18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक अञ्जुली मायाको उपहार छरिदेउ

संस्मरण/स्‍मृति डा. दामोदर रेग्मी May 3, 2024, 3:09 pm
डा. दामोदर रेग्मी
डा. दामोदर रेग्मी

टोखा र गोदावरीको मनमोहक दृष्य । "एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ" वोल रहेको शव्द सहितको सुमधुर संगीतमा एक युगल जोडी प्रेमालाप गरिरहेका छन् ।आनन्द कार्कीको जीवन्त अभिनय साथमा छ। सन्दर्भ हो मेरो शव्द आनन्द कार्कीको स्वर र किरण कडेलको संगीत रहेको गीतको म्यूजिक भिडियोको केही दृष्यको सारांश ।
गायक आनन्द कार्कीलाई प्रत्यक्ष रुपमा अति थोरैले मात्र नचिन्न सक्लान् त्यो पनि अपवादको रुपमा । तर, उनले गाएका गीत नसुन्ने, नरुचाउने र नगुन्गुनाउने बिरलै होलान्। म पनि यहि कोटीमा पर्दछु। हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका आनन्द कार्की बुवासँग सानैमा भारत पुगेका थिए।उनको वुवाको जागीर त्यहि थियो। स्कुले विद्यार्थी हुँदै आनन्द कार्कीले गायनमा चासो राखे। उनले संगीत विद्यालयमा आफूलाई प्रशिक्षत गरे। हुने विरुवाको चिल्लो पात भने जस्तै शुरुमै उनको प्रतिभा बेजोड थियो जुन पछि उनको चिनारी नै बन्यो। गलाका धनी कार्कीले आफ्ना गीतहरुको रेकर्डिङ्ग सँगै भिन्न पहिचान बनाउँदै गए। फलस्वरुप आज आइपुग्दा उनले हजारौं गीतहरु गाइसकेका छन्। गायनका थुप्रै विधामा कार्कीका स्वर चर्चित र सफल छन्। उनी भजन, स्वदेश गान, आधुनिक तथा गजल गायनमा पनि उत्तिकै दख्खल राख्छन्।
यिनै गायनका वादशाहसंग मेरो कुनै अवसरमा भेट भएको थियो। त्यो भेटले हाम्रो परिचयलाई स्थायी बनाइदियो । अलि पछि यो परिचय सहकार्यमा समेत रुपान्तरित हुन पुग्यो एउटा गीतकार र गायकको रुपमा। शायद हामी दुवैलाई थाहा थिएन हामी दुइ कुनै दिन यो भूमिकामा जोडिने छौं र यो यात्रा निरन्तर जारी रहनेछ भनेर ।
कुराकै प्रसंगमा "तपाइका गीतका शव्दहरु हेरें साह्रै मर्मस्पर्सी र सामयिक शव्दहरु छन् यिनलाई मेरो शव्दमा ढाल्न पाए हाम्रो यो परिचयले नयां मोड लिन्थ्यो कि" आनन्द कार्कीले मेरो मनको समेत कुरा राख्नु भयो । शायद उहांलाई मैले पनि यस्तै सोचिरहेको छु भन्ने लागेछ । "अवश्य, यो त अति राम्रो प्रस्ताव हो" मैले स्वीकारोक्ति जनाएं । किनकी आनन्द कार्कीको स्वरमा गीत ल्याउने चाहना सवै गीतकारमा हुन्छ। गीतकार बनेपनि स्वरांकनको साइत जुराउन नसकेको मलाई उहांको कुनै विसौनीमा भएको भेटबाट अघिको यात्रा तय गर्न सहज समेत भयो । तैपनि मैले सोधें "कुन कुन शव्दहरु मन पर्यो" ।"जिन्दगीको पाठशाला, सन्दूक, जिन्दगी त जिन्दगी नै हो बाधा अड्चन आइरहन्छन् ,चम्किरहने त्यो चन्द्रमालाई पनि ग्रहणले छोपिदिन्छन, घामपानी हो जीवन पछ्याइरहन्छन सधै सधै, मूर्ति बन्न ढुंगाले पनि चोट सहन्छन धेरै धेरै , केही आंट बढाउ तिमी उत्साह म थपिदिउंला, केही पाइला तिमी चाल्नु जंघार म तरिदिउंला लगायतका" उहांले भन्नु भयो ।"सवै गीतमा यस्ता मन छुने शव्दहरु रहेका छन्" उहांले थप्नु भयो ।उहांको कुरा सुनेर खुशी पनि लाग्यो ।"हाम्रो परिचय अलि पछि नै भए पनि धेरै अघि देखि म तपाइको हर गीतको फ्यान हुं" मैले बताएं । "अव गायक र श्रोता वीचको सम्बन्धलाई गायक र गीतकारको सम्बन्धमा रुपान्तरण गर्दा ठीकै होला" उहांले सोचेको नयां मोडको यात्रामा मैले मेरो सहमति प्रदान गरें ।
उहां हजारौ गीतका गायक, म केही गीत लेखेर रेकर्डिङ्गको लागि उपयुक्त अवसर कुरिरहेको व्यक्ति । लामो यात्रामा रहिरहनु भएको उहां एउटा यात्री, कुनै विसौनीवाट उहांसंगको साथमा यात्रा शुरु गर्न खोजेको म नयां यात्री। मैले आनन्द कार्कीलाई तपाइ यी सवै गीत लगेर हेर्नोस जुन उपयुक्त लाग्छ त्यसमा गाउनु होला भनी मेरो "सिरटोले छुदै छुन्न" गीति संग्रह उहांलाई थमाएं। मुस्कुराउदै उहांले हुन्छ भन्नु भयो ।मुस्कान र सरलता उहांको संस्कार नै हो । केही दिन पछि खवर आयो "एक अञ्जुली मायाको उपहार छरिदेउ, त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ" वोल रहेको शव्दले आवाज पाउने भयो यसमा संगीत वरिष्ठ संगीतकार किरण कडेलले दिने हुनुभयो ।किरण कडेल आफैमा एक सिध्दहस्त संगीतकार । सार्वजनिक रुपमा गीतकारको रुपमा आउन लागेको मलाई यो त्रिवेणी सुखद रहनु स्वभाविकै थियो । २०७९ सालको घोडेजात्राको दिन थियो संगीतकार किरण कडेलको प्रज्ञा स्टुडियोमा गीत रेकर्ड भयो ।गीतका हरेक अंश, शव्द, वाक्यको संगीत र स्वरमा कसरी तादाम्यता कायम गर्ने विषयमा संगीतकार र गायक दुवै संवेदनशील रहेको मैले पाएं।गीत रेकर्डिङ्ग भैरहदा आनन्द कार्की र किरण कडेल संगको मेरो सहकार्यमा असल सम्बन्ध सेतुको भूमिका निर्वाह गरिरहनु भएका वरिष्ठ गीतकार गोविन्द कुइंकेलले पनि गीतलाई राम्रो बनाउन सकारात्मक सुझावहरु दिइरहनु भएको थियो । गीत रेकर्ड मात्र भएन एउटा फरक स्थिति समेत सिर्जना भयो । मैले सुन्ने गरेको थिएं गीतकारको शव्द गायक र संगीतकारमा पुगेपछि उहांहरुको चाहना अनुसार र लयको माग बमोजिम परिवर्तन हुन्छ । धेरै तर मेरो यो गीतमा त्यस्तो भएन ।यो कौशलताको प्रदर्शनले उहाहरु दुवैले कुशल गायक र संगीतकारको अमिट छाप छोड्नु भयो ।शव्दहरु गीतकारका सम्पत्ति हुन् शव्दले दिएको भावलाई सोही शव्दमा स्वर र संगीतले आकर्षक बनाउने क्षमता उहांहरु दुवैले प्रमाणित गरिदिनु भयो । मैले दिएकै शव्द र लाइनहरु यथास्थितमै स्वरांकन हुन सक्यो। संगीतकार किरण कडेलको संगीत र आनन्द कार्कीको मनमोहक स्वरले मेरा हरेक शव्द र भावलाई पूर्ण न्याय गर्दै गीत तयार भयो ।२०८० बैशाख १ गतेका दिन रेडियो नेपाल र अन्य एफ एम हरुवाट गीतको अडियो सार्वजनिक भयो । सोही दिन केही एफ एम हरुमा मेरो अन्तरवार्ता सहित गीत प्रसारण भयो ।यस पछिका दिनहरुमा थप अन्तरवार्ता दिने अवसर जुटिरहेकै छ ।संयोगले नव वर्षको यस दिन आयोजित विशेष कार्यक्रममा हामी दुवै सुप्रबल जनसेवाश्री पदकवाट समेत विभूषित हुने अवसर पाएका थियौं ।कार्यक्रम स्थलमा एक अर्कालाई देख्दा हामी दुवै छक्क परेका थियौं किनकी हामीलाई आफूले पदक पाउने कुरा थाहा भएपनि अर्को सहकर्मीले पदक पाउदैछ भन्ने कुरा थाहा थिएन ।
यस पश्चात अन्य कार्यक्रमहरुमा मेरो र आनन्द कार्कीको भेट नियमित हुन थाल्यो। गीत संगीत वाहेकका क्षेत्रहरुमा समेत हाम्रो भेटघाटले निरन्तरता पाउन थाल्यो। यसै वीचमा प्रताप दास र अनु चौधरीको स्वर तथा डि वि लामाको संगीतमा मेरो शव्द रहेको "अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" वोलको गीतको रेकर्डिंग समेत भयो । गीत सुनेर उहां धेरै खुशी हुनु भयो ।उहां खुशी भएजस्तै धेरै श्रोताहरुवाट यसमा धेरै प्रशंसाहरु प्राप्त भयो । सकारात्मक सोचको प्रशिक्षण कक्षाहरुमा समेत यो गीत प्रयोगमा आएको देखियो ।
एक दिन "मुरलीधर नेपाल आउनु भएको छ आज भेटौन" भनेर गायक आनन्द कार्कीको फोन आयो । यसपूर्व मुरलीधर र मेरो कुनै भेटघाट थिएन। मेरो शव्दको पहिलो गायक तथा सुप्रसिध्द गायक आनन्द कार्कीको अनुरोधलाई स्वीकार्नु उहां प्रतिको मेरो मर्यादा पनि थियो । यसैले थप सोधखोज नगरि उहांको अनुरोधलाई मैले स्वीकारें । हामी तीन जनाको भेट भयो कुरा चल्दै जांदा मैले आनन्द कार्की लाई दिएका गीतहरु मुरलीधरले भेटाउनु भएछ र हेर्दै जांदा गीतका शव्दहरु उहांलाई मन परेको र नेपाल आउदा केही गीत गाएरै जाने अठोट गर्नु भएका मुरलीधरले यस पटक मेरो शव्दमा पनि सुमधुर स्वर दिन तयार हुनु भएको कुरा थाहा भयो । ‘उडायो सपना सबै हुरीले...’ काजजयी गीत र अन्य थुप्रै सदावहार गीतहरुका गायक, सङ्गीतकार, लेखक, अभिनेता, निर्देशकको अलावा कलाका थुप्रै विधामा पोख्त वहु प्रतिभाका धनी मुरलीधरको संगीत र स्वरमा गीत ल्याउने अवसर आनन्द कार्की वाटै मिल्यो । म्यूजिक नेपालको स्टुडियोमा रेकर्ड भएको सिरेटोले छुदै छुन्न बोल रहेको गीत साह्रै नै कर्णप्रिय बन्यो । गीत रेकर्डिंगको क्रममा आनन्द कार्कीले पूरै समय दिनु भयो । एउटा कुशल गायकले यहां एउटा कुशल समन्वयकर्ताको भूमिका समेत निर्वाह गर्नु भयो। यहां सम्म आइपुग्दा आनन्द कार्की एउटा कुशल गायक मात्र होइन सरल मिजासिलो र व्यवहारकुशल व्यक्तिको थप विशेषता मैले उहांमा पाएं ।यसै अवधीमा उहांको पुरानो गीत "बादल बर्षा विजुली" एकाएक चर्चित हुन पुग्यो। मैले पनि उहांलाई थप बधाइ दिने अवसर पाएं । यसै गरि "जनम जनम जिउलासंगै" ले पनि यसै अवधिमा करोडौ भ्यू पाउन सफल भयो । उहांको खुशीमा साथ दिने अपूर्व अवसर प्राप्त भयो । मुरलीधर, आनन्द कार्की र मेरो भेट नियमित भैरहन्थ्यो एकदिन आनन्द कार्कीको अनुरोधमा मुरलीधर र म वाट आनन्द कार्कीको गीत यू ट्यूवमा पोष्ट गर्ने अवसर समेत जुर्यो ।
एक अञ्जुली मायाको उपहार शव्द संगीत र स्वरमा त सजियो पछि यसलाई भिडियो बनाउने समेत कुरा भयो मित्र रामहरि खड्का संगको सल्लाह बमोजिम सियोन श्रेष्ठको निर्देशन आरुष के सी र सोनी ढुंगानाको अभिनयमा म्यूजिक भिडियो समेत तयार भयो । यसमा मेरो समेत सानो अभिनय रहेको छ । म्यूजिक भिडियोमा सानै भए पनि अभिनय मेरो लागि नयां अनुभव नै रह्यो किनकी म्यूजिक भिडियोको शुटिँग भएपनि चलचित्रकै जस्तो लोकेशन तय मेकअप लगायतका सवै चाँजोपाँजोको आवश्यक पर्ने । म्यूजिक भिडियोमा आनन्द कार्कीको रोल अनिवार्य थियो तर विशेष कारणवस आनन्द कार्कीको रोल शुरुमा राख्न सकिएको थिएन । यसै कारणले शुटिँग सकिएको भएपनि म्यूजिक भिडियोलाई सार्वजनिक गर्न सकेका थिएनौ । वीचमा उहाँको दृष्यको लागि मात्र क्यामेरा लगायत सवै जुटाउन संभव पनि भएन ।अलिपछि मेरो शव्दको "अलिकति हास्नु तिमी अलिकति म हांसुला, बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुंला" गीतको भिडियोको शुटिँग हुने भयो पहिलो शट मेरो लिइने भयो सोही अवसरमा एक अञ्जुली मायाको लागि आनन्द कार्कीको शट लिने कार्यक्रम तय भए अनुरुप एकाविहानै हामी दुइ संगसंगै गोदावरी तर्फ लाग्यौं । शुरुमा मेरो शट लिइयो अलिकति हास्नु तिमीको लागि र दोश्रो शट आनन्द कार्कीको लिइयो एक अञ्जुली मायाको लागि । उहांको अभिनय यस अघि तयार भैसकेको भिडियोमा मिलाइयो र एक अञ्जुली माया नामक म्यूजिक भिडियो सार्वजनिक भयो । भिडियो सवैले रुचाउनु भयो आनन्द कार्कीको अभिनयले पनि प्रशंसा पायो।
‘लाग्छ मन हेरी रहूँ एकनास तिमीलाई’, ‘जनम जनम जिउँला सँगै’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका ’ ‘बादल बर्षा बिजुली’ आनन्द कार्कीका सफलतम गीतहरु मध्ये पनि वढि हिट भएका गीतहरु हुन् । हजारौं गीतमा जादुयी स्वर दिएका आनन्द कार्कीको स्वरले एक अञ्जुली मायाको उपहार छरिदेउमा म संग सहकार्य गर्ने अवसर मात्र जुटाइदिएन मेरो सांगितिक यात्रामा कोशेढुंगा स्थापना गर्न पनि सफल भयो ।धेरै साधना र संघर्ष पार गरि नेपाली गायन क्षेत्रमा विशिष्ट योगदान पुर्याएका नेपाली जन जनले रुचाएका गायक आनन्द कार्कीले विभिन्न स्टेज प्रोग्रामहरुमा एक अञ्जुली मायाको उपहार छर्ने गर्नु भएको छ । मायाको उपहार छर्ने यो कामले उहांको गीत जस्तै ‘जनम जनम‘ साथ पाउने छ ‘बादल बर्षा बिजुली’ का वीच पनि मायाको उपहार छर्ने काम चलिरहने छ मायाको उपहार छरिरहेको एकनास हेरिरहनेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।