चीस वर्षका पुरस्कृत नेपाली साहित्य सम्पादित कृति भए पनि एउटा नौलो र आफैमा विशेषतायुक्त कृतिको रूपमा देखा परेको कुरोमा कसैको दुईमत नहोला। साहित्य अकादमीको सौजन्यतामा प्रकाशित भारतीय साहित्यका निर्माता श्रृङ्खलामा रामलाल अधिकारी शीर्षक विनिबन्ध पनि पूर्व प्रकाशित अन्य कतिपय मनोग्राफको तुलनामा प्रस्तुत कृति निकै दरिलो-भरिलो, उत्कृष्ट र सङ्ग्रणीय बनेको छ। साहित्य अध्ययन र लेखनका साथसाथै नाट्याभिनय र शिक्षण क्षेत्र पनि उहाँको उत्तिकै अभिरूचि थियो। स्थानीय विभिन्न साहित्यिक, सामाजिक तथा शैक्षिक सङ्घ-संस्थानहरूमा उहाँको सक्रिय सहभागिता रहँदै आएको कुरो सर्वविदित छ। उहाँको सामाजिक र साहित्यिक योगदानप्रति उच्च सम्मानभाव व्यक्त गर्दै श्रद्धाञ्जलि स्वरूप मैले लेख्दै गरेका यी नै अक्षर र शब्दहरूद्वारा अभिनन्दन प्रकट गर्दछु।


सह-प्राध्यापक,स्नातकोत्तर नेपाली विभाग
दार्जिलिङ सरकारी महाविद्यालय, दार्जिलिङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।